Saturday, February 28, 2015

काठमाडौंमा दम


‘देखो इमरान, यसके आगे ‘चौपाटी’ आता हैं । हर दिन यहाँ बहुत लोग आते है– भेलपुरी खाने, पाउभाजी खाने । मेरे ख्यालमे यहाँ ज्यादातर लोगों खुली हावा खाने आते है, जिसको कमी महसुस होते है ।’
आमीर खान पत्नी किरण रावको फिल्म ‘धोबीघाट’मा यश्मिन नुर आफ्नो भाइ इमरानलाई भिडियो चिठी रेकर्ड गर्दैछे । नुर बोलेको ठाउँमा फेरि ‘पच’ गरी ‘रि’ गरें ।
तौलें ।
कहाँ मुम्बई । कहाँ काठमाडांै । कहाँ समुन्द्रको छेउ । कहाँ सगरमाथाको काख ।
यति आकाश पाताल भए पनि ‘ताजा हावाको अभाव’ भने मिल्दोरहेछ । जस्तो काठमाण्डौंमा अभाव छ, स्वच्छ हावाको । उस्तै मुम्बईमा पनि ।
शौचालयमा कहिलीकसो फिल्म हेर्नु त कहिलीकसो डायरी लेख्नु दिनचर्या हुन थालेछ । लोडसेडिङको कारण शौचालयमा बत्तीको जिम्मेवारी पनि थाहै नपाई ‘ल्यापटप’ले लिन थालेछ ।
अँ, जोड्न खोज्दै थिएँ, शौचालयमा ‘धोबीघाट र धोबीघाटकी नुर’ ।
रोल्पामा बम्बई (अहिले मुम्बई)का नाउँमा किस्सा छन् । ‘धोबीघाट’मा जोहेब अर्थात् मुन्ना बिहारबाट मुम्बई गएजस्तै हाम्रोतिरबाट पनि ‘लेकिन लाहुरे’ बन्न जान्छन् । अहिले तन्केर अरब र मलेशिया पुगेको छ ।
बम्बईको नाउँमा किस्सा यस्तो छ– बम्मई (बम्बई) गएँ सम्मई भएँ । कलकत्ता (अहिले कोलकाता) गएँ, बेपत्ता भएँ ।
पच गरें । एकछिनपछि फेरि ‘प्ले’ गरें ।
अँ, उत्तर प्रदेश मलियावाद घर भएकी नुरले भाइ इमरानलाई भिडियो टेपमा रेकर्ड गर्छे, ‘यहाँ ज्यादातर लोगों खुली हावा खाने आते है ।’ तर जुन चौपाटीको कुरा गरेको हो, त्यहीं ठाउँमा मात्र हो नि खुला हावा पाइने ।
अँ, चोयाको ¥याक किनें, नगद २४ सयमा । यसै रिन उसै रिन बूढी भैंसी किन् भन्छन् नि । त्यै सम्झेरै किनियो, ‘लो बेड’मुनि शरणार्थी जीवन बिताइरहेका किताबका लागि ।
किताब चोयाको ¥याकमा सार्दा चिठी भेटें । झण्डै आधा दर्जन चिठी ।
अब त चिठी संस्कृति फोन र एसएमएसले खप्लक्कै पारेपछि चिठीबारे कुरै भएन । चिठीको नाउँमा श्रद्धाञ्जलीस्वरुप दुई शब्द लेख्ने मन छ । हेरौं, कहिले साइत जुर्छ ।
अँ, काठमाडौंमा स्वच्छ हावा छैन । ‘रिसर्च’ले भन्छ– विषाक्त छ, काठमाडौंको हावा । मास्क नलगाए दम लाग्छ ।
तर ताजा हावाको यादमा खाल्डोबाट निस्कने साइत कहाँ जुर्नु, साना काँटीका कमैयालाई ।
काठमाडौंजस्तै ताजा हावा नभएको सुनेर उकुस मुकुसिएँ । मरुञ्जेल गाली गरे नि पेट भर्न काठमाडौंमा बतासिन आएजस्तै बम्बईमा नि उस्तै बतासिएका छन्, साना काँटीका कमैया ।
‘थोडा हाँसो न बाइ । मेरा भाइको ‘हेलो’ बोलो,’ नुरले यति भनेपछि लता बाइको छेउमा एउटी केटी पनि आई । नाउँ रहेछ, बनिता । कक्षा नौमा पढ्ने बाइकी छोरी । अंग्रेजीमा बोल्न आग्रह गरी । रटेको अंग्रेजी एउटा ‘सेन्टेन्स’ बोली । अंग्रेजी माष्टरले गाउँघरको स्कुलमा घोकाएजसरी ।
सुनाइसकेपछि छिमेकी गाउँ केवरीका एकजना साथी आँखामा उभिए । अचेल गाउँमै माष्टरी गर्ने धनबहादुर डाँगी ।
९ र १० कक्षाका अंग्रेजी किताबका प्रश्नोत्तर त के गणितका हिसाबसमेत उनलाई खरर आउँथ्यो । तर जाँचमा आलु । सायद एसएलसी जाँचको ह्याट्रिकपछि रेगुलर भर्ना भए ।
अहिले त प्लस टू पनि सके रे भन्ने सुन्छु । जाँचमा आलु फल्दैमा हरेश खान हुन्न भन्ने कुरा बुझाउन डाँगीलाई ‘अच्छा मोडल’ बनाएर धेरैजनालाई भनेको छु ।
अँ, ‘धोबीघाट’मा बेतालले झरिरहेछ झरी । नुर मुम्बइको झरी अरु ठाउँको भन्दा ‘फरक छ’ भन्छे । रातिको झरी त लोरीजस्तो सुनिन्छ रे ।
भन्छे, ‘बस् गिरती रहती हे । रातके यसके आवाज लोरी हो । घरवालोको टिभी भी सुनाइ नही देता । तो मुझे बुरा लाग्ता है भाइ के लिए । उसको सारा घर पानी से भरजाता है । कहते है एक–एक मग पानी उठा उठाकर बाहर फ्याँक्न परता है ।’
केही समयपछि ओछ्यानमा भेट्न आएको झरीलाई मुन्नाले खाली भाँडाले स्वागत गर्छ ।
अम्खोरामा पानी थाप्छ । त्यै पिउँछ ।
पानीको रुप पनि कस्तो–कस्तो है ?
कुनै बेला लोरी त कुनै बेला…
बच्पनताकाका बर्खामास सम्झिएँ । चोत्राधाराको गोठमा हुन्थ्यौं । चुहिएर जहाँनेर पानी झथ्र्यो त्यहीनेर थाल थाप्थ्यांै । माइला दाइसित बलेसीको बाटो हुँदै झरेका आकाशको आँसुलाई कटौरामा थाप्थ्यौं । तिर्खा नलागे पनि त्यसै पिउँथ्यौं । झरीमै घुम ओढेर माइला दाइसित गाई चराउन जान्थ्यौं । झरीको संगीतमा माइला दाइले बजाएको मुरलीको धुन के सारो मिठो लाग्थ्यो, त्यसबेला ? कुरा गरे गफ गरेजस्तो होला । राति झरीमा भिज्दै घरमा सुत्न जान्थ्यौं । एक डेढ आधा घण्टाको पैदल टाढा गाउँभन्दा धेरै माथि लेकमा बर्खे गोठ जाने चलन छ । गाउँका मूल घरमा राति मात्र ‘घर कुर्न’ भनेर सुत्न जान्थे ।
अँ, शौचालयमा ‘धोबीघाट’का नुर र मुन्नासित छु ।
पेट भर्न बिहारबाट गएको मुन्ना । जसको सपना छ, फिल्म खेल्ने । अमेरिकाबाट आएकी साय देखेर मुन्ना छक्क पर्छ । भारतीय मूलकी ब्याङ्कर साय त आएकी हुन्छे, रिसर्चका लागि । तर मुन्नालाई लाग्छ, साय बुद्धिमा बिर्को लागेर मुम्बई आई ।
भन्छ, ‘य गन्धी जगा है, अमेरिका अच्छी है ।’
तेस्रो विश्वका मान्छे जो प्रविधिको बिकासलाई सबथोक ठान्छन्, जानेर वा नजानेर । मुन्नाको नजरमा पनि अमेरिका स्वर्ग हो ।
‘लेकिन लाहुरे’ भर्ती हुन भारतमात्र जाने संस्कृति तन्किएर अरब पुगेको छ । ताल यस्तै रहे तन्किएर कहाँ पुग्ने हो ?
रामजाने ।
रोल्पाको थवाङमा जापानी डाक्टर इसिदालाई भेट्दा यस्तै लागेको थियो मलाई । जस्तो मुन्नालाई लागेको छ, सायलाई भेट्दा ।
‘माथि’ जाने बेला के खान रोल्पाका डाँडाकाँडामा,’ इसिदालाई देखेर अचम्मित भएको थिएँ म । जापानमा साठी नाघेपछि छ महिनामात्र काम गरे पुग्दोरहेछ । छ महिना कमाएर बाँकी छ महिना रोल्पाका भीरपाखामा बिताउने इसिदालाई ताजा हावाले रोल्पामा तान्यो कि ?
अँ, धोएको लुगा लिएर मुन्ना पुगेको छ, सायको कोठामा । सायले बम्बई नै घर हो कि भनेर सोधेपछि मुन्नाले जवाफ दिन्छ, ‘नहीं बिहार । दरभंगा जिला से ।’
ब्याङ्कर साय सोध्छे, ‘तुम क्यू आय मुम्बई ?’
– पेट भर्ने ।
– तो सारे फेमिली यहाँ है ?
नहीं । अकेला । ८ सालका था । चाचाका साथ रहने आए हुँ ।
– जाते हो वापस मिल्ने ?
– न । कभी नही ।
– क्यू घरकी याद नहीं आती ? घर पे अच्छा नही लग्ता था क्या ?
– ठीक था । खानेको कम मिल्ता था । पर भुक लगती थी । पहिलीबार मुम्बई मे आया । चाचा ने होटलमे काम दिलवाया । वहाँपर खुब खाया– ‘खाना भी, थप्पड भी’ ।
गाउँमा सानो घर । एउटा भैंसी । एक हल गोरु । सानो बारी । कति स–साना सपना । यति सानो सपना उनेर गाउँबाट सहर छिर्छौं । तर सहर पसेपछि ? एक छाकको लागि दासी बन्छौं मुन्नाजस्तै । काठमाडौंमा म जस्तै ।
भिडियो चिठीमा नुरले भन्छे, ‘मैं कैसे लाग रहीं हुँ ? बिल्कुल वैसै है न ? बम्बई मे अभितक बदला नही मुझे । मै वही यश्मिन हुँ ।’
एउटा रुमानी सपना उनेर सहर पस्ने आम गाउँलेको अवस्थाभन्दा फरक थिएन, नुरको पनि । कहाँ हुनेखानेको बम्बई, कहाँ मुन्ना र नुर । कहाँ हुनेखानेको काठमाडौं, कहाँ म । फर्केर हेरें– मुन्ना, नुर र मेरो जीवनशैलीमा के नै फरक छ र ?
ऐना हेरें । उस्तै छु । जस्तो काठमाडांै छिर्दा थिएँ ।
अँ, साहुको काम गर । मध्यरातमा डेरा फर्क । हटकेसको भात खाउ । अँ, रातले एक निन्द्रा पु¥याएर कोल्टे फेर्ने बेला सुत ।
लखरलखर कहिले सिंहदरबार कहिले पेरिसडाँडा । नेताका पछि दगुर । समाचार लेख । जागिर पकाऊ ।
अनि ?
तनखा बुझ । घरबेटीलाई बुझाऊ । चामल दालको दुकानमा बुझाऊ । भतिजहरुका गोजी थोरबहुत ‘गरम’ गर ।
‘अब तो इक्जाम सुरु हुने वाला है न, दो हप्तो मै । खुब पढ्ना भाइजान । और अच्छी नम्बर पा कर यहाँ आना । आप तो इतना सालो से बम्बई आना चाहते थे । अब मै यहाँ हुँ न । खुब मजा किरंगे । जु भी जाइंगे । भेलपुरी खाइंगे ।’
यहाँनेर पच गर्छु । फरवार्ड गर्छु । मैले त गाउँका आफन्तलाई परिवारका सदस्यलाई समेत भन्न सकेको छैन, काठमाडौं आउनू ।
सानो सिरक भन्छन् नि । टाउको ढाक्दा गोडा नाङ्गै गोडा ढाक्दा टाउको नाङ्गै । सानो जागिर र सानो सिरक ।
‘य मेरा आखिरी खत है । पता नही य तुमतक पहुच पायगा अवर नहीं अल्लाह तुमको खुस और सलामद रखे । मुझसे घुस्सा मत होना । मैने बहुत कोशिस किई है । मम्मी और अब्बुको भी सम्झा देना ।’
यति भनेर उसका हात मास्तिर लाग्छन् । आँसुले भरिएको आँखा अघिदेखि नै टल्पलाइरहेको थियो ।
सहर पसेपछि आफ्नो भन्ने बाँकी रहेको एउटा ‘जिनिस’ त्यै श्रीमान् पनि आफूबाट टाढिएपछिकी नुर आत्महत्या गर्छे ।
आमिर जुरुक्क उठ्छ । पंखा हेर्छ । पंखा झुण्ड्याउने सिलिङ हेर्छ । अनि बाहिर निस्कन्छ ।
निःशब्द बसिरहेकी एउटी बूढी आमै जो नूरले उल्लेख गरेकी छ जो नुर अर्थात् पछि आमिरको कोठाको छिमेकी थिइन् ती आमै उसैगरी कुर्सीमा बसेकी छन् । बाहिर निस्कने गल्लीमै बसेर आमिर रुन थाल्छ ।
थाहा छ, यो फिल्म हो । तर पनि दिल किन यसरी हुर्रिन्छ हँ, कहिलीकसो ? बाथरुममै रुन थाल्छु ।
डेराहरु आँखामा आए– जहाँ बिताएँ जिन्दगीका घामपानी । कति डेरा सरियो काठमाण्डौं र घोराहीमा ? ती डेरामा कतिका रहर र सपनाले आत्महत्या गरे होलान् ? गाउँका निश्चल मन कति सहरमा यसरी गुमनाम भए होलान् ?
अँ, भिडियो चिठीमै नुरले भनेको सम्झन्छु, ‘यित्नो दिनों मे टेप खत्म नही कर पारही है । सारे खबर तबतक बासी होगई होगी ।’
नेपाली नुर र मुन्नाबारे लेख्छु भनेको पनि ‘छेपाराको शास्त्र’ भएछ । रंग पत्रकार दीपेन्द्र लामाले ‘धोबीघाट हेर्न दिमाग पनि लिएर जान’ भनेको थियो । त्यसैले धोबीघाट हेर्नेबित्तिकै लेख्छु भनेको थिएँ । कति दिन बितिसकेछ । मेरो लेखन पनि त उस्तै । जस्तो नुरको टेप भराइ ।
तपाईंकहाँ आइपुग्दा नुरको खबरजस्तै बासी भइजाला । थाहा छैन, कहिले पूरा होला र राखुँला मेरो ब्लग hataru.blogspot.com मा ।
अँ, बाथरुमबाट धोबीघाटका नुर र मुन्नासित निस्कदा काठमाडौंमा पनि झरी परिरहेको थियो जस्तो धोबीघाटको बम्बईमा । झरीमा मुरली बिसाएर बाख्राले मकै खायो भन्दै माल्दाइको कासन झरेजस्तो लाग्यो ।
बहराइनबाट माल्दाइको फोन नआएको नि धेरै भयो । साउदी सेना बहराइनमा पसेपछि फोनसमेत नभएको बताएका थिए, ‘साउदी सेना आएको छ । कसैलाई बाहिर निस्कन दिएको छैन । फोन पनि छैन । यहाँ दूताबास छैन । साउदीमा रहेको दूताबासलाई भन्यौं तर उसले हेर्दैन रे । चोकको एउटा पसलमा फोन गर्न पाएर मात्र फोन गरेको । विदेशीलाई पनि यहाँ सुरक्षा छैन । फर्कने कसरी ? थाहा छैन । चिन्ता नमान्नू । फोन बने यहाँबाट आफैले फोन गर्छु ।’
त्यसपछि ?
अहिलेसम्म फोन आएको छैन ।
अँ, झरी परिरहेको छ, काठमाडौंमा पनि । जुन झरीको संगीतमा माल्दाइले मुरली बजाउँथे । सुन्थे, बनपाखामा वस्तुभाउ र चराचुरुङ्गीले पनि । त्यै झरीमा सोत्तरले भरेको राङ्गे बोकेर जेई आउँदै गरेको देखेर बोलाउँथें, जेई, भोक लाग्यो ।
झस्कन्छु, कहाँ लेकिन लाहुरे संस्कृति तन्केर बहराइन पुगेका माल्दाइ कहाँ प्यारालाइसिसले थला परेकी जेई !
विषाक्त हावाले रन्थनिदै नेपाली नुर र मुन्नाका यादमा उदासिइरहेको बेला फोनको घण्टी बज्यो, बहराइनबाट माल्दाइको हो कि भन्ठानेर हेर्छु, सम्पादकको पो रहेछ ।
समाचार के छ ? आज पनि मुख्य समाचार बन्ने खालको हुनुपर्छ, सम्पादक भन्छ ।
एकछिनपछि निस्कन्छु फेरि काठमाण्डौंको विषाक्त हावालाई स्वागत गर्दै समाचारको खोजीमा उही सिंहदरबार, झरीमा भिज्दै ।
गम्दै–गम्दै समाचारको पछि दगर्छु कि कहिले फेरिएला काठमाण्डौं ? जहाँ दुःखी गरिब पनि मज्जाले हाँस्न पाऊन्, मास्क लगाउन नसक्नेले नि बाँच्न पाऊन्, जहाँ तल्लो तला, छाप्रा र सडकमा बस्नेले नि स्वस्थ हावा र अक्सिजन खान पाऊन् ।
हरर तिर्खा लाग्यो, स्वस्थ हावा पाइने नयाँ काठमाण्डौंको यादमा ।
from Saugat 

1 comment: