Wednesday, February 25, 2015

रोल्पा एक्सप्रेस

रोल्पा एक्सप्रेस
‘अदालत उही । सिंहदरबार उही । उही बालुवाटार । उही अनुहार भद्रकालीको’, गाडीभित्र र बाहिर झरेका आवाजको ‘भोल्युम’ क्रमशः बढ्दै थियो, ‘सबै रङका फूल आफूखुसी नफुल्दासम्म चल्छ, आँधी ।’
बसबाहिर सुनिदैथियो ः
चालै नपाई
आफ्नै रगत
अरूले बेचेपछि
के थाहा
आफ्नै रगतको
मूल्य कति थियो ?

चालै नपाई
आफ्नै सपना
अरूले बेचेपछि
के थाहा
आफ्नै सपनाको
मूल्य कति थियो
चालै नपाई
आफ्नै बैँस
अरूले बेचेपछि
के थाहा
आफ्नै बैँसको
मूल्य कति थियो ?

...त्यसैले त भनिरहेछु
खबरदार ए जनताहरू
सहिदको रगत
रक्ती बनाई
खाइरहेछन्
तिम्रा देवताहरू
... ...
३१ वर्षीय लालधन रोका मगर उर्फ कमरेड हुरी पार्टी हेडक्वाटरले पूरा भयो भनेको राजनीतिक क्रान्ति रोल्पा नपुगी कहाँ अलमलियो ? खसोखास आफ्नै आँखाले हेर्न काठमाडौँ पुगे ।

घोराही आक्रमणका बेला टाउकोमा छर्रा लागी पहिलोपालि घाइते भए । दोस्रोचोटिको खारा लडाइँमा दायाँ खुट्टामा एट्टीवनको छर्रा लाग्यो । मृत्युको मुखबाट बल्लबल्ल फर्केका उनी पाइला फाल्दा खोच्याउँछन् ।

उनका जेठा दाजु बलबहादुर स्कुलबाट घर फर्केनन् । माहिला दाजु किर्सनधन सात पढ्दापढ्दै कमरेड ज्वाला भए । माहिला दाजु, दिदी र बहिनीले पार्टीमै बिहे गरे । बिहे भएको तीन महिनामै उनले कमरेड विजेतालाई म्याग्दी सदरमुकाम बेनी आक्रमणमा गुमाए । सहिदपति भएको दुई वर्षपछि सहिदपत्नी कमरेड नमूनासित उनले बिहे गरे । आफ्नो मानो खाँदै आफ्नो बाटो हिंडिरहेको उनको परिवार घरमा पनि बनमा पनि बस्न नपाएपछि सिङ्गो परिवार ‘कमरेड’ भयो ।
एकदिन बलबहादुर कसो नफर्केला भनी बलबहादुरको बाटो हेरेर परिवारले काजकिरिया गरेन । आसैआसमा आमा दिलपुरा पोहोर हिउँदमा ‘माथि’ गइन् । सग्लो जिउका उनका धेरै कमरेड जनयुद्धमा उब्रेको उमेर बोकेर साउदी अरब र मलेसिया उडे । केही कमरेड ससाना पेसामा अल्झने कोसिसमा थिए । थोरै तर पार्टी सत्तामा बसेका कमरेडचाहिँ ‘नेपालमा राजनीतिक क्रान्ति सकियो’ भन्ने पार्टी हेडक्वाटरको मन्त्र जप्दै कहिले सदरमुकाम लिबाङ त कहिले काठमाडौँ गरिरहेका थिए ।
अँ, काठमाडौं पुगेका कमरेड हुरी कलङ्कीबाट रत्नपार्कतिर गुडेको पाँच मिनेटपछि जाममा फसे । हेर्दाहेर्दै सडकवारिपारि सेना र पुलिसले भरिए ।
‘राजाको सवारीजस्तो छ त ?’
यात्रु एकापसमा मुखामुख गरे ।
थाहा भयो ः राष्ट्रपतिको सवारी । बिहान प्रधानमन्त्रीको सवारीजाम थियो ।

झन्डै तीन घन्टा लामो जामपछि साइरन बजाउँदै पिलिकपिलिक बत्ती बालेका गाडीको लस्कर लाग्यो र जाम खुल्यो ।
कमरेड हुरीले राजा हुनु र नहुनुमा आएको तलमाथि खोजे । जाम खुलेपछि गुड्दै जाँदा भद्रकालीअगाडि गाडी अर्को जाममा फस्यो । त्यसै बेला उनका आँखा भद्रकालीमा अल्झियो । उनी त्यसपछि झन हलाक् भए जब उनले राजा गएपछिको भद्रकालीमा मन्दिर देखे ।
‘होइन, के फेरियो त ?’ मनमनै आफैँलाई सोधे । झ्वाट्ट अर्को मनले भन्यो, ‘सिंहदरबार फेरियो कि ?’
उनका आँखा खसखसाए । बाँकी सोचेनन् । बस्, उनलाई हेर्नु थियो, छिटोभन्दा छिटो राजनीतिक परिवर्तनपछिको सिंहदरबारको अनुहार ।
... ....
थानकोटको इँटाभट्टामा इँटा बोक्ने छिमेकी खर्कसिंह उर्फ कमरेड शरदकहाँ नसुतेरै रात ढल्यो । जाम र भद्रकाली देखेर हलाक् परेका हुरीले शरदसित सबै खसखस पोखे । इँटा बोक्न परिवार नै उठेर आएका कमरेड शरदले काठमाडौंमा आफूले देखेभोगेका कुरा पोखे । रातभर आफूले हिंडेर आएको विगत उनेर रात ढल्यो । तिनले जोखे । के पाए ? के गुमाए ? लेखाजोखा गरे ।
भोलिपल्ट सिंहदरबार पुग्दा यस्तै सवा ११ बज्दै थियो । उनले भेटे, सेना–पुलिसले घेरिएको पुरानै सिंहदरबार । सम्हाल्न कोसिस गरे, ‘ठूलो राजनीतिक परिवर्तनपछि अलिकति तलमाथि त कसो भएन होला र ?’
‘को मु... भोटे हो ?’
उनको मङ्गोल अनुहारलाई हेपेको चर्को स्वर उनको कानमा बज्यो । कुनै दिन सिमलामा ‘गोर्खे बाँदर’ भनेर गरिएको अपमानझैँ चर्को थियो त्यो स्वर । आफ्नै मुलुकमा गरिएको अपमान टिमुर काँडाजसरी बिझ्यो । मुस्किलले रिस पाइतालामुनि अचेट्दै भने, ‘ङा कम्रेट हुरी ! रोल्पा ल !’
आफ्नै मातृभाषा खाम मा रोल्पाको कमरेड हुरी भनेको सिंहदरबारले बुझेन ।
‘मु...मा... भोटे के भन्छ’, एकजना बूढाले यसअघिको ‘मु...’ मा ‘मा...’ पनि थपेर भने । र, एकैगाँस पार्लान्जसरी झपारे ।
‘सिंहदरबार हेर्न आया’ हम् ब’, उनले नेपाली भाषाकै रोल्पाली लवजमा भने । रोल्पाली लवजको नेपाली भाषा बुझ्ने पनि भेटिएनन् ।
‘ऐ तेरिमा... मु... हाम्रो नेपाली भाषामा बोल् न’, हप्काइको पारो आकासियो ।
उनले जानेको मगर भाषा र रोल्पाली लवजको नेपाली भाषा मात्र थियो । यताउता हेरे, उनको भाषा बुझ्ने र उनीजस्ता गरिब किसिमका थिएनन् ।

सिंहदरबारभित्रबाट आफ्नो मान्छेले पास पठाए मात्र पस्न पाइने प्रावधान उनले थाहा पाए । उनको कोही भए पो ।
‘हाम्जस्ता गौले र गरिप्गुर्बा भित्र छिर्न सक्तैनम् ?’
रोल्पाली लवजमा सोधेको कसैले नबुझेपछि हातको इशाराले फेरि सोधे । उनको अनुहार र उनको गरिब वर्गको जीवनशैली झल्काउने लुगा हेरेर हातकै इशाराले जवाफ पाए, ‘भित्र पस्न पाइन्न !’
अध्यक्ष सीएम रोल्पामा बस्दासम्म उनी सीएमको सुरक्षामा खटिएको सेनाको टोलीमा थिए । शिविरमा बसेपछि पार्टीले उनलाई पार्टीकै काम गर्न पठायो । माओवादीमा लागेपछि दुईचार कुरा भए पनि बोल्न जानेका कमरेड हुरी छक्कापन्जा गर्न उनको मनले मानेन । केही भइहाल्छ कि भनेर पर्खी बसे । र, आखिरीमा सोधे, ‘कोस्को हो तो यो सिंहदरबार ?’
रोल्पाली लवजमा सोधेको कसैले नबुझेपछि फेरि हातकै इशाराले सिंहदरबार कसको हो भनी सोधे । कोही बोलेनन् ।

गाडीमा सिंहदरबारभित्र र बाहिर गरिरहेका थिए, रामप्रसाद कोइराला, चुडामणि पौडेल, कृष्णहरि खनाल, भानुभक्त उपाध्याय, रामप्रसाद दाहाल, प्रद्युम्नशमसेर जबरा, कृष्णकिशोर नेपाल र प्रसन्नविक्रम शाह । पुस्तौंदेखि सिंहदरबारमै गुँड लाएर बसेकाका खलकका थिए ती ।

सिंहदरबार गेटअगाडि भित्रबाहिर गर्नेलाई हेरिरहेकै बेला केही थान पत्रकार पुगे ।
‘रिरुमा सिएम कम्रेटले रास्नीतिक करान्ति सक्क्योे भनी फुक्या थे । हामी गरिप्को नि दिन आइगिछ भन्कन खुबई रमाइम् । तर, रोल्पाको हाम्रो गौमा अझै पुगेन । कहाँ अलमल परो भनीकन निजो खबर बुझ्न आहम् ब’, पत्रकारले सोधेपछि उनले रोल्पाली लवजमा भने, ‘दोर्सो खारा मोर्चामा लागेको एट्टीवनको छर्रामध्ये चारवटा अझै झिकेको छैन । दाइने खुट्टाले नाम्ररी टेक्न मान्दैन ।’
कमरेड हुरीको बोली नसकिँदै एउटा गाडी सिंहदरबार गेटमा आइपुग्यो । पत्रकारले गाडीमा सवार कमरेड अशोक (काठमाडौँमा आएपछि नारायणप्रसाद उपाध्याय) लाई देखाउँदै भने, ‘तपाईंका कमरेड त भित्र छिरे ।’
‘अझ्झी हो र ?’
झस्केर छिटोछिटो नजर लगाए, गाडीको सिसाबाहिरबाट । उनका कमरेड ‘सर’ भइसकेका थिए । आफ्नै कमरेडलाई चिन्न नसकेकोमा चुकचुकाए ।
ठीक त्यसैबेला उनलाई पत्रकारले सुनाए, अहिलेका घरमूली सुशील कोइरालासहित मोहनशमशेर, विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, माधव नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराईका नाउँ । त्यसपछि उनलाई सोधे, ‘यीमध्ये कोहीसित नाता लाग्छ ?’
‘सिएम कम्रेटसित ता वर्गीय नाता लाग्छ । रोल्पामा बस्दा गरिप्को भन्थे ब सिएमले’, आफ्नो सीएमका कुरा फ्याट्ट सम्झिए । कमरेड हुरीको जवाफ सुनेर पत्रकारले खित्का छाडे । किन खित्का छाडे भनेर उनी एकपालि फेरि गम खाए । त्यसपछि उनले जानेका र चिनेका नाउँ सम्झिए ः लाममति पुन, जैसरा रोका, फौदबहादुर दमार्इं, जोखबहादुर घर्ती, लालबहादुर मेचे, पहरू थारू, जुक्तबहादुर चेपाङ, दोर्जे तामाङ, सुकधन राई, लोकवीर तुम्बापो, छिमी लामा, धनवीर ठगुन्ना, भक्त पासवान आदि । उनका मनमा आएका यी कोही पनि सिंहदरबारमा थिएनन् ।
उनका पाइला अनायास सिंहदरबारसित जोडिएको अदालततिर सोझिए । एक मनले भन्यो, ‘अदालत त कसो नफेरिएको होला र ?’
...
सर्वोच्च अदालत पुग्नेबित्तिकै देखे– शाह, राणा, तिनका पुरेतखलक र हुनेखानेका बिर्ता । हलाक् परे ।
कहाँनेर टेक्ने हो ? पाइला राख्ने ठाउँ खोजे । भेटेनन् । उभिएर हाँस्ने, खेल्ने र बोल्ने त परै छ ।
एकछिन टोलाए, सर्वोच्च अदालतसित जोडिएको पुरातत्व विभागनेर । त्यसपछि बर्खामासको माडीखोला भन्दा मुस्किलले सडक तरेर कृषि विकास बैंकनेर उभिए । घरी हेरे पुरातत्व विभाग, घरी सर्वोच्च अदालत ।
हेर्दाहेर्दै उनले झ्वाट्ट सम्झिए, आफ्नो तीनपुस्ते भविष्यसहित जिन्दगीका सम्पूर्ण सिरिखुरी धरेको पार्टी अनि त्यसको हेडक्वाटर ।
जाने मन पलायो । लागे हेडक्वाटरतिर ।
...
‘हाम्रो हेडक्वाटर हो ?’
उनका आँखा तिर्मिराएपछि आफूलाई चिमोटे । र, सामान्य अवस्थामा ल्याउने प्रयास गरे ।
‘रोल्पाबट आया हम् ब, सिएम कम्रेटलाई एकफेरा भेटम् भन्कन’, रोल्पाली लवजमा यति भन्दै घरवरपर नजर डुलाए ।
‘रोल्पा नपुगी करान्ति काँ अलमल भो’, कसैले नसोधीकनै आफँैले भने । यताउति हेरिरहेका बेला कतै देखेजस्तो एक जना खाइलाग्दा मान्छे निक्लिए । ‘सलाम सिएम कम्रेट !’ भनी अनायास उठेको उनको दायाँ हात माथि नपुग्दै ती मान्छे मिलिक्क भए । उनका अघिपछि सेना–पुलिस थिए ।
‘सिएम कमरेड कार्यक्रममा जानुभयो त’, एक जनाले भने ।
‘अझ्झी.... हो र ?’
उनी झसङ्ग भए ।
बाहिरिने ती मान्छे उनलाई घरी आफ्नै सिएम हुन्जस्तो लाग्यो, घरी होइनन्जस्तो । अलमलमा परे । आफैँलाई सोधे, ‘मलई यो आँखाले धोका दियो कि पार्टी हेडक्वाटरले ? मल्ता घरी आफ्नै सिएम कमरेडलाई पनि केपी ओली देख्छु घरी सुशील कोइराला ।’
जति प्रयास गरे पनि छुट्ट्याउन सकेनन् । त्यसपछि उनलाई भोक लागेजस्तो न प्यास लागेजस्तो भयो । छटपटी भयो । आफूलाई थाम्न नसकेपछि उनी थचक्क बसे । एकछिन आँखा चिम्लिए । त्यसैबेला उनका आँखामा जुलुस आयो, सहिद, बेपत्ता, घाइते र जनयुद्धमा सिरीखुरी धरेका अबोध कार्यकर्ता र तिनका अलपत्र परिवारका । अनि क्रमशः पुराना याम आए जुन याममा भोलि झुल्ने घाम सम्झी झरीमा भिजेथे उनीजस्ता धेरै । नेतालाई घरको बैकल (बुइगल) मा लुकाएर सेन्ट्री बसेका रात स्मृतिमा आए । आफूहरूले मासुभात खान दसैँतिहार कुरे पनि ‘देश खोजी बगाल रोजी’ भालेसित भात खुवाएका याम ताजै भएर उभिए । मकै चपाउँदा पनि दुश्मनले सुन्ला कि भनी सुस्तरी चपाउँदै पार्टी नेतृत्वलाई गहुँको रोटी खुवाएका विगत आए । नेतृत्व बचे न क्रान्ति हुन्छ अनि देशको मुहारसित गरिबका पनि मुहार फेरिन्छ भनी आफू लुगलुग काँप्दै नेतालाई सिरक खपाइदिएका रात झलझल्ती आए ।
‘सिएम कम्रेटले काटमुन्नु फेर्छु भन्थे । बड्डालई काटमुन्नुले फेरेछ । तेसै बड्डाले भन्यारैन्छन्, नेपाल्मा रास्नीतिक करान्ती सक्क्यो’, आफूलाई भन्दा भरोसा गरेको हेडक्वाटर अनचिनार लागेपछि उनको मनले भन्यो, ‘मूल धमिलिएर पो तल धमिलो बगेछ ।’
जुरुक्क उठे । हेडक्वाटरलाई एकपालि फरक्क फर्की हेरे र छिटोछिटो बाटो लागे ।
....
साइनबोर्डबाहेक गरिब, दुःखी र इमानदारका जिन्दगीमा कुनै मौसम फेरिएको भेटेनन् । उनको अनुहार र वर्गले अपनत्वबोध गरेर पाइला राख्ने ठाउँ काठमाडौँमा भेटेनन् ।
सडकमा जति पाइला फाले, उति आए उनका आँखामा ः गरिबका रहर एकबार कसो नफुल्ला भनी जिन्दगीका सिरीखुरी धरेका वेदाग अनुहार । अरबको खाडीमा भेडा चराइरहेका र भारतका गल्लीमा चौकीदारी गरिरहेका अबोध आँखामा आए । आए बेपत्ता दाजु, सहिद विजेतासहित धेरै तन्नेरी ।
‘मेर्दाजु र मेर्जोईले करान्तीमा बगाएको खुन कुकुरको मूत भो त ?’
आफ्ना दाजु र श्रीमतीले बगाएको रगतको मूल्य सम्झेर झस्किए ।
सम्झिए आफूजस्तै गरिब र सिमान्तकृत अनुहारलाई । उनै दुईचारबाहेक बाँकीका जीवनशैलीमा तात्विक फरक भेटेनन् ।  
‘आब काँ जाने तो ?’
उनको जिउ सर्सरायो । एकतमासले आङ तातेजस्तो भयो । ढिकी कुटेजसरी भए पनि दगुरे । रोल्पा लेखेको एउटा गाडी मात्र देखे । सबै रङका अनुहार र गरिखाने मान्छे पनि आफूखुसी हाँस्न र रुन पाउने रङ्गीन नेपाल बनाउन गुडेको उक्त गाडी केही थान नेतालाई बालुवाटार र सिंहदरबार पु¥याएपछि अलपत्र थियो ।
‘रोल्पा’ देख्नेबित्तिकै अनायास उनका आँखा हतारहतार बस चढेका र चढ्न लागेका अनुहारमा बल्झिए ।
देखे, उनका जस्तै चिसा आँखा । देखे, कोही आमा गुमाएका त कोही दाजु गुमाएका । कोही शरीरका अङ्ग गुमाएका । कोही काठमाडौँका इँटाभट्टाबाट फर्केका त कोही भारत, साउदी अरब, मलेसियाबाट । कतिखेर गुड्ला भनी पर्खिरहेका आतुर अनुहार !

No comments:

Post a Comment