Saturday, December 18, 2021

वैधानिकता जोगाउन महाधिवेशन गर्दै मुख्य राजनीतिक दल


वैधानिकता जोगाउन महाधिवेशन गर्दै मुख्य राजनीतिक दल

काठमाडौं। देशमा महाधिवेशनको मौसम शुरु भएको छ। ठूला राजनीतिक दलहरूले मंसीर र पुसमा महाधिवेशन गर्दैछन्। नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपाले मंसीरमा महाधिवेशन गर्दैैछन् भने सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले पुसमा राष्ट्रिय सम्मेलन।

किन यी दलले मंसिर र पुसमै महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्दैछन् ? मुख्य कारण हो संविधानले तोकेको सीमा।

नेपालको संविधानको धारा २६९ को उपधारा (४)को (ख) मा हरेक ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने’ उल्लेख छ। कारणवश पाँच वर्षमा त्यस्तो निर्वाचन नभएमा बढीमा ६ महीना लम्ब्याउन सक्ने छुट पनि संविधानले दिएको छ।

निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेलका अनुसार साढे पाँच वर्षमा अधिवेशन नगर्ने राजनीतिक दलले निर्वाचनमा भाग नै लिन पाउँदैन।

संविधानले तोकेको समयसीमाभित्र महाधिवेशन नगरे के हुन्छ त ?

पौडेलले दुई वटा बुँदामा भने, “एक, दल दर्ता हुँदैन। दुई, दल नै दर्ता नभएपछि चुनावमा भाग लिन पाउँदैन।”

पौडेलका अनुसार अहिलेसम्म नेपालमा महाधिवेशन नगरी चुनावमा भाग लिन नपाएको कुनै दल भने छैन।

एमाले

प्रमुख दलमध्ये प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सबभन्दा पहिले महाधिवेशन गर्दैछ। एमालेले मंसिर १० र ११ गते चितवनमा फेरि केपी ओलीलाई नै अध्यक्ष बनाउनेगरी महाधिवेशन आयोजना गर्दैछ। जसको लागि आधाजसो काम यसअघि नै सकिसकेको एमालेका नेताहरु बताउँछन्।

एमालेले असोज १५-१७ मा काठमाडौंमा विधान महाधिवेशन गरिसकेको छ। विधान महाधिवेशनमै धेरै कुरो टुंगो लगाइसकेकाले आउँदो महाधिवेशनले नेतृत्व चयनमात्र गर्ने छ।

“हामीले विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन र विधान बनाइसक्यौँ। अब त महाधिवेशनमा पहिलो दिन (१० गते) उद्घाटन हुन्छ। ११ गते नेतृत्व चयन। सर्वसम्मत नभए बाकस थाप्नेमात्र काम छ”, एमाले केन्द्रीय सदस्य गोकुल घर्तीमगरले भने।

विधानतः एमालेले २०७६ मै महाधिवेशन गरिसक्नुपर्ने थियो। तर, एमाले र माओवादी मिलेर नेकपा (नेकपा) बनेपछि त्यसबीचको अवधिलाई ‘शून्य समय’ मानेर अहिले महाधिवेशन गर्न लागिएको घर्तीमगरले बताए।

संविधानले तोकेको समयसीमा मान्ने हो भने एमालेले वैशाखसम्ममा महाधिवेशन गरिसक्नु पर्नेछ। घर्तीमगरले भने, “चैतमा स्थानीय चुनाव होलाजस्तो भएकाले हामीले त्यसअघि नै पार्टी महाधिवेशन गर्न लागेका हौँ। समयमा नगरे त चुनावमा भाग लिन पाइन्न।”

कांग्रेस

सत्तारुढ कांग्रेसले २४ देखि २६ मंसीरमा काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ। त्यसो त कांग्रेसले भदौमै महाधिवेशन सक्नुपर्ने थियो। तर सर्दासर्दा कांग्रेस महाधिवेशन मंसीरमा पुगेको छ।

“२३ भदौमै कांग्रेसले महाधिवेशन गरिसक्नुपर्ने हो। त्यसपछि ६ महिनाभित्र नगरे वैधानिकताको प्रश्न उठ्छ,” कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, “हामीभन्दा अघि महाधिवेशन गरेको एमालेले भर्खर महाधिवेशन गर्दैछ। साढे पाँच पछि दुई महिना क्रस भयो। अहिले हामीले गर्न लागेको समयमै गरे संकट आउँदैन, यो पनि घर्क्यो भने चाहिँ वैधानिक प्रश्न उठ्छ।”

माओवादी

सत्तारुढ माओवादीले १० देखि ११ पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ। स्थान भने अझै तोकेको छैन। सम्मेलनमा दुई हजार प्रतिनिधिले भाग लिने छन्। माओवादीले यसअघि २०७३ मा राष्ट्रिय सम्मेलन गरेको थियो।

“यो प्राविधिक सम्मेलन हो। भोलि अवरोध नहोस् भनेर वैधानिकता जोगाउन राष्ट्रिय सम्मेलन गर्दैछौँ,” माओवादी केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले भने, “हामीले जसरी गर्दैछौँ त्यसरी नै बाध्यात्मकरूपले वैधानिकता जोगाउन कांग्रेस, एमाले महाधिवेशन गर्दैछन्। तिनका पनि समय सकिन लागेको छ।”

सम्मेलनको मौका पारेर माओवादी संगठनलाई चुस्त बनाउने उपाध्यायले बताए। आन्तरिक लोकतन्त्रको अधिकतम अभ्यास गरिने पनि सुनाउँदै उनले भने, “हामी डाटाबेसमा जान थालेका छौँ। प्रविधिमैत्री हुने भनेका छौं।”

पार्टी विधिमा कमजोर भएको बताउँदै उनले विधिबारे पनि सम्मेलनमा सवाल उठ्ने सम्भावना औल्याए।

राप्रपा

एमालेको महाधिवेशन सकिने दिन नै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा महाधिवेशन गर्दैछ। राप्रपाले ११-१३ मंसिरमा महाधिवेशन आयोजना गर्दैछ। यसलाई एकताको महाधिवेशन भनिएको छ।

२०७६ फागुनमा पूर्व पञ्चहरूले नेतृत्व गरेका विभिन्न घटकले एकता गरेका थिए। एकतापछि राप्रपाले बल्ल महाधिवेशन गर्न लागेको हो।

राप्रपाले १ देखि ३ मंसिरसम्म महाधिवेशन प्रतिनिधिहरूको छनोट गर्दैछ। करिब पाँच हजार प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व छनोट गर्न भाग लिने छन्।

२०७३ मा राप्रपाले महाधिवेशन गरेको थियो। जसबाट सर्वसम्मत अध्यक्ष चयन गरेको थियो। तर, पार्टी भने ६ महीना पनि टिकेन। २२ भदौ २०७४ मा पशुपति शमसेर राणाले पार्टी फुटाए। लगत्तै चुनाव भयो। अघिल्लो निर्वाचनमा ३७ सिट जितेको राप्रपा एक सिटमा झर्‍यो।

त्यसबेला राप्रपाका राजेन्द्र लिंगदेनले मात्र झापाबाट चुनाव जिते। २०७६ मा फेरि पार्टी एकता भयो। जसबाट तीन अध्यक्ष बने।

राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार महाधिवेशन गर्न पटकपटक मिति तोकिए पनि सर्दै आएको छ। सर्नुका धेरै कारणमध्ये एक थियो, कोभिड-१९ महामारी। उनका अनुसार तीन अध्यक्ष हुँदा पार्टीले गति लिन सकेन।

“हामीलाई अहिले नै महाधिवेशन गर्न वैधानिक बाध्यता आइलागेकैले गर्न लागेको भनेर भन्न त नमिल्ला। तर, अब चुनाव पनि हुँदैछ। पुनर्ताजगीको लागि पनि महाधिवेशन गर्दैछौँ”, श्रेष्ठले भने।

No comments:

Post a Comment