Sunday, April 21, 2013

घर, गोठ र खोर एउटै

चन्डीभन्ज्याङ (चितवन), वैशाख ८ - सानो झुप्रो । त्यही झुप्रोमा कुखुरा, मान्छे, सुँगुर र बाख्रा अटेका छन् । त्यतिमात्र होइन, बारीमा फलेको थोरै मकै र दाउरा पनि त्यही झुप्रोमा अटेको छ । वर्षा हुँदा भने आकाशबाट बर्सिने पानी बाहिर जाँदैन ।
घरभित्र छिर्दा आहाल नै जम्छ । त्यसैले चन्द्रबहादुर घर्तीको परिवारसमक्ष रुझेर रात काट्नुको विकल्प हुँदैन । सानैमा आमा-बुबा गुमाएर टुहुरो बनेका उनी ससुरालीले दिएको सानो टहरोमा बस्दै आएका छन् । वरिपरि सुँगुर, बाख्रा र कुखुरा राखेर परिवारले खाना पकाएर खाने गरेका छन् । उनको चार जनाको परिवार त्यही झुप्रोमा अटेको छ । खेतबारी नहुँदा जंगली कन्दमूलको भरमा परिवारले सास अल्झाउँदै आएको छ ।

उनकी श्रीमती, ५ वर्षको छोरा र ३ वर्षकी छोरी छन् । डोको बुनेर छाक जुटाउने गरे पनि खेतबारी नहुँदा अन्न उब्जाउ गर्न नसकिएको उनी बताउँछिन् । 'आम्दानीको स्रोत केही छैन,' उनले भने, 'ससुरालीले दिएको एउटा झुप्रोमात्र छ । त्यही झुप्रोमा परिवार, बाख्रा, कुखुरा र सुँगुरलाई कोचेर राख्न बाध्य छु ।' उनले छोराछोरीलाई बनिबुतो गरेर दुई छाक खुवाउने गरेको भए पनि आफू भोकै बस्ने गरेको बताए । डोको बुने पनि बिक्री गर्ने ठाउँ छैन । बिक्रीका लागि ३ घन्टा हिँडेर मुग्लिन बजार पुग्नुपर्छ । जंगलको कन्दमूल खोजेर छोराछोरीको सास अल्झाउँदै आएको श्रीमती वनमाया घर्तीले बताइन् । सम्पत्तिको नाममा एउटा घरमात्र छ । वरिपरि कुखुरा, सुँगुर र बाख्रा बाँधेर फोहोरमै परिवार खाना पकाएर खान्छन् । सानो टाँडमा सुत्ने ठाउँ बनाइएको छ ।
यसरी बस्न थालेको पाँच वर्ष बितिसकेको छ । आर्थिक अवस्था कमजोर भएका घर्ती दम्पती केही समय अरूकै घरमा काम गरेर बसे । नयाँ र राम्रो लुगा नलगाएको वर्षौं बितेको वनमायाले बताइन् । फाटेको र टालेको लुगामा परिवारले दैनिकी चलाउँदै आएका छन् । 'सधैं सास अल्झाउनेकै पिरलो हुन्छ, नयाँ लुगा लगाउने कुरा त परै जाओस्,' वनमायाले भनिन्, 'आङ छोप्न पाए पुग्यो ।' उनले खर्च नहुँदा घर बनाउन नसक्दा सानो झुपडीमा वर्षामा भिजेर रात कटाउने गरेको बताइन् । घर चुहिने गरेको भए पनि खर किन्न नसक्दा छाउन सकिएको छैन । घाम लाग्दा घामभित्रै र वर्षा हुँदा पानी भित्रै छिर्छ । एउटै घरमा भात पकाउनेदेखि सुत्ने गरे पनि सुँगुर, कुखुरा र बाख्रा भएकाले तिनैको लिँड, सुली र बड्कुलामाथि सबै जना सुत्न बाध्य छन् । 'मेलापातमा जाँदा छोराछोरी घरमै हुन्छन्,' चन्द्रबहादुरले भने, 'हामी समयमै आउन सक्दैनौं, खानेकुरा नहुँदा छोराछोरीले भोक बिर्सन कुखुराको सुलीदेखि सुँगुरको लिँडसम्म खाने गरेका छन् ।'
from Kantipur

No comments:

Post a Comment