ठडिँदै गरेका घेरमा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव राजधानीमा रहँदा आफ्ना पार्टी सदस्यहरूसाथ बस्ने छन्, कम्युनमा जसरी। जीवनशैली सर्वसाधारण जनतासरह हुनेछ। १० वर्षका लागि भाडामा लिएको गुठीको जग्गामा बन्ने घरको स्वामित्व भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हुनेछ। जुन घर पार्टी कार्यकर्ता र जनश्रमबाट उभिने छ।
माओवादी ‘जनयुद्ध’काल र शान्तिप्रक्रियापछि पनि थुप्रै गीत लेखेका कमरेड विप्लवले कर्मनासासित बाजी लगाउँदै गीत लेख्लान् ? लेखे कस्ता गीत लेख्लान् ? विप्लव पनि समाजवादको गीत गाउँदै संसद् पस्न कर्मनासाकिनार पुग्दैछन् कि साँच्ची समाजवाद ल्याउन ? माओवादी मूल नेतृत्व र नेपालमा कम्युन अभ्यासबारे जानकारमा भने ‘सन्देह’ जब्बर छ, ‘विप्लव साइत संसद्को हो कि समाजवादको ?’
प्रचण्ड–विप्लव सम्बन्ध
रोल्पा, इरिबाङ, केवरी, गोजाखोलाबाट एउटा केटो आफ्ना दुई दाजुका हात समाएर लिबाङ पुगे। मगर आमा र ठकुरी बाको कान्छो छोरो सदरमुकाम लिबाङको बालकल्याण माध्यमिक विद्यालय तीन कक्षाको विद्यार्थी बने। छात्रावासमा बसे।
“एउटा फुच्चे केटो। छात्रावासमा खाना पकाउनलाई जर्किनमा पानी बोक्ने। जिद्दीवाल। सानो भए पनि आफ्नो कुरामा अडान लिएपछि छाड्दै नछाड्ने,” नेपाली कांग्रेस रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगर एउटा फुच्चे केटासितको छात्रावासे दिनमा फर्कन्छन्।
कृष्ण आफ्ना भाइहरूसँग छात्रावासमा बस्थे भने ती फुच्चे आफ्ना दुई दाजुसँग। कृष्णपिता अमृतबहादुर घर्तीमगर रोल्पा जिल्ला पञ्चायत सभापति थिए भने फुच्चेपिता केवरीका मुक्खे। जसका खलकले कुनै बेला थुनिकोटमा राज गरेथे। सभापति र मुक्खेपुत्रहरूको ‘पिता व्यक्तित्व’ पुत्रहरूमा पुगेर टकराउँथ्यो।
लिबाङ स्कुलको पढाइ सकेर कानुन पढ्न ती फुच्चे काठमाडौं पसे। उनी लक्का जवान हुँदै गर्दा २ फागुन २०५२ मा माओवादीले ‘जनयुद्ध’ थाल्यो। जुन बेला उनी ललितपुर माओवादी सेक्रेटरी थिए।
‘जनयुद्ध’ चैते आगोजसरी फैलियो।
नेता सन्तोष भन्छन्, “समाज भवन र निवास कमरेडहरूले मात्र होइन, जनताले पनि उपयोग गर्ने छन्। यो जनताको लागि पनि हो, पार्टीको लागिमात्र होइन।”
छात्रावासे साथीलाई कृष्णले सन्देश पठाए, “छोराछोरीलाई मेरो बोर्डिङ स्कुलमा पढाइदिन्छु। पठाउनू।”
तर, अस्वीकारेर सरकारी स्कुलमा पढाए।
ती फुच्चे नै ‘विप्लव’ थिए। हालका नेकपा महासचिव। छात्रवासका दुई दाजु चन्द्रबहादुर (कमरेड वीरजंग) र जयन्द्रबहादुर (माओवादी फुट्नुअघिका माओवादी निकट खेलकुद संगठनका अध्यक्ष) थिए।
अखिलको रोल्पा अध्यक्ष हुँदै विप्लव केन्द्रीय उपाध्यक्ष भए।
पार्टी केन्द्रीय सदस्य भए। उनलाई माओवादीले ‘माओवादी बीउ रोप्न’ २०५४ अन्त्यतिर कर्णाली पठायो। कर्णाली पुगेपछि ‘कार्यकर्तालाई सुन्ने’ छवि बनाउन कोसिस थाले। बेनी आक्रमणका राजनीतिक कमिसार विप्लव दोस्रो खारा आक्रमण (शाही नेपाली सेनाको ब्यारेकमा गरिएको आक्रमण)मा प्रचण्डसँगै थिए। जुन प्रचण्डले (टाढैबाट भए पनि) भाग लिएको ‘पहिलो र अन्तिम’ आक्रमण थियो।
‘जनयुद्ध’का आखिरी चार वर्ष विप्लव माओवादी आधार इलाका रोल्पा, रुकुम क्षेत्रको इन्चार्ज थिए। माओवादी थलो रोल्पामा दुई, रुकुम र जाजरकोटमा एकेकवटा कम्युन चालु भए।
सुरुङ युद्धको घोषणा गरी प्रचण्ड भारतबाट नेपाल फर्के। प्रचण्डलाई नै हेडक्वार्टर भनिने त्यसबेलाको माओवादी हेडक्वाटर रोल्पामै बस्यो। फलस्वरुप नयाँ पुस्ताबाट विप्लवले जति प्रचण्डलाई अरूले सायदै चिन्ने मौका पाए।
युद्धको मात्र होइन देशकै राजनीति फेरिँदै गयो। २०६२ असोजको चुनवाङ बैठकबाट माओवादीले संसदीय साइत गर्यो।
एकअर्कालाई नजिकबाट नियालेका थिए प्रचण्ड र विप्लवले। संसदीय राजनीतिमा सहयोगी नहुने ठानेर प्रचण्डले विप्लवलाई अधार इलाकाबाट सेतीमहाकाली इन्चार्ज बनाएर खेदे। पश्चिम पठाउनेमात्र होइन, उनको युवा समूहलाई तितरबितर पारे। एक्लिएका विप्लवले भने भुइँतहका कार्यकर्ता, तिनका इमोसन र असन्तुष्टिलाई बटुल्न कोसिस जारी राखे। जुन शान्ति प्रक्रियालगत्तै सम्पन्न पाँचौँ बालाजु बिस्तारित बैठकमा पोखियो।
परिणाम, प्रचण्ड र विप्लवबीचको दूरी बढ्दै गयो।
माओवादी काठमाडौं पसेपछि विप्लव चाबहिलमा बसे। भुइँमा प्लाष्टिकका कुर्सी र भित्तामा चेको फोटो तुुर्लुंग झुण्डिएको डेरामा कार्यकर्ता घुइँचो लाग्थ्यो। उनका समकक्षी पार्टी र मन्त्री होडमा शक्तिकेन्द्र धाउँदाखेरि विप्लवका अधिक समय उपत्यकाबाहिर कार्यकर्तामाझ बिते।
विप्लवलाई थाहा थियो, उनको बुताले मात्र सम्भव छैन। टावरको खाँचो छ। मोहन वैद्य किरण र रामबहादुर थापा बादललाई मनाए। त्यसपछि आफ्ना कमरेडसँग विप्लवले भनेको कुरा कार्यकर्ताहरू स्मरण गर्छन्, “अब खेल जम्ने भयो। बल्ल सट हान्ने सटर आए।”
वैद्य र बादल पाएपछि विप्लव हौसिए। यही कुरा बुझेर खरिपाटी बैठक प्रचण्डले भनेको नेताहरू सुनाउँछन्, “मलाई राम्ररी थाहा छ, वैद्यको काँधमा बन्दुक राखेर कसले पड्काइरहेछ।”
२०६९ सालमा वैद्य नेतृत्वको पार्टी बन्यो। विप्लव सचिव बने। २०७१ मा विप्लवले आफ्नै नेतृत्वमा पार्टी बनाए। त्यो पार्टीले वैकल्पिक सत्ता अभ्यासको कोशिस पनि गर्यो, सन्तोष बुढामगर नेतृत्वमा जनपरिषद् बनाएर। एनसेल टावर आक्रमणको मुद्दा बनाएर केपी शर्मा ओली सरकारले २०७५ मा प्रतिबन्ध लगायो। दुई वर्षपछि ओली सरकारले नै फुकुवा गर्यो।
विप्लव घरको कथा
नेकपाले आफ्नो आठौं महाधिवेशन(२०७३) रोल्पा थबाङमा आफ्नै ‘समाज भवन’मा गरेको थियो। जनश्रम र पार्टी कार्यकर्ताले बनाएको घरको लागत थियो, ७० लाख। पार्टीले बनाएको पहिलो घर त्यही थियो।
महाधिवेशनले नीति नै बनायो, कम्युनिष्ट आन्दोलनमा लागेर सिरीखुरी गुमाएका नेता/कार्यकर्तालाई आवास बनाइदिने। सर्लाहीमा आफ्ना केन्द्रीय सल्लाहकार चित्रबहादुर आले (कमरेड पवन)को तीनकोठे घर बनायो।
नेकपाले हरिसिद्धिसहित देशैभर संरचना बनाउँदैछ। विप्लवको गृहजिल्ला कपिलवस्तुमा शहीद स्मृति भवन, कार्यालय, अस्पतालजस्ता संरचना बनाएको छ। नेता सन्तोष बुढामगरका अनुसार कालिकोट, ताप्लेजुङ, कपिलवस्तुलगायत दर्जन जिल्लामा यस्ता संरचना कहीँ बन्दैछन् भने कहीँ बनिसकेका छन्।
कपिलवस्तु शिवपुरमा निर्मित सहिद स्मृति भवनमा लखन थापामगरदेखि राणा शासन, पंचायत, जनयुद्ध र ‘एकीकृत जनक्रान्ति’को बेलासम्मका शहीदका मूर्ति राखिने छ। पार्टी कार्यालय र निवासमा शुभचिन्तक, कार्यकर्ता र नेता बस्नेछन्। समाज भवनमा बैठक, भेला, सम्मेलन हुनेछ।
“हाम्रै इन्जिनियरको डिजाइन, हाम्रो सोच र परिकल्पनाअनुसार बनाउँदै छौँ। विद्यार्थी, मजदुर, किसान, कार्यकर्ता र जनश्रमबाट बन्दैछ,” नेता सन्तोष भन्छन्, “समाज भवन र निवास कमरेडहरूले मात्र होइन, जनताले पनि उपयोग गर्नेछन्। यो जनताको लागि पनि हो, पार्टीको लागि मात्र होइन। भोलि राज्यले गर्ला तर अहिले पार्टीले शुरु गर्न थालेको हो।”
नेता सन्तोष यस्ता संरचना हरेक जिल्ला र गाउँगाउँमा बनाउने योजना सुनाउँछन्।
“हाम्रा यी नयाँ संरचनामा नयाँ विचार र नयाँ संस्कृति पनि मिसिएको छ। जनता, पार्टी कार्यकर्ताका श्रम मिसिएकाले यसमा अपनत्वबोध हुन्छ। प्रचण्ड र हाम्रो समाजवादको नमूना एउटै होइन, फरक हो,” नेता सन्तोषको दाबी छ, “समाजवादको मोडल तयार पार्नलाई हो। संसद् होइन, समाजवादतिर डोर्याउन हो।”
कमरेड विप्लवले सोचेको टाढा कर्मनासादेखि नौ किलोमिटरको दूरीको संसद् हो कि समाजवाद ? जान्न धेरै समय पर्खन पर्ने छैन।
आफ्ना संरचनाको समाजवादसित साइनो लगाउँदै अर्का नेता गुणराज लोहनी बिस्तार लाउँछन्, “एक, यी घर कम्युनीकरण गर्न हो। यो समाजवादी मोडल हो। दुई, मोडल स्थापना गर्दै जनतालाई आर्थिक उत्पादनमा आकर्षित गर्ने र पुँजीवादसँग प्रतिस्पर्धा गर्ने हो। तीन, जनतालाई देखाउने पनि हो कि, कम्युनिष्ट यस्तो घरमा बस्छन्। नेता पनि यस्तो सरल र सादा जीवन बाँच्नुपर्छ भन्ने मोडलीकरण गर्नलाई हो।”
नेकपाले थालेको यो अभ्यास आफैँमा नयाँ भने होइन। भारतमा समाजवादीहरूले कोलनी नै बनाएर यस्तो अभ्यास गरेका थिए। प्रख्यात कवि कैफी आजमी परिवार कम्युनमा बसेको स्मृति आज्मीपुत्री सबानाले सुनाएकी छन्।
नेपालमै पनि सशस्त्र संघर्षताका माओवादीले चार कम्युन अभ्यास गर्यो। जाजरकोट जुर्क निपानेको जुनी, रुकुम छिपखोलाको बलिदान, रोल्पा थबाङको अजम्मरी र जेलबाङको जलजला। बलिदानमा पूर्वमन्त्री दम्पती गणेशमान पुन र कमला रोकामगर पनि कम्युन सदस्य थिए भने अजम्मरीमा पूर्वसांसद एवं हाल नेकपा नेता सन्तोष बुढामगर। शान्तिप्रक्रियापछि चारै कम्युन बिलाए।
जनयुद्धमा नसामेलिएको निर्मल लामा र नारायणकाजी श्रेष्ठ नेतृत्वको तत्कालीन नेकपा एकताकेन्द्रले पनि महोत्तरी बर्दीबासलगायत ठाउँमा यस्ता कम्युन चलायो।
राजनीतिक विश्लेषक हरि रोका भन्छन्, “सिंगो राष्ट्रलाई प्रभाव पार्नेगरी माग गरेको वा त्यस दिशातिर लानलाई पार्टी र नेता लागेको त देखिएन। राम्रो काम गरे पनि अनुकरण किन भएन ? यसमा ध्यान दिएको देखिएन।”
नेता सन्तोषको दाबी विश्वास गर्न भने गाह्रो छ।
राजनीतिशास्त्री खगेन्द्र प्रसाईं भन्छन्, “सामूहिक जीवन बाँच्नु पर्छ भन्ने कुरा आदर्शवादी चेतनाबाट प्रभावित देखिन्छ। यसो हेर्दा राम्रो लाग्छ तर यो ‘सर्भाइभ’ गर्छ कि गर्दैन ? सवाल यो हो।”
एमालेले पार्टी मुख्यालय बल्खुमा खोलेको सस्तो क्यान्टिनको सम्झना गर्छन्, प्रसाईंले।
“यो बढ्ता आदर्शवादीजस्तो लाग्छ। यतिले मात्र समाजवादी दिशामा जान्छ भन्ने कुरमा शंका छ,” प्रसाईं भन्छन्।
रोका २०५१ देखि सरकारमा पुगेका ‘कमरेड’हरूलाई सम्झन्छन्। तिनले सरकारमा आवास अधिकार हुनुपर्छ भनेर कहिल्यै कुरा गरेनन्। आधारभूत आवश्यकताका गाँस, बास र कपासको कुरा गर्ने कम्युनिष्ट सरकारमा पुग्दा केही नगरेको देखेर उनी छक्क छन्।
रोका थप्छन्, “बेलायतमा र अमेरिकामा अहिले कल्याणकारी राज्यको कुरा उठाउँछन्। तर यहाँ छैन। यहाँ त नेता परिवार व्यवस्थापनमै सीमित छ। कमरेडहरूको मात्र व्यवस्थापन। विप्लवहरूले गरे पनि सबभन्दा पहिले राष्ट्रिय माग हुनु पर्यो नि। यो राष्ट्रिय आवश्यकता हो कि होइन ? हो भने अरूलाई पनि आह्वान गरौँ। यो त अभियानमूलक काम पनि हो। देशव्यापी गराउन पर्यो। अरूले अनुशरण गर्ने हुनुपर्यो। असल हुँदाहुँदै किन अनुशरण गर्न सकेनन् ?’
काठमाडौंमा कार्यालय र निवास बनाउनुले परिधिमा बसी भएन, काठमाडौंमै स्थायी स्टेशन बनाएर हस्तक्षेप नगरी हुन्न भन्ने भान नेकपालाई परेको देखिन्छ। जुन कुरा, विप्लवको सार्वजनिकीकरण, जेल परेका नेताको रिहाइले पनि बल दिन्छ।
“संसदीय व्यवस्था नफाली समाजवाद आउँदैन भन्ने पार्टी त्यही व्यवस्थाको दलदलमा जाँदैछ भन्नु त समझ कम भएकाले भन्ने कुरा हो,” नेता सन्तोष थप्छन्, “प्रचण्डले गर्दा अगुल्टा हानेको कुकुर बिजुली चम्कँदा पनि तर्सेजस्तो मात्र हो, यो आशंका। हामी संसदीय भासमा जान होइन, समाजवादमा जान हो। काठमाडौंको पार्टी कार्यालय र निवासको सिंहदरबार जानेसँग कुनै साइनो छैन।”
त्यसो त संसदीय व्यवस्थामा रहेर पनि समाजवादको केही झल्को दिन सकिने उदाहरण अरू साना शक्तिले पनि देखाउन कोसिस गरेका छन्। नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा समाजवादी मोडलका छनक छोड्न कोशिस गरेको छ।
“संसदीय दलले त धेरै कुरा छाडेका छन्। एक हिसाबले अहिले बजार नै खाली छ। माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमा भनेका छन्– कांग्रेस, एमाले र माओवादी छुट्याउन नसकिने भयो,” पत्रकार थीरलाल भुसाल भन्छन्, “भागशान्ति र भ्रष्टाचारबाट बचेर जनजीविकाका सवाललाई च्याप्प समाए मात्र पनि काफी देखिन्छ। गाडीको ताँती लाउने, ठूला घर खोज्दै नहिँडे, भुइँतहका मानिसका ससाना सपनाका कुरा जबर्जस्त उठाए यही व्यवस्थामै वैकल्पिक शक्ति बन्ने सम्भावना छ।”
प्रचण्डले सडकमा अलपत्र पारेको झण्डा उठाउने दाबी गरेको थियो, विप्लव नेतृत्वको नेकपाले। झण्डा अझै अलपत्र छ। झण्डा उठाउन समावेशी नेपाली समाजको अनुहारअनुसारको पार्टी-पंक्ति अभाव छ। माओवादीले कार्यकर्ता र जनतालाई देखाएका सपना भत्केका छन्। ‘प्रचण्ड–प्रसंग’ सेलाएको छैन। त्यसैले विप्लवले तत्काल ‘चमत्कार’ गर्लान् भन्ने आश ‘न्यून’ छ। पुँजीवादीको जगजगी उपभोक्तावादमा पुगेर चुलिएको छ।
पार्टी बागडोर आफ्नो हातमा लिएको केही समयपछि ५४ वर्षे विप्लवले माइला दाजु जयन्द्रलाई भनेको कुरा विप्लव निकटका कमरेडहरू उद्धृत गर्छन्, “तपाईंहरूले केही गल्ती नगर्नुहोला है, मैले धेरै टाढा सोचेको छु।”
कमरेड विप्लवले सोचेको टाढा कर्मनासादेखि नौ किलोमिटरको दूरीको संसद् हो कि समाजवाद ? जान्न धेरै समय पर्खन पर्ने छैन।
from nepalviews
No comments:
Post a Comment