Saturday, February 28, 2015

कमरेड हिक्मत गोठालो

‘ठूलाबालाई कस्तो छ हँ,’ फोनमा सोधेछु, उदय जीएमलाई ।  

‘ठूलाबा त कालापार (भारत) पो जानुभएको छ त,’ उदयजीको जबाफ । 

रोजीरोटीको लागि कहिल्यै भारत जान नपरोस् भनेर ढुंगा मन्साएर जनयुद्धमा लागेका थिए, ठूलाबा । अचेल कालापारे संस्कृति तन्किएर साउदी अरब र मलेसिया पुगेको छ ।   

बूढ्यौलीले मुजा परेको ठूलाबाको अनुहारसित हजारौं निश्चल अनुहार आँखामा आए जो सपनाको याम आउनुअघि नै स्कुले झोला थन्क्याएर क्रान्तिमा लागेका थिए । ती अनुहार आए जो सुन्दर सपनाको पछि लागेका थिए, कोही बारी जोत्दाजोत्दै त कोही भारी बोक्दाबोक्दै । र, जिन्दगीको सिरीखुरी सुम्पेका थिए । तिनै इमान्दार माओवादी नेता र कार्यकर्ता ‘कहिल्यै फर्कन नपरोस्’ भनेर माया मारेका उही जिन्दगीमा फर्कन बाध्य थिए, ठूलाबाजस्तै । 

छक्कापन्जावाल माओवादी नेता र कार्यकर्ता भने गाउँमा ‘ठालु’को स्थान र सहरमा ‘दलाल’को स्थान ओगटिसकेका थिए । 

‘ठूलाबा पार्टीको कुन तहमा हुनुहुन्थ्यो र ?’

‘जिल्ला समितिमा ।’

नेपालमा माओवादी आगो दन्केको बेला दांगको खरबारीमा पसेका थिए, ठूलाबा । र, उदयजीले जानकारी गराएका थिए, ‘ठूलाबा त भूमिगत हुनुभयो ।’ 

कहिले पश्चिम दाङ त कहिले दाङको पहाडी गाउँतिर ठूलाबाको कार्यक्षेत्र सरेको सुनाउँथे उदयजी । जनयुद्धको जगजगीभर सकुशल रहेको समाचार सुनाएथे । जति चुनौती खेपे पनि दुनियाँ बदल्ने क्रान्तिमा बूढ्यौली जिन्दगी सुम्पेकोमा ठूलाबा सन्तुष्ट रहेको अवगत गराउँथे ।

 

जनयुद्ध उकालिदै गरेको यामको एउटा तिहार । जुन बेला सहर र सदरमुकामबाहेक सिंगै नेपाल माओवादीमय थियो । त्यै तिहारमा उदयजीसित पुगेका थियौं, ठूलाबाको घरमा । ठूलाबा कार्यक्षेत्र जाने हतारमा थिए । हतारमै संचोबेसंचोका दुईचार बात भएथे । घरले जा र बनले आ भन्ने उमेरमा पनि ठूलाबाको अनुहारमा फुलेको जोश देखेर अचम्मित थियौँ । ठूलाबाको अनुहारमा सामान्य छनक पनि थिएन कि जनयुद्ध यसरी दुई थान प्रधानमन्त्री र केही थान मन्त्रीसँग साटिनेछ । र, जनयुद्धको पनि यसअघिका नेपाली आन्दोलनकै हविगत हुनेछ । 

अँ, उदयजीलाई एक दिन फोनमा सोधेछु, ‘ठूला बालाई कस्तो छ ?’ 

शान्तिप्रक्रियापछि बलिदान गरेका र इमान्दार माओवादी नेता र कार्यकर्ता घर न घाटमा थिए । अरबका खाडीमा जानेका लाम थियो । तर, ठूलाबाको उमेरमा भने भारतमा कुल्ली काम गर्न जाने बाध्यतासमेत असामान्य थियो । 

‘उही झोला, उही लुगामा र उही अनुहारमा घर फर्कनुभएको थियो, ठूलाबा भत्किएका सपना बोकेर । ठूलाबाका नेता दांगका जिम्दारलाई टक्कर दिएका थिए । तर ठूलाबा झन दुब्लाउनुभएको थियो । घरमा रोजीरोटीको समस्या हिजोभन्दा झन चुलिएको थियो । कहाँ जानु, उही पुरानै ठाउँ जानुभयो,’ उदयजीको कुराले फेरि दुखी बनायो । 


१० वर्षपछि ठूलाबा भारतको पञ्जावस्थित बठिण्डा फर्किए जहाँ उनले ढुंगा मन्साएर नेपाल फर्केका थिए जनयुद्धमा होमिन । र, ६० वर्षीय पूर्णबहादुर घर्ती मगर भएथे कमरेड हिक्मत गोठालो । जनयुद्धको समाप्तीपछि प्रचण्ड र बाबुराम भटराई प्रधानमन्त्री बने । कृष्णबहादुर महरासहित केही थान माओवादी नेता मन्त्री बने । माओवादी मूल नेतृत्व र नेता रुपान्तरित भए हिजोका शासकका नयाँ संस्करणमा । तर, हजारौं कार्यकर्ता र सयौं माओवादी नेताजस्तै कमरेड गोठालो भने फेरि बठिण्डा पुगे । र, कमरेड हिक्मत गोठालो फेरि पूर्णबहादुर घर्ती मगर भए । 


आँखामा तिनै अनुहार आए जो जनयुद्धमा आफ्नो जिन्दगीका सबै यौवन चढाएर बूढा भएका थिए ।


‘ठूलाबालाई के भन्यो होला जिम्दारले ? गद्देको देशमा कसरी सम्हाले होलान् आफूलाई ? भत्केको सपना बोकेर कालापार जाँदा के भन्यो होला ठूलाबाको मनले,’ कल्पेरसमेत झस्किएँ । 

बित्न नमानेका दिन उसैगरी बितिरहेका थिए । एक दिन फोनमा उदयजीले जानकारी गराए, ‘ठूलाबाको लेख छ, काठमाडौंमा छाप्दिनू ।’ 

अनि ?

काठमाडौंमा छाप्नेआग्रहसहित इमेलमा पठाए । 

ठूलाबाको लेख पढेँः

जनताले भन्थे– माओवादी कार्यकर्ताले हामै्र लागि दुःख उठाएका छन् । त्यसैले मुक्तिदाता मानेर आफ्नै गा“स खुवाए । आफ्नै ओछ्यानमा सुुताए । र, दुश्मनबाट जोगाए । कार्यकर्ताले भन्थे– नेता त विचार र योजना हो । नेताबिना हामी त दिशाविहीन भएर सकिन्छौ“ । नेताले भन्थे– कार्यकर्ता त क्रान्तिका पेच र किला हुन् । 

...तर अहिले ? नेताका आँखामा कार्यकर्ता घा“डो र कार्यकर्ताका आँखामा नेता धोकेबाज र बेइमान । जनताका आँखामा ढाँट । कारणः नेता जनताकोमा जाँदैनन्, स्वदेशी या विदेशी प्रभुकोमा जान्छन् । त्यसैले आकाशबेलीझै“ जेलिएको छ अविश्वास । 

हजारौं कार्यकर्ता र जनता भविष्यको खोजीमा छट्पटाइरहेछन् जो हिजो नेतृत्वको निर्देशनमा मर्न तम्सिएका थिए । जिन्दगीका सबै खुसी चढाएका थिए । र, शरीरका अंग चढाएका थिए । भन्थ्यौं, एकपटक हतियार उठाएपछि अन्त्यसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्ष थाल्नु जनताप्रति अपराध हो । भन्थ्यौं– लडाईं आंशिक सुधारका लागि सम्झौतामा टुंग्याउने साधन बन्न दिने छैनौ“ । र, परिवार र नातागोताका इच्छाविपरीत कुम्लाकुम्ली बोकेर चे ग्वेभाराझै“ संसार जित्ने सपथ खाएर हिंडेका थियौ“– ‘हामी मारिन सक्छौ“ र पार्टी पूरै सहिद बन्न सक्छ । तर, विजययात्रा रोकिने छैन ।’ 

ओ कमरेड ! भन, क्रान्ति जारी छ कि अन्त्य भयो ? जारी छ भने हामी किन बेकम्मा बनाइएका छौ“ ? अन्त्य भएको हो भने के पाए नेपाली जनताले ? जबाफ देऊ, मुक्तियुद्धमा आहुति दिने ती वीर सहिद हुन् कि मरेका मान्छे ? घाइते सा“च्चै जनक्रान्तिका योद्धा हुन् कि अपाङ्ग मात्र ? यी तस्बीर बलिदानका कीर्तिमान हुन् वा खरानीको थुप्रो ? भविष्यका चिन्ताले सिन्काजस्तै फुकिढल जो संयोगले नमरेका हजारौं कार्यकर्ता जिउँदा लाश हुन् कि जनयुद्धका अमर योद्धा ? 

गरिखाने वर्गप्रति इमान्दार ए कमरेड ! कहिले जाने सडकमा बेवारिसे क्रान्तिलाई बचाउन ? तयार छ कमरेड हिक्मत गोठालो, बाँकी जोवन चढाउन । 

उदयजीलाई थाहा छ, ठूलाबाको लेख काठमाडौंले छाप्दैन । आफ्नै पार्टी र आफ्नै नेताले भुलेका कार्यकर्ताको लेखेको कटु सत्य कहाँ छाप्नु काठमाडौंले । ठूलाबाको लेख न माओवादीले छाप्नेखाले छ न त काठमाडौंले । 

ठूलाबाको लेख इमेलमै थन्किएको छ । 

बेलाबेलामा इमेल खोल्छु गम्दै कि कहिले फेरिएला काठमाडौं ठूलाबाको लेख छाप्नेगरी ? अनि उदयजीलाई सोध्छु, ‘ठूलाबालाई कस्तो छ ?’ 

जबाफको आशमा छु, ‘ठूलाबालाई सन्चै छ । आफूले चढाएको बाँकी जोवनले जनताको अनुहार फेरिएकोमा ठूलाबा मक्ख हुनुहुन्छ ।’

बस्, जबाफको आशमा छु, जुनबेला नेपालमा समाप्त भइसकेको हुनेछ दुईचार थान प्रधानमन्त्री र केही थान मन्त्रीको लेनदेनमै टुंगिने आन्दोलनका सिलसिला । र, फुल्नेछ क्याप्टेन यज्ञबहादुर थापा, रत्नकुमार बान्तवा, पुर्खे सुनार, कुमारी बुढा मगर र हिक्मत गोठालोका सपना ।

from Saugat, Nayan Yugbodh

No comments:

Post a Comment