Sunday, July 26, 2009

सम्बन्ध

आज बिहीबार। मेरो छुट्टि। जाँचको तयारी गर्नु छ। तर पढ्न मन छैन।

गाउँबाट माल्दाइ र राजेश आएका छन्। माल्दाइ कान्छा र राजेश जेठाबाजेका नाति हुन्। दुवैजना अरबबाट छुट्टिमा आएका थिए। छुट्टि पकाएर फर्कंदैछन्।

अरब र गाउँका कुराकानीले रातको आधा जोवन ढल्कियो। बत्ती अफ छ। तर, निद आएन। विमल र म एउटा खाटमा ढलेका छौं, माल्दाइ र राजेश अर्कोमा।

राजेशको उडान छ, भोलि। माल्दाइ जाँदैछन् पर्सि। गाउँमा जस्तो हुँदो हो त एकै ठाउँ जाने मान्छे कहाँ साथ छोडी जान्थे। सँगै जान्थे। तर, यो त सहर पनि होइन। मुसलमानको देश अरब जाने कुरा हो। जाने ठाउँ एकै भए पनि जाने समय फरकफरक। अरब पुगेर फेरि बनाउन थाल्नेछन्, अरबको बालुवामा महल।

माल्दाइ अरबे लाहुरे बनेको आठवर्ष लागेछ भने राजेशको ५ वर्ष। यतिका वर्ष अरबमा बगाएको पसिना समुद्र पुग्यो या पुगेन? अरबलाई छोएर नै समुद्र बग्छ भन्छन्। तर, यी दुवैलाई यो कुरा थाहा छैन।

सायद पुगेको छैन। त्यसैले जाँदैछन् फेरि अधुरो सपनाको निहुँमा। अरबको धूपमा सपनासँगै आफू पनि सेकिनेछन्, रेष्टुरेन्टमा सेकुवाजसरी। माल्दाइ काम गर्दारहेछन् दुकानमा त राजेशले चलाउँदोरहेछ डोजर।
गाउँमा अचेल बोडिङ पढाउने हावा चलेको छ। भन्दारहेछन् 'अरबे हावा।' माल्दाजुको गुनासो थियो, 'अरबको पैसा बोर्डिङले स्वाहा पार्‍यो।' राजेशले भने घोराहीमा घडेरी जोडेछ।


कुराकानीकै बीचमा गाउँबाट साल्दाइको फोन आयो। बिजुलीको पोल बोक्न लिबाङ आएका रहेछन्। खुसी लाग्यो। गाउँमा बिजुली बल्ने भो। टीभी र कम्युटर पनि चल्ने भो। अनि? सम्भि्कएँ,, मेरा बूढाबूढी बाआमाले गाएको रोल्पाको पुरानो गीत र त्यसको भिजुअल हेर्नेछन्, घरमै बसेर बूढाबूढीले। तर, कसरी? आमा र बाबाको आँखाले धमिलो देख्न थालेको छ रे। मलाई सम्झना छ, दोस्रो जनआन्दोलनताका तीलगंगामा दुवैजनाको आँखा अपरेसन गरेका थियौं। अपरेसन गरेपछि गह्रौ भारी बोक्न हुन्न भनेेको थियो डाक्टरले। तर, गह्रौ भारी बोकेपछि आँखाले बाटो बिराएछ।
कति नसकिएका गाउँका कुरा। कतै छुटेजस्तो पनि लागिरह्यो। जति रात ढल्दैगयो उति उप्किन पो थाले। सोधेँ, 'गाउँका समाचारका सिला कतै छुटे कि? हँ राजेश?'
'अरे, तैले भनिनस् नि, चुङचुङे फ्वाजुको के छ खबर?'
'ठीकै छ।'
'अनि उनका भाइ पेक्रे फ्वाजुको नि?'
'ठीकै छ।'
'उनका छोरा चाम्रे र अर्कोको नाउँ के रे?'
'छेपारे। अरे, छेपारेको के छ नि खबर?'
'अरे, छेपारेको जोई छुटी नि। पाल्लो गाउँबाट बिहे गरेको थियो। ५५ हजार दिई रे।'
'कसरी?'
'बिहे गर्दा एसएलसी दिदैथिई रे। पास गरेपछि घरबाट नै क्याम्पस पढाएछन्। ऊ पढेकी। छेपारे नपढेको। विदामा पनि बुहारी घर आइनछ। नपढेको पोइ दिलमा बसेनछ।'
छेपारेले पढेको थिएन। घरले पढाएपछि नैतिकरुपले त बुहारी आउनुपर्ने हो। तर, बिहे त दिलको कुरा पो भयो। दिलले नमानेपछि स्वाभाविक लाग्यो। श्रीमान् र श्रीमतीका सोंच र चिन्तनबीच तलमाथि हुँदाको यो स्वाभाविक परिणति थियो।
तर, यो हाम्रो परम्परागत चलन भन्दा फरक थियो। पढेका श्रीमान्ले सौता हाल्ने या हेला गर्ने या छाड्ने परम्परा थियो। तर, यो ठीक उल्टो थियो।
'पेक्रे फ्वाजुकी जोई भाल्कुटेनी त छुच्ची छ नि। हो, उनी गएर कि ज्यान खडा कि धन खडा भनेर धम्काइछन्। ज्यान जान नमानेपछि गनेछन् ५५ हजार।'
लामो सन्नाटा छायो। सम्भि्कएँ,, एक्ले पुन बाजेलाई। सोधेँ, 'अरे, मैले त एक्ले पुन बाजेको हालचाल सोध्न नै भुलेछु। के अझै पनि ती बड्डा देउता उठाउन वाल्लो गाउँ पाल्लो गाउँ गरिरहन्छन्?'
'हो त, खाडलमा जाने बेला पनि थमथम हिंडछ्न्। नइय देउती अझै पनि गाउँमा लाग्दैरहेछन्। बड्डा त हिंडेका हिंड्यै। ९६ वर्ष भए रे।'
एक्ले पुन पुराजी बाजे हुन्। नइय देउतीका पुजारी। हाम्रो गाउँ वारिपारिका सब ठाउँ उनकै पेवा छ। बोकाको टाउको त खाएका खायै।
'पुजारीको नाति मनेले पनि जोई छाड्यो नि।'
'होइन, के भन्छ यल्ले!'
'तीन छोराछोरी छन्। बिचल्ली छ। विदेश जाने भनेर काठमाडौं आएको थियो।'
'खै त मलाई फोन नै गरेन।'
'थाहा भएन होला नि।'
'होइन ऊ त भाइसँग अलग भएको थियो नि।'
'हो त।'
लोग्नेस्वास्नीको झगडा पुरानै रहेछ। बीस हजारको कागत नै बनेको रहेछ। राति कुटेछ। १२ बजे त दुई घण्टा टाढा रहेको आफ्नो माइत ढाङदुङ पुगेकी रे। मनेले अन्याय गरेकै रहेछजस्तो लाग्यो।
जोत्ने गोरु, गाग्रा ताउला सबै माइतीकै रहेछन् रे। घरको छानो हालेको ढुंगा पनि बेच्न थालेको छ रे।
जंगलको त्यति लामो बाटो मध्यरातमा छिचोलेर कसरी पुगी, उसको माइती ढाङढुझ? म दंग परेँ। े
'मनेको हाल बेहाल छ।'
'त्यति साना बच्चा पनि आफै मावल पुगे भन्थे। सबैभन्दा सानो त आमासँगै छ।'
त्यति लामो बाटो काटेर कसरी पुगे? फेरि दंग परेँ। छोराछोरीको निहुँ पारेर मनेसमेत भूपू ससुराल गयो रे।
'स्वास्नीले त भाले काटेर स्वागत गरी रे। सायद फर्काएर ल्याउँछ कि?' राजेशले भन्यो। सुनेर माल्दाइ हाँस्दैथिए।
'हो र? छाडेकी श्रीमतीकहाँ पुगेको? उसले भाले काटेर ख्वाएकी?' आबेगमा गरेको निर्णयप्रति दुवैले पुनर्विचार गरे कि? छोराछोरी बाआमालाई नजिक्याउन बल गरे कि। हुन सक्छ। मलाई यस्तै लाग्यो। छुटेका बाआमालाई एकै ठाउँमा भेट्दा कस्तो ठाने होलान् ती अबोध बालबालिकाले? के भने होलान्? सँगै बस भने होलान् कि नाइँ?
राजेशको समाचारसँगै गाउँघर आँखामा बल्भि्कए। काटेका बालापन र उकालीओराली फर्किए।
लामो सन्नाटा छायो। सायद राजेश निदायोजस्तो लाग्यो।
'मैले नि श्रीमती छाडे।' निदायो होला भनेको त एक्कासी राजेश बोल्यो। उसको आवाजले झस्किएँ।
'हँ!'
केही महिनाअघि मात्र राजेशदम्पतीको कुरा मिलेको थियो। राजेशपत्नीले नन्द र सासूलाई बोक्सीको आरोप लगाएपछि खैलाबैला मच्चिएको थियो। त्यै मुद्दा मिलाउन राजेश अरबबाट फर्किएको थियो। कुरा मिलेको पनि थियो। आज छाडेको कुरा गर्छ। म त अक्क न बक्क परेँ।
कुरा मिलेको रात फोन गरेको थियो। तीनपानेले मस्त थियो। कहिल्यै नखाने राजेशको जिब्रो लर्बरिएको थियो।
'दाइ, मैले आज खुकुरी चुरोट दुई पाकेट लिएर आएँ,। रक्सी पनि खाएँ। जाँड पनि खाएँ।' उसको लर्बरिएको स्वर थियो। कुरा मिले पनि मन नमिलेको आशंका गरेको थिएँ,।
यी सब नजिर सम्झदै भनेँ, 'बौलाइस् कि? के भन्छ यल्ले?'
'कुरा मात्र मिलेछ दाइ, मन मिलेन छ।' उसको जबाफ आयो।
दम्पतीको कुरा मिलेपछि राजेश दाङ आएछ। काम सकिए पनि बसेछ, एक महिना। घर फर्किएको भोलिपल्ट गएछ, जन्त। उतै बसेछ। यी कुनै पनि कुरा श्रीमतीसँग कुराकानी गरेनछ।

यी सब श्रीमतीले सोध्नु स्वाभाविकै थियो। तर, बनेछ त्यै कुरा नै झगडाको बिउ।
'आमाबालाई फोन गरिछ। मध्यरातमा उनीहरु आइहाले।'
'अनि?'
'कुराकानी भयो। भनौं झगडा भयो। मैले छोड्छु भनेँ। त्यसपछि पैसाको कुरा भयो। माओवादीले ५० हजारमा मिलाइदिए।' ऊ बोल्दै गयो। थप प्रश्न सोधिनँ।
'जब पैसा गन्न थालेँ, तब ऊ रुन थाली।' राजेशले भन्यो।
'तँ त पापी नै रहेछस् नि।' मैले भनेँ।
मेरो सवालको जबाफ फर्काएन।
उसको बोलीको भोल्यूम तलमाथि हुन थाल्यो। भन्यो, 'घर गइछ। आफ्ना सामान पोको पारेर आमालाई ढोगिछ,। साल्दाइलाई पनि ढोगिछ। तर मलाई ढोगिनँ।'
'तँलाई किन नढोग्ने त?'
'श्रीमान् हुँ नि।'
लामो सन्नाटा। अब त राजेश निदायो कि जस्तो लागेको थियो। तर होइन रहेछ। त्यो कुरा त्यसबेला मात्र थाहा पाएँ जब राजेश बोल्यो, 'हामी फाटाफाट हुँदा त उज्यालो हुँदैथियो,' भन्यो, 'मलाई माओवादीले घर पुर्‍याए उसलाई गाउँलेले।'
'किन गए त गाउँले?'
'मेरो लागि खसी पालेका रहेछन्, ससुरालमा। हाम्रो सम्बन्ध नै टुटेपछि खसीको के काम? त्यसैले होला, सासूससुराले रुँदै गाउँलेलाई आफूहरुसँगै जान आग्रह गरे। दुखको बेला आग्रहलाई गाउँले टार्न सकेनन् होलान। मलाई यस्तै लाग्यो।'
मैले सम्भि्कएँ, यी दुई गाउँ र परिवारबीच पुरानै नाता थियो। यसपालि तोडिएको नाताले मात्र सबै सकिएको त थिएन। एउटा सम्बन्ध मेटिएर के हुन्थ्यो र? यसअघिका सम्बन्ध पनि त बाँकी नै थिए।
'त्यसपछि भेट भएको छ?'
'अहँ।'
'फोन?'
'डिलिट गरेँ।'
'फोटो?'
'जलाएँ।'
'मनबाट पनि जलाइस्?'
'...।'
बोलेन।
मन फेरि गाउँ पुग्यो। बनले आ र घरले जा भन्ने बेलामा पुगेका बूढापाका अनुहार मात्र आँखामा उभिए।
तन्नेरी?
कि अरबमा कि कालापारमा कि जनमुक्ति सेनाको अस्थायी शिविरमा कि सहरमा।
तर, सहरमा थोरै। अरबे, कालापारे र सहरिया हावामा बतासिएका तन्नेरी।
नाता गाउँको पनि सहरिया हुन थालेछ। माया र सम्बन्ध पनि बितालिएछ।
सम्झेर अत्तालिएँ,।

1 comment:

  1. dai 'relation' ta mero gauko reality event jasto lagyo. katai tehi ta hoena?

    ReplyDelete