काठमाडौं। सल्यान पिमखोलाको माहिला लाहुरे मानवहादुर बुढामगरको घरको आँगनबाट घामले विदा माग्दैथियो। उनले आँगनमा किशोरावस्थामा पुग्दैगरेको ठिटोलाई गुन्यु, चोलो, पोते, टीका, गाजल लगाइदिए। हेर्दाहेर्दै ठिटो त गोरो र गोलमोल अनुहार भएकी ठिटीजस्तो देखियो।
सबले भने, ‘मारुनी।’
मारुनी गोडामा पैजन(नेवर) लगाइदिए। मारुनी वरपर पुर्सुंगे उभिए। त्यसपछि यामानका मादल भिरेका चार, पाँचजना मादले।
माहिला लाहुरेको आँगनमा मादल घन्कियो। मादलको ताल पछ्याउँदै गीत पनि पिमखोला ओल्र्यो। मादल र गीतले पिमखोला गुञ्जियो। मादलसँगै पिमखोला झरेको रैथाने मारुनी गीतले भन्यो–
सल्यानी खुकुरी, प्युठानी दली(खुकुरीको खोल),
के गरम बालासाई(मायालु)
घुम्दैन गली(स्वर)।
गीति तालमा मारुनी घरी अघि त घरी पछि गर्यो। कहिले फिष्टा चराजसरी भुर्रभुर्र उड्दै नाच्यो।
गाउँले आँखा मारुनीमै अल्झिए।
“पहिलो दिन मारुनी बनेको सम्झेर मन यसै धर्कन्छ,” जन्मथलो पिमखोला पुगेर खर्कवहादुर बुढामगरले ४७ बर्ष पुरानो तिहार सम्झँदै भने। उनका माहिला बा माहिला लाहुरेको आँगनमा पहिलोपाली मारुनी बनेको उनै दिनमा फर्केर खर्क नोष्टाल्जिक भए।
पहिलोपालि मारुनी बन्दा खर्क मात्र ११ बर्षका थिए। त्यसपछिका तिहारमा उनी नै लगातार मारुनी नाचे। गाउँका उत्सव(पूजा, बिहे, मेला)मा पनि नाचे। २३ बर्षको हुँदासम्म पनि खर्क लगातार पिमखोलाको मारुनी बने।
२०४३ मा खर्क काठमाडौं पसे। त्यसपछिका सात बर्षसम्म पनि तिहारमा पिमखोला लाग्दा खर्क मारुनी तिर्खा मेटे।
यसपालि पनि पिमखोलाबाट उनले आफू नाचेका गाउँ हेरे। ती घरका आँगनहरूलाई नियाले। लुहाम, काभ्रा, साङ्कोट, फालाबाङ, कपुरकोट(ढुंगीबगर)का सायदै आँगन थिए, जहाँ खर्क मारुनी नाचेनन्।
४७ बर्षे बूढो तिहारमा पहिलोपालि मारुनी नाच्दाका पुर्सुंगे, मादले र गाउनेहरूलाई खर्कले सम्झिए। तीमध्ये एक विष्णबहादुर बुढामगर थिए भने अर्का विष्णुवहादुर बुढामगर। एक विष्ण थिए भने अर्का विष्णु। बाँकी थिए, गोविन्दवहादुर डाँगी, रगेन्द्रवहादुर डाँगी र लिलाधर ओली।
मारुनीले नै खर्क गोडा र गलासँग लोकजीवन र लोककलासँग चिनजान गरायो। लोकजनका गीत र नाच खर्कका नसा बने। खर्क तिनकै सम्झना र अभ्यासमा बिलाए। गीतकै पछि लागेर पिमखोले मारुनी खर्कको दिल लिलावती डाँगीमा बस्यो। गाउँदागाउँदै बिहे गरे। दुवैले रैथाने गीतका अल्बम निकाले। काठमाडौं पसेपछि रोजीरोटीको मेसोमा खर्क र मादलको रस्तीबस्ती बस्यो। बजारमा अचेल चल्तीका जति गीत थिए, प्रायमा खर्क हातले निकाले मादलले धुनले भरिएका थिए। खर्कले रापतीका रैथाने गीतमा पनि गला दिए। मारुनीले कलाकार बनेका खर्क हरेक तिहारमा जस्तै यसपालि पनि मारुनी सम्झे। भावुक भए।
खर्क यसपालि त ५८ वर्ष पुगे। आफूजस्तै बूढो भएको मारुनी सम्झेर खर्क हतासिए। मारुनीलाई कुनामा धकेलेर पिमखोलामा पनि त बजारिया गीत पसेको थियो। जो डेकबाट निक्लेर पिमखोलामा गुञ्जदैथियो।
मारुनी
लोकगीत मर्मज्ञहरूले मारुनीलाई आआफ्नै तालले अर्थ्याउँछन्।
प्रज्ञा संस्कृति कोशले त लेख्यो, ‘लोकभाकाको एउटा रागलाई मुख्य मानेर अन्य विविध लय, अभिनय समेटेर पुरुषले महिलाको भेषमा नाच्ने गाउने लोकनृत्यलाई मारुनी नाच भनिन्छ। सोरठी जस्तै लामो भए पनि यमा मारुनी नर्तकीको रूपमा रहन्छे र उसलाई जिस्क्योने पुर्सुंगे या ढँटुवारेले अनेक नखरा र स्वांग पार्दै नाचलाई रोक बनाउँछ’ (प्रज्ञा संस्कृति कोश, पृष्ठ ३६०)।
लेखक मीन श्रीसमगरका अनुसार पाङ्दुरे, कह्राङ, नचरी, नाचन, नाचत्या र ठूलो नाच मारुनी नाचकै पर्याय हुन् भने सोरठी, कृष्णचरित्र, रामचरित्र, गोपीचननाच, मधुमालती नाच आदि मारुनीकै भेद हुन्। उनका अनुसार मारुनीमा न्यूनतम दुईजना मारुनी, पुर्सुंगे, दुईचारजना मादले हुन्छन्। मजुरे, गुरुबा र छ सातजना गर्राभाइ हुन्छन्।
‘सम्पूर्ण विधिविधानअनुसार थालनी गरी नाट्य गीतिगाथा पुरा गर्न दुईतीनदेखि नौ दिनसम्म लाग्छ। मारुनी नाच कुनै खास रितु, कर्म, पर्व र पौराणिक एवं ऐतिहासिक गाथासँग जोडिएकाले निश्चित तिथिमितिमा आरम्भ गरी समापन गरिने चलन छ,’ मीनले लेखेका छन्, ‘गुल्मीको भार्से र सेरोफेरोमा तिहारे औंशीको दिन विधिवत थालेर मंसिरे दिवाली पूर्णिमाको दिन समापन गरिन्छ। यस बीचको अवधिमा बिभिन्न पूजाआजाको अवसर पनि नचाइन्छ।’ उनका अनुसार यो नाच पुजाआजा पर्व तथा शुभकार्य समाप्तीका दिन कतै नयाँ घर बनाउँदा कतै पहिलो छोरो जन्मदा पनि नचाउने गरिन्छ (मगर जातिको चिनारी, पृष्ठ १२१)। उनले भैलो भट्याउँदै मारुनी सोरठी नाच्नुलाई कतिपय गाउँमा भैलो खेल्ने भनिन्छ भन्ने पनि उल्लेख गरेका छन् (पृष्ठ ६८)।
मीनका अनुसार मारुनी गण्डकी प्रदेशका मगर, गुरुंग, कुमाल, दुरा, बरामु, कामी, सार्की आदि समुदायमा प्रचलित मारुनी नाच राई, थारु, तामाग र लिम्बु समुदायसम्म पुगेको छ (मीन श्रीस मगर, मगर जातिको चिनारी, पृष्ठ ६८)।
खर्कले भन्छन्– सल्यानी मारुनी त ख्याली झुमरा, सिंगारुहुँदै टप्पा बन्छ। छिटोहुँदै यसले रूप फेर्छ भने। उनले भने, “मारुनी ख्याली तालमा हुन्छ। ढिलो गीत हुन्छ।” ठाउँअनुसार गीतले पनि अनुहार फेर्यो। खर्कले पूर्वाञ्चलतिरको मारुनीमा गला दिए– जोर मादल बजेको देउसी भैलो खेलेको, घुमीघुमी नाच्यो मारुनी, पुर्सुंगे परयो नि।
खर्कका अनुसार तिहारमा त देउसी भैलो भट्याएपछि नाच्ने गीत हो, मारुनी। मारुनी नाच्न तागत चाहिने भएकाले युवा हुनु अनिवार्य हो।
“रात र दिनभर नाच्ने मारुनी युवाले मात्र सक्छ। मादले र पुर्सुंगे त फेरिन्छन तर मारुनी फेरिन्न,” खर्क कथन थियो।
मादले त तीनचारवटा नै हुन्थे। उनका अनुसार त मादले तीनवटा अनिवार्य हो। पाँचछवटासम्म पनि हुन्छन।
“नाच सन्ट्याउने भन्छन्, अन्त गर्नुलाई। जाने माघमा बल्ल सन्ट्याउने हो। नाच दशैंैको कालरात्रिपछि शुरु हुन्छ। माघीमा नाचेर नाचमा उठेको पैसा केही काम गर्ने, काटे र मादल पुर्सुंगे, मारुनीको बिला लाग्छ। मादल मोर्दा लागेको खर्च दुईतीन मुरी धान दिन्थे,” खर्क उनै दिनमा फर्किए।
मगर बाजा र लोकगीतसम्बन्धी किताब नै लेखेका खर्कले मारुनीलाई ‘मगर मौलिक नाच’ भने। जुन नाच अहिले अन्य समुदायमा पनि पुग्यो। मारुनी त थारुको झुम्रा नाचसँग पनि नजिक रहेको थारु संस्कृतिविद् कृष्णराज सर्वहारीको कथन थियो।
सोरठी
सोरठीमा जयसिंह राजा र हेमवती रानीको कथा गाथा गाइन्छ। कतैकतै स्वर्गका दुई अप्सरा सोरठी र हेमवतीले बृजभार नामक आफना नृत्यगुरुसँगै मत्र्यलोक घुमेको रिसमा इन्द्रले श्राप दिएर सातजुनी धर्तीमा नाचेको कथा पनि जोडेको पाइन्छ (प्रज्ञा संस्कृति कोश, पृष्ठ ५०६)। कोशका अनुसार नेपालमा विशेष गरी मगर, गुरुंग जातिमा सोरठी गाथा कथा, कर्खा नेपालभरमा उस्तैउस्तै रहेको छ। भारतका केही ठाउँमा त्यहाँको स्थानीय विशेषतासहित यो गीतिगाथा नाच्ने गरिन्छ। जयसिंह राजाकी छोरीको नाम नै सोरठी उल्लेख भएको पनि पाइन्छ। भोजपुरीमा पनि सोरठी नाच नचाउने चलन रहेको कोशमा उल्लेख छ।
सोरठीलाई भारतका विभिन्न ठाउँमा सोरठी पावरा नामबाट विभिन्न गाथाहरू गाउने प्रचलन पाइन्छ भनेर मोतीलाल पराजुलीलाई उद्धृत गर्दै अशोक थापाले लेखेका छन्।
थापाका अनुसार कतैकतै गुजरातका राजा खेखड मल्ल निराश भएर योगी बनेर वनवास जाँदा उनका १६ वटी रानीहरूले बिलौना गरेर रोएको गीतलाई सोरठी भनियो। कतै भने उत्तरी पहाडका संस्कृत विद्वान् एवम् धर्मात्मा राजा जयदेव आठौँ शताब्दीतिरका लाई जयसिंह भनिएको र उनैको जीवनीमा आधारित कथालाई सोरठी भनिएको पनि भनिन्छ। थापाले तनहुँ जिल्लातिर सोरठीलाई पाङ्दुरेनाच र मारुनीनाच पनि भन्ने गरिन्छ भने कतैकतै आनुष्ठानिक नाचको नामले पनि पुकारिन्छ भनेर उल्लेख गरेका छन्।
थापाले लेखेका छन्, ‘सोरठी मारुनी शैलीमा नाचिने एक उत्कृष्ट नाटक मानिन्छ। मारुनी शैलीका लोकनाच अन्तर्गत मोतीलाल पराजुलीले मारुनी सोरठी, मारुनी चरित्र र मारुनी ख्याली गरी तीन प्रकारका भएको बताएका छन्।’
ती हुन्, एक, मारुनी सोरठी। जसमा मारुनी सोरठी दुई मारुनी, एक पुर्सुङ्गे, दुई मादले र एक ढँटुवारे जस्ता पात्रहरूले अभिनय गर्छन्। राजा जयसिंहको जीवनीमा आधारित गीत गाएर नाचिने नाच मारुनी सोरठी हो। दुई, मारुनी चरित्र। जसमा दुई मारुनी, दुई पुर्सुङ्गे, दुई मादले र एक ढटुवारे पात्रहरू मिली राम चरित्र वा कृष्ण चरित्रका गीतहरू गाएर नाचिन्छ। तीन, मारुनी ख्याली। जसमा मारुनी ख्याली स्वतन्त्र वा मुक्तनृत्य नाच हो। थापाका अनुसार सामान्यतः दुई मारुनी, एक पुर्सुङ्गे दुई मादले र एक ढँटुवारे रहने एवम् राखी बाँध्ने र बन्धन फुकाउने गीत पनि गाइने र बीचबीचमा मुक्त वा स्वतन्त्र झ्याउरे गीत वा दोहोरी गीत गाएर नाचिन्छ।
मारुनीको मुख्य विशेषता हो, नाचमा केटा नै केटी रूपधारण गरी नाच्नु। नाच्नेलाई मारुनी भन्नु।
मारुनीजस्ता नाचगान त मानिसका सुखदुखमा सामूहिकरूपमा व्यक्त हुने माध्यम न थिए÷हुन्। पछि तिनमा धर्मकर्म र टुनामुना जोडिए। अनुष्ठान आए। शासक खलकीय अनुकुल बनाइए। कुल मिलाएर ईश्वरका कुरा आए।
“कृषि युग आएपछि फुर्सदमा नाच्न मारुनी नाचेको देखिन्छ,” संस्कृतिविद् जिवेन्द्रदेव गिरीले भने ।
०००
२०४३ मा काठमाडौं पसेका खर्क अरू बर्षजसरी यसपालिको तिहारमा पनि जन्मघर सल्यान पिमखोला पुगे। पिमखोला मारुनी उनको पालाको जस्तो थिएन। नयाँ पुस्तामा मारुनी चासो देखेनन्। मारुनी पिमखोलामा मरेको थिएन भने बाँचेजस्तो पनि थिएन। उनीसँगै नाचेका र गाएका उनका छाउली थिएनन्। कति लुहाम त कति कपुरकोट, कति नेपालगञ्ज त कति दाङ ‘देश’ गएका थिए। पहिलोपालि उनी मारूनी नाच्दाखेरिका केही पाकालाई भेटे। उनी मारुनी हुँदाखेरिका पुर्सुंगे, मादले र गाउने त ७५ बर्ष नाघिसकेका थिए। भन्दैथिए, “गीत टिपौँ भनेर पनि उनीहरूलाई पनि भेटेँ। भएन। कोही बिरामी छन् कतिले भुलिसके छन्।”
मारूनी नाचेको गीतले भनेजस्तो खर्कको पिमखोलामा न सल्यानी खुकुरी थियो न प्युठानी दली, न त मारूनी नाच्दाखेरि गाउने गली नै बचेको थियो। उहीँ गीत सापटी लिएर पिमखोलाबाट खर्क सोध्दै थिए, “के गरम् बालासाई घुम्दैन गली।”
from nepalviews २०७८ कार्तिक १९ गते २१:२०
No comments:
Post a Comment