एकान्त काराबासरत कमरेड गोञ्जालोले शनिवार ‘गुडबाई’ गरे ।
रोल्पा/रुकुमजस्ता नेपालका दुर्गम गाउँ र बनपाखामा कुनै बेला गीत भएर उनै गोञ्जालो गुञ्जिए । मुख्य गीत थिए, रक्तिम परिवारका जीवन शर्माहरुले गाएको ’ओ याङ्की गो होम, डर्टी याङ्की गो होम, हाम्रो रातो झण्डा पेरूमा फर्फराउँदै छ’ र सामना परिवारका ध्रुव ज्ञवालीले गाएको ‘झुकेनन् ती टर्कीमा, झुकेनन् ती पेरुमा, न झुके ती सिस्ने हिमालमा…।’
गीतसाथ गाउँका झुप्रे घरका भित्ता रंगिए, बन्दी नम्बर १५०९ जर्सीवाल गृहको गोञ्जालो तस्बिर र रिहाइका नाराले । पेरुमा ‘जनयुद्ध’ जारी राख्दा होस् या राजधानी लिमामा पक्राउ पर्दा होस् या अन्तिम सास लिँदासमेत गोञ्जालोले विश्वमै सानतिनो ‘तरंग’ छाडे ।
नेपालमा गोञ्जालो गाइनुका कारण थिए– एक, गोञ्जालो सिको गर्दै नेपालमा माओवादीले जनयुद्ध थाल्नु । दुई, सांस्कृतिक क्रान्तिको पराजय र सोभियत संघको विघटनपछि गोञ्जालोलाई ‘विश्वक्रान्तिको आकाशमा उदाएको चम्किलो तारा’ मान्नु । तीन, विश्व पूँजीवादको मूली मानिने अमेरिकाको नाकमुनि नै गोञ्जालोले जनयुद्ध थाल्नु ।
गोञ्जालो
सन् १९३४ डिसेम्बर ३ मा एरक्वेपा, एण्डिज श्रृङ्खला पेरूमा गोञ्जालो जन्मे । जसको वास्तविक नाम थियो, डा. अविमायल गुज्मन रेनोसो । सन् १९५६ मा एरक्वेपा विश्वविद्यालयको विद्यार्थी संघको अध्यक्ष भए । ३१ वर्षमा सन् १९६५ मा चीन पुगे भने अर्को वर्ष पेरू कम्युनिष्ट पार्टीको सदस्य बने ।
एरक्वेपा विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनी दर्शनशास्त्रको प्राध्यापकको रूपमा सन् १९६२ देखि १९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरूमा प्राध्यापन गरे । सन् १९७५ मा पेरू कम्युनिष्ट पार्टीको अध्यक्ष बने । छ वर्षपछि पेरूमा सशस्त्र जनयुद्ध थाले । नेपालमा जस्तै १० वर्षमै आन्दोलन उकालियो । पेरुको जनयुद्धमा झण्डै ७० हजार नागरिकले ज्यान गुमाए ।
सन् १९९२ को सप्टेम्बर १२ मा फुजिमोरी सरकारले पक्रियो । आजीवन काराबास सजाय सुनायो । उनकी जीवनसाथी कमरेड एप्पारागुरी र सबैजसो पोलिटब्युरो तहका नेता पक्राउ परे । पक्राउ परेसँगै पेरुको सशस्त्र आन्दोलन ओरालियो ।
गोञ्जालो सम्झना
९० को दशकमा संसारभर ‘क्रान्तिकारी’ कम्युनिष्ट आन्दोलन रक्षात्मक बन्यो । त्यस्तो प्रतिकूल मौसममा पनि गोञ्जालोले पेरूमा ‘जनयुद्ध’ थाले । जनयुद्ध उकालियो पनि । बल प्रयोगबाट संसार बदल्ने विश्वास राख्ने कम्युनिष्टका लागि गोञ्जालो त ‘ऊर्जा’ बने । नेकपा मशाल र मसाल खलकीय कलाकारले गोञ्जालो गीत बनाएर गाए । माथि उल्लेखित गीत गाउँदै उनीहरु गाउँगाउँ डुले । गोञ्जालो गीत गाएको त्यसबेला थियो, जुनबेला चिनियाँ सांस्कृतिक क्रान्ति असफल भएको थियो । कम्बोडियापछि पेरू र पेरूपछि नेपालमा सशस्त्र कम्युनिष्ट आन्दोलनले भने गति लियो ।
गीतमा मात्र होइन, गोञ्जालो त नेपालको माओवादी ‘जनयुद्ध’का सुप्रिमो प्रचण्डका भाषणमा पनि टुप्लुक्क टुप्लिकिन्थे । गोञ्जालोको पार्टीले मार्क्सवाद, लेनिनवाद र माओवादपछि गोञ्जालो विचारधारा अंगाल्यो । नेपालमा सोही अभ्यास पछ्याउँदै मार्क्सवाद, लेनिनवाद, माओवाद हुँदै प्रचण्डपथ पनि थपे । पक्राउपछि गोञ्जालोबारे विभिन्न प्रचार भए । जस्तोः आत्मसमर्पण गरेको, जेलभित्रै पोलिटब्युरो बैठक बोलाएर शान्तिवार्ताको आह्वान गरेको, ७० हजार नागरिकको मारिएको क्रान्तिको मूल्य त्यागेको । यी प्रचार सत्य हुन्थे भने उनी जेलमुक्त हुन्थे ।
एजेन्सीहरुका अनुसार गत जुलाईमा गोञ्जालोको स्वास्थ्यमा समस्या देखिएपछि जेलबाट अस्पताल पठाइएको थियो । स्वास्थ्य अवस्था बिग्रिएको थाहा पाएर बिहीबारदेखि नेपालका केही कम्युनिष्ट घटकले रिहाइको आवाज उठाएका थिए ।
गोञ्जालो २९ वर्ष लगातार जेल बसे । यसअघि दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला २७ वर्षसम्म बसेका थिए ।
एजेन्सीहरुका अनुसार ‘साइनिङ पाथ’का नेता एवं अध्यक्ष गोञ्जालोको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।
नेपालका माओवादी खलकीय नेता/कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् गोञ्जालोलाई श्रद्धाञ्जली दिए ।
‘दक्षिण अमेरिकी जेलमा आजिवन जेल सजाय सुनाइएका १५०९ नं. बन्दी । पेरुभियन क्रान्तिका योद्धा, साइनिङ पाथका अध्यक्ष कमरेड गोञ्जालोको ३० वर्ष लामो जेल जीवनपछि जेलभित्रै निधन भएको दुखद् खबर विभिन्न सामाजिक सन्जालहरुमा आइरहेको छ । कमरेड गोन्जालोप्रति भावपूर्ण श्रद्धाञ्जली’, लुम्बिनी प्रदेश सभामुख पूर्ण घर्तीमगरले सामाजिक सञ्जालमा लेखे । रोल्पा, रुकुमजस्ता दुर्गम भेगमा जनयुद्धकालभर गोञ्जालो गाउँदै हिँड्ने अगुवा गायक थिए, घर्तीमगर ।
गुडबाई, गोञ्जालो ।
from nepalviews.com
No comments:
Post a Comment