Tuesday, August 13, 2013

गोर्खाल्यान्ड आन्दोलन : अब के होला?

रोशन साँवा/काठमाडौं — गोर्खाल्यान्ड राज्यका निम्ति आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चा (गोजुमो)ले आह्वान गरेको ‘जनता कफ्र्यु’को पहिलो दिन मंगलबार भारतको दार्जिलिङ सुनसान बन्यो। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ७२ घन्टाभित्रमा आन्दोलन फिर्ता लिन शनिबार दिएको चेतावनीको प्रतिवादस्वरूप गोजमोले दुई दिने जनता कफ्र्यु आह्वान गरेको हो। आज पनि जनता कर्फ्यु जारी छ। जनता कफ्र्युप्रति दार्जिलिङमा रहेका क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा), अखिल भारतीय गोर्खा लिग (अभागोलि), भारतीय गोर्खा परिसंघ, गोर्खाल्यान्ड राज्य निर्माण मोर्चा, गोर्खाल्यान्ड टास्क फोर्स, हिल कंग्रेस र हिल भाजपाले पनि समर्थन जनाएका छन्।
गोजमोले छुट्टै राज्य माग्दै दुई साताअघि आन्दोलन थाले पनि क्रामाकपाले बिहीबारदेखि साथ दिइरहेको छ। स्थानीय अन्य दलले भने जनता कफ्र्युमा साथ दिए पनि शुक्रबारको सर्वदलीय बैठकपछि मात्र सँगै जाने–नजाने टुंगो लाग्ने जनाएका छन्। गोर्खाल्यान्डको पक्षमा आफूहरू रहे पनि विश्वासको वातावरण नभएकाले सहयात्राबारे टुंगो लाग्न बाँकी रहेको उनीहरूको भनाइ छ। ‘गोजमोलाई विश्वास गरिहाल्ने अवस्था छैन,’ अभागोलिका उपाध्यक्ष लक्ष्मण प्रधानले नागरिकसँग भने, ‘केही चरण बैठक बसेपछि कसरी अघि बढ्ने भन्ने टुंगो लाग्छ।’ 
अन्य दलले गोजमोसँग संयुक्त नेतृत्वमा आन्दोलन गर्नुपर्ने, जिटिए (गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन) त्याग्नुपर्ने र नगरपालिकाका पदाधिकारी तथा विधायकले राजीनामा दिनुपर्ने सर्त राखेका छन्। गोजमो अध्यक्ष विमल गुरुङले जिटिए त्याग्न सहमत भए पनि उपयुक्त समय आएपछि राजीनामा दिने बताएका छन् । गुरुङले जिटिए सभाको कार्यकारी प्रमुखबाट राजीनामा दिएपछि राज्य सरकारले नयाँ कार्यकारी प्रमुख नियुक्त गर्ने तयारी गरिरहेको छ।
गोजमोले बिहीबारदेखि चार दिनसम्म बन्द नगर्ने जनाएको छ । बिहीबार भारतको स्वतन्त्रता दिवस हो । गोजमो महासचिव रोशन गिरीले शुक्रबारको सर्वदलीय बैठकको निर्णयपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक हुने जनाए।
प्रहरीले भने गोजमो नेता तथा कार्यकर्तामाथि धरपकड जारी राखेको छ। मंगलबार कोही पक्राउ नपरे पनि सोमबार बेलुकीदेखि मंगलबार बिहानसम्ममा २० कार्यकर्ता पक्राउ परेको गोजमोले जनाएको छ । उसका अनुसार अहिलेसम्म दुई सयभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । पक्राउ परेकामा गोजमो उपाध्यक्ष तथा जिटिए सभासद कल्याण देवान, सभासद अनित थापालगायत छन्
from Nagarik

No comments:

Post a Comment