निर्वाचित भएपछि प्रधानमन्त्रीले पहिलो पटक संसदमा सम्बोधन
Friday, 16 September 2011 12:20 भदौ ३०
सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०६८ भाद्र ३० गते व्यावस्थापिका– संसदमा गर्नु भएको सम्बोधन
सम्माननीय सभामुख महोदय,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रुपमा सार्वभौम व्यवस्थापिका संसद समक्ष आफ्नो प्रथम सम्बोधन गर्न पाउँदा मलाई थोरै खुसी र धेरै जिम्मेवारीबोधको मिश्रित अनुभूति भईरहेको छ। इतिहासकै यस महत्तम क्षणमा सर्वप्रथम म संघीयता, गणतन्त्र, लोकतन्त्र र राष्ट्रियताका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलन, दलित आन्दोलन, पिछडा वर्ग आन्दोलन र अन्य समुदायद्वारा न्यायोचित मागका लागि भएका आन्दोलनहरुमा आत्मबलिदान गर्ने सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्दछु। साथै, बेपत्ता तथा घाईते योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु। बेपत्ता पारिएका व्यक्तिका परिवारजनहरु, विस्थापित जन, अपाङ्ग, जेल तथा बन्दी जीवन बिताएकाहरुको असीमित कष्ट र पीडाप्रति सहानुभूति प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। ती महान् शहीद, बेपत्ता तथा घाइते योद्धाहरुको असीम त्याग र बलिदानको जगमा आज म आसीन सर्वोच्च कार्यकारी पदको कुर्ची टिकेको छ भन्ने तथ्यलाई म कहिल्यै बिर्सन सक्दिन र उहाँहरुको सपना साकार पार्न निरन्तर लागिरहने प्रतिबद्धता म यहाँ दोहोर्याउन चाहन्छु।