
बम्बईको कोठीमा हाम्री चेली रुन्छिन् रे’
सत्ता संरक्षित दलालको पासोमा परेर भारतीय यौन बजारमा बिक्री भएकी नेपाली चेलीको आर्तनाद वर्णन गर्ने यो गीतकी गायिका लक्ष्मी गुरुङ अब आफ्ना आवाजमा मात्रै रहने भइन्। नेपाली जनवादी संगीत क्षेत्रकी चर्चित गायिका लक्ष्मी गुरुङको निधन भएको छ। भारतमा काम गर्ने लक्ष्मी नेपाली मजदुरमाझ अझ बढी लोकप्रिय थिइन्। उनले रक्तिम परिवारका अधिकांश एल्बममा आफ्नो गला दिएकी छिन्।
५५ वर्षीया गुरुङ घरमै अक्सिजन लगाएर उपचाररत थिइन। उनलाई थप उपचारको लागि भारतको गोरखपुर लगिएको थियो। उपचार गरी फर्कंदा पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि भैरहवा मेडिकल कलेजमा लगिएको थियो। कलेजमै बिहीबार गुरुङको निधन भएको हो। शुक्रबार बुटवलस्थित गुरुङडाँडामा उनको अन्त्यष्टि भयो। उनी नेकपा मसाल निकट रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकार थिइन्।
सानैदेखि लक्ष्मीको गीत संगीतमा रुचि थियो। गर्भी र कृष्ण गुरुङ दम्पती कास्की भदौरेबाट रुपन्देही बेलैया झरे पनि पनि लक्ष्मीको गीतप्रतिको अनुराग झरेन। युवाअवस्थामा पुगेपछि धनकाजी गुरुङसँग मिलेर खुकुरी सांस्कृतिक समूहमा क्रियाशील भइन्।
२०४६ को राजनीतिक परिवर्तन भयो। लक्ष्मी र धनकाजी २०४७ मा नेकपा (मसाल) निकट रक्तिम परिवारमा सामेल भए। जनवादी गीतको संसारमा चर्चित धनकाजी भने रक्तिममा अडिएनन्, माओवादीमा लागे।
गीतमा मात्रै लक्ष्मीलाई सुनेका पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएम भारतमा हुँदा लक्ष्मीसँगको चिनजान स्मरण गरे। जीएम मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल निकट अखिल भारत एकता समाजको पत्रिकामा काम गर्दाखेरिको त्यो समय सम्झदै भने, ‘‘तालीका बनाएर दुई महीनासम्म भारतका गल्ली-गल्लीमा रक्तिमको केन्द्रीय टोली जाँदा लक्ष्मीलाई प्रत्यक्ष गाएको देखेँ। त्यसैबेला भेटेँ। गीतमा जति प्रभावित थिएँ, उनको सरल व्यवहारले झन प्रभावित भएँ।’’
नेपालमा भन्दा रक्तिम परिवारका गीत भारतमा बढी सुनिन्थे। यसको कारण भारतमा रहेका नेपाली मजदुरमाझ नेकपा मसालको प्रभाव बढी हुनु थियो। रोजीरोटीको लागि भारत गएका नेपालीमाझ रक्तिम परिवार गीत गाउँदै भारतका सहर र गाउँ डुल्थ्यो। जसले गर्दा नेपालमा भन्दा पनि भारतमा रक्तिमका गीत धेरै सुनिए।
नेपालका लेकबेंसीमा पनि लक्ष्मी गाउँदै हिँडेकी थिइन्। रक्तिम परिवारले कुनै बेला नेपालका गाउँ र सहरमा पनि अभियान चलाउँथ्यो। उनलाई बाग्लुङको निसी, भुजी, बुर्तिबाङतिर बोकेर हिँडेको योगीले सम्झिए। जन्मजात नै कुप्रो परेकी उनको तौल ३५/४० किलोमात्र थियो।
रक्तिमका शुरुताकाका जति पनि गीति एल्बम छन्, ती सबैजसो गीतमा लक्ष्मीले स्वर दिएकी थिइन्।
‘सुनबुट्टे रेशमी सारी ल्याउन पाइनँ’, ‘नेपाली एकता हेर बरि लै’, ‘लेफ्ट राइट कदम बढाऊ’, ‘बारुदको बाटो बमैको घर’, ‘राइफलको सिरानी’, ‘यो जीवन मेरो वर्बाद भयो जालीको झेलले’, ‘परदेशीलाई डाकेर भन्छ’,’मखलमली फूल’ आदि गीत लोकप्रिय छन्।
लक्ष्मीले प्रायः रेम राना र जीवन शर्माको गीतमा स्वर दिएकी छन्। उनले थारु जनसांस्कृतिक मञ्चको ‘गाव हमार’मा थारु गीत पनि गाएकी छन्।
‘‘लक्ष्मीजीले गाउनुभएको गीतमात्र राम्रा र स्तरीय छन् नै, उहाँको त सादा जीवनबाट पनि प्रेरणा लिन सकिन्छ,’’ रक्तिम परिवारका पूर्वअध्यक्ष नारायण योगीले भने। लामो समय लक्ष्मीसँगका सहकार्य सम्झदै योगीले थपे, ‘‘चल्ला हुर्काउने माउजस्तै हुनुहुन्थ्यो। नयाँ कलाकार सिहार्नुहुन्थ्यो। नयाँ पिढीका महिला कलाकारका लागि त प्रेरणा स्रोत नै हो। बुटवलतिरका नयाँ पिढीका कलाकारलाई त उहाँको निधनले आमा हराएजस्तो भएको छ।’’
रक्तिमको गीत गाउँदागाउँदै उनले छोराको पढाइलेखाइको लागि उनले नम्किन, दालमोठको पुडिया बनाइन्। योगीले भने, ‘‘रोजीरोटीको साह्रोगाह्रोमा पनि बुर्जुवा गीत गाउनुभएन। बरु दालमोठ बेच्नुभयो।’’
मसालका नेता र कार्यकर्ता अप्ठेरो पर्दा उनकै कोठामा ओत लाग्थे। योगीले चटपटे र पानीपुरी खाने लक्ष्मीको शोख सम्झिए।
उनका एक छोरा रविन र बुहारी छन्। रविन केही महीना अघि वैदेशिक रोजगारबाट फर्केका थिए।
- from nepalviews २०७८ कार्तिक २६ गते २०:०७
No comments:
Post a Comment