Thursday, May 30, 2013

छापामारको आँखामा उमा

ध्रुवराज अधिकारी
Uma

सहरमा ‘उमा’को चर्चा थियो । हामीभन्दा अगाडिपट्टिको लहरमा उनै उमा रहिछन् । चलचित्रको आधाआधी पुगेपछि मात्रै उनलाई देखेँ । ‘ए, हिरोइन पनि यहीँ रहिछन्’ मुखबाट अनायसै फुस्कियो ।



कथानक वियोगान्त रहेछ । हामी बाँचेको गोधुली वियोगान्त हुन्छ कि सुखान्त त्यो हेर्न बाँकी नै छ । संवाद कति जीवन्त ? हरेक वाक्य डायरीमा टिपुँ टिुपँु लाग्ने । हातमा डायरी र कलम थिएन । कथासँगै रोमाञ्चित हुन र रुन छाडेर टिप्न लागेको भए शायद यो मनलाई खल्लो हुन्थ्यो । आफ्नै प्रहरी अधिकारी दाजुको पिस्तोलबाट निस्किएको गोली लागेर उमा ढलिन् । असल हुन कति गाह्रो ? यसअघि महाभारतमा अर्जुन, कर्ण, युधिष्ठिर, पितामह सबैको दुविधा पढेको हुँ । गुरुचरण दासले ती दुविधालाई निकै मर्मस्पर्सी वर्णन गरेका छन्—‘डिफिकल्टी अफ बिइङ गुड’मा । बाबुराम प्रधानमन्त्री भएपछि प्रधानसेनापति गौरव शमशेरले उनलाई दासको यो पुस्तक उपहार दिएका थिए भन्ने सुनेको हुँ । उमा बसेकै लहरमा बाबुराम पनि छन् । गोली चलाउँ आफ्नै बहिनी । सानुदेखि सँगै हाँसेको, खेलेको सम्झना फिल्मको रिलझैं टाउकोभित्र फनफनी भइरहेछ । नचलाउँ आफूभन्दा माथिको अधिकारी ‘सुट हर’, ‘सुट हर’ भनेर चिच्याइरहेको छ । हरेक प्रहरी वा सिपाहीका लागि आदेश र कर्तव्यको पालना सर्वोपरि हुन्छ । उसले ट्रिगरमा औंला दबायो । एकछिन टोलायो । ऊ त सुर पाउन छोडेजस्तो भयो । अनि एक्कासी भक्कानिएर मरणासन्न बहिनीलाई छाँद हाल्न पुग्यो । उसले ‘कान्छो’ भनेर पुकाथ्र्यो, उमालाई सानुमा । अनि ठूली भइन्जेल पनि । सुगरले ग्रस्त भएकी आमा बाबु तैंले के गरिस् भन्दै आइपुगिन् । जनयुद्धमै लागेपछि पनि उमा दाजुलाई विहेको बधाई दिन घर पुगेकी थिई । ऊ फेरि चिच्यायो– कान्छो ! उसकी बहिनी उसैले नुनको सोझो गरिरहेको राज्यको नजरमा माओवादी आतङ्कारी थिई ।
आँखामा आँसुको इनार टलपल भयो । उठेँ, दुई लहर तल बसेकी सुनितालाई हेरेँ । उमाभन्दा पनि सानो उमेरमा उनी छापामार भएकी हुन् । सुनिताको काखमा छोरी निदाएकी रहिछे । उमाको पेटको बच्चा उमासितै मारियो । मलाई सुनितासित अँगालो हालेर रुन मन लाग्यो । उमाले जस्तै उनले पनि आफ्नो पहिलो प्रेम गुमाएकी छिन् । अस्ति ‘चक्रब्यूह’ हेरिसकेपछि रातैभरि निद्रा लागेन । बिहानै अनिदो आँखा लिएर भर्खरै हातलागेको सानोतिनो जागिरतर्फ कुदेँ । पर्सि पत्रिका निस्कन्छ । बिहानै उठेर जानु छ भोलि । बाह्र बजीसक्यो, सुतेको छैन । केही लेख्न खोजिरहेको छु, उमाको सम्झनामा ।
छोरीलाई काखमा च्यापेर बाहिर निस्केँ । मेरी छोरीले साढे तीनवर्षे जीवनमा हलमा आएर हेरेको यो पहिलो फिल्म हो । सुनिताको बारेमा उसलाई अलिकति थाहा छ । हाम्रो वसन्त बासित पनि बन्दूक छ है भन्छे । एचएमजी लिएर खडा भएको बसन्तको फोटो भित्तामा झुण्डिरहेको छ । आइएस्सी दोस्रो वर्षको परीक्षा सक्याएर घर गएको त्यतैबाट कमरेड बनेर हुर्रिएपछि हल आएर हेरेको यो पहिलो फिल्म हो मेरो पनि । अस्कलकै एलुम्नस बाबुराम बाहिर टिभी च्यानलका क्यामरा अगाडि बोल्दै रहेछन् । मलाई आफू भाग्यशाली भएझैं लाग्यो । कम्तीमा म त कथाकै लयमा, आफ्नै धुनमा हुँडलिँदै, एकतमासको मन लिएर बाहिर निस्कन पाएँ । कम्तीमा एउटा दुःखान्तपछि कसैसित केही नबोली चुपचाप घरतिर सोझिन पाएँ । तर, पूर्वप्रधानमन्त्री बाबुरामले पाएनन् । यी टिभीका क्यामरा कति निर्दयी ? सार्वजनिक पद धारण गरेकाहरुलाई पनि मनमा कुरा खेलाउँदै आफ्नै सुरमा नितान्त निजी लहडमा बत्तिन मन हुँदैन होला र ?
लिफ्ट मागेर घर आएँ । कारभित्र पनि एउटा कथा रहेछ । सुनिताले कोठामा आएपछि सुनाइन् । जीन पल सात्रले शायद ठीकै भनेका छन्, ‘ह्युमन कण्डिसन इज एब्सर्ड ।’ निद्रा लागेको छैन । दुई खिली चुरोट उडिसक्यो । कथाको एउटा गीत कानमा बजिरहेको छ– ‘हामीलाई समयले उडायो ।’
छोरी सुतिसकी । सुनिता पनि निदाइन् । हुनसक्छ उनलाई थकाइ लागेको छ । सपना देख्दैछिन्, शायद । सपना शब्दले यो मनभित्र कस्तरी कोतर्छ । उमाको नर्स बन्ने सपना रहेछ । कतिको डाक्टर बन्ने सपना थियो होला । यो सपना र हुरीको के साइनो छ कुन्नि ? हुरी, समयको हुरी सपनालाई लखेट्दै आइपुग्छ ।
मलाई लाग्छ, उमा सहिद भइन् । सुकरातलाई जस्तै मर्नुअघि उनलाई कस्तो आनन्द आइरहेको थियो । त्यो उनले आडैमा रोइरहेको पुलिस दाजुलाई भनिन् । कतिपय महान् मान्छेहरु त अझै ऐच्छिक मृत्युवरण गर्छन् । उमा जस्ता हजारौंको रगतले पोलेर २ सय ५० वर्ष बूढो राजशाही खरानी भयो । आज गणतन्त्र दिवस पनि हो नि । यो सम्झेपछि भने जीवनमा केही जितिएछ जस्तो लाग्यो । वीभत्स निराशा भोगेको छु जस्तो लागेन । सुन न सुनिता ! म तिमीलाई एउटा कविता सुनाउँछु । ‘बिसे नगर्चीको बयान’ छ मसित, हिजो भर्खरै किनेर ल्याएको । नभए संगीतस्रोताको ‘म कठमाडौं आइपुगें’ पनि छ । अझ गोपाल प्रसाद रिमालको आमाको सपनामा रहेको यो ‘आँसु’ कविता सुन न—
नरुझिइ आँसुले पाए
ताप्न जसले सुन्दर घाम
यी देउता हुन् या ढुङ्गा हुन्
तर—
म, मानव हुँ, म जिउँदो छु
आँसु मेरो प्राण ।
धत्, तिमी त निदाइसक्यौ । तिम्रो खुट्टाको हाड, रगत र मासु कुकुरलाई खुवाएको त होइन नि । सहिद उमा र जिउँदा सुनिताहरुको रगतले धर्तीलाई सिंचेर नै त हामी गणतन्त्र नेपालका नागरिक भएका छौं । स्कूले जीवनको सपना थिए नि के के पो बन्ने, मगज खुस्किएर त्यो सपनाको खामबन्दी खोल्दै नखोली जलाएको पनि होइन हामीले ।
‘हुनुपर्ने’ र ‘भइनँ’ बीचको गोधुली । उमाको पनि त्यस्तै परिबन्ध । के फरक पार्छ र यसले ? उमा नमरेको भए हुन्थ्यो । ‘चक्रब्यूह’मा कविर र उनकी प्रियसी नमरेको भए हुन्थ्यो । यी कथाकार, स्क्रिप्टलेखक हामीलाई यसरी किन घरी–घरी रुवाउँछन् ? अरुलाई नरुवाए यिनको चुल्हो बल्दैन ? शायद उनीहरु पनि समयका निमित्त पात्र हुन् । उमा समयले जन्माएकी एउटा नायिका हुन् । उनलाई समयले उडायो । अनि उनले पनि त समयलाई उडाइन्, हुरीले पत्करलाई जस्तै । उमाहरु गोलीले उडाइन तयार भएरकोले नै त निरंकुशतन्त्र उड्यो र आज दिउँसो टुँडीखेलमा गणतन्त्रको खुसीयालीमा ध्वजापतका लहराए । अब विस्तारातर्फ लागेँ । उमासितको बसाइमा मलाई धीत मरेको छैन । उनलाई सपनाभरि भेट्न पाऊँ ।
२०७० जेठ १५
from onlinegreatway

5 comments:

  1. वाह!शव्दहरु मार्मिक लाग्यो त्यसो त प्रचारमा आएदेखि हेर्ने रहर नजागेको होइन
    पहिलो- हलमा जाने वानी परेको छैन फेरी फिल्म कल्पनिक हो भने हाम्रो यथार्थ,भोगाई सिद्दान्त अनि व्यावहारिक अन्विज्ञाताको विचवाट गरिएको अभिनया कस्तो न होला
    भनेर पनि गएन अव भने खुल्दुली लाग्यो म पनि भोली नै समय छुट्याउछु अनि नजिकवाट नियल्ने कोशीस गर्छु ।

    ReplyDelete
    Replies
    1. चेतन बुढा मगर रुकुम

      Delete
  2. Indu Adhikari: Vai kasto man chhune lekh rahechha. Ek patak Uma herne man chha. Keep on writing. Really good one .

    ReplyDelete
  3. Uttam Pachya: Nepali well dhruba, it's great write up. i can feel the emotion a real emotion that u have gone through in ur life...i can guess timile yestai yestai jivan najik bata dherai anubhav gareka houla...hope to seeyour such write up in future as well

    ReplyDelete
  4. DPak Pariyar: Yekdamai mann chhoyo dai. "Uma" sanga jodera aafnai ra aafujasta hajarauko katha sametnubhayeko rahechha.

    ReplyDelete