गोठैको भकारोभरि गाई बाच्छीका दाउँला
साई(मायालु) बैरागी, मै उलासे सँगसँगै जाउँला।
घाँस खाँदिन दूधै दिन्न, तिल्कु मेरी गाईले
रूप चिन्दैनौ गुण चिन्दैनौ, कैरङे साईले।
दूध धारा तिलौरी गाईको, तेल धारा बत्तीको
न्याउली बास्दा रुन्चेउ जिज्यै, म रुँदा कत्तिको ?
पातल चर्ने कैलु गाईको, मन्टैभरि घाँट
कोई बैरागी एकवचने कोई ता हुन्चन् ढाँट।
गोबर गउँत गाईकै चल्ने, गाईकै चल्छ धार
सिङारी गरेइको भरमा, हुँदैन कि सार ?
रापती, भेरी र कर्णाली सुसाइसँगै सुसेलिने ठारी भाकाका गीति लहरा हुन्, यी। जुन रुकुम खाराबाट मनलाल ओलीले इ–हुलाकमार्फत गला हालेर डाक गरेथे। कति लहरा उनै ओलीले खारा, खुम्चेरी, जिबाङ, लाइतका वनपाखामा गाई चराउँदै उनेथे भने कति उनका अग्रज पुस्ता र सङ्साथीले गाएको सुनेर उनेका।
गाईको घाँटीमा झुण्डिएका घाँटे धुनको तालमा लोकगलाबाट ठारी भाका गुञ्जिए। जसमा बर्खायाममा पानीको सिमसिमको संगीत पनि थपियो। वनपाखामा लोकजनले गाईसँगै ‘गाई गीत’ गाए।
वनपाखामा फुलेका फूल उत्तिकै संख्यामा लोकगलाबाट उनिएर गाई गीत फुले। यसरी लोकका सन्चोबेसञ्चोमा गाई लोकगलामा बाँधियो, गलबन्दीजसरी। भन्छन्, उत्पादन संस्कृतिमा र संस्कृति उत्पादनमा झल्कन्छ। सायदै यसरी नै गाई नेपाली लोकगला भएर ‘गाई गीत’ बन्यो। र, मान्छेका सुखदुःख, सन्चोबेसञ्चोमा मानिसले गाई गीत गायो– विरह पोख्दा होस् या मायालु फकाउँदा। यसरी लोकगलामा पलपल आउने गाई र मान्छे कहिले भेट भए होलान् ? कसरी तिनका दोस्ती भयो होला ? गाई गीत गाउँदागाउँदै कहिले गाई पूजाथलोमै पुग्यो होला ? कसरी स्कुले नानीहरूलाई गाईको निबन्ध नलेखी नहुने स्थिति भयो होला ? तपाईंले पनि त स्कुलमा गाईको निबन्ध लेख्नुभयो होला, होइन ?
गाई गीता
मान्छे र गाई सम्बन्ध खोज्न समाज विकासका विभिन्न चरण फर्केर हेर्नुपर्छ। शिकारी युगमा मानिस दुईखाले प्रक्रियाबाट जीवनयापन गर्यो। एक, पशुपन्छीको शिकार गरेर। दुई, खनीखोस्री गरी निकालेका कन्दमूल खाएर। बिस्तारै मान्छेले शिकार र कन्दमूल खोज्ने झन्झटमुक्त हुने उपाय खोज्यो। मान्छेका मनमा भाँतीभाँती तर्कना छुटे। जस्तोः वनवनमा कन्दमूल खोज्नुभन्दा बारीमा खेती गरे कसो होला ? वनमा गएर पशुपन्छीको शिकार गर्नुभन्दा घरमै पशुपन्छी पाले कसो होला ? वनमा गएर खोज्नुभन्दा घरमै पालेर मासु खाँदा पो सजिलो होला कि ? वनमा गएर कन्दमूल खोज्नुभन्दा बारीमै अन्नबाली रोपे कसो होला कि ? जनावरका बच्चाले दूध खाएर सप्रेको देखेको मान्छेले दूध खाए कसो होला भनेर पनि सोच्यो। जनावरले जोते कसो होला ? किनकि ढुंगेयुगमै फलामका भाला आविष्कार भइसकेको थियो। यिनै जिज्ञासा र जुक्तिले मानिस कृषि र पशुपालनमा पुग्यो।
‘खेतीपातीका लागि महिलाको भूमिका अहं देखिन्छ। शिकारमा गएर पुरुषले ल्याएका चराका गाँडमा अन्न र फलफूलको बिउ हुन्थे। त्यसलाई महिलाले बस्ती वरपर रोपे,’ संस्कृतिविद् विष्णु प्रभातले भने, ‘बिउ अन्नपात भएर हुर्क्यो।’
मानिसको आहारा शिकार थियो। बिस्तारै फलफूल अनि अन्न भयो। स्थायी बसोबाससँगै पशुपालन र अन्नको सन्दर्भ जोडियो।
ककेसियनले घोडा प्रयोग गरे। चलन एशियातिर नै आयो। हरियाली घाँस, खोलानाला भएको दक्षिण एशियामा गाईको चलन आयो। साइबेरियाजस्ता क्षेत्रमा त घोडाकै प्रयोग भए। नेपालकै पनि उत्तरी भेग र उत्तरी छिमेकमा घोडा नै प्रयोग भए। मान्छे परिवारमा बस्न र खेतीपातीमा लाग्यो। जोत्न बहर र गोरुको प्रयोग भयो। यातायातको लागि गादा, रथ तान्न पनि गोरु प्रयोग भयो। खानलाई दूध, दही, घिउ प्रयोग गर्न थाल्यो। गन्तव्यमा छिटो लानलाई शिवको बाहन नै गोरु भयो। कृषि र पशुपालन युगमा पुग्दा गाई कृषि र पशुपालन दुवैमा मान्छेसँग सबभन्दा नजिकियो।
‘भावनात्मकरुपमा गाईको व्याख्या जति भए पनि यथार्थमा पशुपालक युगमा मानिसको सबैभन्दा राम्रो सहयोगीको गाई भेटियो,’ प्रभातले भने। एकातिर गाईको दूध, दही, मही, घिउले खाद्यान्न आपूर्ति गर्यो भने अर्कोतिर बहर र गोरुले जोत्न र यातायातको साधनको रुपमा काम गर्न। आजभोलि पनि हिमाली भेगमा चौरी गाई र याकले सामान ढुवानी गर्छन्।
खस जातिको इतिहासमा बालकृष्ण पोखरेल लेख्छन्, ‘काशी नरेशपुत्री गान्दिनी। वायुपुराण(४.१३)का अनुसार गान्दिनी आमाको गर्भमा १२ वर्ष रहँदा पनि ऊ जन्मिने कुनै लक्षण देखिएन। अन्त्यमा उसले गर्भबाटै बाबुलाई के सुझाउ दिई भने प्रतिदिन एउटा गाईको बलि गरेर ब्राह्मणभोजन गराएमा ऊ जन्मुन सम्भव हुनेछ। नभन्दै त्यसो गर्दा ऊ जन्मिई पनि। …गान्दिनी जन्मिएपछि पनि प्रतिदिन एक गाई बली दिई ब्राम्हण भोज गराउने प्रथा कायमै राखियो (खस जातिको इतिहास, २५६)।
मासु खानेमात्र होइन, मरेपछि स्वर्गमा लाने बाटोको रुपमा पनि गाईलाई नै व्याख्या गरियो। गाईको दान गरेपछि यमराजले स्वर्ग लाने भनियो। धार्मिक कर्मकाण्डवादमा गाईलाई समावेश गरियो। गाई दान गरेमात्र बैतर्नी खोला तर्ने, रिन, पाप, मोक्ष, रिसरागबाट मुक्त हुने भनियो। गाई दान गर्ने प्रकार नै गरुड पुराणले यस्तो लेख्यो, ‘एक, ऋण धेनु। दुई, पापापनोद धेनु। तीन, उत्क्रान्ति धेनु। चार, वैतरणी धेनु। पाँच, मोक्ष धेनु।’
नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको पहिलो भेट नै गाईसँग भएको देखिन्छ। जुन कुरा भन्नलाई उनीहरूले बोल्ने खाम/पाङ भाषा हेर्नुपर्छ। ‘अहिले खान त ऊँट, भेडा, बाख्रा र भैंसीको पनि दूध खाइन्छ। तर तिनका दूध भन्दाखेरि पनि गाई नै जोडिएरै आउँछ,’ मगर संस्कृतिविद् बमकुमारी बुढामगरले भनिन्। खाम पाङ भाषामा गाईलाई हाइ वा हार भनिन्छ। जुन जनावरको दूध भने पनि अगाडि ‘हाइ’ वा ‘हार’ शब्द आउँछ। बुढामगरले थपिन्, ‘भेडा, भैंसी आदि जुन जनावरको दूध भन्दा पनि अगाडि हाइ अथवा हार थपिन्छ।’ गाईको दूधलाई ‘हाइनुन’ वा ‘हार्नुन’ भनिन्छ। नुन भनेको दूध हो भने ‘हार’ वा ‘हाइ’ भनेको गाई हो।
उनको कथन थियो, ‘यसबाट के पुष्टि हुन्छ भने मगरले दूध चिनेको पनि गाईबाट नै रहेछ भन्ने हो।’ गाईको गोबरबाट मल र मूतबाट जैविक विषादी। रासायनिक मलले माटो र मानिसको स्वास्थ्यमा यसरी हानि पुर्याएको बेला गाईको गोबर र मलको महत्व के बयान गर्नु !
गाई पूजा
ऋगवेदको दसौं मण्डलको दसौं सुक्तमा यम र यमीको कथा छ। कथाअनुसार यम र यमी दुई दाजुबहिनी थिए। समयक्रमसँगै उनीहरू वयस्क भए। एकदिन यमीले यमलाई बिहे प्रस्ताव राखिन्। तर, यमले अस्विकारे। उनले सम्झाए, ‘अब मान्छेका बगाल धेरै भइसके। हिजोको जस्तो अवस्था रहेन। अन्य बगालसँग बिहे गर्नुपर्छ।’ तर, यमीले मानिनन्। जिद्दी गरिरहिन्। यमीलाई सम्झाउन यमले विभिन्न जुक्ति झिके। उनले कहिले कागको पूजाको कथा हाले त कहिले कुकुर पूजाको। कहिले गोरु पूजाको सिलुक पनि सुसाए। उनले गाईको महिमा गाउँदै सम्झाए। पाँचौं दिनमा बल्ल यमीले यमको कुराप्रति सहमति जनाइन्। त्यसपछि भाइटीका रिवाजको रुपमा शुरु भयो।
‘समाज बिकास हेर्दा, रक्तवृत्तभित्रै बिहे गर्ने चलन तोड्न यमीलाई सम्झाउँदा यमले गाई पूजाको प्रसंग पनि उठाएका छन्,’ संस्कृतिविद् विष्णु प्रभातको कथन थियो।
उनका अनुसार ऋगवैदिक कालदेखि मानिसलाई धार्मिक कर्मकाण्ड र भावनामा बाँधेर लानेक्रम शुरु भएको देखिन्छ। जुन कुरा धर्मको रुपमा मात्र नभई समाज बिकासक्रमको रुपमा पनि हेर्न जरुरी छ। समयको हिसाबले, ऋगवेदकालीन समय कृषि र पशुपालनमा लागेको बेलाको थियो।
‘धेरैपछिमात्र गाईलाई धर्मसँग जोड्ने काम भयो। महाभारतकालमा पनि गाईलाई धार्मिक विम्व बनाएर भन्दा पनि मानव आवश्यकताले प्रयोग गरेको देखिन्छ। उपनिषद् कालमा तार्किक रहस्यवादी काल, ब्रम्ह दर्शनको आडमा कर्मकाण्डीय कुरा अघि बढ्ने कुरामा महाभारतमा विभिन्न कोणमा ब्रह्मको अस्तित्व, आत्माको अस्तित्व नियन्त्रकको रुपमा यो होला कि त्यो होला कि भन्दै सांस्कृतिक रुपले बाँध्दै गयो। थुप्रै कथा रचिए। कति अज्ञानतावश त कति शासकीय स्वार्थवश पनि कथा रचिए,’ संस्कृतिविद् प्रभातले भने, ‘संसारका सबै धर्ममा पुराकथाहरू, धार्मिक आख्यानहरू विश्वासमा डोर्याउने साेच हुर्केपछि कल्पवृक्ष, कामधेनु गाईजस्ता कथा आए।’
धार्मिक व्याख्यासँगै गाई र भाइलाई पनि जोडियो। जीवन र मृत्युलाई पनि जोडियो। भाइले दिदीबहिनीको रखवार गर्ने र गाईले मानिसको रक्षा गर्ने भएकाले यसो भनियो भनेर व्याख्या गरियो। गाईलाई प्रयोग गर्दैजाँदा दूध, दही, मही र घिउ दिनेमात्र होइन, मालसमान ओसार्न काम लाग्नुका साथै गाईलाई सम्पत्ति मान्न थालियो।
जसको धेरै गाई, ऊ नै शक्तिशाली मान्ने चलन चल्यो। गाईको महिमा यति धेरै बढाइयो कि, लक्ष्मीको प्रतीक बनाएर कथा हालियो। कल्प वृक्षको रुपमा देवताले गाईको चार थुन दुहेर पृथ्वी हराभरा बनाएको किस्सा पनि बुनियो। पशुपालनकै समयमा त थियो, इन्द्रको पूजा विस्थापित गरी कृष्णले गोबर्द्धन पूजा गरेको। प्रभातका अनुसार आर्य सिन्धु उपत्यकामा पुगेसँग गाई हिन्दुकरण भयो। तिनले गाईलाई बढाइचढाइ गरे। मातृत्वसँग व्याख्या गरे। भने, ‘गौमाता।’ यसरी नै पशु पूजाको कुरा जोडिँदै आयो। गाई र गोरुको पूजा शुरु भयो। तिहारमा गाई र गोरु गोबर्द्धन पूजा। खासमा सामन्तवादी समाज भएपछि गाईलाई दैवीकरण गरियो। हिन्दू धर्मका ग्रन्थमा गाई नै गाई भेटिन्छन्।
‘आरम्भमा महादेव साढे(नन्दी) र पार्वती गाई थिइन्। पछि साँढे ती दुबैको साझे वाहन भयो। ..मानव आकृति प्राप्त गर्नुपूर्व महादेव वृष र पार्वती गाईकै रुपमा पुजिन्थे। सुमेरका वृषदेव दुमजी र गार्य इनान्ना यसका घतलग्दा उदाहरण हुन्। तर दोस्रो चरणमा जब देउताहरूले धमाधम मानवआकृति प्राप्त गर्न लागे पुराना रुपाहरूमम्ये केही (जस्तै कमल) आसनमा परिणत भए। केही (जस्तै सुन) द्रव्यमा परिणत भए र केही (जस्तै वृष, हस्ती, लाटोकोसेरो आदि) वाहनमा परिणत भए (खस जातिको इतिहास, पेज ६३।)
यसैगरी, महाभारतको विराटपर्वमा पनि गाईको प्रसंग छ। कथाअनुसार पाण्डव गुप्तबास बसेको ठाउँ दुर्योधनलाई पत्ता लगाउन सहयोगी त्रिगर्तका राजा सुशर्माकहाँ पठाए। उनले दुर्योधनलाई योजना सुनाए, ‘महाराज ! म दक्षिणतर्पmबाट गाई हरण गर्छु। त्यसैबेलामा विराट सारा सेना लिएर त्यतै लाग्छ, त्यसैबेला विराटनगरमा आक्रमण गर्न बेस होला कि ?’
त्यसैअनुसार शर्मा गाई लुट्न गए।
विराट बल्लभलाई लिएर गाई रक्षाको लागि गए। लडाइँ भयो। विराटको हातखुट्टा बाँधी रथ दौडाए। युुधिष्ठिरले रथ रोक्न भीमसेनलाई पठाए। त्यसपछि शर्माले विराटसँग क्षमा मागी सेना लिएर फर्के। विराट आफ्ना गाई बटुलेर फर्के (महाभारतका कथाहरू, पेज १९९)।
महाभारतमै अर्को ठाउँमा पनि गाईको प्रसंग छ। जहाँ एउटा चण्डाल एउटा गाई र एउटा बहरलाई बिनाकारण लखेट्दैथियो। सर्वज्ञ राजाले सोधेपछि जबाफ दियो, ‘महाराज ! यो गाई पृथ्वी हो भने बहर धर्म हो। म कलियुग हुँ। मेरो समयमा पनि पृथ्वीमा धर्म रह्यो भने त बर्बादै हुन्छ। त्यसैले मैले आफ्नै नियमअनुसार चलाउनुपर्ने भएकाले यसो गरेको हुँ (महाभारतका कथाहरू, पेज ९।)’
महाभारतमै अष्टबसुले गाई चोरेर लगेको र मृत्युलोकमा जन्मनुपरोस् भनेर श्राप दिएको उल्लेख छ। स्मरणीय त यो छ कि, हिन्दुकरणबाट मुस्किलले बचेका रोल्पातिरका मगर पनि गाई देउता पुज्छन्। उनीहरूले असार मसान्तको दिन भकारा सिरानीमा लहरै लगाएर गाईका बिभिन्न देउतालाई पुज्छन्। तिनले गाई रक्षाका लागि ढोड्लाढोड्ली झाँक्रीझक्रिनीलाई पुज्छन्। असुर कुमाखी र असुरकोट पनि पुज्छन्। कुमाखी सल्यानको।
मुन्धुमविद् भोगिराज चाम्लिङका अनुसार राई गोबरमा दूधको कुण्ड बनाएर रोटी चढाउँछन्। जसलाई गोठ पूजा भन्छन्। मकै थन्काएपछि खाली भएको बारीमा किरात समुदाय गाई पूजा गर्छन्। मगर र किरात समुदायले हिन्दू धर्मको प्रभावले गाई पूजा गरेका हुन् या पहिलेदेखि नै ? यो भने खोजको विषय छ।
- from nepalviews २०७८ कार्तिक १८ गते १८:४०
No comments:
Post a Comment