Tuesday, July 24, 2012

एक्ला रहेनन् कुसुन्डा

काशीराम डाँगी रोल्पा, श्रावण ८ -
जिल्लाकै एक्ला कुसुन्डालाई आजभोलि एक्लै देख्न विरलै पाइन्छ । अरू आफन्त नभएका लालबहादुर कुसुन्डा यताउता गर्दासमेत छिमेकी गाउँकी बेलमती पुनसँग देखिन्छन् । बसोबास र जीवनशैली पनि बदलिएको छ । वर्षौंसम्म अर्काको घरमा हली र र खेताला बनेर बसेका कुसुन्डा अहिले चिटिक्कको घरमा सरेका छन् । 

कुसुन्डाको जीवनमा अचानक यो परिवर्तन पत्याउन धेरैलाई मुस्किल पर्छ । तर ४२ वर्षे लालबहादुरको जीवनसाथीका रूपमा ३९ वर्षकी बेलमती आएपछि नपत्याइने कुरै भएन । तीन महिनाअघि बिहे गरेको यो जोडीलाई देखेर उनीहरू मात्र हैन, गाउँ सखी टुनीबोटका बासिन्दासमेत खुसी छन् ।

४१ वर्षअघि बुवाका साथमा सल्यानबाट रोल्पा छिरेका उनका बहिनीबाहेक अरू कोही छैनन् । प्रस्ट बोल्न नसक्ने उनी लामो समय जंगलमै घुमेर बसे । अभिभावक सबैले छाडेपछि एक्ली बहिनी रिताका लागि अरूका घरमा पसिना बगाए । केही वर्षअघिसम्म पैसा र होलेरी बजारसमेत नदेखेका उनले विवाह गर्ने र घर बनाउने कल्पना कहिल्यै गरेका थिएनन् । 'घर बनाउने र बिहे गर्न मन छैन भन्दै आएका थिए,' छिमेकी डम्बरबहादुर थापाले भने ।

जंगलका 'राजा' भनेर चिनिने लोपोन्मुख जाति कुसुन्डाका एक्ला रोल्पाली सदस्य लालबहादुरले दुई वर्षअघि जिल्ला प्रशासनबाट नागरिकता लिएका थिए । स्थानीयवासी र केही सरकारी कार्यालयको पहलमा उनको तीन महिनाअघि विवाह भएको हो । विवाह गर्ने भएपछि उनका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाले उनी बस्दै आएको सखी गाविसमै घर बनाइदिएको

हो । जनता आवास कार्यक्रम अन्तर्गत घर बनाइदिएपछि अहिले यो दम्पती बस्दै आएको डिभिजनका प्रमुख सुवास बस्नेतले बताए ।

जिल्लामा कुसुन्डाको सन्तान वृद्धिका लागि आशीर्वाद दिने मेसो मिलाउन डिभिजन कार्यालयले सदरमुकाममा विवाह भोजसमेत गराएको थियो । जिविस र गाविसबाट लोपोन्मुख जातिलाई दिइने राहत रकम लिँदै आएका लालबहादुरका लागि स्थायी स्रोत जुटाई बसाल्न प्रयास गरिएको सखी गाविस सचिव विष्णु बहकरीले बताए । उनका अनुसार उनीहरूलाई नियमित आयस्रोतको व्यवस्था मिलाउन सबैलाई आग्रह गरिएको हो । उनकी बहिनी रिताको भने पहिले नै विवाह भइसकेको छ ।

from Kantipur

No comments:

Post a Comment