Saturday, March 9, 2013

७ परिवारको एउटै घर

Kashi Ram Dangi
खाना भिन्नै भए पनि सुत्न भने ७ परिवारका २३ जना एउटै कोठामा आइपुग्छन्
काशीराम डाँगी
रोल्पा, फाल्गुन २६ - सात परिवारको एउटै घर छ । त्यसमा पनि थोरै मात्र कोठा भएको सानो फुसको छानो । उत्तर-पश्चिमी इरिबाङ गाविसको बिसुनधारा गाउँका ७ घर बादी परिवारका लागि एउटै घरमा कोचिएर बस्नुको विकल्प पनि छैन । बिहे भई परिवार सदस्य थपिए, लालाबाला जन्मिएर संख्या बढ्यो तर पनि वर्षौंदेखि बादी परिवार एउटै घरमा बस्दै आएका छन् । सुकलाल बादीले ६० वर्षअघि बनाएको तीनकोठे घरलाई बाँडेर उनका ७ भाइ छोरासहित २३ जनाको परिवार एउटै छानामुनि बस्छन् ।
छोरा हुर्कीबढी बिहे गरिसके । कतिपय छोराबुहारीले त नातिनातिना पनि पाइसके । यता वृद्ध बुबा सुकलाललाई भने छोराबुहारीबीच विवाद होला कि भन्ने चिन्ता छ । 'अहिलेसम्म त कसैले झगडा गरेका छैनन् । मिलेकै छन् ।' जीवनमा सन्तान सीमित गर्न परिवार नियोजन गर्नुपर्छ भन्ने जानकारी कहिल्यै नपाएको बताउने सुकलालले भने, 'तर छोरा राम्रै निक्लेका छन् । बिहे गरेर आएका बुहारीले पनि कुरा बुझेका छन् ।' छोराहरूको बिहे भएपछि मिलेर यहीँ बसे हुन्थ्यो भन्ने सोचेका सुकलालले एउटै घरमा मिलिजुली छोराबुहारी बसेपछि खुसी भएको बताए ।

मादल/दमाहा बनाउने, माछा मार्ने जाल बनाउने र माछा मारेर बिक्री गरेको आयआर्जन गर्ने यो समुदायको परम्परागत पेसा हो । यसैबाट उनीहरूको परिवार पालिन्छ । तर फेरिँदै आएको समयक्रमसँगै बादीले अरू काम पनि खोज्दै आएका छन् । छरछिमेकमा काम खोज्ने र ज्यालादारी काम खोज्न भारतको सिम्ला, कालापहार, चण्डीगढ, दिल्लीसम्म पुगेर छोरा हुर्काएको सुकलाल बताउँछन् । तर समय परिवर्तन भएकाले अब छोरा र बुहारीले बेग्लै बस्न चाहेको उनले बुझेका छन् । के गर्ने ? सम्झाइबुझाई विवाद नहोस् भनी पुरानो घर वरिपरि स-साना कोठा गाँसेर बस्न सुझाव दिँदै आएका छन् उनले । छोराहरूले पनि घरसँगै जोडिएर बनाएका स-साना 'झुप्रा' हरूमा खाने मेसो मिलाए पनि सुत्न भने बुबाकै घरमा आइपुग्छन् । सातै भाइका सबै परिवार हल जत्रै खुला एउटै कोठामा वरिपरि मिलेर सुत्छन् ।

सुकलाल र उनकी पत्नी आइतमाली सबै छोरा नजिकै बस्दै आएकामा निकै दंग छन् । टाढाटाढा गए सुखदुःखमा पनि हेरफेर नहुने अवस्था आउन सक्ने आइतमालीको शंका छ । भविष्य नियाल्दै उनी भन्छिन्, 'पछिसम्म सबै सन्तान सँगै बसे सुख पाइन्थ्यो कि !' छोराहरू जेठा तिलबहादुर, माइला हीराबहादुर, साइँला नगेन्द्रबहादुर, काइँला नवीनबहादुर, ठाइँला बिनाराम, ठूलो कान्छा जीवनबहादुर र कान्छा दिलबहादुर सबै सकुशल भएकामा सुकलाल दम्पती खुसी छन् । बिनाराम र जीवनबहादुरलाई ऋणको जोहो गरेर उनले खाडीतिर कमाउन पठाएका छन् ।

'मेरो भनाइ मानेर सबै छोरा मिलेर बसेका छन् ।' घर बनाउन सहयोग मागेको सम्झँदै सुकलालले भने, 'सरकारले घर बनाइदिन्छ भन्ने सुनेको छु । जिल्लाबाट हाकिम सापहरू अस्ति भेट्न आएका थिए ।' अति विपन्न दलित बादी समुदायलाई सरकारले घर बनाइदिने भएपछि सर्वेक्षण गर्न बिसुनधारा आएका भवन निर्माण तथा सहरी विकास डिभिजनका डिभिजन इन्जिनियर सुवास बस्नेतले बादी समुदायले सामान्य मानवीय आवश्यकतासमेत पाउन नसकेको बताए ।

आफ्ना बुबाले अंशबापत दिएको थोरै जग्गा मात्र छ सुकलालसँग । इरिबाङका २३ मध्ये सुकलालको परिवार सबैभन्दा ठूलो हो । 'उनीहरूले सुरुदेखि नै दुःख पाउँदै आएका छन् ।' रोल्पा उद्योग वाणिज्य संघका कोषाध्यक्षसमेत रहेका स्थानीय समाजसेवी विश्वकुमार चन्द भन्छन्, 'सरकारले उनीहरूलाई थप जग्गा उपलब्ध गराइदिए राम्रो हुने थियो ।' इरिबाङमा भएका २३, नुवागाउँ र गैरीगाउँका १/१ परिवारको अवस्था निकै दयनीय छ । नुवागाउँमा मोहनलाल बादी र गैरीगाउँमा मोहनका भाइ जीतबहादुर बस्छन् । उनीहरू कसैको पनि उब्जनी पुग्ने जमिन छैन । न त घर बनाउन पुग्ने जग्गा नै छ ।

अति विपन्न एवं दलित बादी जातिलाई व्यवस्थित बसोबासका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले घर बनाइदिने अभियान थालेको हो । जीपनयापनमा सजिलो बनाइदिन सरकारले एकीकृत बस्ती विकास कार्यक्रम एवं जनता आवास कार्यक्रमअन्तर्गत यी समुदायका लागि घर निर्माण गर्न लागेको छ । इन्जिनियर बस्नेतले हरेक परिवारलाई बढीमा २ लाख रकम मूल्यको घर बनाइदिने योजना रहेको बताए । उनका अनुसार सुकलालको त्यही सानो जमिनमा सातै भाइका लागि घर निर्माण गरिदिने तयारी भइसकेको छ । उक्त घरका कोठा भने सबैका लागि भिन्नभिन्न हुनेछन् ।
from Kantipur

No comments:

Post a Comment