Wednesday, July 15, 2009

आँसुको जबाफ

घरमा फोन गरेको छैन। धेरै भयो। घरको याद नआएर होइन। आमाको यक्ष प्रश्नदेखि तर्सेर। हुटिहारा भएर।
आमाको आँसुको जबाफ छैन, मसँग। फोन गर्‍यो कि आमा रुन थाल्नुहुन्छ, 'समयमा खाना खाइस् कि नाई? बाटो काट्दा गाडीले किच्ला राम्ररी हिंड्नू, राति नहिंड्नू, कल झगडा नगर्नू, सबैसँग मिलेर बस्नू...' आदिआदि।
पैसा नकमाएकोमा उति गुनासो छैन। तर, घर नगएको र खानपिनमा ध्यान नदिएको, पत्रकारितामा लागेकोमा भने उहाँको गुनासो छ। म गाउँमा माष्टर भएको वा स्वास्थ्य चौकीमा अहेव भएको हेर्ने रहर थियो, आमालाई। आमाको आँखामा डाक्टर(अहेव) र माष्टर(शिक्षक) यो दुनियाँका सबैभन्दा असल र ठूला मान्छे हुन्।


वर्षमा एकचोटि घर जान्छु। त्यो पनि दशै विदामा। आमालाई थाहा छ, कमैया भएपछि आफूखुशी हिंड्न पाइँदैन। तैपनि घरमा नबसेको, ज्यानको ख्याल नगरेका गुनासो गर्दै आमा रुन थाल्नुहुन्छ,, '…म त कति दिन बाँचूला र साठी काटिसकेँ। तैले कसरी दिन काट्छस्? न तेरो खानाको ठेगान छ न कुनै कुराको ग्यारेन्टी नै। कान्छा तेरै नाउँमा अल्भि्कयो मेरो मन।'
भेटमा त आमालाई सम्झाउन नसक्ने म, कसरी फोनमा सम्भव हुन्थ्यो। आमाको आँसुसँग कुरा गर्ने मसँग भाषा छैन।
'अब भयो जेई, माइली भाउजू वा बाबालाई फोन दिनुस्' भन्नेबाहेक मसँग आँसुको जबाफ छैन।
फोमा आमा रोएपछि धेरै दिनसम्म बेचयन हुन्छु। आफ्नी आमालाई नै चित्त बुझाउन नसक्नेले दुनियाँ बदल्ने कुरा गरेको कसरी सुहाउला? बेलाबेलामा बक्क पर्छु।
केही महिना भयो। फोनमा आमा रोएको आँखामा आउनेबित्तिकै आँखामा उभिन्छे, सुदूर पश्चिमकी एउटी बहिनी पनि। जो भेटिएकी थिई, अनलाइनमा।
अष्ट्रेलियामा काम नपाएर तड्पिएका उसका कहानी सुनिसक्नुका थिए। संस्मरण लेख्न आग्रह गरेँ। तर नसक्ने जबाफ दिई। मसँग उसले सेयर गरेका अष्ट्रेलियाको कष्ट 'घरमा नभन्न'समेत आग्रह गरी।
'आज घरमा फोन गरेँ। दाइ, मुडअफ छु,' घरमा फोन गरेको दिन अनलाइनमा भेट हुने संयोग जुर्दा यसै भन्थी। फोन गरेपछि आमाको सम्झना र घरको यादले एक साता अनिदो नै बित्ने बताएकी थिई।
'मुडअफ छु,' भनेपछि यसै सोध्थेँ, 'किन?'
भन्थी, 'आज पनि आमा रुनुभयो।'
'आमालाई सम्झाएनौं?' भन्थेँ, 'तरुनी भइसकेकी छोरी मुडअफ भएर बस्ने हो र?'
भन्थी, 'आँसुको जबाफ मसँग छैन।'
त्यसपछि? खक्रक्क पर्थेँ। तैपनि उपदेश दिने नेपाली परम्परालाई पछ्याउँथेँ, 'अप्ठेरो भए पनि बेलाबेलामा घरमा फोन गर्न नभुल। घरमा सेयर गर्न नसक्ने पीडा अनलाइनमा मसँग सेयर गर।'
देेखेको सपना र अष्ट्रेलियामा भेटेको विपनाबीचको तलमाथि पाउँदा एक छाङ्गे भीरबाट खसेको कुरा गर्थी, अनलाइनमा। मैले 'नआत्तिन' भन्थेँ। घर छाडेपछिका एक्लोपनका दिन आफूले सानैदेखि भोगेको उदाहरण दिंदै 'आफूलाइ सम्हाल्न' आग्रह गर्थेँ।
'पढ्ने सपना उनेर आइयो। तर, यहाँ त कामको खोजीमै जिन्दगी बित्लाजस्तो भइसक्यो। फोनमा बाबालाई पैसा पठाइदिन भनेँ आज पनि,' अनलाइनमा भन्थी, 'दिनभर काम खोज्न जान्छु। नेपाली नै नेपाली भेटिन्छौं। काम त भेटिए पो। कहिलेकाहीँ कामको खोजमा हिंडेका नेपाली नै नेपाली भेटेर एकापसमा हेराहेर गर्दै मज्जाले हाँस्छौं।'
'यसरी कति समयसम्म बस्ने?'
पेट पाल्न नै १२ बजेपछि पढ्ने सपना तर्किएर हिंड्न थालेको दुखेसो पोख्थी।
'नेपाल के लिएर आउने? पढ्न भनेर आएकी म,' पटकपटक प्रश्न गर्थी।
'अप्ठेरासँग जुँध्न साहस गर्दै पढाइ जारी राख्न' उधारो सुझावबाहेक मसँग के नै थियो र? अनि
कुनै बेला पाकाबाट आफूले पाएका सुझाव सापटी लिएर उसलाई दिन्थेँ, 'मन नदुखाउनू। पाएका दुःख घटाएर थोरथोरै मात्र भन्नू।'
तीन महिनाअघि ऊ सिड्नीबाहिर कामको खोजमा गई। काम पाए दुईचार महिनापछि मात्र सिडनी फर्कने जानकारी गराई। सिड्नीबाट फर्केपछि मात्र मैले पठाएको मेसेजको जबाफ फर्काई।
'काम त पाइयो, तर लामो समयसम्मका लागि थिएन। फेरि मैले जोइन गरेको कलेज सिड्नीमा छ। त्यसैले फेरि फर्किएँ,' अनलाइन मेसेज थियो। त्यसपछि? दुई/चारचोटि अनलाइनमा कुराकानी भयो। त्यसपछि लामो समय भयो। ऊ सम्पर्कमा छैन। बेलाबेला आफू सन्चै भएको र पढाइ जारी राखेको मेसेज भने पठाउन भुलेकी छैन।
भनेको थिएँ, 'लेख्नु, देखेको सपनाबारेमा। अष्टे्रेलियामा भेटियो कि भेटिएन? भेटिने छाँट छ कि छैन? घर र आमाको याद कत्तिको बल्भि्कन्छ?' आदिआदि।'
पहिलोपालि त लेख्ने वचन दिएकी थिई। बीचबीचमा आत्मसमर्पण गरेको पनि बताई। फेरि मेरो कर बलले 'लेख्छु' भनी।
मलाई आशा छ, कुनै दिन उसले लेख्नेछ। उसको संस्मरणको पर्खाइमा छु।
कस्तो लेख्ली हँ?
आशा छ, उसको संस्मरणले प्लस टु सकाएर विदेशको सपना उन्ने तन्नेरीलाई प्रतिनिधित्व गर्नेछ। रंगीन सपना उनेर विदेश जानेको दिनचर्या कस्तो छ, विदेशमा? जान्न इच्छा छ।
दुर्गम ठाउँको सामान्य कर्मचारीकी छोरी। छोरी र जातभातप्रति साँगुरो चिन्तनग्रस्त क्षेत्र सुदूर पश्चिमकी चेली विदेशमा पढ्न जान उसले उठाएको जोखिम र साहस आफैमा उदाहरणीय थियो।
अँ, भन्दैथिएँ, घरमा फोन नगरेको धेरै भयो। छोरोले माया मारेर फोन गरेन भन्ने आमाको गुनासो पनि काठमाडौं आइपुगेको छ। तर, मैले फोन गर्ने आँट जुटाएको छैन। रोल्पाको सुदूर गाउँमा छोराको नाउँमा सपना उनेर बसिरहेकी आमाको नाउँमा के गर्न सकेँ?
सुदुर पश्चिमकी बहिनीजस्तै एउटा सुन्दर सपना उनेर काठमाडौं छिरेको थिएँ, कुनै बेला। ऊ विदेशको सपना उनी र पुगी। मेरो हैसियत काठमाडौंभन्दा पर थिएन। मेरो सपना अग्रेजी साहित्यको विद्यार्थी बनी कीर्तिपुरमा हल्लिनुभन्दा पर कहिल्यै पुगेन।
यतिबेला मैले देखेको सपना र म ठीक विपरीत हिंहिरहेका छौं। सपना पूर्वतिर हिंडिरहेको छ भने म रोटीकारिता गर्दै पश्चिमतिर। मलाई थाहा छ, मैले देखेको सपनासँग अब भेट हुने चान्स थोरै पनि बाँकी छैन। आमाले देखेको 'गाउँको माष्टर'को सपना त पूरा गर्न सकिएन भने आफूले देखेको सपनाको के कुरा?
कामना गर्छु, रंगीन सपना बोकी विदेशीएका तन्नेरी मजस्तै आफ्नै सपनाको मलामी नजाऊन्।
अँ, भन्दैथिएँ, घरमा फोन गरेको छैन। आमाको आँसुको जबाफ मसँग छैन।
थाहा छैन, आँसुको भाषा यै जुनीमा सिकूँला या नाई?

2 comments:

  1. dai tapi ko blog man paro, syad samayog ho ki tapi ko ra maro batha meailo, ma pani meri aama lai phone garna derauchu karan tapi ko jasti, meri aama pani mali engerinear beneauna shochetin tara ma aanti puga samayala mali maoist ko wt beneyao, dhanna dhanna baicheo, sathi haru aakhi aagadi marako samghaida aaja pani runchu, ma dhdhar ma marana sathi haru la geta ki hami jasta bachna haru la getyau . tai janauddha la fari ghumeyara mali aaila patrikarata ma leyako 6 . tha chhaina voli kaha lana ho.........bato bareyako yetri ghai
    youra , prashant from pokhara

    ReplyDelete
  2. Nice one MP jee
    keep it up
    Mero pani asti phone maa aama runuvo k garne estai ho aamaharuko man

    ReplyDelete