Saturday, December 3, 2011

शिविरमा टुटेका सपना

गजेन्द्र बोहरा, दाङ, मंसिर १७- विद्यार्थीकालमै युद्धमा होमिएका रुकुमका भुलबहादुर सुनारले त्यतिबेला एउटा सपना देखेका थिए- 'नयाँ नेपाल' बनाउने। त्यसैले उनी 'लालसेना'मा भर्ती भए। कैंयौ प्रहरी चौकी आक्रमण गरे। सेनाका ब्यारेकमा हमला गरे।
तर २०५९ कात्तिक २८ गते उनको सपनामा 'खोट' लाग्यो। त्यतिबेला माओवादीको आधाजसो लडाकु फोर्स जुम्लाको सैनिक ब्यारेक आक्रमणमा होमिएको थियो। लडाइँको त्यो मोर्चामा उनी पनि थिए। कताबाट गोली आयो, थाहा भएन। ब्युझँदा माओवादीकै उपचार क्याम्पमा थिए, एउटा खुट्टा नचल्ने अवस्थामा। पार्टीले उनलाई लडाइँबाट विदाइ गर्‍यो।

युद्धको बेला थियो। राम्रो ठाउँमा उपचार भएन। दुई महिना ढिला गरी पार्टीले भारत लगेर उपचार गरायो। 'धेरै ढिला भएर मेरो दाहिने खुट्टा गलिसकेको रहेछ,' उनले भने, 'कामै नगाल्ने भएपछि काटेर फाल्नुपर्‍यो।'

त्यसपछि उनको सहारा बन्यो बैशाखी।
२०६३ मा बृहत शान्ति सम्झौता भयो। माओवादी लडाकुहरू शिविरमा एकत्रित गरिए। उनीहरूका लागि देशभरि सातवटा मुख्य शिविर बनाइयो। त्यसैको मातहत ३-४ वटा सहायक शिविरमा लडाकुहरू बस्न थाले। रोल्पाको दहवनस्थित पाँचौं मुख्य डिभिजनअन्तर्गतको सहायक शिविर दाङको सक्राम उनको ठेगाना बन्यो।

त्यहाँ घाइते तथा अपांगहरूका लागि छुट्टै आवासको व्यवस्था गरिएको थियो। 'शिविरभित्र बस्न थालेपछि सपना फेरियो,' उनले भने, 'जीवन व्यवस्थित गर्नुपर्छ भन्ने सोच आयो, समायोजनपछि आजीवन पेन्सन पाइन्छ, त्यसबाट घरमै बसेर पार्टीलाई सहयोग गर्ने र छोराछोरीको भविष्य राम्रो बनाउने सपना बुन्न थालेँ।'

'अहिले सबै सपना एकैपटक टुटे, हामीलाई नौ लाख रुपैयाँ दिएर विदाइ गर्ने रे! सुन्दा धेरै निरास भइयो, पार्टीले पनि हामीलाई यसरी हेपेको भोग्नुपर्‍यो,' उनको अनुहारमा एकाएक निराशा पोतियो।

 अब उनको अर्को सपना छ- 'छोराछोरी राम्रोसँग पढाउने।

'यत्रो वर्ष लथालिंग भएको घर सम्हाल्नुपर्‍यो, आफ्नो ज्यान छ, श्रीमती छे,' उनले भने, 'छोराछोरीको भविष्यको कुरा छ, आफ्नो त जीवनै अपांग भयो, पार्टीको पनि हेला भइयो, छोराछोरीलाई राम्रोसँग पढाउने सपना पनि के हुने हो कुन्नी?'
...

सल्यानकी सीता केसीको एउटा आँखाको ज्योति गुमेको छ। लडाइँका बेला गोलीका छर्रा लागेपछि उनले आँखा गुमाइन्। वर्गीकरणको काम सकिएपछि घर फिर्ता हुने दिनले उनलाई पिरोल्न थालेको छ।

लडाकु वर्गीकरणका क्रममा स्वेच्छिक अवकाश रोजेकी उनी घर फर्कन पनि त्यति सजिलो नभएको बताउँछिन्।

उनको सपना भनेको 'छोरालाई पढाउने लेखाउने, ठूलो मान्छे बनाउने' हो। उनका अनुसार पार्टीले लडाकुको जीवनलाई 'चिया पिउने प्लास्टिकको गिलास'जस्तै बनायो। 'खायो अनि फालिदियो।'

परिवारको सहमतिमै पार्टीमा लागेर युद्ध लडेकी उनलाई घरपरिवारले पनि वास्ता गर्न छाडेको छ। शारीरिक रूपमा असक्त भएकी उनलाई श्रीमानको सहारामा बाँच्ने आस पनि छैन। दुवै आँखा नदेख्ने आफ्ना श्रीमान् र ५ वर्षीय छोरालाई आफ्नो एउटा आँखाले बाटो देखाउनुपर्ने बाध्यता सुनाउँदै उनले भनिन्, 'हेरौं मेरो एउटा आँखाको ज्योतिले कहिलेसम्म बाटो देख्ने हो।'

उनका श्रीमान लालबहादुर केसीलाई २०६१ मा सप्तरीमा प्रहरीले पक्राउ गरी करेन्ट लगाएर यातना दिएपछि दुवै आँखाको ज्योति गुमेको केसीले सुनाइन्।

'पार्टीले यहाँसम्म हेला गर्‍यो, साह्रै हेपेर निर्णय गरेको रहेछ,' उनले भनिन्।
...

वर्गीकरण प्रक्रिया सकिएलगत्तै आफूहरू 'हेपिएको' भन्दै माओवादी शिविरमा रहेका घाइते तथा अपांग लडाकुहरूले आन्दोलनको तयारी गरिरहेका छन्।

वर्गीकरण सकिएपनि आफ्ना नौबुँदे माग सम्बोधन नभए समायोजन प्रक्रियामै 'अवरोध' गर्नेसम्मको चेतावनी उनीहरूले दिएका छन्। शुक्रबार दाङको सक्रामस्थित दीर्घस्मृति बिग्रेडमा पत्रकार सम्मेलन गरेर ती घाइते तथा अपांग लडाकुले २९ सदस्यीय संघर्ष समिति गठन गरे। समितिले मंसिर २१ देखि आन्दोलन चर्काउने योजना बनाएको छ।

बुधबार मुख्य शिविर दहवनमा आएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई उनीहरूले आफ्ना नौबुँदे माग सम्बोधन गर्न मंसिर २१ सम्मको अल्टिमेटम दिएका थिए। 'त्यसपछि हामी आन्दोलन चर्काउनेछौं,' घाइते तथा अपांग योद्धा संघर्ष समितिका संयोजक खुसीराम चौधरीले भने, 'सडकमा पनि जानसक्छौं, आवश्यक परे समायोजन प्रक्रिया रोक्न सकिन्छ।'

बैठकले सरकार, राजनीतिक दल तथा विभिन्न संघसंगठन एवं अन्तर्राष्ट्रिय स्तरसम्ममा आफ्ना माग पुर्‍याउन र आवश्यक छलफल गर्न चौधरीकै संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली पनि गठन गरेको छ। टोलीले माग पूरा गर्न सरकारसँग वार्ता गर्नेछ र पार्टीलाई दबाब दिइरहनेछ। त्यसका लागि मंसिर २१ पछि राजधानी जाने योजना पनि समितिले बनाएको छ।

'अब हामी देशका सातैवटा डिभिजनमा समन्वय गर्नेछौं, हाम्रो आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्नेछौं,' चौधरीले भने, 'माग पूरा नभएसम्म निरन्तर आन्दोलन गरिरहनेछौं, समायोजन प्रक्रिया कसरी अवरुद्ध गर्ने भन्ने योजना पनि बनाइरहेका छौं।'

मुख्य शिविर अवलोकन क्रममा पार्टी अध्यक्षसहित आएका प्रधानमन्त्री भट्टराईले घाइते तथा अपांगहरूको निम्ति अवस्था हेरेर विशेष समितिमार्फत् थप राहतको व्यवस्था गर्ने आश्वासन दिएको उनले बताए। 'प्रधानमन्त्रीले घाइते तथा अपांग लडाकुहरूलाई तीन भागमा छुट्ट्याएर थप व्यवस्था गरिदिन्छौं भन्नुभएको छ,' उनले भने।

प्रधानमन्त्रीले लडाकुहरूलाई अतिजटिल, मध्यम अनि सामान्य घाइतेका रूपमा वर्गीकरण गरेर अवकाशका लागि दिइने रकम र थप अरू केही राहत प्याकेजसमेत व्यवस्था गरिदिने आश्वासन दिएको उनले बताए।

उनका अनुसार देशभरि करिब ५ हजारको हाराहारीमा घाइते तथा अपांग लडाकु छन्। 'हामीले घाइते तथा अपांग लडाकुको यकिन तथ्यांक अझै संकलन गरेका छैनौं, तर सबै डिभिजनका साथीहरूलाई भनिसकेका छौं,' उनले भने, 'अब चाँडै संख्या निर्क्योल गर्नेछौं।'


 घाइते तथा अपांग लडाकुका माग :

१.राज्यबाट सम्मानपत्र तथा कदरपत्र
२.आजीवन उपचारको ग्यारेन्टी गर्नुपर्ने र राज्यबाट पेन्सन
३.बालबच्चालाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी
४.स्वेच्छिक अवकाशमा जानेलाई उच्चस्तरको कमान्डरसरहको आर्थिक प्याकेज
५.अयोग्य ठहरिएकालाई योग्य घाइते योद्धासरहको सुविधा
६.जनयुद्धमा घाइते भई शिविरभित्र उपचारको अभावमा सहादत प्राप्त योद्धाहरूको परिवारलाई सेवासुविधा उपलब्ध गराउनुपर्ने कि सहिद घोषणा गर्नुपर्ने।
७.साह्रै असक्तलाई उच्चस्तरको सुविधा
८. राज्यबाट बिनाधितो ऋण
९.स्वेच्छिक अवकाशमा जानेलाई एकमुष्ठ रकम
 from http://nagariknews.com/news-highlights/139-highlights/33811-2011-12-03-03-54-57.html
 

No comments:

Post a Comment