Friday, March 15, 2013

'हाम्रो ठूले 'खिरारे' प्रधानमन्त्री भयो'

टेकनारायण भट्टराई - चुनावी सरकारका प्रमुख खिलराज रेग्मी जन्मे हुर्केको पाल्पा पोखराथोक स्थित घरमा बिहीबार बिहान पुग्दा सुनसान थियो। 'घरमा को हुनुहुन्छ?' चिच्याएपछि भित्रबाट एक पुरुषको जवाफ आयो-'हजुर हामी भित्र छम्।' उनी बाहिर आए र भने-टिभीमा हाम्रो घरबेटीज्यूको सपथ चल्दैछ त्यै हेर्दैछम्।'

घरबाहिर सुनसान भए पनि कोठाभित्र भने भिड नै रहेछ। रेग्मीको 'घरखेत' रेखदेख र उपभोग गर्दै आएका श्रीराम थापाको नौ जनाको परिवार टिभी हेर्नमा मग्न थिए। 'हामीलाई यो भन्दा खुसीको क्षण अरु हुनै सक्दैन,' प्रफुल्ल देखिएका थापाले भने।
'मैले बिहान आमा (रेग्मीकी आमा चित्रकुमारी) लाई फोन गरेँ। व्यस्त भएर होला वहाँले फोन उठाउनु भएन।' थापा थप बोल्न सकेनन्। भक्कानिदै उनले भने 'आमा हामी निकै खुसी छम् भन्नलाई फोन गरेको थिएँ सायद व्यस्त भएर फोन उठेन।' घरमुली सरकार प्रमुख भएकोमा उनले बेलुका घरमा दिपावली गर्ने र खुसियाली मनाउने योजना सुनाए।
थापाले गत वर्ष रेग्मी आएर घरका कोठाचोटा चहारेको सुनाए। 'ल राम्ररी बस्नु कुनै असुबिधा भए भन्नुस् है भन्नु भो, आमा (चित्रकुमारी) वर्षेनी काठमाण्डुबाट एक पटक घरमा आउनुहुन्छ।' उनीहरुले बिहानभर टिभीमा झुम्मिएर बिताए। उनले भित्तामा झुण्ड्याइएको रेग्मीको पुरानो सामूहिक फोटो देखाए।

काकीका प्यारा खिलराज
'हाम्रो ठूले प्रधानमन्त्री भयो नि' पत्रकार आँगनमा पुगेपछि जिज्ञासु नजरले हेरेकी आफ्नी पत्नीलाई अर्थ्याउँदै साँहिला काका टंकनाथ रेग्मीले भने 'हो, उसकै बारेमा बुझ्न आउनु भएको।'
कान नसुन्ने पत्नीलाई बुझाउन टंकनाथले पटक-पटक सुनाए -'हाम्रो ठूले प्रधानमन्त्री भयो के, उसका बारेमा बुझ्न आउनु भएको।' उनले कुरा बुझेपछि मनका कुरा खोलिन्- 'निकै जाति भयो, मेरो आत्मा हाँसेको छ।'

रेग्मीलाई हुर्काएकी काकी विष्णुले पुराना दिन सम्भि्कन् 'ढिकी कुट्दा बुई चढ्थ्यो, जाँतोमा मकै पिस्दा काखमै बस्थ्यो। मलाई एकछिन पनि छोड्थेन।' खिलराजको बाल्यकाल सम्झँदा काकीका आँखा रसाए। 'धारामा गयो पच्छ्यौरा लतार्दै धारामै पुग्थ्यो। मेला जान हतार हुन्थ्यो उस्लाई नख्वाई जानै पाउँथिन।' उनले थपिन 'अरुसँग सुत्न मान्थेन, निदाउन हालेर आमाका विस्तरामा पुर्यााउथेँ, म नछुनी (महिनावारी) हुँदा पनि मैले जो ख्वाइदिन पर्थ्यो।'
काका टंकनाथले बीचमै थपे 'यहाँ आउँदा खिलराजले हाम्लाई भन्दा काकीलाई नै हुरुक्क गर्छ।' तीन भाइ मध्ये जेठा भएका कारण खिलराजलाई गाउँलेले 'ठूले' भनेर पुकार्ने गरेका काकाले बताए।
खिलराजका साँहिला काका टंकनाथ र काकी बिष्णु।

रेग्मीले पढाएको स्कुलमा पनि रौनक 
रेग्मीले पढाएको पोखराथोकको बिष्णु उच्च माविमा बिहीबार बिहान एसएलसी परीक्षा चल्दै थियो। स्थानीय र विद्यालयका शिक्षक विद्यार्थीहरु एसएलसीको चर्चामा भन्दा पूर्व शिक्षक सरकार प्रमुख बनेको विषयमा गफिएका थिए। गाउँका सबैलाई खुसियाली र्‍यालीमा सहभागी बनाउने बारे छलफल चल्दै थियो। दीप प्रज्ज्वलनका लागि पाला प्रयोग गर्ने या मैनबत्ती भन्ने बारेमा बहस भएको थियो। र्‍यालीपछि समापन कार्यक्रम विद्यालयकै चौरमा गर्ने सहमति भएको स्थानीय बिष्णु गैरेले बताइन्।

'स्कुलमा मात्रै हैन गाउँभर वहाँकै चर्चा छ,' बिष्णु उमावि परिक्षा केन्द्रका निरीक्षक गणेश खनालले भने-'रेग्मीले पढाएको स्कुलमा निरीक्षक भएको भन्दै मलाइ पनि बधाई आएको छ।'
पाल्पा पोखराथोक धोवादी स्थित खिलराज रेग्मी जन्मे हुर्केको घर।
from Nagarik

No comments:

Post a Comment