Friday, August 5, 2011

बेचिएका सपना

निभा शाह
(ख्यालख्यालमा भेट भयो, निभा दिदी र राजकुमार कुँवरसित। भए, दुईचार बात, तन्दुरी रोटीको बहानामा। भए- केही गाउँका, केही सहरका कुरा । भए- केही नेताका केही कार्यकर्ताका। 

भए, काठमाडौं छिरेपछि, हेर्दाहेर्दै, राणाजीलाई खर्लप्प पारेका माओवादी नेताका जीवनशैलीका। घाममा रिठा चाउरिएझंै चाउरिदैगएका माओवादी कार्यकर्ता र गाउँघरका। र, लाहुरेको पर्खाइमा हलाक् परेकी लाहुरेनीजस्तै बेचयन सहिद परिवार, बेपत्ता परिवार, घाइतेका कुरा पनि। 

बागबजारस्थित जागरण बुक पसलमा दिदीको यो कविता आधाआधी बाटो लाग्दा मानुषीजी आइपुग्नुभयो। के सोचेर कुन्नि ?  सुनाएपछि कतै पत्रिकामा 'दिन' कविता दिनुभो। 'अच्छा' लाग्यो। ब्लगमा राखेँ। 

नसोधीकनै ब्लगमा राखेँ। दिदी, 'सरी' है।
)
 
बेचिएका सपना
चालै नपाई
आफ्नै रगत
अरुले बेचेपछि
के थाहा,
आफ्नै रगतको 
मूल्य कति थियो भनेर ? 


चालै नपाई 
आफ्नै सपना
अरुले बेचेपछि
के थाहा,
आफ्नै सपनाको 
मूल्य कति थियो भनेर ?


चालै नपाई>
आफ्नै बैंस 
अरुले बेचेपछि 
के थाहा,
आफ्नै बैंसको 
मूल्य कति थियो भनेर ?


हेर न-
चालै नपाई 
आज बजार भएपछि 
सोध्नुपरेको छ,
जून छुने तिनका इँटाहरुलाई- 
मेरो रगतको
मूल्य कति थियो ?



आज सोध्नुपरेको छ,
ऐनाजस्तै टल्कने 
तिनका जुत्ताहरुलाई 
मेरो सपनाको
मूल्य कति थियो ?


आज सोध्नुपरेको छ
परीहरुलाई मात दिने
तिनका यौवनहरुलाई 

मेरो बैंसको मूल्य कति थियो ?
 

त्यसैले त 
भनिरहेछु,
खबरदार जनता !
सहिदको रगत 
'रगती' बनाएर खाइरहेछन्-
नेताहरुले
तिम्रा देवताहरुले  

No comments:

Post a Comment