Saturday, June 18, 2011

फुट्ला माओवादी?

image
चार वर्षदेखि शिविरमा बसेको सेना समायोजन हुने वा नहुने र संविधान बन्ने वा नबन्ने निश्चित नभएसम्म माओवादी जुटिरहन नसके पनि फुट्ने अवस्था छैन
Netra Panthi नयाँ पत्रिका
काठमाडौं, ३ असार 
एउटै रंगको पोसाक, एउटै शैली र एउटै बोली लिएर शान्तिप्रक्रियामा आएका माओवादी नेताहरू चार वर्ष पुग्दा-नपुग्दै थरीथरीका कुरा गर्न थालेका छन् । परिआए सँगै मरौँला भनेर छापामार युद्धको नेतृत्व गरेका माओवादी नेताहरू अहिले एउटै मञ्चमा उभिएर बोलेको पनि ठूलो समाचार बन्न थालेको छ ।

पछिल्लोपटक बिहीबार अध्यक्ष प्रचण्ड, उपाध्यक्ष किरण र डा. बाबुराम भट्टराईले रौतहटमा एउटै मञ्चमा उभिएर भने, 'पार्टी फुट्न दिँदैनौँ ।' सामूहिक रूपमा नेताहरूबाट आएको यो अभिव्यक्तिले थप पुष्टि गरेको छ- माओवादीको अन्तरसंघर्ष फुटको संघारसम्म पुगिसकेको छ । तर, शीर्ष नेताहरूले मात्र होइन, अरू नेता पनि पार्टीको 'विचार बहस'लाई एक बिन्दुमा लगेर हल गर्नेमा विश्वस्त छन् । 'संविधानसभाको सबैभन्दा ठूलो पार्टीसँग देश र जनताका धेरै अपेक्षा छन्, माओवादी नै अहिले देशमा सबैभन्दा राम्रो विकल्प हो,' माओवादी पोलिटब्युरो सदस्य हरिबोल गजुरेल 'शीतल कुमार' भन्छन्, 'एकताको विकल्प छैन, विचारको बहसलाई एउटा बिन्दुमा पुर्‍याएर हल गर्छौं ।'
एकताको सूत्र खोज्न ८ असारमा माओवादीले केन्द्रीय समिति बैठक बोलाएको छ र यो बैठकले समस्या हल गर्ने नेताहरूको विश्वास छ । 'केन्द्रीय समिति बैठक बोलाइएको छ, हामीले त्यहाँ अध्यक्षबाट सकारात्मक प्रतिवेदन आउने अपेक्षा गरेका छौँ, त्यसो भयो भने कुरा मिल्छ,' किरणनिकट मनिएका माओवादी नेता हरिभक्त कँडेल प्रतीकले भने, 'पार्टीलाई एकताबद्ध गरेर लैजान अध्यक्षले भूमिका खेल्नुपर्छ, हामीले त्यस्तो अपेक्षा गरेका छौँ ।' 
माओवादी नेता राम कार्की देशलाई अगाडि बढाउने कार्यदिशाको आह्वान गर्दै महाधिवेशनमा जाने निर्णय र तयारी गर्न सके एकताको बलियो आधार बन्ने बताउँछन् । 'नयाँ कार्यदिशा कस्तो बनाउने भन्ने केन्द्रीय समितिमा आह्वान गर्दै महाधिवेशनमा जाने, जिल्ला कमिटीहरूलाई निर्वाचित बनाउने र पार्टी कोषलाई एउटा पद्धतिबाट चलाउने हो भने एकता भइहाल्छ,' कार्कीले भने, 'सबैको भूमिकालाई सम्मान गर्ने परिपाटी र ठीक ढंगको कार्यविभाजन पनि अनिवार्य हो ।' 
माओवादीभित्र भएको त्रिपक्षीय शक्ति सन्तुलनले पनि तत्काल पार्टी फुटाएर हिँड्ने सम्भावना कमजोर छ । माओवादीका एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष प्रचण्डको कार्यशैलीको विरोध भए पनि पार्टी फुटाएर अर्को पक्ष जाने र मजबुत संगठन बनाउन सक्ने अवस्था छैन । तर पनि फुटको हल्ला हरेक नेता तथा कार्यकर्ताको कानमा पुगेको छ । 'फुटको हल्ला भएकै छ, भिन्दाभिन्दै तहमा भएका गोप्य भेला र आ-आफ्ना च्यानलमा पुर्‍याएका सन्देशले यसलाई मलजल गरेको छ,' माओवादीका एक केन्द्रीय सदस्यको भनाइ छ,'फुटबारेमा कहिले एसएमएस काण्ड हुन्छ, कहिले सर्कुलरजस्तो हुन्छ, यसले भ्रम पैदा गरेको छ ।' 
अध्यक्ष प्रचण्डनिकट मानिएका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश वली सुदर्शन नेतृत्वलाई गाली-गलौज गर्न बन्द गर्ने हो भने एकताको राम्रो आधार बन्ने बताउँछन् । 'जनवादी केन्द्रीयता लागू गर्ने, नमान्नेमाथि कारबाही चलाउने र नेतृत्वलाई गाली-गलौज नगर्ने हो भने समस्याको हल गर्न सजिलो हुन्छ,' सुदर्शनले भने, 'किरण कमरेडहरूले जसरी नेतृत्वलाई गाली गरिरहनुभएको छ त्यो त खेदजनक नै छ ।' उनी पार्टीभित्रको अहिलेको अन्तरसंघर्ष फुटको अवस्थामा नपुग्नेमा विश्वस्त छन् । 
उता किरणनिकट मानिएका माओवादी पोलिटब्युरो सदस्य प्रतीक मूल नेतृत्वले नै आफूलाई एकमनावादी तरिकाले चलाउन छाडे पार्टीभित्र बलियो एकता बन्ने बताउँछन् । 'एकमनावादी तरिकाले चल्ने सोच बदल्नैपर्छ,' उनले भने, 'सबैले विधिको पालना गर्नुपर्छ, आफूलाई चाहिँदा मात्र अनुशासन र विधिको कुरा गर्ने सोचले मात्र पुग्दैन ।' उनले पार्टीभित्र नेता तथा कार्यकर्ताको मूल्यांकनको विधि ठीक बनाउन आवश्यक रहेको पनि बताए । 
उपाध्यक्ष बाबुरामनिकट रहेका पार्टी केन्द्रीय सदस्य कुमार पौडेल अध्यक्ष प्रचण्डको व्यक्तिवादी सोचले समस्या पैदा गरेको बताउँछन् । 'उहाँ -प्रचण्ड) मा अलिकति व्यक्तिवादी सोच हावी छ, त्यसलाई सच्याउनुपर्छ,' पौडेलले भने, 'पार्टीभित्र सबैको भूमिकाको सम्मान गर्नु नै एकताको आधार हो ।' उनले अहिले पार्टीलाई एकताबद्ध बनाउन आवश्यक रहेको पनि बताए । 
विवाद मिलाउन र संवादहीन अवस्थामा बसेका शीर्ष नेताहरूबीचको छलफललाई बाक्लो बनाउन युवाहरूले पनि प्रयास गरेका थिए । उनीहरूले पार्टी शीर्ष नेताहरूलाई छुट्टै भेटे र विवाद मिलाउन आग्रह गरे पनि । तर, केही समयपछि त्यो समूहलाई हरेक पक्षले अर्को समूहका लागि काम गर्न थालेको आरोप लगाएपछि युवा समूह निष्त्रिmय भएको छ । 
'पार्टी एकता, क्रान्तिकारी रूपान्तरण र क्रान्त्िाको पूर्णताबारे कुरा राख्यौँ । हामीले अध्यक्षदेखि स्थायी समिति सदस्यसम्म भेट गर्‍यौँ र दबाब सिर्जना गर्ने प्रयास गर्‍यौँ । नेताहरूबाट सहज रूपमा लिने काम भएको छ, हामीले व्यवहारमा पनि चाहेका छौँ । यसो हुनेबित्तिकै एकताका लागि मूल आधार तयार हुन्छ भन्ने हाम्रो तर्क हो,' एकताका लागि पहल गरिरहेका युवा नेता रामदीप आर्चायले भने ।
माओवादी नेताहरूलाई जनसेनाका कमान्डरहरूले पनि मिलेरै जान सुझाब दिए । कमान्डरहरूले समायोजन र पुनस्र्थापनाका विषयमा एकीकृत धारणा बनाउन पार्टी नेतृत्वलाई सुझाब पनि दिएका थिए । प्रचण्ड र उपाध्यक्ष भट्टराई पक्षधर नेताहरूले समायोजन र पुनस्र्थापनाका विषयमा अगाडि सारेको प्रस्तावमा उपाध्यक्ष किरणले फरक मत राखेपछि कमान्डरहरूले एकीकृत धारणा बनाउन सुझाब दिएका थिए । 
शान्ति र संविधानको पछिल्लो कार्यदिशामा फरक मत दर्ज गरेको उपाध्यक्ष किरणपक्ष मात्र होइन, कार्यदिशामा प्रचण्डसँग सहमत उपाध्यक्ष डा. भट्टराई पनि आफ्नै समूह संगठित गर्ने अभियानमा छन् । 'अध्यक्ष र किरणले निकटका नेताहरूसँग जसरी छलफल गर्नुहुन्छ, बाबुरामले पनि आफ्नो समूहका नेतासँग परामर्श गरिरहनुहुन्छ,' माओवादी एक केन्द्रीय सदस्यले भने, 'आफ्नो ब्याकअप बलियो भयो भने पार्टी र निर्णयमा पकड बनाउन सकिन्छ भन्नेमा बाबुरामले सचेत रूपमा काम गर्न थाल्नुभएको छ ।'
तर, उता पालुङटारपछि बसेको केन्द्रीय समिति बैठकले रूपान्तरण एकता र विद्रोहको नीति लिएको भए पनि त्यो कार्यदिशा कार्यान्वयनमा नभएपछि कम्युनिस्ट आन्दोलन सुधारवादतर्फ जान लागेको किरणपक्षको आशंका छ । प्रचण्डले ल्याएको प्रस्तावले जनताका पक्षमा शान्ति र संविधानको काम पूरा हुन सक्दैन र यसले जनयुद्ध तथा जनआन्दोलनको म्यान्डेट पनि गर्दैन भन्ने किरणको ठम्याइ छ । 

नेताहरूको बिग्रँदो सम्बन्ध 
किरण, बाबुराम र म जनयुद्धको तयारीदेखि अहिलेसम्म सँगै छौँ, हामीबीच लगातार एकता र संघर्षको सम्बन्ध रहँदै आएको छ । हामीबीचमा जोड र कोणमा पनि फरक छ । कहिलेकाहीँ हामी कसैसँग नजिक र टाढा पनि हुने गरेका छौँ । र, अहिले पनि अवस्था योभन्दा पृथक छैन - प्रचण्ड
प्ालुङटार विस्तारित बैठकपूर्व जस्तै शीर्ष नेताहरूबीच दूरी निकै बढेको छ अहिले पनि । पार्टीभित्रका तीन नेता प्रचण्ड, किरण र बाबुराम आ-आफ्ना योजनामा र एक-अर्काको आलोचनामा समय खर्चंदै छन् । एक-अर्काप्रति आरोपका बुँदा तयार पारेका छन् । किरण पक्षले प्रचण्डमा देखिएका विचलन भन्दै तयार पारेको १८ बुँदे पत्र सार्वजनिक नै भयो । 
तीनै नेताबीच पानी बाराबारको अवस्था नभए पनि उनीहरूबीचको सम्बन्ध हार्दिक रहन सकेको छैन । यो मनोविज्ञान तलैसम्म पुगेको छ आ-आफ्ना च्यानलमार्फत । धेरैको बुझाइ छ- प्रचण्ड परिस्थिति हेरेर कहिले किरण त कहिले भट्टराईसँग नजिक हुन पुग्छन् । दुवैसँग प्रचण्डको स्थिर होइन, चलायमान सम्बन्ध हुन्छ । अहिले प्रचण्ड दुवै उपाध्यक्षको निसानामा छन् । 
यसअघि प्रचण्डले उपाध्यक्षद्वयसँगको बिगि्रएको सम्बन्धलाई आफ्नो दस्ताबेजमै उल्लेख गरेका थिए । प्रचण्डलेे नेताहरूसँगको सम्बन्ध कोट्याउँदै भनेका थिए, 'किरण, बाबुराम र म जनयुद्धको तयारीदेखि अहिलेसम्म सँगै छौँ, हामीबीच लगातार एकता र संघर्षको सम्बन्ध रहँदै आएको छ । हामीबीचमा जोड र कोणमा पनि फरक छ । कहिलेकाहीँ हामी कसैसँग नजिक र टाढा पनि हुने गरेका छौँ ।' र, अहिले पनि अवस्था योभन्दा पृथक छैन । 
प्रचण्डलाई कहिले किरण र कहिले भट्टराईसित नजिक हुने गरेको आरोप लाग्छ । 'अलिकति नयाँ ढंगले जानुपर्छ भन्दा बाबुरामजीसँग कुरा मिलेजस्तो हुन्छ, अनि क्रान्तिकारी सिद्धान्तको रक्षा गर्नुपर्छ, आन्दोलन छाड्नु हुँदैन भन्दा किरणजीसँग मिलेजस्तो देखिने गरेको छ,' प्रचण्डले भन्दै आएका छन् । 
प्रचण्डले बाबुरामसँग संघर्ष प्रधान र एकता सहायक तथा किरणसँग एकता प्रधान र संघर्ष सहायक हुने गरेको अनुभव सुनाउँदै आएका छन् । 'बाबुरामजीसँग एकता र संघर्षको स्थिति हेर्ने हो भने उहाँसँग संघर्षको पक्ष प्रमुख हो जस्तो लाग्छ । एकता कहिलेकाहीँ हुन्छ,' प्रचण्डले भनेका छन्, 'किरणजीसँग एकता प्रमुख छ, संघर्ष कहिलेकाहीँ हुन्छ । तर, कहिलेकाहीँ हुने संघर्ष निकै तीखो र पेचिलो पनि हुने गर्छ ।' प्रचण्डले 'बाबुरामजीको नयाँ ढंगले जानुपर्छ भन्ने कुरा सकारात्मक हुँदाहुँदै पनि त्यहाँभित्र बुर्जुवा सुधारवादमा सीमित रहने सार छ कि भन्ने मलाई लागिरहन्छ' भन्ने शंकासमेत राख्ने गरेका छन् । 
प्रचण्डले नयाँ विकास गर्ने क्रममा बाबुरामसँगको नजिकपन र सिद्धान्तरक्षाको सवालमा किरणसँग हुने नजिकपनका कारण नै आफूमाथि मध्यपन्थीको आरोप लाग्ने गरेको पनि खुलासा गरेका छन् । प्रचण्डमाथि लगातार सारसंग्रहवादीको आरोप लाग्ने गरेको छ । 'उहाँहरू दुवैले मलाई अकर्मन्यतावादी र मध्यपन्थी भन्ने गर्नुभएको छ, जुन नयाँ होइन । जनयुद्धपूर्व पनि यस्तै भन्नुहुन्थ्यो, त्यो बहस यहाँ आइपुगेको मात्र हो,' प्रचण्डले भनेका छन्, 'यसलाई सकारात्मक रूपमा हेर्दा म आफैंलाई माक्र्सवादी-लेनिनवादी-माओवादी पाउँछु । उहाँहरूले एक-एकवटा सानो पाटो समातेर तन्काइरहनुभएको छ । उहाँहरूको तुलनामा म आफूलाई द्वन्द्ववादी पाउँछु ।' 
आफूलाई कहिले कोसँग त कहिले कोसँग मिलेको आरोप धेरै पहिलादेखि नै लाग्ने गरेको प्रचण्डसँग अनुभव छ । 'यो विषय अहिले मात्र उठेको भने होइन । ०४७-४८ सालतिर पनि प्रचण्ड भनेको टाकनटुकन मिलाउने मात्र हो, वास्तविक लिडरहरू अरू हुन् भन्ने चर्चा चर्कै रूपमा चल्ने गथ्र्यो,' प्रचण्डले भने, 'जनयुद्धमा हामफाल्नुभन्दा ठीक अगाडि त निकै तीतो र तीखो संघर्ष पनि भयो । चौथो विस्तारित बैठकवरिपरि पनि त्यस्तै अवस्था थियो ।' 
प्रचण्डले सबैले आफ्नो पोजिसन स्पष्ट गर्नुपर्ने वेला पनि आएको भन्दै सबैका कमजोरी कहाँ छन् र सबल पक्षहरू के-के हुन् ती पनि भविष्यमा देखिँदै जाने बताए । भारतीय विस्तारवादविरुद्ध संघर्षको पक्षलाई बाबुरामले सहायक बनाउन खोजेकोमा त्यहाँभित्र गम्भीरखालकै समस्या रहेको दाबी प्रचण्डको आशंका छ । 'अर्कोतिर नयाँ ढंगले जानुपर्छ भन्ने कुरा गर्दा किरणलाई बर्बादै हुने हो कि भन्ने लाग्छ । परम्परागत ढंगले चल्ने कुरा उहाँलाई ठिकै लागे पनि नयाँ गर्न खोज्नेबित्तिकै बिगि्रयो भन्ने परिहाल्छ । उहाँको सीमा यहीँनेर हो,' किरणबारे भनेका छन्, 'अहिले उठिरहेका विषयलाई सकारात्मक ढंगले हेर्दा खबरदारी मान्न सकिन्छ, तर प्रवृत्तिगत ढंगले हेर्दा व्यवधानजस्तो पनि देखिन्छ ।' 
किरणले प्रचण्डमाथि दर्शनमा सारसंग्रहवादी रहेको, राजनीतिमा मध्यपन्थी अवसरवादी हुँदै दक्षण्िापन्थी सुधारवादतर्फ उन्मुख र राष्ट्रिय आत्मसमर्पण्ावादतर्फ उन्मुख देखिएको जस्ता आरोप पनि लगाएका छन् । प्रधान अन्तरविरोध भारतीय विस्तारवादको दलाल पुँजीपति वर्गसँग भनिए पनि व्यवहारमा कार्यान्वयन नगरेको, राष्ट्रिय स्वाधीनताको नारालाई ओझेलमा पारेको, भारतीय विस्तारवादपरस्त र तिनका दलाल वर्गसँगको सहकार्यमा जोड दिएको आरोप पनि किरणले प्रचण्डमाथि लगाएका छन् । किरणले लगाएका यस्ता आरोपले नेताहरूबीच दूरी बढाउनलाई मद्दत पुर्‍याएको छ । 
राज्यका अंगहरूमा उत्पीडित जाति, महिला, मधेसी, दलित आदिको समानुपातिक प्रतिनिधित्व भनिए पनि व्यवहारमा कहीँकतै लागू नगरिएको, खुला सिमाना र बाह्य जनसांख्यिक अतिक्रमण्ा बढिरहेको स्थितिमा विदेशीलाई अंगीकृत नेपाली नागरिकता वितरण्ा गर्ने व्यवस्थालाई खुकुलो बनाइएको, पार्टीको अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धलाई निषेध गरेको र वर्ग दुश्मन- विशेषगरी भारतीय विस्तारवादी खुफिया एजेन्सीसँगको सम्बन्धमा जोड दिएकोजस्ता आरोप पनि लगाएका छन् ।
संगठनमा आत्मकेन्दि्रत व्यक्तिवादी प्रवृत्ति देखिएको, भिन्न मतलाई निषेध गरी शत्रुतापूण्र्ा बनाउने र भौतिक आक्रमण्ा तथा कुटपिटमा उत्रनेजस्ता सामाजिक फासीवादी प्रवृत्तितर्फ उन्मुख देखिएको पनि आरोप छ । आर्थिक आचरण्ामा भ्रष्टीकरण्ातर्फ उन्मुख देखिएको, पद, पैसा र प्रतिष्ठाका लागि नैतिक-अनैतिक जे पनि गर्ने प्रवृत्ति देखिएको, आर्थिक हरहिसाब र आयव्यय कमिटी प्रण्ाालीविहीन बनाएको र पूरै व्यक्तिवादी ढंगले पार्टीको स्रोत-साधनको दुरुपयोग गर्ने प्रवृत्ति बढेको आरोप पनि किरणको छ ।
प्रचण्ड पक्षधर नेताहरू भने हरेक ऐतिहासिक ठाउँमा नयाँ निर्णय लिन सकेकोले माओवादी अहिले विशाल पार्टी भएको दाबी गर्छन् । '०४६ मा नेतृत्वमा आएदेखि नै उहाँले ऐतिहासिक अवस्थामा ठोस ठोस निर्णय गर्दै आउनुभएको छ, तर पनि पार्टीभित्र आलोचना गर्ने परम्परा नै बन्न गएको छ,' एक नेताले भने । 
०४८ सालको संसदीय चुनाव उपयोग गरेपछि माओवादी संसद्वादमा फस्यो पनि भनिएको थियो । तर, प्रचण्डले संसद्बाट उतातेर माओवादीलाई जनयुद्धमा लगे । 'जनयुद्ध सुरु भएपछि पनि वादविवाद भए, त्यसका बाबजुद पनि चौथो विस्तारित बैठकले आधार इलाका निर्माण र नेतृत्व केन्द्रीकरणका विषयमा निर्णय लियो,' प्रचण्डले आफूनिकट नेताहरूसँग भन्ने गरेका छन्, 'अबकोे मुख्य मुद्दा शान्ति र संविधानकै हो । मेरो नियतमा शंका गर्न आवश्यक छैन । मैले भन्न खोजेको मात्र के हो भने अहिले विद्रोहमा जाने परिस्थिति छैन र विद्रोह हुने सम्भावना पनि छैन ।'
अध्यक्ष प्रचण्डपक्षले बाबुरामले अगाडि सारेको 'सुधारवादी' कार्यदिशा र किरणले अगाडि सारेको 'जडसूत्रवादी' कार्यदिशाले नेपाली क्रान्तिलाई पूर्णता दिन नसक्ने बताउने गरेका छन् । प्रचण्डले अगाडि सारेको शान्ति र संविधानको कार्यदिशा नै ठीक रहेको तथा अहिले पार्टीले लिएको कार्यदिशाले पार्टी दक्षिणपन्थी धारमा जान्छ भन्ने किरणको आरोपमा दम नभएको बताउँदै आएका छन् ।

माओवादीभित्रका विवादित मुद्दा
माओवादीभित्र अहिले केही सैद्धान्तिक त केही प्राविधिक विषयमा मतभेद छन् । पछिल्लोपटक शान्ति र संविधानसँग जोडिएका विषयमा माओवादीभित्र बढी नै तनाव छ । यो तनावले शान्तिप्रक्रिया र संविधान निर्माण प्रभावित हुने हो कि भन्ने आशंकासमेत गरिएको छ । 'संक्रमणकालीन अवस्थामा अगाडि बढिरहेका वेला संविधानसभाको ठूलो दलमा मतभेद देखिँदा त्यसको प्रभाव प्रक्रियामा पर्छ,' माओवादी नेता देव गुरुङको भनाइ छ । 
पालुङटार विस्तारित बैठकपछि तयार भएको विद्रोहको कार्यदिशालाई स्थगन गरेर प्रचण्डले शान्ति र संविधानको कार्यदिशा अगाडि सारेपछि माओवादीभित्र मतभेद चर्कन सुरु भएको थियो । शान्ति र संविधानमा जाने कार्यदिशामा उपाध्यक्ष किरणले फरक मत राखेपछि विवादको पारो बढेको थियो । सैद्धान्तिक मतभेद कायमै रहेका वेला संविधानसभा म्याद थप आसपास गरिएका निर्णयहरूमा पनि किरणको फरक मत आयो । 
पछिल्लोपटक सेना समायोजनका विषयमा भएका निर्णय र त्यहाँ देखिएका मतभेदले विवाद झ्नझन् उल्झेको छ । उपाध्यक्ष किरण र सचिव गौरवले दोहोरो सुरक्षा तत्काल हटाउने पदाधिकारी बैठकमा भिन्न मत राखे जसका कारण बहुमतका आधारमा निर्णय गर्नुपर्‍यो । निर्णयअनुसार प्रचण्डसहितका अधिकांश नेताको आफ्नो सुरक्षामा रहेका लडाकु शिविर फर्काए पनि किरण पक्षका नेताले भने लडाकु फर्काउन मानेका छैनन् । त्यसअघि नेपाली सेनाअन्तर्गत छुट्टै महानिर्देशनालय गठन गरी मिश्रति सुरक्षा अंग बनाउने तथा तत्काल सहमति गरेर सेना समायोजनमा जानुपर्ने ५ जेठको स्थायी समितिको निर्णयमा १६ मध्ये चार नेताले फरक मत राखेका थिए । 
किरणले सेना समायोजनको मोडालिटी निर्धारण नगरी रिग्रुपिङमा नजाने, सेना समायोजन हुनुपूर्व सुरक्षासम्बन्धी नीति निर्धारण गर्नुपर्नेे, लडाकुको अलग वा मिश्रति शक्तिका रूपमा समायोजन गर्नुपर्ने र त्यसको कमान्डिङ लडाकुबाटै हुनुपर्ने, लडाकुलाई सीमा सुरक्षा बलको जिम्मेवारी दिनुपर्ने र संविधान निर्माण र सेना समायोजन एकैसाथ सम्पन्न गर्ने प्रस्ताव अगाडि सारेका छन् । 
सेना समायोजनका विषयमा पार्टीका सबै शीर्ष कमिटीमा अध्यक्ष प्रचण्डको अत्यधिक बहुमत रहेकोले बहुमतकै आधारमा निर्णय भएका छन् र सबै कार्यान्वयनको चरणमा छन् । सचिव गौरवले दीर्घकालीन महत्त्वका निर्णय गर्ने पद्धति नमिलेको भन्दै बहुमतका निर्णय कार्यान्वयन गर्ने र फरक मत राख्दै जाने बताए । 'केन्द्रीय समिति वा पोलिटब्युरो बोलाएर प्राप्त छलफल गरेर दीर्घकालीन महत्त्वका निर्णय गरौँ भन्ने हाम्रो भनाइ थियो, तर अध्यक्षले हतारमा नै पदाधिकारी बैठकवाट नै महत्त्वपूर्ण निर्णय गराउनुभएको छ, यसले पार्टीभित्र असन्तुष्टि बढाएकै छ,' माओवादी सचिव सिपी गजुरेलले भने । 
सरकार गठनमा पनि अध्यक्षले मनोमानी गरेको दुई उपाध्यक्षको आरोप थियो । उनीहरूले मन्त्री चयन गर्दा क्षेत्रीय, जातीय र वर्गीय सन्तुलन मात्र नभई संगठनात्मक सन्तुलन पनि नमिलेको आरोप लगाएका थिए । सुदूरपश्चिमबाट एकजना पनि मन्त्री नबनाएकोमा त्यहाँका पार्टी नेताहरूले नेतृत्वको आलोचना नै गरेका थिए । यो पनि विवादको विषय बन्यो । 
प्रधानमन्त्री झलनाथ खनालको राजीनामाका विषयमा पनि नेताहरूबीच मतभेद छ । बाबुरामले तत्काल राजीनामा मागेका छन् । 'साँच्चै शान्ति र संविधानलाई पूरा गर्ने हो भने राष्ट्रिय सहमतिको विकल्प छैन, विगत तीन वर्षमा बनेका बहुमतीय सरकारले शान्ति र संविधानको कार्यभार पूरा गर्न सकेनन्, अब पनि बहुमतीय सरकारको कुनै औचित्य छैन,' बाबुरामको भनाइ छ, 'प्रधानमन्त्रीले पनि सहमति गरेर आऊ राजीनामा दिन्छु भन्नु हुँदैन, यसो गर्न नैतिक रूपले मिल्दैन, प्रधानमन्त्रीले भूमिका खेल्नुपर्छ, उहाँले नै सहमतिको सरकार बनाउनका लागि भूमिका खेल्नुपर्छ ।' प्रचण्डले अर्को सरकारको स्वरूप तयार नहुँदासम्म राजीनामा दिन नहुने बताइरहेका छन् । किरण पक्ष भने राष्ट्रियताको जगमा बनेको सरकारलाई निरन्तरता दिन माग गरिरहेको छ ।

गोप्य गुट-भेलाका शृंखला
यतिवेला माओवादीमा समूह-समूहका गोप्य भेला र प्रशिक्षणको शृंखला नै चलेको छ । सुरुमा मजदुर संगठनबाट सल्केको आगो अरू जनवर्गीय संगठन र पूरै पार्टीमा पर्‍यो । 'सुरुमा यस्तो भिन्दै भेला मजदुर संगठनबाट भयो,' मजदुर संगठनका एक नेताले भने, 'पछि सरुवा रोगजस्तै सबै क्षेत्रमा पस्यो ।'
 फरक मतको शृंखला बढेपछि पार्टीभित्र समूह-समूहका गोप्य भेला र प्रशिक्षणहरू सुरु भएका थिए । अध्यक्ष प्रचण्ड र उपाध्यक्षद्वय किरण र बाबुरामले जस्तै पूर्व एकता केन्द्र मसालबाट एकीकृत भएका उपाध्यक्ष प्रकाशको समूहले पनि छुट्टै भेला आयोजना गर्‍यो । 
गुटका भेला धेरै हुन थालेपछि एकै दिन एउटै सहरमा दुईथरी भेला पनि हुन थालेका छन् । २७ जेठमा अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष किरण पक्षले रूपन्देहीमा छुट्टाछुट्टै भेला गरे । अध्यक्ष प्रचण्ड पक्षकाले मुर्गियास्थित सामुदायिक वनको कार्यालय र उपाध्यक्ष वैद्य पक्षकाले पर्रोहाको बोलबमधाममा भेला गरेर आ- आपनो पक्षको कार्यनीतिबारे कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । 
यस्ता विचार समूहका भेलाहरूमा प्रचण्ड गएका छैनन् । तर, उपाध्यक्ष किरण र बाबुराम आआफैं पनि गएका छन् । कोचिलादेखि मिथिला र थारुवानसम्मका तराईका राज्य समितिहरूमा यस्ता भेला भएका छन् । विराटनगरमा भिन्दै भेला गर्न गएपछि बाबुराम र कोचिला इन्चार्ज हरिबोल गजुरेलबीच विवाद पनि भयो । गोप्य भेलाका शृंखला बढ्दै जाँदा पछिल्लोपटक काठमाडौंमा पनि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष किरणपक्ष कार्यकर्ताको भिन्नाभिन्नै प्रशिक्षण भए । 
बुटवलमा भएको प्रचण्ड पक्षको भेलामा केन्द्रीय नेताहरू सहभागी थिए भने किरण पक्षको भेलामा जिल्ला तहका नेता मात्रै थिए । प्रचण्ड पक्षीयहरूको भेलामा पार्टीका स्थायी कमिटीका सदस्यहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, पोलिटब्युरो सदस्य चन्द्रप्रकाश खनाल, वाइसिएल अध्यक्ष गणेशमान पुन, केन्द्रीय सदस्य हकिउल्लाह खाँलगायत उपस्थित थिए । किरण पक्षको भेलामा पार्टीका रूपन्देही सहइन्चार्ज वसन्त श्रेष्ठ, क्षेत्रीय इन्चार्ज शरद वलीसहित वाइसिएल तथा अन्य मोर्चाका जिल्ला तहका नेता-कार्यकर्ता सहभागी भए । 
बुटबलमा भेला भएको अर्को दिन काठमाडौंमा अध्यक्ष प्रचण्डनिकट कर्मचारीको गोप्य भेला भयो । राष्ट्रिय कर्मचारी महासंघमा आबद्ध प्रचण्ड पक्षधर मानिएका कर्मचारीले २८ जेठमा पुल्चोक भेलामा सचिव दिवाकर र प्रभाकरले प्रशिक्षण दिए । भेलामा प्रशिक्षण दिन पुगेका नेताद्वय दिवाकर र प्रभाकरले अध्यक्ष प्रचण्डले अगाडि सारेको कार्यदिशा र प्रचण्डको कार्यशैलीको बचाउ गर्दै उपाध्यक्षद्वय किरण र बाबुराम भट्टराईको चर्को आलोचना गरे । 
अध्यक्ष प्रचण्डनिकट कर्मचारीको भेला हुनुपूर्व किरणपक्ष बुद्धिजीवीहरूले पनि छुट्टै भेला गरेका थिए । भेलामा अध्यक्ष प्रचण्डको कार्यदिशा र कार्यशैलीको आलोचना भएको थियो । देव गुरुङ, नेत्रविक्रम चन्दलगायतका नेता भेलामा गएका थिए । 
त्यसअघि १८ जेठमा माओवादी उपाध्यक्ष प्रकाशको नेतृत्वमा पूर्व एकता केन्द्र मसालका नेता-कार्यकर्ताले राजधानीमा भेला गरेका थिए । पार्टीभित्रको अन्तरसंघर्षलाई व्यवस्थित गर्न भेला बोलाइएको प्रकाशले बताएका थिए । काठमाडौंको तिनकुनेस्थित रूपसना पार्टी प्यालेसमा आयोजित भेलामा पूर्व एकता केन्द्रमै रहँदा प्रकाशसँग अन्तरसंघर्ष चलाउँदै आएका नेता अमिक शेरचन पक्षधर नेताहरू भने सहभागी थिएनन् । पूर्व एकता केन्द्रका भए पनि भेलामा माओवादी पोलिटब्युरो सदस्य भीमप्रकाश गौतम पनि सहभागी थिएनन् । केन्द्रीय सदस्यहरू धर्मचन्द्र लावती, किसन शर्मा, रामरिझन यादव, ईश्वरी भट्टराई पनि सहभागी थिएनन् । 
गोप्य भनिएको भेला प्रचारमा आएपछि प्रत्युपादक भएको समीक्षा बैठकको निष्कर्ष थियो । भेलामा अध्यक्ष प्रचण्डको कार्यशैली 'भद्दा' भएको भन्दै आलोचनासमेत गरिएको थियो । भेलामा प्रकाशले अध्यक्ष प्रचण्डले लिएको लाइन आफूले ०५४ सालदेखि लिएको लाइन भएको दाबी गरेका थिए । माओवादी र एकता केन्द्र मसालबीच ०६५ पुसमा एकता भएपछि एकीकृत माओवादीको उपाध्यक्ष बनेका प्रकाश पार्टी अध्यक्ष प्रचण्डसँग नजिक रहँदै आएका छन् ।

No comments:

Post a Comment