Saturday, March 9, 2013

त्यसै जाने भो राउटे जवानी


जनक नेपाल
काठमाडौ, फाल्गुन २५ -
राउटे समुदायभित्र उमेर पुगेका कन्या अभाव भएपछि मुखिया मैनबहादुर शाही अचेल चिन्तामा छन् । झन्डै एक दर्जन युवाहरूले बिहे नगरेरै ३५ वर्ष काटेका छन् । राउटे बस्तीमा किशोरीहरू हुर्किन नपाउँदै कसले बिहे गर्ने भन्ने तँछाड-मछाड हुन थालेको छ । यसले गर्दा केटा र केटीको उमेरमा ठूलो अन्तर त देखिएको छ नै, सानै उमेरमा केटीहरूको बिहे हुने क्रम पनि बढेको छ । केही महिनाअघि ३८ वषर्ीय प्रकाश शाहीले १३ वषर्ीया मिनुलाई भित्र्याए । त्यो पनि ठूलो कसरतपछि । 'तीन/चार वर्षदेखि मागेको । बल्लतल्ल राजी बनाएँ,' प्रकाशले भने, 'अब यिनलाई सुखले राख्छु ।'
राउटे समुदायभित्र तीनथरी जात छन् । कल्याल ठकुरी, राजकोटी ठकुरी र छत्याल ठकुरी । सबैले थर भने शाही राख्छन् । राउटेको एउटै जातभित्र बिहेबारी चल्दैन । समस्या के रहेछ भने जनसंख्या राजकोटीको धेरै छ । त्यसैअनुसार, बिहे गर्ने उमेरका युवा पनि धेरै हुने नै भए । कल्याल र छत्यालको जनसंख्या कम भएकाले उमेर पुगेका युवालाई कन्या अभाव भएको हो ।

छत्याल जातकी मिनु नहुर्किंदै धेरै राजकोटी युवाले आँखा लगाएका थिए । उनलाई माग्ने युवाको धुइरै थियो । राउटे समुदायमा बिहे गर्न कम्तीमा केटा-केटी राजी हुनुपर्छ । केटीले अनेक सर्त राख्न सक्छन् । हिम्मत र आँट जाँच्न अनेक परीक्षा लिन्छन् । कोही खुर्सानी खुवाउँछन् त कोही अदुवा । सबै चुनौती स्विकार्ने युवा मात्र कन्याले स्विकार्छन् ।

अन्ततः मिनुले प्रकाशलाई मन पराइन् र उनीहरूको जोडी बन्यो । मिनु पाएकोमा प्रकाशले आफूलाई भाग्यमानी ठानेका छन् । मिनु पनि खुसी छन् । भन्छिन्, 'यिनी मलाई काम गर्न पार्दैनन् । माया गर्छन् ।'

राजकोटी राउटेभित्र कन्या पनि धेरै छन् । तीमध्येकी एक हुन, १८ वषर्ीया विमला राजकोटी शाही । उनले चाहिँ भनेजस्तो वर पाएकी छैनन् । राउटे समुदायभित्रकी सुन्दरीका रूपमा चिनिन्छिन् उनी । उनलाई हप्ता-दुई हप्तामा नुहाउनुपर्छ । कपाल कोरेर चिटिक्क पर्नुपर्छ । बस्ती छेउका महिला आए उनी चुरा र डोरी माग्छिन् । उनका आकांक्षा अरूभन्दा भिन्न छन् । अलि फरक स्वभावकी उनलाई राउटे युवाहरू मन पर्दैन रे । 'जागिर खानेसँग बिहे गर्छु,' उनी भन्छिन् । तर, राउटे बस्तीमा जागिर खाने त परको कुरा, अक्षर चिन्ने युवासमेत छैनन् । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले उनलाई डडेल्धुराका राउटेसँग बिहे गराउँछु भनेकी छन् । त्यसैले उनी मख्ख छिन् ।

जात मिल्ने केटी नपाउँदा धेरै युवाहरूले बिहे गर्न नपाएकोमा मुखिया शाही दुःखी छन् । उनका ४२ वषर्ीय छोरा नारायण अझै अविवाहित छन् । 'हाम्रो राउटेमा केटी १४/१५ वर्ष र केटी १८/२० भए बिहे गर्न मिल्छ,' ६० वषर्ीय राउटे मुखिया शाही भन्छन्, 'तर, राउटेले राउटे नै बिहे गर्नुपर्छ । केटी मिलेन भने त्यसै बस्नुपर्छ । अरूतिर आँखा लगाए समाजबाट हटाइन्छ ।' सुदूरपश्चिमको डडेल्धुराका राउटे समुदाय एउटै गाउँमा बस्छन् । आफ्नो समुदायमा बिहे गर्ने कन्या अभाव भएपछि केही युवाको आँखा त्यता पुगेको छ । काठका सामान बेच्न निस्केका राउटे युवाहरू नारायणको अगुवाइमा दुई महिनाअघि सुटुक्क डडेल्धुरा पुगे । त्यहाँ उनीहरू दानसिंह राउत -राउटे) कहाँ बास बसे । दानसिंहकी आमासँग राउटे भाषामा कुरा गरे ।

'आजै छोरी दिएर पठाऊ भन्यांै । तर, दिएनन्,' नारायण सुनाउँछन्, 'पहिले तिम्रा छोरीचेली देऊ । अनि दिउँला भने ।' ०४० सालमा स्वर्गीय राजा वीरेन्द्र शाहले आफैं गएर डडेल्धुराका फिरन्ते राउटेलाई गाउँमा बसालेका थिए । अहिले उनीहरूको छुट्टै गाउँ छ । घरजग्गा छ । धेरैजसो खेती किसानी गर्छन् । कतिपयले व्यापार पनि गर्न थालेका छन् । प्रायः सबैले छोराछोरीलाई स्कुल भर्ना गरेका छन् । दर्जनौं राउटे युवायुवतीले एसएलसी पास गरिसकेका छन् । कतिपयले प्रहरी र सरकारी सेवाका लागि आवेदनसमेत दिएका छन् । डडेल्धुराका राउटे तयारै भए पनि उनीहरूसँग बिहेबारी चलाउनेबारे फिरन्ते राउटेभित्र चर्को मतभेद छ । 'नाम मात्रको राउटे हो कि सक्कली हुन् ? राउटे भन्नासाथ कहाँ बिहे गर्न मिल्छ ?' मैनबहादुर भन्छन् ।

राउटेभित्र कल्याल र छत्यालका अरू दुई छोरीहरू हुर्किंदै छन् । एउटी ६ वर्षकी भइन्, अर्की ७ की । उनीहरूलाई कसले भित्र्याउने भन्नेमा ३५ वर्ष नाघेका अविवाहितहरू तँछाडमछाड गरिरहेका छन् । 'तिनलाई पनि खै कसले लैजाने हो, टुंगो छैन । यो जवानी त्यसै जाने भो,' मुखियापुत्र नारायणले दुःखेसो पोखे, 'केटी नै पाइन्न ।' यसको राम्रो सामाजिक प्रभाव के परेको छ भने राउटे समुदायभित्र विधवा विवाहले पनि मान्यता पाउन थालेको छ । पूर्वसहायक मुखिया एैनबहादुर शाहीकी पत्नी आठ वर्षअघि बितेपछि उनी एक्लै थिए । ०६९ सालका सुरुका महिनामा राउटेहरू दाङको पुरन्धारा क्षेत्रमा बस्थे । त्यहाँ एैनबहादुरको एक थारू महिलासँग प्रेम बस्यो । ती थारू महिला पनि एकल थिइन् । उनीहरूको प्रेमसम्बन्धको राउटे समुदायमा चर्को विरोध भयो । त्यही बेला एैनबहादुरमाथि भ्रष्टाचारको आरोप लाग्यो । आक्रोशित युवाहरूले उनलाई कुटपिटसमेत गरे ।

अर्कै जातकी महिलासँग बसेको निहुँमा राउटे समाजबाट बहिष्कार गर्ने तयारी भएपछि एैनबहादुरले मुखियासँग माफी मागे । सँगसँगै बिहे गर्न कन्या खोजिदिन आग्रह गरे । मुखियालाई आपत पर्‍यो । अन्त्यमा, उनले १८ वषर्ीया राउटे एकल महिलासँग बिहे गर्न मञ्जुरी दिए । गत भदौमा उनीहरूबीच बिहे भयो । अहिले उनी गर्भवती छन् । उक्त घटनापछि राउटे समुदायभित्र एकल महिलाको पुनः विवाह सुरु भएको छ । 
from Kantipur

No comments:

Post a Comment