Thursday, June 16, 2011

घाइते 6apamar भन्छन् : पेन्सन देऊ

from Kantipur/राजकुमार कार्की
सिन्धुली, अषाढ २ -
जनयुद्धका बेला उनको सपना मुलुकको आमूल परिवर्तन थियो । लडाइँ क्रममा उनको बायाँ आँखाको ज्योति गुम्यो । सिन्धुलीको कल्पवृक्ष १ का रामकुमार बम्जन राज्यले एउटा आँखाको मोल एक लाख लगाएको भन्दै चित्त दुखाउँदै छन् ।
माओवादी सेनाको २ नं. डिभिजनअन्तर्गत रामवृक्ष सहायक शिविरमा रहेका उनले भने, 'थोरै राहतभन्दा युद्धका घाइते जोसुकैलाई राज्यले हेर्ने नजर सकारात्मक हुनुपर्छ, पैसासँग तुलना नगरी सम्मानसाथ जीवन निर्वाह गर्ने माध्यम बनाइदिनु पर्‍यो ।'
द्वन्द्वमा अंगभंग भएका लडाकुलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयले उपलब्ध गराएको राहत रकम वितरणपछि अधिकांश लडाकुले असन्तोष प्रकट गरेका छन् । घाइतेको अवस्था हेरी समितिले ४० हजारदेखि एक लाखसम्म राहत वितरण गरेको

छ । ०६१ सालमा लहानको राष्ट्रिय वाणिज्य बैंक लुट्ने क्रममा आँखाको ज्योति गुमाएका बम्जनले जीवन निर्वाह गर्ने बाटो बनाइदिन सरकारलाई आग्रह गरेका छन् ।

२०५८ सालमा सर्लाहीको लालबन्दी प्रहरी चौकी आक्रमण क्रममा घाइते भई दाहिने हात गुमाएका कपिलाकोट ४ का मइतेसिङ थिङको दुःखेसो पनि बम्जनको जस्तै छ । आफ्नो हातको तुलना पैसासँग हुनै नसक्ने उनको तर्क छ । उनले एक लाख राहत पाए । 'जीवनको सवाल छ, एक लाखले के हुन्छ ?, राज्यकै लागि लडेकाले उचित संरक्षण हुनुपर्‍यो,' थिङले भने, 'रोजगारीको ग्यारेन्टी र आजीवन पेन्सन हुनुपर्छ ।' राज्यका अन्य सेना र प्रहरीले पाउने सुविधा नै पाउनुपर्ने घाइते लडाकुले माग गरेका छन् । 'हामीलाई सक्ने काम लगाए गर्न तयार छौं तर जीविकाको ग्यारेन्टी गर,' बम्जनले सरकारलाई अनुरोध गर्दै भने, 'हामी यो पक्ष र त्यो पक्ष भन्दैनौं तर जीवन गुजाराको माध्यम देखाइदिनै पर्छ ।'

अर्का घाइते  पुरानो झाँगाझोली ३ का विष्णु विशंखेले भने, 'पेन्सन सुविधाको हामी जोडदार माग गर्छौं ।' २०६२ सालमा मलंगवा आक्रमणका दाहिने हातका चार औंला गुमाएका उनले ४० हजार राहत पाएका छन् । 'आँसु पुछ्ने काममात्र भयो, दलहरूले शिविरका घाइते लडाकुको समस्या नै बुझेनन्,' उनले दुःख दर्शाए ।

०६२ सालमै भोजपुरको घोडेटारमा बम धमाकामा परी घाइते भएकी बच्चु गोले खड्का द्वन्द्वमा घाइते भएका सबैको जीवन ग्यारेन्टी सरकारले लिनुपर्ने बताउँछिन् । 'सानो राहतले जीवन निर्वाह हुन सक्दैन,' उनले भनिन्, 'हामीलाई सक्ने काम लगाउनु तर राम्रैसँग बाँच्न पुग्ने व्यवस्था हुनुपर्छ ।' भोजपुरकै पान्धारे आक्रमण क्रममा खुट्टामा गोली लागेकी कपिलाकोट २ की हस्तमाया मोक्तान अबको सेना समायोजन र पुनस्र्थापनाका क्रममा शिविर बाहिर भइयोे भने जीवन निर्वाह गर्न कठिन हुने धारणा राख्छिन् । 'अब पनि गाउँ फर्किएर घाँस दाउरा गर्न सक्ने अवस्था छैन,' उनले आफ्नो अवस्था दर्शाउँदै भनिन्, 'पेन्सन-भत्ता देऊ, घाइते, अपांगलाई नजिकबाट

हेर ।' ढिलै भए पनि घाइते लडाकुलाई राहत उपलब्ध गराइएकाले सकारात्मक सन्देश जाने भन्दै दोस्रो डिभिजनका सहायक कमान्डर उत्तम पाण्डेले घाइतेका अवस्थाअनुसारको राहत नआएको बताए ।

प्रकाशित मिति: २०६८ अषाढ ३ ०८:४६

No comments:

Post a Comment