Thursday, January 5, 2012

राउटे पनि गुट-उपगुट

 
दुर्गालाल केसी
Raute
Ain Bahadur Shahi and Main Bahadur Shahi

बाघमारे (दाङ) , पुस २१ - मुखिया मैनबहादुर शाहीलाई अहिले 'जनता' परिचालन गर्न निकै कठिन भएको छ । सधैं खुसी भएर जनताको नेतृत्व गर्ने मुखिया निकै उदास र निराश देखिन्छन् । वर्षौंदेखि मुखियाको आदेशमा चल्ने राउटे जाति एक वर्षदेखि एकताबद्ध छैन । उनीहरूले आदेश मान्न छाडेका छन् ।
'अब जनताले भनेको मान्न छाड्यो । मैले जिम्मेवारी पूरा गर्न पाएको छैन । अधिकार प्रयोग गर्न गाह्रो भएको छ,' उनले भने, 'पहिले जस्तो अवस्था छैन । जनता विभिन्न समूहमा बाँडिन थालेका छन् । अन्य राउटेहरू पनि नेता बन्न खोजेकाले समस्या भएको छ ।' गत वर्ष मुखिया ऐनबहादुर शाहीलाई अनियमितता गरेको भन्दै पदबाट हटाएपछि राउटेमा विभाजन सुरु भएको हो । ऐनबहादुरले अहिलेसम्म पनि आफूलाई मुखिया दाबी गर्दै आएका छन् । केही राउटेको भेलाले गत साल मैनबहादुरलाई मुखिया चयन गर्‍यो तर असन्तुष्ट ऐनबहादुर पक्षधर त्यसमा सहमत भएनन्् । त्यही असहमतिबाट सुरु भएको विभाजन अहिले विभिन्न गुटमा पुगेको छ ।

'मलाई असहयोग भएको छ । पूर्व मुखियाले छुट्टै गुट बनाएको छ । मैले भनेको मानेको छैन,' मुखिया मैनबहादुरले भने, 'जनता पनि उनीसँगै विभिन्न गुटमा बाँडिएका छन् ।' ऐनबहादुरले मैनबहादुरको अस्तित्व स्विकारेका छैनन् । मुखियाबाट सर्वसाधारण जनतामा झारिएपछि ऐनबहादुर आक्रोशित छन् । सहरका विभिन्न ठाउँबाट सहयोगबापत लिएको रकम जनतालाई नबाँडेर एक्लै खाएको आरोपमा ऐनबहादुरलाई गत फागुनमा मुखियाबाट हटाइएको थियो ।

उनले घोराहीका सरकारी कार्यालयहरूबाट संकलन गरेको सहयोग रकममा अनियमितता गरेको राउटेहरूको आरोप छ । कार्यालय प्रमुखहरूलाई पैसा उठाउन लगाएर उनले कात्तिक ८ गते ४० हजार रुपैयाँ लिएका थिए । माघमा तुलसीपुरमा सञ्चालित पर्यटन मेलाबाट सहयोगस्वरूप मोबाइल सेटलगायत केही जिन्सी पनि पाएका थिए । ती सबै सामानमा अनियमितता भएको थाहा पाएपछि राउटेहरूको भेलाले ऐनबहादुरलाई हटाई मैनबहादुरलाई मुखिया चुनेको थियो ।

'अरू मुखिया भएको थाहा छैन । मुखिया म नै हो । सबै अधिकार मेरै छ,' तर, ऐनबहादुर भन्छन्, 'कसैले मैनबहादुरलाई बनायो होला, त्यो हामीलाई थाहा छैन ।' ऐनबहादुरकै अस्तित्व स्विकार्ने पाका राउटेहरू पनि छन् जसले उनलाई सघाइरहेका छन् । 'ऐनबहादुरलाई मुखिया भन्नेहरू पनि धेरै छन्,' सहायक मुखिया धनबहादुर शाहीले भने, 'उसले पनि काम गरिरहेको छ । नयाँ मुखियालाई सबैले मानेको छैन ।'

मैनबहादुर र ऐनबहादुरमा बाँडिएको गुटबन्दी नेपालका राजनीतिक दलहरू झैं अन्य विभिन्न उपगुटमा पनि विभाजन हुन थालेको छ । आधिकारिक रूपमा मैनबहादुर मुखिया भए पनि सहायक मुखिया चुनिएका धनबहादुर शाही, दिलबहादुर शाही र सुर्जेनारायण शाही पनि आफूलाई मुखिया दाबी गर्न थालेका छन् ।

'म पनि मुखिया हो । मैले पनि काम गरिरहेको छु,' धनबहादुरले भने, 'एउटाले भनेको मान्नुपर्छ भन्ने छैन ।' वर्षौंदेखि नियममा बस्दै आएका राउटेहरू किन यसरी गुट-उपगुटमा विभाजन हुन थालेको होलान् त ? राउटेको अवस्था अध्ययन गर्न बाघमारेको राउटे बस्तीमा पुगेका गीतकार तथा स्थानीय विकास अधिकारी रमेश क्षितिज भन्छन्, 'पहिलो कुरा त जंगलमा आफ्नै तरिकाले सिकार खेल्दै बाँच्दै आएका राउटेहरूले पहिलोपटक पैसा पाउन थाले, मागेर सहयोग पाउन थाले । त्यसपछि उनीहरूमा स्वार्थको भावना बढ्दै गयो । यसले अरूलाई नमान्ने अवस्था आयो ।'

देशको राजनीतिले पनि प्रभाव पारेको क्षितिजको ठम्याइ छ । 'जब राउटेहरूले राजधानी पुग्ने, सहर नजिक पुग्ने, देशको राजनीति सुन्ने अवसर पाए, यसले उनीहरूमा अराजकता गर्न सकिने वातावरण बनाइदियो,' उनले भने, 'सत्ता र शक्तीका लागि राजधानी बस्ने राजनीतिक दलहरू मात्रै होइन, जंगल घुम्ने राउटेहरू समेत गुटको सिकार हुँदा रहेछन् भन्ने गतिलो उदाहरण यो घटना भएको छ । तर, गुटबन्दीले राउटेहरूको हित गर्दैन । जंगलमा मिलेर हिँड्न कठिन हुन सक्छ ।'

from http://www.ekantipur.com/np/2068/9/21/full-story/340739.html

No comments:

Post a Comment