Tuesday, July 24, 2012

सेक्रेट पढेपछि किन डराए बाबुराम ?

साउन ३ गते बुधबार। बिहान १० बजे साथी केपी ढुंगाना प्रधानमन्त्री निवास, बालुवाटार गएका थिए। यही हप्ता रिलिज हुने आफ्नो पुस्तक ओपन सेक्रेटको विमोचन गरिदिन निमन्त्रणा दिन। पुस्तकप्रेमी विद्वान प्रधानमन्त्रीका रुपमा चिनिएका बाबुराम भट्टराईले ‘हुन्छ, म आउँछु’ भने। ‘साहित्यप्रति एकदमै रुचि राख्ने मान्छे हुँ। सत्य घटनामा आधारित पुस्तक रहेछ, पढ्छु पनि, कार्यक्रममा आउँछु पनि’ भनेपछि ढुंगाना दङ्ग ! जाँदाजाँदै प्रधानमन्त्रीले फेरि भने, ‘समय मैले बिर्सन सक्छु है, विश्वदीपलाई टिपाएर जानु होला। उनले पुस्तक पनि छाडेर गएका थिए।त्यही दिन राति प्रधानमन्त्रीका सहयोगीले फोन गरेर यसो पो भने- ‘प्रधानमन्त्री अहिलेसम्म किताब र पत्रपत्रिका विमोचन कार्यक्रममा जानुभा छैन, त्यसैले उहाँ आउन नसक्ने हुनुभो।’

लौ फसाद। उनले स्रोतमार्फत् प्रधानमन्त्री पत्नी हिसिला यमिसित कुरा बुझ्न लाउँदा यस्तो सन्देश पाए- ‘प्रधानमन्त्रीले वचन दिनुभएको हो भने आउनुहुन्छ, सहयोगीले भनेर हुँदैन। म आफै कुरा गर्छु।’
कुरो के भो भनेर बेलुका ८ बजे सम्पर्क गर्दा फोन उठेन। लौ न यो अचानक के भो भनी बाबुरामनिकटमार्फत् बुझ्दा पुस्तकमा विवादित विषय उठान गरेको भएर विमोचनमा आउँदा विवादमा पर्न सक्ने भएर आउन नचाहेको खुल्यो।
आखिर के छ त यो पुस्तकमा ?
बिहीबार सार्वजनिक हुने यो पुस्तक उनले मलाई अहिलेसम्म पढ्न दिएका छैनन्। उनका अनुसार मिर्जा दिलसाद वेगदेखि फैजान अहमदसम्मका ६ हत्याको घटना र त्यसपछि भएका प्रहरी अनुसन्धानमा यो पुस्तक केन्द्रित छ। सबै हत्यामा भारतीय हत्याराको नाम जोडिएको थियो। कोही पनि पक्राउ परेनन्। ‘हत्यापछि प्रहरीले गरेको अनुसन्धानले के के खुलाएको थियो ? त्यो प्रहरी र उच्च प्रशासक, नेता सबलाई ओपन सेक्रेट छ, तर सर्वसाधारणलाई अझै गोप्य’, उनी भन्छन्, ‘यसैलाई खोतल्ने प्रयास हो यो।’
पुस्तक एसएसपी रमेश खरेलले भने पढिसकेका छन्। पुस्तक बारे उनको टिप्पणी यस्तो रहेछ-
छिमेकी राष्ट्रहरूमा आफ्नो स्वार्थविपरीत काम गर्नेहरुको सफाया गर्न शक्तिशाली राष्ट्रहरुले Elimination Squad सम्म तयार गर्न पछि नपरेको कुरालाई यहाँ उल्लेख गरिएको छ। त्यतिमात्र होइन, सङ्गठित आपराधिक गिरोहहरुले पैसाका लागि Contract Killer को रुपमा काम गर्ने र नेपालमा यस प्रकारको कुसंस्कृतिको समेत विकास भइसकेको तथ्य यसमा प्रस्ट पारिएको छ।
विभिन्न देश खासगरी छिमेकी राष्ट्रका भ्रष्ट र आपराधिक पृष्ठभूमिका व्यक्तिले आफ्नो कालो धनलाई सेतो बनाउन एक उर्वर भूमिका रूपमा नेपाललाई प्रयोग गरिरहेको र भूमिगत आपराधिक सङ्गठन (अन्डरवर्ल्ड) ले समेत आफ्नो स्वार्थपूर्तिका लागि स्थानीय आपराधिक एजेन्टहरुलाई ‘युज एन्ड थ्रो’ नीतिअन्तर्गत नेपालमा उपयोग गरिरहेको खुलासा यसमा छ।
नेपाल अन्तर्राष्ट्रिय अपराधीको क्रीडास्थल बनिरहेको र अपराधको सिक्रीमा राजनीतिक पार्टीहरु, प्रहरीप्रशासन, न्यायिक निकाय र स्थानीय अपराधीहरु गाँसिएको उजागर गरिएको छ।
आ–आफ्ना स्वार्थसिद्धिका लागि भारत र पाकिस्तानका खुफिया एजेन्सीहरु नेपालमा सक्रिय रहेको र तिनीहरुको नेपालका राजनीतिक पार्टी, व्यापारिक घराना, बौद्धिक वर्ग, विद्यार्थी र सुरक्षा निकाय विशेषगरी प्रहरीमा पहुँच विस्तार भइसकेको रहस्य पुस्तकले उदाङ्गो पारेको छ।
सीमा अपराध आमनेपालीको टाउको दुखाइको विषय हो। सीमामा कार्यरत नेपालका निजामती कर्मचारी तथा सुरक्षाकर्मीको अकर्मण्यताले अपराधीले चलखेल गर्ने मौका पाइरहेका छन्। यस विषयलाई पनि पुस्तकमा महत्वसाथ उठाइएको छ।
विज्ञान र प्रविधि विकाससँगै मानव समाजसँग अपराधीहरुको समानान्तर नेटवर्क पनि विस्तार भइरहेको र नेपालमा अपराधीको यो नेटवर्कभित्र विशेषगरी आपराधिक चरित्र र पृष्ठभूमिका राजनीतिक नेता, कार्यकर्ता र सुरक्षाकर्मीको समेत संलग्नता रहेको देखिएबाट नेपालमा सङ्गठित अपराधले गहिरोसँग जरो गाडिसकेको र यसको फैलावट व्यापक बनिसकेको तथ्यलाई यसमा केलाइएको छ। यही कारण नेपाल भूमिगत, अर्धभूमिगत तथा खुला आपराधिक सङ्गठनहरुको भूस्वर्ग बनिसकेको यथार्थलाई नकार्न सकिन्न र यो हामी सबैका लागि ‘ओपन सेक्रेट’ हो भन्ने मलाई लाग्छ।
from mysansar, on July 23rd, 2012

No comments:

Post a Comment