Friday, August 26, 2011

पुरिएको १७ घन्टापछि उद्धार

हरिहरसिंह राठौर,  जाजरकोट, भाद्र १० - पहिरोमा पुरिएको व्यक्ति कति समयसम्म जीवित रहन सक्ला ? केहीबेर वा एकाध घन्टा ? भगवती गाविस-३ गोजाकी डेढ वर्षीया मनीषा परियार त्यस्ती भाग्यमानी बालिका हुन् जसको पहिरोमा पुरिएको करिब १७ घन्टापछि जीवितै उद्धार हुन सक्यो ।

बगाएर ल्याएको ढुंगा र माटोभित्र बच्चा रोएको आवाज आएपछि नेपाली सेना र प्रहरीसहित उद्धारमा खटिएको समूहले करिब ४ घन्टा लगाएर हिलोभित्र बाँसको कोक्रोमा जीवित बालिकालाई फेला पारेको थियो । स्थानीय खोलामा बाढी आउँदा मंगलबार अपराह्न गोजास्थित खेतमा रहेका ७ घर बगेका थिए । तर स्थानीय बासिन्दाले दुई घन्टा टाढाको तल्लुस्थित सेनाको वीरदल गणको जाजरकोट-डोल्पा सडक निर्माण कार्यदल र प्रहरीलाई बुधबार बिहान ६ बजे मात्र खबर गरेका थिए ।

पुरिएका घरहरू खोतल्दै जाँदा बच्चा रोएको सुनेर खलंगाबाट उद्धार गर्न गएको सुरक्षाकर्मीको टोली अचम्ममा पर्‍यो । पहिरो खोतल्दै जाँदा चार घन्टापछि देब्रे हातमा सामान्य घाउबाहेक केही नभएको अवस्थामा हिलोभित्र बाँसको कोक्रोमा डेढ वर्षीया मनीषा भेटिइन् । पहिरो गएको १७ घन्टापछि जीवितै पाउन सकेकामा उद्धार टोली र स्थानीय बासिन्दा छक्कै परे ।

घटनाका बेला सीता परियार छोरी मनीषालाई कोक्रोमा सुताएर बाख्रा चराउन गएकी थिइन् । घरमै रहेका मनीषाकी हजुरआमा देउकला, दाइ रमेश र दिदी रेश्माको भने मृत्यु भयो । उद्धारमा खटिएका सहसेनानी देवीप्रसाद भुसालका अनुसार मनीषाका बाबु वेदबहादुर रोजगारीका लागि भारतमा छन् ।

from Kantipur daily news paper 

No comments:

Post a Comment