Saturday, December 5, 2009
हरियो डाँडामाथि …
भन्छन् -चट्कनको तालमा बच्चालाई पढाउन हुन्न । सधैं 'पढ्' भनेर कर गर्न हुन्न। यसले उनीहरुको बालमनोविज्ञानमा असर पर्छ। पढाइप्रति मोहभंग हुन्छ।
के यो आदर्श सबैले पालना गरेका छन्? रामजाने।
'अर्काका उदाहरण दिएर उनीहरुलाई किन दुखी बनाउने? आफ्नै उदाहरणबाट दिन्छु.' घोराही क्याम्पसका अंग्रेजी सर नारायणिसंह गुरुङ आफ्नै उदाहरणबाट पढाउन मेसो थाल्थे। कसोकसो उनको सिको गर्न मन लाग्यो।
अँ, जहाँ जन्मे त्यो ठाउँ, मान्छे र पढाइबीच गहिरो प्रेम थिएन। 'पढीलेखी छैन काम, हलो जोते माम' भन्ने दुर्गम ठाउँमा मेरा सपना याम बिते।
संयोग! मेरो परिवार अलि भिन्न परेछ। त्यसको एउटै कारण थियो, मेरो ठूल्दाजु र भाउजू माष्टर थिए।
सायद, यसैले होला घरमा मलाई सानैदेखि 'पढ्न' कर गरे। तर, पढ्ने भन्नेबित्तिकै लाज लाग्थ्यो। दाजुसँगै पढाउने अर्घाखाँचीका ढालबहादुर राउत, पूर्णबहादुर जिसी र थुप्रै दङाली माष्टर मेरो घरमा आउँदा बज्नु १२ बज्थ्यो। कारण थियो, स्कुल जाने बेला मलाई तानेर लान्थे। चिच्याएर हुक्कीहार पारेपछि बल्लतल्ल छाड्थे।
आफूले बुझ्ने हुँदा मभन्दा दुईचार वर्ष जेठा दौतरी कसैले किताब पाएका थिए। कोही त दुई कक्षासमेत पुगिसकेका थिए।
'पढ्ने भन्नेबित्तिकै लाज किन लाग्थ्यो हँ?' थाहा छैन। केले ममा पढाइप्रति बितृष्णा जगायो? थाहा छैन। खोज्ने प्रयत्न पनि गरेको छैन।
गाउँबाट स्कुल जान ठूला मान्छेलाई एक घण्टा लाग्थ्यो। भुराभुरीलाई त दोब्बर लाग्ने नै भयो। ८ बजेतिर किताब नपाएका भुराभुरी काठको फल्याकको सानो पाटोलाई कालोपाटी बनाएर अंगारले मोसाउँथे। एकापट्टि कखरा लेख्थे। अर्कोपट्टि माष्टरले लेखिदिन ठाउँ राख्थे। कालोपाटीको बिडमा प्वाल पारिएको ठाउँमा डोरी राखेर खरी झुण्ड्याएर स्कुल लाग्थे।
मेरो गाउँको वल्लोपल्लो गाउँमा स्कुल थिए। दुवै स्कुल पुग्न ठूला मान्छेलाई एक घण्टा लाग्थ्यो। खोलापारिको बागमारा स्कुल पुग्न उत्तिकै समय लागे पनि बीचमा चुनबाङ खोला भएकाले भुराभुरी जाँदैनथे।
गाउँमै स्कुल खोल्न जनसंख्या पुग्दैनथ्यो रे। सरकारले स्कुल नदिएपछि आफैले पैसा उठाएर गाउँमा स्कुल खोले। छाप्रा बनाए। स्कुल खुल्यो एक कक्षासम्मको लागि।
संयोग! त्यस स्कुल जान मन लाग्यो। गएँ। ख्यालख्यालैमा कखरा फालेँ। ख्यालख्यालमै ठूल्दाजुले स्कुलबाट ल्याउने गोरखापत्र पनि पढ्ने भएँ। यस्तै दुई महिनाजति पढेहुँला।
अँ, गाउँकै छाप्रे स्कुलमा पढिरहेको एकदिन। मलाई थाहा छैन त्यो कुन महिना थियो। जुन बेला मेरा दुईचार वर्ष जेठा दौतरीले अर्को स्कुलमा कोहीले किताब पाइसकेका थिए कोही दुई कक्षामा उक्लिसकेका थिए।
अँ, त्यो एकदिन। नन्द र कर्ण दाइले मलाई फकाए। ट्याम स्कुलमा पुर् याए। जो मेरो गाउँको पश्चिमतिर पथ्र्यो। त्यहाँ मेरो ठूलीआमाको छोरा जीवन दाइ माष्टर थिए।
उनले अफिसमा बोलाए। गएँ। उनले एउटा किताब दिए। भने, 'ल पढेर सुना।'
खररर पारेँ। मलाई थाहा छैन, उनले पढ्न दिएको कुन पाठ थियो।
जुन मैले पढेँ त्यो किताब झोलामा 'राख्न' भने। मन फुलेजस्तो न कस्तोकस्तो भयो। टिफिन समय भयो। सबले अर्नि झिके। गाउँतिर खाजालाई 'अर्नि' भन्ने चलन छ। हाम्रो गाउँका सबै भुराभुरीले अर्नि बाँडेर खाने चलन रहेछ। सबै जम्मा भएको बेला किताब देखाएँ।
'तँ तीन कलासमा गइस्' सबले भने। त्यसबेला नन्द दाइ र कर्ण दाइ चारमा पढ्थे। अंग्रेजी किताबसहित धेरै किताब भएकाले ठूलो झोला बोक्थे।
थाहै नपाई पुगिएछ तीन कक्षामा। त्यसपछि पढाइसित नजानिदो लभ पर् यो।
बकम्फुसे कुरा सुनाएर हजुरलाई बोर गरेकोमा मलाई माफ गर्नुस् है। किन सुनाएँ? भन्छु।
मेरा एक मित्रको परिवारसँग फ्ल्याट सेयर गरेर बसेका छौं। ती छिमेकीका एक छोरा छन्। जब छिमेकमा गृहकार्य र पढाइको महाभारत सुरु हुन्छ तब मेरो बच्पन फरक्क फर्केर आउँछ।
अँ, छिमेकीपुत्र। पढाइमा तगडा छन् रे। स्कुलबाट कहिलेकाहीँ आलु बोकेर ल्याए पनि प्रायः स्टार बोकेर आउँछन्। तर घरमा तिनलाई पढाउँदा भने बाह्र बज्छ। बालाई नटेर्ने भएकाले पढाउन आमा नै चाहिन्छ। आमाले चट्कन चिउरा दिएपछि बल्ल उनी धर्मराज थापाको स्वरमा पढ्न थाल्छन्। आँखाबाट बाटो लागेको तोरी तेलको संगीतमा मज्जाको सुनिन थाल्छ, थापाको …हरियो डाँडामाथि हलो जोत्ने साथी …जस्तै ए फर एपल…।
यी सारा दृश्य हेरिसकेपछि बेलाबखत मैले सुनेका उधारा कुरा सुनाउँछु, बाल मनोविज्ञानका। पढाउँदा तोरी पेल्न लगाउन हुन्न भन्ने कुरामा छिमेकीको सोह्रैआना सहमति छ। आखिरीमा भन्छन्, 'नमानेपछि के गर्ने? योभन्दा अर्को उपाय छैन त के गर्ने?'
यसो जोख्छु उनको बच्पन र मेरो बच्पनमा उतिसारो र् याङ्को थ्याङ् मिल्दैन। मिल्ने कुरा यत्ति छ कि पढाइप्रति दुवै बेखुसी रहेछां। कुन बुटीले पढाइमा मेरो दिल बस्यो? अहिलेसम्म थाहा छैन। उनलाई जबर्जस्त पढाइसँग दिल बसाल्न चट्कन चिउरासहित दबाब दिन्छन् भने मलाई यतिसारो थिएन।
उनको र मेरो बच्पनमा गोरु बेचेको साइनो पनि छैन। तैपनि याद आउँछ किन? मलाई थाहा छैन। आप्नो बच्पनसँग िसंग पुच्छर केही पनि नमिल्ने कुरा देख्दा पनि यस्तो हुन्छ किन? हजुरलाई पनि हुन्छ भने भन्नुस् है।
Subscribe to:
Post Comments (Atom)
CHANDRA
ReplyDeleteSayad tapai le bhane jasti keta keti lai padhauna garo parchha tara tapailai tha nai rayenachha nepal ma pani Monteshori paddati 6 bhanera tapailai yesto garo pareko bhaye tapai ajai monteshori bidhi bata padhai hune kuni pani nagik ko school ma admision garaidine salha dinu la.
bhanna matra sajilo 6 tara bachhalai guid garna ta malai pani 1dam garho lagcha, testo khi Ida payo bhane malai pani dinu la? meri bahinilai padhauna khojyo ki 1-1 bahanba nikalera umkina khoj ma ta hairan bha6u.
ReplyDelete