Tuesday, August 23, 2011

कान्छीसँग भागेका सभासद्लाई जेठीको सन्देश

सभासद् गुणाखर बस्याल गत २० जेठदेखि सार्वजनिक सम्पर्कमा छैनन् । बस्यालको परिवारले उनलाई एक महिलाले अपहरण गरेको भन्दै प्रहरीमा उजुरी गरेको थियो भने प्रहरीले उनी कान्छी श्रीमतीसँग रहेको दाबी गरेको थियो । 'नयाँ पत्रिका'ले यससम्बन्धी समाचार २३ असारमा छापेको थियो । पर्वत क्षेत्र नं. २ बाट विजयी सभासद् बस्यालले समाचारको खण्डन गर्दै आफू चितवनमा रहेको र अपहरणमा नपरेको लिखित प्रतिक्रिया दिएका थिए । सभासद् अहिले पनि सम्पर्कमा छैनन् । प्रस्तुत छ श्रीमान्का सम्बन्धमा बस्यालपत्नी खिमा बस्यालको बेलिविस्तार-
 

बिस्तारामा परेकी बूढीआमा, कलिला तीन छोराछोरीलाई युद्धको समयमा बाध्यताले छोड्नुभयो । अहिले उनीहरूलाई बिर्सेर बेपत्ता नहुनुहोस् । युद्धको समयमा एउटा मिर्गौला गुमाएरै पनि तपाईंलाई सहयोग गर्ने श्रीमती तपाईंकै बाटो हेरिरहेकी छ । 
खिमा बस्याल
सभासद् गुणाखर बस्यालपत्नी
म सानै हुँदा नै गुणाखर बस्याल हाम्रो गाउँमा चर्चित व्यक्ति हुनुहुन्थ्यो । पढाइमा मिहिनेती, इमानदार र प्रगतिशील विचारको व्यक्ति भएकाले गाउँमा सबैले उहाँको प्रशंसा गर्दथे । त्यही कारण मेरा बुबाआमाले पनि म सानै हुँदा नै उहाँसँग मेरो बिहे गराइदिने इच्छा राख्नुभएको थियो । उहाँका बारेमा ममा पनि सानैदेखि राम्रो छाप परेको थियो । हाम्रो जिल्ला फरक (मेरो गुल्मी र उहाँको पर्वत) भए पनि हाम्रो घरको दूरी डेढ घन्टा मात्रै थियो । हामीले पर्वतको शालिग्राम गाविसको सेतीवेणी माविमा पढेका थियौँ । मेरी फुपू र उहाँले एउटै कक्षामा पढ्नुभएको थियो । मैले भने उहाँभन्दा धेरै पछि पढेकी हुँ । परिवारकै चाहनाअनुसार ०४४ फागुन १२ गते १५ वर्षको उमेरमा मेरो उहाँसग बिहे भयो ।

हाम्रो विवाह हुनुअघि नै उहाँ राजनीतिमा लागिसक्नुभएको थियो । मलाई भने त्यसवेला राजनीतिको 'र' पनि थाहा थिएन । विवाहपछि उहाँले पहिला पाल्पा र पछि भरतपुरमा क्याम्पस पढ्नुभयो । राजनीति नबुझ्ने भएकीले उहाँ केमा व्यस्त हुनुहुन्छ भन्ने मलाई त्यति थाहा हुँदैनथ्यो । त्यतिवेला उहाँ विद्यार्थी संगठनको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

पर्वत जिल्ला र विशेषतः हाम्रो गाउँमा कम्युनिस्टहरूको माहोल बढ्दो थियो । उहाँकै संगतले ममा पनि बिस्तारै राजनीतिमा लाग्ने रहर बढ्यो । विवाहको चार वर्षपछि म पनि राजनीतिमा सक्रिय भएँ र ०४९ सालमा पर्वत जिल्लाको अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्ष पनि भएँ । सामान्य रुढिवादी परिवारमा जन्मेर पनि संगठनमा काम गर्ने र सभाहरूमा बोल्न सक्ने भएँ । राजनीतिप्रतिको चाख झन् बढ्दै गयो । ०५२ मा जनयुद्ध सुरु भएपछि हामी चितवनको माडीमा बसाइँ सर्‍यौँ । युद्ध चर्किंदै गएपछि म पनि ०५७ सालमा भूमिगत भएँ । म पर्वतमै भूमिगत भएर राजनीतिमा सक्रिय रहेँ । उहाँ भने ०४८ सालमा नेकपा मशालको पूर्णकालीन कार्यकर्ता बन्नुभयो र ०५२ सालबाट भूमिगत हुनुभयो । राजनीतिमा भने ०४३ सालतिरबाट नै सक्रिय हुनुहुन्थ्यो । पछि मेरो मिर्गौलामा समस्या देखियो, उपचार पनि गरियो । र, पार्टीकै सल्लाहअनुसार फेरि चितवनतिरै बस्न थालेँ । त्यसपछि राजनीतिमा पनि त्यति सक्रिय हुन सकिनँ । तर, आफ्नो ठाउँबाट सहयोग गरिरहेँ ।

संविधानसभा चुनावमा उहाँ पर्वतको क्षेत्र नम्बर २ बाट विजयी हुनुभयो । म पनि चुनाव प्रचारका लागि चितवनबाट पर्वत गएँ । महिलालाई संगठित गरेर चुनावी कार्यक्रममा गाउँगाउँ पुगेँ । म चैत २० गते पर्वत पुगेकी थिएँ, २४ गते मात्रै उहाँसँग भेट भयो । त्यो दिन सँगै बसियो । भोलिपल्ट हामी फेरि छुट्टयिौँ । अर्को दिन राति उहाँले एक्कासि फोन गर्नुभयो । 'बुबा सिकिस्त बिरामी हुनुहुन्छ, तुरुन्त चितवन जानुपर्‍यो' भन्नुभयो । पछि बुझ्दा बुबा बितिसक्नुभएको रहेछ । म चितवन फर्किएँ । उहाँले चुनाव जित्नुभयो । बुबाको मृत्युमा पछि शोकसभा मनाइयो । बुबा बितेपछि हामी नवलपरासीको गैंडाकोट बसाइँ सर्‍यौँ । गैंडाकोटमा घडेरी पनि भएकाले हामी चितवनको घर र खेत बेचेर गैंडाकोटमै बस्न थाल्यौँ । सभासद् भइसकेपछि उहाँ प्रायः काठमाडौंमा व्यस्त हुन थाल्नुभयो । म घर सम्हाल्दै पार्टीमा लागिरहेँ । उहाँ नियमित रूपमा घरमा त जानुहुन्यो तर सबै जिम्मा मैले नै लिएकी थिएँ ।

सभासद् भएको डेढ वर्षसम्म हामीबीच कुनै नराम्रो भएन । पछि उहाँ एकदमै निराश देखिन थाल्नुभयो । घर जाँदा पनि सधैं चिन्तित देखिनुहुन्यो । चिन्तित देखेपछि मैले 'के भो तपाईंलाई ?' भनेर सोधेँ । 'सामान्य बिरामी छु, कार्यकर्ता र राजनीतिको तनावले हो' भन्नुहुन्थ्यो । मैले अरू कुरामा शंका गरिनँ । 'कार्यकर्ता पाल्न गाह्रो भएको हो भने गैंडाकोटको थुंगो बेचौँला' भने । तर पनि उहाँको निराशा कम भएन । ०६७ साउन १४ गते उहाँ घर जानुभएको थियो । काठमाडौंमा बैठक भएकाले उहाँ भोलिपल्टै र्फकनुभयो । त्यतिखेर पनि उहाँ तनावमा हुनुहुन्थ्यो । त्यतिखेर पनि मैले कुरा बुझ्न निकै कोट्याएँ, उहाँ 'खास केही होइन' भन्दै धेरै बोल्न चाहनुभएन । एक हप्तापछि घर आउँछु भन्दै भोलिपल्ट काठमाडौं हिँड्नुभयो ।

काठमाडौं र्फकेपछि उहाँसँग मेरा सम्पर्क हुनै सकेन । मैले पटक-पटक फोन गरेँ । उहाँको मोबाइलको स्विच अफ थियो । पार्टीका अन्य व्यक्ति र आफन्तलाई फोन गरेँ । कतैबाट उहाँसँग सम्पर्क हुन सकेन । मनमा चिसो पस्यो, कसैले सम्पर्क छैन भन्दा झन् चिन्ता लाग्यो । म राति नै छोरालाई लिएर काठमाडौं आएँ । एकीकृत माओवादीको पार्टी कार्यालयका सचिव विकेश (श्रेष्ठ) दाइ, शालिकराम भुर्तेललगायतलाई फोन गरेर भेटेँ । उहाँहरूलाई घटनाबारे थोरबहुत थाहा रहेछ । चिन्ता गर्नुपर्दैन भन्नुभयो । मैले उहाँलाई निरन्तर रूपमा सम्पर्क गर्ने प्रयास गरिरहेँ ।

पछि उहाँ दिल्ली पुग्नुभएको खबर आयो । मैले फोनमा कुरा गर्दा रोएर उहाँ बोल्नै सक्नुभएन । उहाँ भावुक बनेपछि मैले आफूलाई सम्हालेर सम्झाउन खोजेँ । 'मलाई एउटी महिलाले फसाई म्याडम !' भन्दै उहाँ एक घन्टासम्म फोनमा रोइरहनुभयो । 'कमला तामाङ भन्ने गांेगबुमा होटल चलाउने महिलाले मलाई फसाई र म यहाँ आइपुगेँ' भन्दै उहाँ रुनुभयो । 'मैले परिवारलाई धोका दिएँ, पार्टीलाई धोका दिएँ तर मैले चाहेर होइन, वशमा पारेर फसाई, पैसा माग्दै ब्ल्याकमेलिङ गरी, अब म बाँच्न ठीक छैन । म मर्न यहाँ आएको हँु, रेलको लिकमा परेर मर्छु । यो लास्ट फोन हो म्याडम !' भन्दै झन् रुनुभयो । त्यसपछि मैले उल्टै उहाँलाई 'सर, त्यसरी आत्तिन हुँदैन' भनेर सम्झाएँ । र, यतैबाट प्लेन टिकट पठाएर भोलिपल्ट उहाँलाई काठमाडौं बोलाएँ । मेरी श्रीमतीप्रति मेरो गर्व छ भन्दै उहाँ रुँदै काठमाडौं आउनुभयो । काठमाडौं आएपछि मैले उहाँलाई धेरै सम्झाएँ । सुरुमै गल्ती स्विकार्नु तपाईंको महानता हो भनेर सम्झाएँ । विके श्रेष्ठ दाइलगायत पार्टी नेतासँग बसेर कुरा गरियो । उहाँलाई ब्ल्याकमेल गर्ने महिलालाई झिकाइयो । उसलाई सोध्दा 'उहाँसँग मेरो केही छैन, मेरो कोही पनि होइन' भन्ने कुरा गरिन् । उहाँले चाहिँ त्यही केटीले आफूलाई फसाएको बताउनुभएको थियो । पछि दुवैजनाले 'हामीबीच केही सम्बन्ध छैन' भन्ने कागजमा सहीछाप गराइयो ।

पछि बुझ्दा हेटौंडा घर भएकी ३०/३२ वर्षकी ती महिलाले सरसँग २०/२२ लाख रुपैयाँसमेत लगिसकेकी रहिछिन् । उहाँले आफन्तहरूसँग ऋण गरेर ती महिलालाई पैसा दिनुभएको रहेछ । सभासद्जस्तो व्यक्तिसँग मेरो सम्बन्ध छ भनेर ब्ल्याकमेलिङ गरेपछि उहाँले पैसा दिनुभएको रहेछ । उक्त घटनापछि म उहाँसँगै काठमाडौं बस्न थालेँ । त्यसको केही महिनापछि त्यो आइमाईले फेरि सताउन थाली । उहाँलाई मात्र नभए मलाई र छोरालाई समेत फोन गरेर सम्पत्ति माग्दै दुःख दिन थाली । उसले 'तेरो श्रीमान्बाट १५/२० लाख लिइसकेँ, मेरो पेसा यही हो । मेरो दोष छैन, तेरै श्रीमान्कोे दोष हो । ३० ल्ााख दिने कुरा भएको हो, २० लाख मात्र दियो । बाँकी पैसा छिटो ले' भन्दै छोरालाई समेत फोनमा सताउन थाली । दुईजनाबीच केही सम्बन्ध भएपछि नै त्यसले सबैलाई भन्दिछु भन्दै सताएकी हो जस्तो लाग्छ । यो क्रम चल्दै गयो ।

गत फागुनमा सर र म सँगै सिंहदरबार गएका थियौँ । त्यतिवेला भारतीय नम्बरबाट एक्कासि फोन आयो । त्यही महिलाको फोन रहेछ । 'मागेजति पैसा दिएनौ, म अब पोल्यान्डतिर गएँ' भन्दै र्झकेर फोन गरी । मलाई पनि विदेश गई आनन्द भयो भन्ने लाग्यो । त्यसबीचमा उहाँले २०/२२ लाख ऋण गरेर दिएको छु, के गर्ने होला भन्दै चिन्ता गर्नुहुन्थ्यो । 'चिन्ता नलिनूस्, घर/जग्गा बेचेर तिरौँला' भनेर मैले सम्झाइरहेँ । पछि बुझ्दा उसले सरलाई सताउन छोडेकी रहिनछ । हामीलाई झुक्याउन मात्र विदेश गएँ भनेकी रहिछ । जेठमा संविधानसभाको म्याद थप्ने वेला हामी काठमाडौंमा सँगै थियौँ । जेठ १८ गते म गाउँ गएँ । त्यसपछि उहाँ मबाट सम्पर्कविहीन हुनुभयो । त्यसयता फोन अफ छ । कहाँ हुनुहुन्छ अहिलेसम्म थाहा छैन । दुई महिना नाघिसक्यो । म उहाँकै खोजीमा छु ।

उहाँ अचानक बेपत्ता भएपछि पार्टी नेताहरूसँग कुरा गरेँ । खोजी गरिपाऊँ भनी हनुमानढोका प्रहरीमा उजुरी दिएँ । तर, सभासद्जस्तो मान्छे बेपत्ता हुँदा पनि प्रहरीले घटनालाई गम्भीरताका साथ लिएको छैन । के खोजी भयो भनेर प्रहरीले अहिलेसम्म खबर गरेको छैन । प्रहरीले पनि घटनालाई गम्भीरताका साथ नलिनुमा पनि अरू नै केही कारण छ कि भन्ने लागेको छ । पार्टीले पनि यो विषयलाई महत्त्व दिएको छैन । मैले थुप्रै नेतालाई भेटेँ तर उहाँको खोजीमा कसैले चासो दिनुभएन । माओवादी अध्यक्ष प्रचण्डसँग गत सोमबार भेटेर समस्या सुनाएकी छु । उहाँले घटनाबारे आफूले बल्ल राम्रोसँग थाहा पाएको भन्दै गम्भीरताका साथ लिने आश्वासन दिनुभएको छ । जिम्मेवार सभासद् दुई महिनासम्म हराउँदा पनि पार्टी र सरकारले के हेरेको छ ? मलाई अचम्म लागिरहेको छ । पहिले दिल्ली जाँदा पनि उहाँलाई त्यही केटीले लगेकी रहिछ । अहिले पनि त्यही महिलाले बन्धनमा पारेको हुनुपर्छ । पहिलेदेखि नै पैसाको बार्गेनिङ गरेकीले उसले अपहरण गरेकी पनि हुनसक्छ ।

बिहे भएको २५ वर्ष भइसक्यो । उहाँ त्यसरी कुनै महिलाको पछि लाग्ने व्यक्ति होइन । उहाँले म अपहरणमा परेको छैन भनेर खबर गर्नुभएको रहेछ । बाध्यतामा पारेर त्यसो भन्नुभयो जस्तो लाग्छ । त्यो महिलाको पेसै त्यस्तो भएकाले उसले फसाएकी हुनसक्छे । पहिले पनि तीन/चारजनालाई यसरी फसाइसकेकी रहेछ । उहाँ सामाखुसी बस्दा खाजा खान जाँदा उससँग चिनजान भएको रहेछ । एउटा जिल्ला हाँकेको, सभासद्जस्तो गरिमामय पदमा पुगेको व्यक्ति अर्काे श्रीमती लिएर भाग्यो भन्ने उहाँलाई चिन्ने कसैले पनि विश्वास गर्दैनन् । म तत्काल उहाँलाई पार्टी र परिवारको सम्पर्कमा आउन आग्रह गर्छु । बिस्तारामा परेकी बूढीआमा, कलिला तीन छोराछोरीलाई युद्धको समयमा बाध्यताले छोड्नुभयो । अहिले उनीहरूलाई बिर्सेर बेपत्ता नहुनुहोस् । युद्धको समयमा एउटा मिर्गौला गुमाएर पनि तपाईंलाई सहयोग गर्ने श्रीमती तपाईंलाई कुरिरहेकी छ ।

प्रस्तुतिः नेत्र पन्थी/नवराज मैनाली
तस्बिरः श्रीधर पौडेल/नयाँ पत्रिका

No comments:

Post a Comment