Sunday, December 20, 2009

आन्दोलनकारीलाई फोहरा



सात बजेतिर पुलिस अन्तराष्टिय सम्मेलन केन्द्रतिर एक लाइन बसेका थिए भने पूर्वमन्त्री हिसीला यमीको नेतृत्वमा नाराबाजी गर्दै आन्दोलनकारी बानेश्वर पुलतिर जाँदैथियो । आन्दोलनकारीले त्यसबेलासम्म सडकमा रहेका डिभाइडर लगभग ढालिसकेका थिए ।


सवा नौ बजेतिर मीनभवन साइडतिर ढालिएका डिभाइडर उठाउँदै पुलिसले बाटो खालि गर्न खोज्दैथियो । डिभाइडरकै निहुँमा आन्दोलनकारी र पुलिसबीच एकछिन भनाभन भयो । वार्ताजस्तो पनि भयो । तर त्यस क्षेत्रमा खटिएका इन्सपेक्टरले बिहान 'लाठी हान्न आदेश दिएको' भन्दै आन्दोलनकारी उत्तेजित देखिन्थे । त्यसपछि बाँकी रहेका डिभाइडर पनि ढालिए । साढे दस बजेतिर इन्सपेक्टरको भनाइ उद्धृत गर्दै आन्दोलनकारी झन् उत्तेजित देखिए ।

आन्दोलनकारी मीनभवन साइडतिर थिए भने पुलिस बानेश्वर साइडतिर । त्यसैबीचमा कुन पक्षले ढुंगा हान्यो थाहा भएन । झडपको थालनी भयो । चाइनिज अस्पतालअगाडि भएको झडपमा पुलिसले अश्रु ग्याँस हान्यो । गोली हान्यो या हानेन? थाहा भएन । कति घाइते भए देखिएन ।



घाइते सभासद् यशोदा सुवेदी

त्यसलगत्तै एकछिन स्थिति शान्त भयो । मीनभवन प्रतीक्षालयअगाडि बालिएका टायर कमाण्डरले हटाउन आदेश दिए । हटाउन कोशिस गरे तर सकेनन् । बिहान आन्दोलनकारीलाई पुलिसले सडक खाली गर्न भनेपछि भएको भनाभनपछि उनीहरुले टायर बाल्न थालेका थिए । त्यसअघि त्यस क्षेत्रमा कतै पनि टायर बालेका देखिएको थिएन ।

११ बजेतिर आन्दोलनकारीले एभरेष्ट होटलअगाडि पनि टायरको मुश्लो बाले । प्रधानमन्त्री माधव नेपाल बानेश्वरकै बाटो भएर आउने गाईंगुईं चलेकाले संचारकर्मी र आन्दोलनकारीको बाक्लो उपस्थिति थियो ।



मीनभवन साइडतिर झडप हुँदाखेरि पनि कति अश्रुग्याँस हानिए कति गोली हानियो थाहा भएन । तर त्यसबीचमा बानेश्वरचोकमा भने नाराबाजी मात्र थियो ।


घाइते हुनुअघि सभासद् यशोदा सुवेदी


बानेश्वरचोकमा पूर्वमन्त्रीहरु हिसिला यमी, रामचरण चौधरी, लेखराज भट्ट, गोपाल किराँती, पदम राई, शशि श्रेष्ठ र सभासद्हरु तिलक परियार, यशोदा सुवेदी, भीमप्रसाद गौतम, सावित्रीकुमार काफ्ले, डबलबहादुर शाह, सन्तोषी बिक 'सभासदे कोट'मा थिए । उनहरुकै नेतृत्वमा नाराबाजी भइरहेको थियो ।



१२ बजेतिर बबरमहल साइडबाट वाइसीएल अध्यक्ष गणेशमान पुन दीलिप प्रजापति र चन्द्रबहादुर थापाको नेतृत्वमा आएको जुलुस बानेश्वर चोकमा मिसियो । त्यसबेलासम्म मीनभवन साइडमा तीनचारपालि झडप भइसकेको थियो ।

साढे ११ तिर भएको झडपमा मीनभवन प्रतीक्षालयदेखि मास्तिर दुईजना बच्चा थिए । पुलिसले ुउता जानु भने । उनीहरु कोटेश्वरबाट आएको भन्दै जान नसक्ने बताए । फेरि झडप भयो । उनीहरु प्रतीक्षालयनेर रहेको बारमा टाँसिएर लुके । पुलिसले हानेको अश्रुग्याँसको धुवा मडारियो ।

एकछिनपछि स्थिति शान्तजस्तो भयो । त्यसैबेला एक अधबैसे मीनभवन साइडमा रहेको प्रतीक्षालयबाट चाइनीज अस्पतालतिर बढ्दैथिए । उनीमाथि पुलिस जाइलागे । दुईचार लाठी हानेपछि अर्का पुलिसले रोके । त्यसैबीचमा एकजना फोटो पत्रकार गएर उनलाई अस्पतालको गेटभित्र छिराउन कोशिस गरे । तर गेट बन्द थियो । बर्तौला थरका ती अधबैसे त्यहीका गाड रहेछन् ।

त्यसेबलासम्म बानेश्वरमा नाराबाजी मात्र भइरहेको थियो । झडप हुने कुनै छनक थिएन । सवा १२ बजेतिर प्रधामन्त्री बानेश्वरकै बाटोबाट आउने फेरि चलेको हल्लासँगै पानीको फोहरा हान्ने गाडी चोकमा ल्याइयो । त्यसपछि आन्दोलनकारी चोकमै पलेटी कसेर बसे । उनीहरुले झन् चर्का नाराबाजी थाले ।



फोहरा हान्ने गाडीको अगिल्तिर उभिएर डिएसपी दीलिप चौधरीले हाते माइकबाट आन्दोलनकारीलाई ुबाटो खाली गर्नु भन्दै ुनगरेु बल प्रयोग गर्ने चेतावनी दिए । तर आन्दोलनकारीले ज्यान गए पनि खाली नगर्ने झन चर्का नारा लगाए ।

चौधरीले फेरि चेतावनी दिए । चोकमा आन्दोलनकारी र पुलिसको संख्या बढ्दैथियो । स्थिति तनावग्रस्त हुँदैथियो ।

चेतावनीलगत्तै चौधरीले पत्रकारलाई 'पानीको फोहराले उडाउन सक्ने' भन्दै हट्न आग्रह गरे ।

चोकमास्तिर राखिएको गाडी अघि बढ्यो र फोहरा हान्न सुरु गर् यो । फोहरासँगै अघि बढेका पुलिस र आन्दोलनकारीबीच इँटा र ढुंगा हानाहान सुरु भयो । पुलिसले फोहरासँगै दर्जनौं अश्रुग्यास हान्यो । त्यसबीचमा कति पुलिस र आन्दोलनकारी घाइते भए थाहा भएन ।



घाइते हुनुअघि डिएसपी दीलिप चौधरी

फोहरा हान्ने गाडी पछि हट्न थालेपछि आन्दोलनकारीको इँटा फोहरा हान्ने गाडीमाथि झन् बर्षियो । गाडीकै पछिपछि पुलिस पनि पछि हट्दैथियो । चोकभन्दा झण्डै पाँच मिटर मास्तिर पार्किङ गरिएका पत्रकारका दुईवटा मोटर साइकलमा बल्झिएर भाग्दैगरेका पुलिस लडे । कमाण्डिङ गरिरहेका चौधरी पनि त्यसैमा परे । त्यसैबीचमा पानीको फोहरा हान्ने भ्यान दंगा पुलिसको भ्यानसहित आन्दोलनकारीमाथि जाइलागेका पुलिस अन्तर्राष्टिय सम्मेलन केन्द्रको गेटभित्र छिर् यो । पत्रकारको ससानो हुल पनि पुलिससँगै छिर् यो । त्यसपछि आन्दोलनकारीले गेटनजिकै पुगेर सम्मेलन केन्द्रभित्र ढुंगामुढा गरे भने भित्रबाट पनि पुलिसले अश्रुग्यास हान्यो । त्यसैबीचमा मोटरसाइकलनेर रक्ताम्य भएर लडेका चौधरीलाई पुलिसले सम्मेलन केन्द्रभित्र लगे ।

त्यसपछि केही क्षण स्थिति शान्तजस्तो देखियो । एक हुल पुलिस भित्रबाट निस्केर फेरि आन्दोलनकारीलाई लखेट्न थालेपछि फेरि झडप भयो । झडपमा केही पुलिसले 'आफूहरुले कुटेको मात्र खिचेको' भन्दै फोटो पत्रकारलाई हपारे । आन्दोलनकारी र पुलिस जसले कुटे पनि कुटिरहेको बेला मानवअधिकारवादी लेखिएको लुगा लगाएका कोही पनि देखिदैनथे । उनीहरु झडपपछि पुगेर पत्रकारलाई सोध्थे ।

झडपमा पूर्वमन्त्री रामचरण चौधरी पनि घाइते भए । त्यसलगत्तै बानेश्वर साइडनेर एकजना अधबैसे मानिस कुटिए । बानेश्वर चोकमा भएको झडपपछिको शान्तिकालमा चारजना कुटिए । तर ती आन्दोलनकारी थिएनन् । आन्दोलनकारी त भागिहाल्थे । 'हामीलाई त के कुट्ला' भन्दै िहंडेका सर्वसाधरण कुटिए ।


प्रहरीले हानेको बारबोरको गोलीका खोका देखाउँदै नेता दीलिप प्रजापति

त्यसैबीचमा एकछिन फेरि सन्नाटा छायो । न आन्दोलनकारीबाट ढुंगा प्रहार भयो न त पुलिसबाट नै । आन्दोलनकारी शंखमूल साइडतिर झण्डै तीन सय मीटर तल देखिन्थे । सभासद् यशोदा सुवेदी चोकदेखि दुई मिटरजति तल एक्लै उभिएकी थिइन् । फोहराले निथ्रुक्क भिजेकी उनी 'जुलुस गर्न पाउने मौलिक अधिकारमाथि बन्देज लगाएको' भन्दै आक्रोश पोखिन् । फोहराको पानीले भिजेको कुर्ताको सलले अनुहार पुछ्दैथिइन् । 'ए बूढी खुरुक्क लागेर उता हट्' भनेर एकजना पुलिस कराए । अपशव्द प्रयोग गर्दै फेरि पछि हट्न भनेपछि उनले 'मुख सम्हालेर बोल्न' भन्दै आफ्ना दिदी बहिनीलाई पनि सम्झन आग्रह गरिन् । आन्दोलनकारी र पुलिस दुवै पक्षलाई 'ढंगा नहान्न' आग्रह गरिन् ।

त्यसैबीचमा तनाव झन् बढ्यो । तर उनी पुलिसकै बीचमा एक्लै उभिइरहिन् । यसैबीच सभासद् भीमप्रसाद गौतमले उनलाई पछि हट्न भने । तर उनले 'दाइ तपाइ पनि यता आउनुस्' भनिन् । गौतम गएनन् । त्यसको केही क्षणपछि फेरि भएको झडपमा गौतममाथि पुलिस जाइलागे । दुईचार लाठी खाएपछि पुलिसले नै गौतमलाई बचाए ।

एकछिन फेरि स्थिति शान्तजस्तो देखियो । सुवेदी पुलिससँग विवाद गरिरहिन् । यसैबीचमा पुलिसतिरबाट ढुंगा हानियो । उनले 'किन हानेको' भनेर पुलिससँग बाँझिन् । यसबीचमा पटकपटक उनलाई केही पुलिसले कुट्न खोजे तर पुलिसले नै बचाए । त्यसबीचमा सुवेदी र पुलिसबीच विवाद भइरह्यो । विवादकै बीचमा आन्दोलनकारीबाट ढुंगा प्रहार भयो । त्यसपछि झडप सुरु भयो । उनी बीचमा परिन् । फेरि शान्त भयो । फेरि झडप भयो ।


बानेश्वरमा पर्यटक

फेरि झडप भयो । झडपमा कसले हान्यो कुन्नि उनको टाउको फुट्यो । पुलिसको लाठी लाग्यो या ढुंगा टाउको फुटे्पछि उनी घोप्टो परिन् । त्यसअघि उनीसँगै रहेको एकजना बूढा बाले उनलाई समाए । पुलिसले उनलाई उपचारको लागि लान खोज्यो तर उनले अस्वीकार गरिन् । पुलिसले आन्दोलनकारीको ढुंगाबाट चोट लागेको आरोप लगाइरह्यो भने उनले पुलिसले कुटेको भनिरहिन् ।




त्यसैबीचमा हिसीला यमी उनका बडीगार्ड जनमुक्ति सेना र अर्का सभासद् देखिए । उनीहरुमाथि पनि पुलिस जाइलागे । तर पुलिसले नै रोके । कुट्न दिएनन् । झडपछि केही समय फेरि शान्त भयो । यमीले 'तिम्रा कमाण्डर खै' भन्दै पुलिस कमाण्डर खोजिरहिन् । उनीहरुले कमाण्डर घाइते भइसकेको भन्दै अर्को कमाण्डर नै नआएको बताइरहे । उनले सोधिरहिन्, 'एक कमाण्डर घाइते भएपछि अर्को त होला नि ।'

स्थिति साम्य भएपछि पनि पटकपटक पुलिस र आन्दोलनकारी पक्षबाट ढुंगा हानिएको भन्दै झडपको स्थिति देखा पर् यो । त्यसैबीच आन्दोलनकारीले बार बोरका ६ वटा खोका देखाउँदै 'पुलिसले गोली हानेको' बताए । त्यसको एकक्षणपछि एकजना मानवअधिकारवादीले पनि बारबोरकै एउटा खोका लिएर देखाए । त्यसबेलासम्म स्थिति साम्य भइसकेको थियो ।





8 comments:

  1. नविनजी लाई धेरै धन्यवाद यो रिपोर्टिङको लागि । सवै कुरा थाहा भयो ।

    ReplyDelete
  2. मानब अधिकारबादीको असली रुप देखाएकोमा धन्यबाद । उनीहरुलाई बन्दमा निषेध गर्नु पर्छ।

    ReplyDelete
  3. आमहड्तालको सचित्र बर्णन................ छर्लङग देखियो ।

    ReplyDelete
  4. Upesh Maharjan

    pani ko fohara hoina sathi. aandolankari ko lagi sital diyeko holani.

    ReplyDelete
  5. Purna B. Pun
    Nepal ko athah jalshrot ko use garnu pardaina sir. Kam se kam khane paani, hydro-electricity ma use nabhaye pani yesma ta majja le.....!!!

    ReplyDelete
  6. फोटोहरु ऐतिहासिक छन् । आदिवासि जनजाति मगर त्यसमा क्रान्तिकारी कम्युनिष्ट विचार ले लैस पत्राकार नविन जी को क्षमता को प्रसँशा गर्दछु।

    ReplyDelete
  7. Umesh Shrestha
    Without following HUMAN viewpoint & abandoning viewpoint of Pro/Anti We can't solve Social, Economic and Political problems parmanently. Government & Maoists should realize this fact.

    ReplyDelete
  8. Mina Thapa
    Mina Thapa
    हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बिऊ जोगाउनु........ भन्छन् ।

    ReplyDelete