Thursday, March 8, 2012

नेपाली गुरु 'प्रेरणादायक शिक्षक'

ज्ञान न्यौपाने, काठमाडौं, फागुन २६ -आफैंले पढाएका विद्यार्थीहरूले सिफारिस गरेपछि एक नेपाली शिक्षक अमेरिकी विश्वविद्यालयबाट पुरस्कृत हुने भएका छन्। अमेरिकाको प्रसिद्ध विश्वविद्यालय 'मासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी' (एमआइटी) ले बुढानिलकण्ठ विद्यालयका शिक्षक लालबहादुर राना मगरलाई 'सन् २०१२ का प्रेरणादायक शिक्षक' उपाधिले विभूषित गर्न लागेको हो।
उक्त विश्वविद्यालयले विश्वभरका ३३ शिक्षकलाई प्रेरणादायक शिक्षक घोषित गर्न लागेकामा दक्षिण एसियाबाट मगरबाहेक भारतको बेङलोरस्थित सोफिया माध्यमिक विद्यालयका शिक्षक लाली पुर्कायस्था पनि छन्।
एमआइटीमै अध्ययनरत शंभुबाबु कोइराला, राम रिजाल र उद्धव शर्मा कुनै समय मगरका विद्यार्थी थिए। उनीहरूले आफू अध्ययनरत अमेरिकी विश्वविद्यालयलाई नेपालका पुराना गुरुको वर्णन गरेपछि मगर छनौटमा परेका हुन्। उक्त विश्वविद्यालयले हरेक वर्ष विश्वभरबाट आएका आफ्ना विद्यार्थीलाई उनीहरूले अनुभव गरेका प्रेरणादायी शिक्षकबारे निबन्ध लेख्न लगाउनुका साथै विभिन्न प्रश्न राख्ने गरेको छ। त्यसै क्रममा यी तीनैजना नेपाली विद्यार्थीले एकैजना गुरुको नाम लिएका थिए। यसरी उक्त विश्वविद्यालयको सम्मान पाउने मगर पहिलो नेपाली शिक्षक बन्न पुगेका हुन्।
मगरले यसको जानकारी बिहीबार विश्वविद्यालयको इमेलमार्फत् पाए। गोरखाको बुङकोटमा जन्मेका ५१ वर्षीय मगर आफूले पढाएका विद्यार्थीबाटै यसरी सम्मानित हुन पाउँदा जीवनमै सबैभन्दा खुसी लागेको बताउँछन्।
स्थानीय विद्यालयमा दुई कक्षा पढ्दापढ्दै उनी भारतीय सेनाका जागिरे बाबुसँग नागाल्यान्ड पुगेका थिए। नागाल्यान्डमा माध्यमिक तह र मेघालयबाट २९ वर्षअघि उनले विज्ञानमा स्नातकोत्तर गरे। गाउँकै सहिद स्मृति माविमा पाँच वर्ष पढाएपछि उनी बितेको २३ वर्षदेखि बुढानिलकण्ठमा पढाइरहेका छन्। गणित विषयका शिक्षक मगर बितेका चार वर्षदेखि त्यसै स्कुलका सह-प्रधानाध्यापकसमेत छन्। उनले प्लस टुसम्मका विद्यार्थीलाई पढाउँदै आएका छन्। उनले लेखेको पुस्तक 'इन्रिचिङ म्याथमेटिक्स' विभिन्न निजी विद्यालयले नर्सरीदेखि कक्षा दस सम्मलाई पढाउने गरेको छ।
'बुढानिलकण्ठका निम्ति शिक्षकको आवश्यकता रहेको थाहा पाएपछि गाउँबाटै आवेदन दिएको थिएँ,' मगरले बिहीबार नागरिकसँग भने, 'अन्तर्वार्ताको निम्ति बोलाइएपछि आजसम्म यही विद्यालयमा पढाउँदै आएको छु।'
उनका एक छोरा अमेरिकामै अध्ययनरत छन् भने छोरीले नेपालमै स्नातक पूरा गरिसकेकी छन्। चेसका कुशल खेलाडीका रूपमा समेत चिनिने मगरका कोठामा थुप्रै पदक सजाएर राखिएको देखिन्छ।
'भारतमा हुँदैदेखि चेसको सोख थियो,' उनले भने, 'नेपाल आएपछि पनि यसलाई निरन्तरता दिँदै राष्ट्रिय स्तरका खेलहरूमा सहभागिता जनाइसकेको छु।'
पढाउने बेला सकभर विद्यार्थीलाई चाखलाग्दो तरिकाले प्रस्तुत हुनुपर्छ भन्ने उनको मान्यता छ। आफ्नो त्यही शैलीले विद्यार्थीहरूको प्रिय शिक्षक बनेको हुनुपर्ने उनको ठम्याइ छ। 'गणितलाई सरल रूपमा बुझाउन अलिक कठिन छ,' उनी भन्छन्, 'कोशिस गर्ने हो भने यस्ता विषयलाई पनि सबै विद्यार्थीले बुझ्ने गरी सरल बनाउन असम्भव छैन।' पढाउने बेला विद्यार्थीसँग सक्दो घुलमिल हुने आफ्नो प्रयास रहने गरेको मगरले सुनाए।
'उहाँको अत्यन्तै मेहनती र विद्यार्थीसँग नजिकिने गुणकै कारण हामी प्रभावित भएका हौं,' एमआइटीबाटै बायोलोजिकल इन्जिनियरिङमा स्नातक गरिरहेका शंभुबाबु कोइरालाले इमेलमा नागरिकलाई भनेका छन्।
शंभुबाबु दुई वर्षदेखि त्यस विश्वविद्यालयमा अध्ययनरत छन्। 'उहाँले प्रत्येक दिन आफ्नो अत्यधिक समय विद्यार्थीलाई दिनुहुन्थ्यो,' कोइराला लेख्छन्, 'हामीलाई बुझाउनुभन्दा पहिले राम्रैसँग पूर्वतयारी गरेर आउने उहाँको गुण थियो।'
आठ कक्षा पढ्दा मगरका विद्यार्थी रहेका कोइरालाका अनुसार विद्यालयका अन्तिम दिनसम्म पनि नबुझेका कुरा सोध्दा उनी उत्तिकै हौसलासाथ सिकाउन तयार रहन्थे।
'म मात्र नभई थुप्रै विद्यार्थीका निम्ति उहाँ आदर्श रहनुभयो,' कोइराला थप्छन्, 'उहाँ यस्तो पुरस्कारको हकदार हुनुहुन्थ्यो।'
उक्त विश्वविद्यालयमा कोइरालाबाहेक रिजाल गणित र अर्थशास्त्रमा स्नातक गर्दैछन् भने शर्मा गणित र कम्प्युटरमा स्नातक गर्दैछन्।
मगरले अब उक्त विश्वविद्यालयका विभिन्न स्रोतहरूसँग पहुँच बनाउन सक्ने र यसबाट उनको दक्षता अभिवृद्धिमा मद्दत मिल्ने जानकारी विश्वविद्यालयले पत्रमा उल्लेख गरेको छ। विद्यालयमै औपचारिक कार्यक्रम गरेर उनलाई पुरस्कृत गरिने जानकारी विश्वविद्यालयले दिएको छ।

 from Nagarik Daily Newspaper

No comments:

Post a Comment