Friday, July 27, 2012

के गर्दै छन् जेलमा former सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता ?

सर्वोच्च अदालतले सञ्चारमन्त्री बहाल भएका वेला जयप्रकाशप्रसाद गुप्तालाई सार्वजनिक पदमा हुँदा ८४ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको र उक्त रकमको कुनै स्रोत देखाउन नसकेको ठहर गर्दै डेढ वर्ष कैदको सजाय सुनाएको थियो । त्यो फैसला भएको र जयप्रकाश जेलमा बस्न थालेको पाँच महिना भइसकेको छ । राजनीतिलाई राम्रोसँग बुझेका र पटक-पटक मन्त्री भएका गणतान्त्रिक फोरमका अध्यक्ष जेपी गुप्ता अहिले सदरखोर डिल्लीबजारमा छन ।सदरखोर डिल्लीबजारमा जेपीले अरू कैदीसरह नै जेलजीवन बिताइरहेका छन् । 'म यो जेलमा मन्त्री होइन, अन्य कैदीसरह नै आफूलाई सोचिरहेको छु । मैले यहाँका कर्मचारीसँग विशेष सुविधाको माग पनि गरेको छैन । र, हिजोको यो देशको मन्त्रीले आज अन्यबाट पनि सामान्य व्यवहार नै भइरहेको पाएको छु,' उनी भन्छन्, 'जेलमा हुँदा मन्त्री थिएँ भनेर के सोच्नु ?'
हिजो खुला राजनीतिमा हुँदा जेपीले कति समय के-के खान्थे, कुन-कुन समयमा खान्थे भन्नेबारे खासै चासो हुँदैनथ्यो तर आजभोलि उनी दिउँसो एक छाक मात्र खाना खान्छन् । लगभग ११ बजेतिर खाना खाएपछि अर्को पेट भर्ने छाक उनको भोलिपल्ट मात्र हुन्छ । साँझ एक कप दही खाएर उनको भोक टर्छ । कहिलेकाहीँ हल्का जुस पनि पिउँछन् जेपी ।
अन्य कैदीजस्तै जेपीले पनि प्रत्येक दिन जेलमा सात सय ग्राम चामल र ४५ रुपैयाँ पाउँछन् । मन्त्री हुँदाको विलासी जीवन र अहिलेको जम्मा ४५ रुपैयाँ ? उनलाई आजभोलि अत्यन्तै गाह्रो परेको छ । 'सात सय ग्राम चामल र ४५ रुपैयाँले एक दिन बिताउनुपर्छ । यो कत्तिको मानवीय हो ?' गुप्ता भन्छन, '४५ रुपैयाँको के-के किन्ने ? झन् यहाँ त अन्य ठाउँभन्दा हरेक सामानको मोल १० रुपैयाँ बढी हुन्छ ।' थोरै पैसा पाउनु मात्र जेपीको पीडा भने होइन । पाँच महिनामा जेपीले धेरै नै पीडा भोगिसकेका छन् । 'यहाँ त कैदीमाथि अत्याचार हुँदो रहेछ । कुनै कैदीले आफनो पीडा बाहिरको कसैलाई भन्ने हो भने उसलाई तुरुन्तै सजाय दिइन्छ । सजायस्वरूप उसलाई दुर्गम ठाउँमा पठाइन्छ र जेल प्रशासनको इसारामा कैदीलाई कुट्न लगाइन्छ ।'
जे-जस्तो भए पनि गुप्ता हरेक दिन बिहान चार बजे उठ्छन् । नित्यकर्मपछि उनी योगा गर्छन् । बिहान ६ बजे चिया पिउँछन् । सात बजेपछि उनको पठनपाठन सुरु हुन्छ । दिउँसोेको भेटघाट नहुँदासम्म उनको पढ्ने र लेख्ने काम जारी हुन्छ । दिउँसो उनको कार्यकर्तासँग भेटघाट हुन्छ ।
सुविधामा अन्य कैदीसरह भए पनि जेपीलाई भेटघाटका लागि भने अलग्गै ठाउँ छुट्याइएको छ । उनको भेटघाटकक्षमा चार/पाँचवटा कुर्सी छन् । उनलाई भेट्न आउँदा नाम लेखाउन पनि छुट्टै कापीको व्यवस्था छ ।
तर, यी सुविधा पाए पनि जेपीलाई भ्रष्टाचारको मुद्दा लगाएको मनै परेको छैन । 'मेरो चरित्रहत्या गर्न खोजिएको छ । तर, जजसले मेरा चरित्रहत्या गर्न खोजे, म बाहिर निस्केपछि उनीहरूलाई छाड्नेछैन । मलाई फसाएर उनीहरूले ठूलो गल्ती गरेका छन् । त्यसको जवाफ उनीहरूले दिनुपर्छ ।' गुप्ता भन्छन्, 'भोलि म मात्र नभएर सम्पूर्ण मधेसी जनताले यसको जवाफ माग्नेछन् ।' जेलमा जेपीको स्वास्थ्य सामान्य नै छ । सामान्य रूपमा कहिलेकाहीँ ब्लडप्रेसर हाई हुनुबाहेक उनलाई अरू कुनै समस्या छैन ।

साहित्यकार बन्न खोज्दै छन् जेपी

जेलभित्र जेपीले बिपीलाई फलो गर्ने सोच बनाएका छन् । आफ्नो अनुभव तथा अन्य विषयलाई मिलाएर उनले तीनवटा किताब निकाल्ने सोच बनाइसकेका छन् । आजभोलि पनि उनी दिनदिनै कथा तथा कविता लेख्छन् । जेलबाट निस्केपछि उनले ती किताब प्रकाशन गर्ने सोचाइ बनाएका छन् । आफनो राजनीतिक यात्रालाई समेटेर उनी एउटा संस्मरण पनि लेख्दै छन् । उनले आफ्नो जेलको अनुभव समेटेर जेल के हो र जेलमा कसरी बस्नेे किताब पनि लेख्दै छन् ।
जेल के हो र जेलमा कसरी बस्ने भन्ने शीर्षकको किताबलाई उनले बढी महत्त्व दिएका छन् । यसमा उनले आफ्नो जेल बस्दाका अनुभव समेट्ने भएका छन् । त्यसैगरी, उक्त किताबमा जेल बसेका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्वको जानकारी समेट्न भएका छन् । उक्त संस्मरणमा कृष्णप्रसाद भट्टराई, बिपी कोइराला, नेल्सन मन्डेला, महात्मा गान्धीलगायत व्यक्तित्वको जेल संस्मरण पनि समेट्ने उनको योजना छ । किताब प्रकाशन गर्नका लागि अहिलेसम्म एक सय २५ पेज पाण्डुलिपि तयार भइसकेको उनले जानकारी दिए । 'मधेसका भावी पुुस्ताले जेल के हो र किन जेलमा बस्नुपर्ने रहेछ भनेर बुझ्नका लागि यो किताब निकै महत्त्वपूर्ण हुनेछ,' गुप्ताले भने, 'मधेसको अधिकार प्राप्तिका लागि लडिने लडाइँ अझै लामो समय चल्नेछ । जेलबारे बुझ्नका लागि मधेसका युवा जेलमा बस्नुपर्नेछ ।'
उनी कवितासंग्रह पनि निकाल्ने तयारी गर्दै छन् । उनले ११ वटा कविता र दुईवटा कथा लेखिसकेका छन् । अरू करिब एघारवटा कविता लेखेर किताब निकाल्ने तयारीमा उनी लागेका छन् । 'जेलमा बसेर म कवि पनि भएको छु । कविता र कथा लेख्दै छु । कहिले नफुरेका कविता जेलमा फुरिरहेका छन्,' गुप्ताले भने । सामान्यतया उनी बिहान सात बजेपछि कथा, कविता र संस्मरण लेख्न बस्छन् । त्यति मात्र होइन, जेलभित्रबाटै उनी हरेक दिन कम्तीमा पाँचवटा चिठी पनि लेख्छन् । 'विशेषगरी जिल्लामा रहेका पार्टीका कार्यकर्तालाई चिठी लेख्छु,' उनी भन्छन् ।

दिनमा ७०/८० जना भेट्छन् जेपी

सामान्यतया जेपीलाई दैनिक विभिन्न दलका ७० देखि ८० नेता तथा कार्यकर्ता भेट्न आउँछन् । मधेसवादी दलका प्रायः सबै नेताले उनलाई भेटिसकेका छन् । सरकारमा रहेका गृहमन्त्री, स्वास्थ्यमन्त्री, भौतिक योजना तथा निर्माणमन्त्री उनलाई बारम्बार भेट्नेमा पर्छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर उनलाई भेट्न पटक-पटक जेलमा जाने गर्छन् तर राजकिशोर यादव सञ्चारमन्त्री भएपछि एकपटक पनि उनलाई भेट्न गएका छैनन् । राजकिशोर मन्त्री हुनुपूर्व उनलाई भेट्न गएका थिए । नेपाली कांग्रेस, एमालेलगायत अरू दलका नेता पनि उनलाई भेट्न आउने गर्छन् । जेल भित्रैबाट जेपी पार्टी व्यवस्थापनमा व्यस्त छन् । उनलाई पार्टीका कार्यकर्ता र नेता नियमित भेट्न आउँछन् । आफूलाई भेट्न आउने नेतालाई उनले जेलबाटै निर्देशन दिने गरेका छन् ।
फोरम गणतान्त्रिकभित्रका विवाद उत्कर्ष पुगेका वेला दुवै पक्षका नेता अलग-अलग समय जेपीलाई भेट्न जान्छन् ।
गुप्ता जेल गए पनि उनका लागि अध्यक्ष पद कायमै राखिएको छ । पार्टीको कार्यालयमा उनका लािग कुर्सी पनि कायमै राखिएको छ । जेपी जेल गएपछि गणतान्त्रिक फोरमभित्र भइरहेको विवादले भने उनको मन दुखाएको छ । 'म जुन पार्टीको संस्थापक अध्यक्ष छु । त्यो पार्टीभित्र अहिले विवाद भइरहेको छ । पार्टीभित्रै नेताबीच आरोप-प्रत्यारोप भइरहेको छ । यसबाट म निकै दुखित छ,' गुप्ता भन्छन्, 'पार्टी स्थापना भएको छोटो समयमा मधेसमा पार्टी निकै लोकपि्रय भएको थियो । त्यही वेला म जेलमा आएँ तर अहिले पार्टीको हालत देख्दा मलाई अत्यन्तै नरमाइलो लागेको छ ।'

· भुवन शर्मा
from Nayapatrika daily newspaper 

No comments:

Post a Comment