Monday, August 19, 2013

जंगलभित्र ‘फाइटर फोर्स’को तालिम

    उपत्यकासहित १२ ठाउँमा तालिम
    आचार्य प्रमोद / काठमाडौं, ३ भदौ (ओएनएस) : नेकपा–माओवादीले चुनाव बिथोल्ने रणनीति अनुरुप देशैभर सैन्य तालिम दिइरहेको छ । राजधानीसहित देशका विभिन्न जिल्लाहरुमा युवाहरुलाई माओवादीले सैन्य अभ्यास गराइरहेको हो ।      काठमाडौं उपत्यकाभित्र भक्तपुरको खरिपाटी, ललितपुरको बालकुमारीमा तालिम चलिरहेको छ । काठमाडौंको नाङ्गलेभारेमा भने केही दिनमा नै अभ्यास सुरु हुने माओवादीका एक नेताले ओएनएसलाई जानकारी दिएका छन् । स्रोतका अनुसार माओवादीले युवाहरुलाई शारिरीक व्यायामसँगै हतियारसहितको तालिम दिइरहेका छन् ।
   
    राजधानी बाहिर हरेक राज्य समितिले आ–आफ्नो क्षेत्रमा तालिम सञ्चालन गरिरहेका छन् । सेती महाकाली राज्य समिति अन्र्तगतको डडेल्धुरामा तालिम भइरहेको छ ।
   
    सेती महाकाली राज्य समितिका इन्चार्ज ओमप्रकाश पुनले डडेल्धुरामा ५० जनाको युवा दस्ता तयार गरेको बताए । ‘चुनाव बिथोल्नको लागि खाली हात गएर हुँदैन,’ उनले भने ‘ परिस्थितिको सामना गर्न शारिरीक तालिम दिएर अहिलेसम्म ५० जनाको फोर्स डडेल्धुरामा तयार गरेका छौँ ।’
   
    यस्तै काभ्रे, ताप्लेजुङ्ग, मकवानपुर लगायतका जिल्लामा तालिम सञ्चालन भइरहेको छ । एक नेताका अनुसार देशका १२ ठाउँमा अभ्यास चलिरहेको छ भने छिट्टै अरु ठाउँमा पनि सुरु गर्ने तयारी भइरहेको छ ।
   
    माओवादीले जनवर्गीय संगठनको रुपमा जनस्वयमसेवक दस्ता निर्माण गरिसकेको छ । चुनावलाई लक्षित गरेर भने दुई किसिमका दस्ता निर्माण गरिएका छन् । जसमध्ये ‘प्रतिरोध दस्ता’(फाइटर फोर्स)ले शारिरीक रुपमा डिफेण्ड गर्ने र ‘राजनीतिक दस्ताले राजनीतिक मागहरुको बारेमा जनतालाई जानकारी गराउने गरी कार्य विभाजन गरिएको छ ।
   
    पार्टी सचिव नेत्रविक्रमचन्द ‘विप्लव’ले हाल पश्चिमका केही जिल्लाहरुका राजनीतिकसँगै आक्रमणको लागि पनि शशक्त दस्ता निर्माण गर्नको लागि निर्देशन दिइरहेका छन् ।
   
    मकवानपुरमा पनि आजबाट तालिम सुरु भएको छ । राष्ट्रिय युवा जनस्वयम्सेवकका प्रमुख उदयबहादुर चलाउने सोमबार मकवानपुरमै छन् ।
   
    ओएनएससँगको कुराकानीमा चलाउनेले चुनाव विथोल्नबारे देशभर प्रशिक्षण भइरहेको बताए । उनले भने ‘जस्तोसुकै परिस्थितिको सामना गर्न र चुनाव ध्वस्त पार्नको लागि हामी शशक्त भएर प्रस्तुत हुन्छौँ, त्यसको लागि तयारी भइरहेको छ ।’
   
    माओवादी स्रोतका अनुसार राजधानीलगायत देशका मुख्य मुख्य बजार क्षेत्रमा प्रतिबुथ ३५ जनाको दरले ‘फाइटर फोर्स’ खटाउने योजना बनाएको छ । ग्रामिण क्षेत्रमा भने अवस्था हेरेर १०÷१५ जना खटाउने वा नेतृत्वको जिम्मा लगाइने तयारी छ ।
   
    अहिले राज्यस्तरमा प्रशिक्षणसँगसँगै केही जिल्लामा सैन्य अभ्यास भइरहेको छ । चरणबद्ध रुपमा जिल्ला, निर्वाचन क्षेत्र र गाउँगाउँमा पनि तालिम सञ्चालन गरिने माओवादीका एक नेताले जानकारी दिए । पार्टी नेतृत्वले जतिसक्दो छिटो तालिम सञ्चालन गर्न निर्देशन दिएकोले केही जिल्लामा अहिले तालिम सञ्चालन भइरहेको जनाइएको छ ।
from ओएनएस

No comments:

Post a Comment