Sunday, August 11, 2013

सुत्केरीलाई २२ रुपैयाँको खुराक

आइतबार २७ श्रावण, २०७०
उपेन्द्र लामिछाने/काठमाडौं - थापाथलीथित प्रसूतिगृहका भित्तामा कोरिएको छ– सुत्केरीलाई पोषिलो खाना खुवाउनू, शिशुलाई जन्मेको एक घन्टामै स्तनपान गराउनू।
अस्पतालमा भर्ना भएका सुत्केरीलाई भने एक छाकमा २२ रुपैयाँको खुराक दिइन्छ। आलो सुत्केरी यस्तो खानाले कसरी अघाऊन्। भोकभोकै स्तनपान कसरी गराऊन्।

'अस्पतालको दालमा दालै भेटिन्न, तरकारीको झोल पनि पानीजस्तै हुन्छ,' जनरल वार्डमा भर्ना भएकी भक्तपुर थिमीकी तुलमाया सनिसीले भनिन्, 'यस्तो खाएर कसरी पेट भर्नू?'
तीन दिनकी सुत्केरी उनले खाली पेटमा शिुशुलाई स्तनपान गराउनुपरेको सुनाइन्। उनले जतिसक्दो चाँडो अस्पतालबाट डिस्चार्ज्ड हुन चाहेको बताइन्। 'एक दिन आफन्तले घरबाट खाना ल्याइदिएका थिए, त्यही दिनमात्र पेट भरियो,' उनले भने, 'यहाँको खाना खानै सकिन्न।'
अस्पतालले अनुमानित ८० सुत्केरीका लागि वार्षिक करिब १८ लाख रुपैयाँको खाद्यसामग्री मगाएको छ। 'प्रतिदिन १ सय ६० प्लेटको हिसाब गर्दा सुत्केरीको खुराक २० देखि २२ रुपैयाँ पर्न जान्छ,' प्रसूतिगृहका प्रशासकीय अधिकृत अमर अमात्यले सुनाए।
२२ रुपैयाँले दाल, चामल, तरकारी, हरियो सब्जी, तथा सातामा दुईपटक मासु खुवाउनुपर्ने ठेक्कामा उल्लेख छ। 'ठेकेदारले मासु खुवाउन किचकिच गर्न थालेको छ,' उनले भने, 'अन्य खानाको गुणस्तर कस्तो छ, आफैंं कल्पना गर्नुस्।' प्रसूति गृहमा दैनिक ७०–८० जना बिरामी भर्ना भए पनि ५० देखि ६० जनाले मात्र अस्पतालको खाना खाने गरेको स्रोतले जनाएको छ।
अस्पतालमा भर्ना भएका अधिकांशले दालको झोल र तरकारीको झोल निक्कै पातलो भएको गुनासो  गरेका छन्। 'मैले त यहाँको खाना मिठो नलागेर तातोपानी पिएर बसे,ँ' जोरपाटी बेसीगाउँकी प्रेरणा गुरुङले भनिन्, 'करिब ५ दिनको अस्पताल बसाइ निकै कष्टकर बन्यो।'
श्रीमान् खाडी मुलुक ओमानमा रहेकाले एक्लै अस्पताल आएकी उनलाई बाहिरबाट खाना ल्याइदिने मान्छेसमेत नभएपछि थप मुश्किलमा परेको सुनाइन् ।
'अस्पतालको खाना त हेर्न पनि मन लागेन,' उनले थपिन्, 'तरकारीको झोल पातलो मात्र होइन, संग्लो पानीजस्तो  छ।' उनले घर आएपछि मात्र पेट भरिएको बताइन्।
अस्पतालको खाना मिठो नभएको अहिले मात्र होइन, यहाँ सुत्केरी गराएर फर्कने धेरैले खाना मीठो नभएको सुनाए। 'मैले अस्पतालको खाना नमिठो भएकालेे घर तथा क्यान्टिनबाट मगाएर खाने गरेको थिएँ,' जोरपाटीकी सोनु लामाले भनिन्, 'अस्पतालको खाना सम्झँदा अहिले पनि मन झस्किन्छ।'
अस्पतालमा भेटिएका कुरुवा पनि खाना देखेर दिक्क छन्। 'मैले त अस्पतालको  खाना हेर्नेबित्तिकै सुत्केरीलाई क्यान्टिनबाट  खाना ल्याएर खुवाउन थालेँ,' खोटाङका सञ्जय राईले भने, 'यहाँको खाना सुत्केरीले एक गाँस पनि खान सकिनन्।'
सरकारले नाममात्रको खानाको व्यवस्था गरेको उनले बताए। 'सुत्केरी गराएबापत १ हजार भत्ता दिन्छ, तर राम्रो खान दिँदैन,' उनले थपे, 'बरु भत्ता कम गरेर खाना राम्रो दिनु नि!'
प्रसूतिगृहकी प्रमूख डा. पुष्पा चौधरीले आफू भर्खरै यहाँ आएकाले खानाको क्वालिटीको विषयमा जानकारी नरहेको बताइन्। 'यस विषयमा बुझ्नेछु,' उनले भनिन्।

from Nagarik

No comments:

Post a Comment