Friday, May 31, 2013

थप्पड हान्नेलाई दाहालले माफी दिएनन्, तारिक हटाइदिन कुँवरको आग्रह

काठमाडौं — एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई थप्पड हान्ने पदम कुँवरलाई माफी दिने बताए पनि कुँवर अझै सार्वजनिक मुद्दा खेपिरहेका छन्। १५-१५ दिनमा जिल्ला प्रशान कार्यालय धाउँदा आफूलाई मानसिक यातना भएको कुँवरले बताएका छन्।
आफूलाई थप्पड हान्ने पदम कुँवरप्रति बदलाको भावना नभएको भन्दै दाहालले क्षमावादान् दिने सार्वजनिक रुपमै बताएका थिए। मौखिक माफी दिए पनि अध्यक्ष उनले व्यवहारिक रुपमा कारवाही जारी राखेको सन्दर्भमा पदम कुँवरले शुक्रबार सम्वाद डबलीमा पत्रकार सम्मेलन गरी मुद्दा फिर्ता लिइदिन आग्रह गरेका हुन्।'प्रचण्डले मुद्दा फिर्ता लिन्छु भन्नु भएको थियो तर अहिलेसम्म पनि म १५-१५ दिनमा जिल्ला प्रशासनमा तारिक धाइरहेको छु', उनले भने- 'त्यो हटाइदिए म सामान्य जिन्दगी जिउने थिएँ। यसले मलाई मानसिक यातना भयो।'

यो बीचमा आफूले एमाओवादी अध्यक्ष दाहाललाई भेट्न खोजेको पदमले बताए। 'तर सहयोगीहरुले भेट्न दिएनन', उनले भने- 'अब प्रचण्डलाई भेट्ने पनि कुनै इच्छा छैन।'

गत कात्तिक मसान्तमा एमाओवादीले नेपाल सम्वत् ११३३ का अवसरमा राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा कुँवरले दाहाललाई थप्पड हानेका थिए। शुभकामना लाइनमा बसेर कुँवरले दाहालसँग हात मिलाएपछि देब्रे गालामा चड्कन लाइदिएका थिए। दाहालको दलले आफ्ना अध्यक्षमाथि थप्पड हान्ने कार्य 'नियोजित षड्यन्त्र' भनेको थियो। तर दाहालले भने कुँवरप्रति आफ्नो साहनुभूति भएको र माफी दिएको बताएका थिए।
काठमाडौं जिल्ला प्रशासनले दाहाललाई थप्पड हानेको अभियोगमा दोषी ठहर गर्दै कुँवरलाई २८ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटी बुझाउन नसकेपछि जेल चलान भएका कुँवरलाई मुक्त गर्न सर्वसाधारणले पैसा जम्मा पार्न थालेपछि दाहालले आफैँ पैसा दिएर मुक्त गराएका थिए।
from nagarik

No comments:

Post a Comment