Saturday, July 21, 2012

माओवादी नातेदार दुई पार्टीमा

नेत्र पन्थी, रोशन खड्का/नयाँ पत्रिका
काठमाडौं, ४ साउन
पालुङटारमा आयोजित छैटौँ विस्तारित बैठकमा माओवादी राज्यसमितिसम्मका नेता/कार्यकर्ता सँगै थिए । तर, काठमाडौं आइपुग्दा सहोदर परिवारका नेता/कार्यकर्ता फरक-फरक पार्टीमा देखिए । कोहीले गत ५ असारमा बौद्धमा भेला भएर नयाँ पार्टी नेकपा-माओवादी गठन गरे । कोही पुरानै पार्टीलाई बलियो बनाउन भन्दै भृकुटीमण्डपमा छन् ।
पार्टी विभाजनपछि दुई पार्टीमा बाँडिएका श्रीमान्-श्रीमतीबीच 'किचनदेखि बेडरुम'सम्म पारिवारिक सम्बन्धमा थोरै मात्र प्रभाव भए पनि राजनीतिक मुद्दामा चाहिँ ठूलै 'रिजर्भेसन' हुने गरेको छ । आ-आफ्ना पार्टीका आन्तरिक दस्ताबेज र योजना एक-आपसमा आदानप्रदान गर्ने नगरेको उनीहरूको भनाइ छ ।
श्रीमान्-श्रीमती बिहानैदेखि फरक-फरक पार्टीका काममा जान्छन् र साँझचाहिँ एउटै घर/कोठामा आउँछन् । 'थकित अवस्थामा दुवै घर पुग्छौँ, राजनीतिबाहेक अरू कुरामै समय बित्छ,' माओवादीका एक राज्य समिति सदस्यले अनुभव सुनाउँदै थपे, 'फेरि कुनै दिन एउटै पार्टीमा भइएला नि ।'

केन्द्रीय सदस्यदेखि राज्य समिति हुँदै जिल्ला समितिसम्म फुटको असर परेपछि नेता-कार्यकर्ता विभाजित हुने नै भए । विचारमा एकरूपता नभएको भन्दै उनीहरू फरक-फरक पार्टीमा लागेका हुन् । 'नातागोतामा त त्यति धेरै समस्या हुने भएन, श्रीमान्-श्रीमतीमा त अलिअलि तनाव हुन्छ,' एक केन्द्रीय सदस्यको भनाइ छ ।
पार्टी विभाजनसँगै देखिएका समस्या अहिले पार्टी मुख्यालयमा समेत पुग्न थालेका छन् । केही दिनअगाडि नयाँ पत्रिकाको टोली माओवादी मुख्यालय पुग्दा स्थायी समिति सदस्य कृष्णबहादुर महरा पार्टी विभाजनपछि श्रीमान्-श्रीमती दुईतिर भएकाका गुनासा सुन्दै थिए । उनी भन्दै थिए, 'फुटको असर घरमा पनि पर्न थाल्यो, तर व्यवस्थापन गर्नुपर्छ ।' नेताहरू प्ाार्टी विभाजनकै कारण परिवारमा समस्या उत्पन्न नहोस् भन्नेमा सतर्क रहेको बताउँछन् । 'खास ठूलो समस्या छैन, देखियो भने हल गर्छौँ,' नेकपा-माओवादीका पोलिटब्युरो सदस्य नारायणप्रसाद शर्माले भने ।

नातेदार नेताहरूको सञ्जाल

विभाजन हुनुपूर्व एकीकृत माओवादी त्यस्तो पार्टी थियो, जसको केन्द्रीय तहमा अविवाहित नेताहरूको पंक्ति पनि ठूलो थियो र आपसमा नाता-सम्बन्ध भएका नेताहरूको सञ्जाल पनि त्यत्तिकै परसम्म फैलिएको थियो । केन्द्रीय तहमा राजनीतिक सम्बन्ध मात्रै होइन, नातेदारी सम्बन्ध हुने पनि थुप्रै थिए/छन् ।
पार्टी विभाजनपूर्व माओवादीमा सात जोडी दम्पती सभासद् थिए । आठ जोडी केन्द्रीय समितिमा थिए । राज्यस्तरका नेताहरूको केन्द्रीय तहसम्मको पारिवारिक सम्बन्धको कुनै लेखाजोखा नै छैन । कतिपय राज्यस्तरका नेताका आफन्तहरू पनि सभासद्, केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य र मन्त्रीहरू छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र केन्द्रीय सल्लाहकार टिबी पाठकबीच सम्धी साइनो छ । प्रचण्डपुत्री रेणु र पाठकपुत्र अर्जुनबीच विवाह भएको छ, उनीहरू पनि पार्टीमै छन् । त्यसो त अध्यक्ष प्रचण्डपत्नी सीता पौडेल पनि पार्टीको केन्द्रीय सल्लाहकार सदस्य छिन् ।
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण र माओवादी पोलिटब्युरो सदस्य अग्निप्रसाद सापकोटाबीच पनि सम्धीको नाता छ । सापकोटापुत्र दीपक र किरणपुत्री चेतनाबीच झन्डै दुई वर्षअघि विवाह भएको थियो । पार्टी विभाजनपछि चेतना नयाँ माओवादीमा र दीपक पुरानो माओवादीमा छन् । अग्नि सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा पनि माओवादीका केन्द्रीय सदस्य छन् ।
प्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईको पनि पूरै परिवार पार्टीमा क्रियाशील छ । पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री हिसिला यमी भट्टराईपत्नी हुन् । भट्टराई र यमी दुवै संविधानसभामा प्रत्यक्षतर्फका सभासद् पनि थिए । उनीहरूकी एक्ली छोरी मानुषी माओवादीनिकट विद्यार्थी संगठनको केन्द्रीय सदस्य छिन् भने त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सचिवसमेत छिन् ।
अर्का सचिव पोष्टबहादुर बोगटी दिवाकरकी पुत्री प्रभा र प्रचण्डपुत्र प्रकाशबीच विवाह भएको थियो । तर, उनीहरूबीच अहिले सम्बन्धविच्छेद भइसकेको छ । अध्यक्ष र सचिव अब पूर्वसम्धी मात्रै बनेका छन् । सचिव दिवाकरपत्नी नुवाकोट गणतान्त्रिक मञ्चमा सक्रिय छिन् । दिवाकरका जेठा ज्वाइँ निर्मल आचार्य माओवादी दाङका इन्चार्ज छन् ।
अर्का स्थायी समिति सदस्य वर्षमान पुन अनन्तपत्नी ओनसरी घर्ती केन्द्रीय सदस्य हुन् । अनन्त र ओनसरी दुवै सभासद् पनि थिए । स्थायी समिति सदस्य लीलामणि पोखरेलकी पत्नी शशी श्रेष्ठ पार्टी केन्द्रीय सदस्य र पूर्वस्वास्थ्य राज्यमन्त्री हुन् । पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल 'आहुति' र केन्द्रीय सदस्य अञ्जना विशंखे पूर्वपतीपत्नी हुन् । पूर्वसभासद्समेत रहेका आहुति र विशंखेबीच पारपाचुके भएपछि आहुतिले बुद्धलक्ष्मी महर्जनसँग बिहे गरेका छन् । महर्जन पनि पार्टीमा क्रियाशील छिन् । विशंखे अन्तरिम संसद्मा विधायक थिइन् ।
पूर्वशान्ति तथा पुनर्निर्माणमन्त्री एवं पार्टी केन्द्रीय सदस्य विश्वनाथ साहकी पत्नी सीता पोखरेल सभासद् थिइन्, उनी अनेमसंघ क्रान्तिकारीकी संयोजक छिन् । पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलकी पत्नी बलावती शर्मा माओवादीको बुद्धिजीवी संगठनमा क्रियाशील छिन् । उनी अन्तरिम व्यवस्थापिकामा विधायक थिइन् ।
पोलिटब्युरो सदस्य हरिबोल गजुरेल र केन्द्रीय सदस्य झक्कु सुवेदीबीच सम्धी नाता छ । गजुरेलकी छोरी ज्योति र सुवेदीका छोराबीच विवाह भएको छ ।
पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतकी पत्नी सत्या पहाडी सभासद् थिइन् । वाइसिएल संयोजक एवं पार्टी केन्द्रीय सदस्य गणेशमान पुन र केन्द्रीय सदस्य कमला रोका दम्पती हुन् । रोका माओवादी संविधानसभा दल सचेतकसमेत थिइन् । पोलिटब्युरो सदस्य शक्ति बस्नेतकी बहिनीसँग केन्द्रीय सदस्य सूर्य सुवेदी पथिकको विवाह भएको छ । केन्द्रीय सदस्य एवं पूर्वयुवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङ र केन्द्रीय सदस्य एवं पूर्वसांसद कमानसिंह लामाबीच पनि सम्धी नाता छ ।
केन्द्रीय सदस्य गंगा श्रेष्ठकी सासू कल्पना सुवेदी सभासद् थिइन् । धादिङकी सभासद् कल्पना धमलाका पति देवेन्द्र पराजुली लमजुङमा माओवादी जिल्ला इन्चार्ज छन् । स्थायी समिति सदस्यहरू कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, दीनानाथ शर्माका नातेदारहरू केन्द्रीय राजनीतिमा छैनन् । महराका छोरा जनसेनाका एक कमान्डर छन् । यी नेताका पत्नीहरू भने राजनीतिमै सक्रिय छन् ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहित केही नेता अविवाहित छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्य, स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल, पोलिटब्युरो सदस्य स्वनाम साथी, नेकपा-माओवादी प्रवक्ता पम्फा भुसाल अविवाहित छन् । उनीहरूका आफन्त पनि केन्द्रीय तहमा छैनन् । पोलिटब्युरो सदस्यहरू जनार्दन शर्मा र नन्दकिशोर पुनका आफन्तजन पनि केन्द्रीय तहमा छैनन् । चन्द्रप्रकाश खनाल, गोपाल किराती, राम कार्की, हितराज पाण्डे, लेखराज भट्ट, हेमन्तप्रकाश वली, लोकेन्द्र विष्टमगरका आफन्त पनि पार्टीको केन्द्रीय भूमिकामा छैनन् । यसैगरी पोलिटब्युरो सदस्य निनु चापागाईं, भीमप्रसाद गौतमका आफन्तहरू पनि केन्द्रीय तहमा छैनन् ।
नेकपा-माओवादीका सचिव देवप्रसाद गुरुङकी पत्नी यशोदा सुवेदी सो पार्टीमा केन्द्रीय सदस्य छिन् । उनीहरू दुवैजना सभासद्समेत थिए । यशोदा माओवादी पोलिटब्युरो सदस्य नारायणप्रसाद शर्माकी बहिनी हुन् । नेकपा-माओवादीका पोलिटब्युरो सदस्य हितमान शाक्यकी पत्नी अमृता थापा केन्द्रीय सदस्य छिन् । शाक्य र थापा सभासद्समेत थिए । नेकपा-माओवादीका पोलिटब्युरो सदस्य कुलप्रसाद केसीपत्नी तारा सभासद् थिइन् ।
नेकपा-माओवादीका केन्द्रीय सदस्यद्वय ईश्वरी दाहाल र महेश्वर दाहाल बाबुछोरा हुन् । सोही पार्टीका केन्द्रीय सदस्य सरला रेग्मीका पति गुणराज लोहनी शिक्षक संगठनका अध्यक्ष छन् । सो पार्टीका केन्द्रीय सदयद्वय कृष्णध्वज खड्का र रेखा शर्मा पतिपत्नी हुन् । सो पार्टीका केन्द्रीय सदस्य उमा भुजेलका पति प्रज्ज्वल श्रेष्ठ रूपन्देही जिल्लाका नेता हुन् ।
नकेपा-माओवादीका महासचिव रामबहादुुर थापा बादलकी श्रीमती एकीकृत माओवादीमै केन्द्रीय सल्लाहकार थिइन् । तर, उपाध्यक्ष सचिव सिपी गजुरेलका आफन्तजन केन्द्रीय तहमा छैनन् । नेत्रविक्रम चन्द विप्लवका नातेदारहरू केन्द्रीय राजनीतिमा छैनन् । धर्मेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल, हरिभक्त कँडेल र खड्गबहादुर विश्वकर्माका आफन्त पनि केन्द्रीय राजनीतिमा छैनन् ।
from Naya Patrika

No comments:

Post a Comment