Monday, December 3, 2012

सबै शीर्ष नेता दीर्घरोगी: प्रेसर र सुगर साझा, केहीको मुत्रनलीमा समस्या

१८ मंसिर, काठमाडौं । लामो समयदेखि ‘बिरामीले थलिएको’ देशलाई निको पार्ने जिम्मा पाएका राजनीतिक दलका शीर्ष नेताहरु आफैं बिरामी छन् । उमेर ढल्कँदै जाँदा स्वास्थ्यमा देखिने स्वाभाविक समस्या त सबैलाई छँदैछ । त्यसमाथि तनाव, दौडधूप, खानपानमा अनियमितता लगायतका कारण नेताहरु आम मानिसले भन्दा थप रोग बोक्न बाध्य छन् ।

 माओवादी नेताका रोग
वर्तमान राजनीतिका सबैभन्दा केन्द्रमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उच्च रक्तचाप र मधुमेह -डाइविटिज) बाट पीडित हुनुहुन्छ । यी दुईवटा रोग उहाँलाई मात्रै होइन, हाम्रा सबै नेताका साझा हुन् । सरकार, संविधान र शान्ति प्रकृयाका विषयमा साझा सहमति जुट्न नसकेपनि उच्च रक्तचाप -प्रेसर) र मधुमेह -सुगर) चाहिँ सबै नेताहरुका साझा रोग हुन् ।

प्रचण्डनिकट नेताहरुका अनुसार उहाँलाई यी दुईबाहेक अरु दीर्घ रोग छैनन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि प्रेसर र सुगरको समस्या छ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशलाई भने थप घाँटीको समस्या छ । विदेशमा घाँटीको शल्यक्रिया गरेर फर्केका काजी अहिले पनि त्यसको औषधि सेवन गरिरहनुभएको छ ।

एकीकृत नेकपा माओवादीबाट छुट्टएिर हिँडेका नेताहरु पनि उस्तै रोगी छन् । मूल पार्टी बिगि्रयो भनेर हिँडेका उनीहरुले आफ्नो रोग पुरानो रोगबाट मक्ति पाएका छैनन् । अध्यक्ष मोहन वैद्य किरण, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा बादल, सचिव देव गुरुङ सबैलाई सुगर र उच्च रक्तचापको समस्या छ । बैद्यलाई दमको व्यथा समेत छ ।

कांग्रेसमा क्यान्सरसम्म
अर्को दल नेपाली कांग्रेसका सबै शीर्ष नेताहरुको पनि प्रेसर र सुगर साझा रोग हो । यसबाहेक सभापति सुशील कोइराला निमोनिया र क्यान्सरबाट, रामचन्द्र पौडेल पिसाब नलीसम्बन्धी प्रोष्टेट र ढाड दुख्ने समस्याबाट पीडित हुनुहुन्छ । कृष्णप्रसाद सिटौला, शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायतलाई भने प्रेसर र सुगरको मात्र समस्या छ ।

एमालेमा झन् धेरै बिरामी
एमालेमा त बिरामी नेताहरुको सूची अरु पार्टीमा भन्दा लामो छ । सुगर र प्रेसरबाहेक एमालेका धेरै नेताहरुमा अतिरिक्त रोग छन् । पार्टी अध्यक्ष झलनाथ खनाललाई मिर्गाैला र मूत्रनलीको समस्या छ । केही महिना पहिले उहाँको मूत्रनलीमा देखिएको प्रोष्टेट ग्लान्डको शल्यक्रिया भएको थियो । अर्का नेता केपी शर्मा ओली मिर्गाैला र निमोनियाबाट पीडित हुनुहुन्छ । निमोनियाबाट गम्भीर बिरामी भई उहाँ भर्खर मात्र निको भएर हिँडडूल गर्न थाल्नुभएको हो । नेता भरतमोहन अधिकारी मुटु र दमबाट पीडित हुनुहुन्छ । उपचारका लागि उहाँ अहिले भारत जानुभएको छ । नेतृ सहाना प्रधान त बिरामी भएर थलिएको वर्ष दिनभन्दा पनि बढी भैसकेको छ । उहाँ बोल्न र हिँडडूल गर्न सक्नुहुन्न ।

बामदेव गौतमलाई मुन्टो बाँगिने समस्या छ । अहिले पनि उहाँ त्यसको उपचारमा हुनुहुन्छ । विद्या भण्डारीलाई पनि गम्भीर स्वास्थ्य समस्या छ । ब्लड क्यान्सरको उपचार गर्नुभएकी भण्डारी अझै पूर्ण स्वस्थ हुनुहुन्न । माधवकुमार नेपाललाई भने उच्च रक्तचाप बाहेक अरु खासै रोग देखिएको छैन ।

पार्टीमा शीर्ष भूमिकामा रहेका मधेसवादी र अरु साना दलका नेताहरु पनि निरोगी कोही छैनन् । सबैमा प्रेसर र सुगरको समस्या छ ।

बूढा भएकाले समस्या
सरकार र राजनीतिक दलको संरचना हेर्ने हो भने शीर्ष तहमा पुग्ने सबै बुढापाका नेताहरु नै छन् । शीर्ष नेताहरुको बैठक भनेपछि त्यहाँ कपाल र दाह्री फुलेका, चाउरी परेका अर्थात घरमा आराम गरेर बस्नुपर्ने नेताहरुकै सहभागिता हुन्छ । पार्टीको कमाण्ड पनि उनीहरुकै हातमा छ ।

जिम्मेवार ठाउँ र निकायमा महत्वपूर्ण भूमिका निर्वाह गरेपछि चुप लागेर बस्ने कुरा पनि भएन । छलफल, भेटघाटको लागि दौडधूप गर्नुपर्छ । घरमै या कार्यालयमा बसिरहँदा पनि मानसिक तनाव लिनुपर्छ । ‘४०/५० वर्ष उमेर पार भएपछि मानिसमा बिभिन्न प्रकारका रोग देखिनु सामान्य हो’ राजधानीको टेकु अस्पतालमा कार्यरत चिकित्सक डा. देवीप्रसाद भुषालले अनलाइनखबरसित भन्नुभयो-’त्यसमाथि शीर्ष नेताहरुमा तनाव र दौडधूप हुने भएकाले सुगर र प्रेसरको समस्या देखिने गरेको हो ।’

चिकित्सकहरुका अनुसार उमेर ढल्कँदै गएपछि शरीरका अंगहरुले बिस्तारै काम गर्न छाड्छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । रोगसँग लड्ने शक्ति कम हुँदा सामान्य सरुवा रोगले पनि उतिखेरै समात्छन् । दीर्घ रोगको सम्भावना पनि बढी हुन्छ । यसकारण हाम्रा सबै शीर्ष नेताहरु कुनै न कुनै रोगबाट ग्रसित भएका हुन् ।
from online khabar

No comments:

Post a Comment