
पर्सा परसवाका मुसहर समूदायका पूजा माझी, अमृता र निशा तस्बिर खिचाउँदै। तस्बिर : उपेन्द्र लामिछाने
'हाम्रा बालबालिका लागि पण्डितले नै राम्रा नाम जुराउँदैनथे', पर्सा चोर्नी-७ का अघन माझीका छोरा चोकटले भने- 'मैले छोरीको नाम आफ्नै पूजा राखे।' नर्सरीमा पढ्दै गरेकी उनकी छोरी आफ्नो नामबाट खुसी भएको उनले सुनाए।
अफ्टेरो नामका कारण कतिपय बालबालिका आफ्नो नाम नै बताउन नचाहने मटर माझीले सुनाए। 'मेरा बुबाको नाम तुला थियो', उनले भने- 'मैले आफ्नो छोराको नाम राजु राखे।' नामकै कारण साना नानीहरु विद्यालय जानसमेत लजाउने गरेकाले आफूले राम्रो नाम राखेको उनले सुनाए।
रङ्ग, जिउडाल र चाल-चलन र जन्मेका महिना तथा दिनको आधारमा उनीहरुको नाम रहने गरेको बारा बकुलियाका दशै चौधरीले बताए। 'हामीले उनीहरुलाई केही भनेका थिएनौं', उनले विगत सुनाए- 'उनीहरु आफैँ जे मन लाग्यो त्यही नाम राख्थे।' गैरदलितका अविभावकले राजेन्द्र, नगेन्द्र, राजकुमार, मनिषजस्ता नाम आफ्ना बालबालिकालाई दिँदै गर्दा दलित समूदायले भने करिया, भादो, भिखारी, पोतन, गेना, अक्कलु, झगरु, पल्टु लगायतका नाम राख्ने गरेको चौधरीले सुनाए।
'तर अहिले फरक भएको छ', जीतपुरका फरियाद अंसारी भन्छन्- 'दलित बालबालिका राम्रा नाम सुनिन थालेको छ।' बजार, विद्यालय र विद्युतीय उपकरणमा उनीहरुको पहुँच पुग्न थालेपछि नाम परिवर्तन हुन थालेको उनको बुझाई छ। 'अब त अर्चना, कुसुम, कसिसजस्ता नाम पनि सुनिन थालेको छ', उनले बताए।
from http://nagariknews.com/society/nation/33867-2011-12-04-10-43-59.html
No comments:
Post a Comment