Tuesday, June 21, 2011

पेरिसडाँडालाई एउटा पत्र

image
कृष्णज्वाला देवकोटा
केहीलाई शान्तिप्रति प्रचण्डको नियतमाथि शंका छ । अनि केहीलाई क्रान्तिप्रति उनको नियतमाथि शंका छ । शान्ति र क्रान्तिको दोहोरो झन्डा बोकेको कमान्डरका जटिलता र बेचैनी अहिले उनमा प्रस्ट देखिन्छ । यो एउटा व्यक्तिको होइन, क्रान्तिको बेचैनी हो । माओवादीले निकै छिटो यो बेचैनीको हल खोज्नु छ ।
इन्दिरा गान्धीलाई सिंहासनबाट सडकमा ल्याउने 'सम्पूर्ण क्रान्ति' का नेता भारतीय समाजवादी चिन्तक जयप्रकाश नारायणले भनेका थिए, 'क्रान्तिहरूले आफ्नो किताब आफँ लेख्छन् ।' नेकपा (एमाओवादी) पनि नेपाली क्रान्तिले आफ्नो किताब आफँ लेख्ने संकल्पका साथ 'एक्काइसौँ शताब्दीको जनवाद' मा आइपुगेको थियो । क्रान्तिका सूत्र रट्न त सजिलो रहेछ तर मौलिक क्रान्तिको पुस्तक लेख्न कति कठिन रहेछ, माओवादी अध्यक्ष प्रचण्ड र माओवादी पार्टीले अहिले सामना गरिरहेको परिस्थिति साक्षी छ ।

युद्ध सुरु हुनु केही दिनअघि ०५२ साल माघमा गोर्खाको गाईखुरका खोपबहादुर कँडेलको घरमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा त्यसवेलाका १७ केन्द्रीय सदस्यले बलिदानको सामूहिक संकल्प लिएका थिए । क्रान्तिमा सबै केन्द्रीय सदस्य सहिद भए भने पनि बाँचेका कार्यकर्ताले विस्तारित भेला गरेर नयाँ केन्द्रीय समिति बनाऊन् र क्रान्तिलाई जारी राखून् भनेर परिपत्र नै जारी गरिएको थियो । त्यति धेरै साहस, आत्मबल र संकल्प भएका तिनै नेता अहिले आपसी आरोपप्रत्यारोप र शत्रुतापूर्ण अन्तरविरोधको अन्धकारमा किन मग्न छन् ? 
माओवादीले बाह्रबुँदे समझदारीमार्फत् युद्धको रथलाई शास्त्रको जमिनबाट सम्भावनाको जमिनमा उतार्ने साहसिक निर्णय लिएको थियो । खासमा त्यो एउटा त्यस्तो प्रयोग थियो, जसका बारेमा माक्र्स, एङ्गेल्स्, लेनिन, स्टालिन वा माओ कसैका पुस्तकमा प्रस्ट दिशानिर्देश थिएन । त्यसो त गठनका बीस वर्षमा यो पार्टी कहिल्यै प्रयोगको जोखिमसँग डराएन । ०४८ सालमा 'संसदको भन्डाफोर गर्न' संसदभित्र छिरेको माओवादीका पखेँटा अब सधैँका लागि सिंहदरबारभित्रै कुँजिए भन्ने धेरैको अनुमान थियो । 'रिम' समेत यही निष्कर्षमा थियो । तर, सांसद्हरू सिंहदरबारभित्र कांग्रेस-एमालेसँग पौंठेजोरी खेलिरहेका वेला पार्टीका अरू कार्यकर्ता 'होलटाइमर' नामको थ्रिनटथ्री बन्दुक बोकेर युद्धको अभ्यास गरिरहेका थिए । र, ०५९ सालमा आइपुग्दा यो पार्टी अब बन्दुक छाडेर संवादको राजनीतिमा र्फकन सक्दैन भन्ने धेरैको मान्यता थियो । तर, ०६२ सालमा बाह्रबुँदे समझदारीको पहल लिएर यसले राजनीतिका ठुटे विश्लेषकलाई फेरि एकपटक निराश बनायो । माओवादी अहिलेसम्म सधैँ आशा र आशंकाको बीचबाट गुजि्रएको छ र यो फेरि एकपटक इतिहासको अदालतमा खडा छ । 
सिद्धान्त र आचारमा सहमत हुन नसकिएला तर माओवादी कुनै सामान्य पार्टी होइन  । लिवाङदेखि पेरिसडाँडाको यो यात्रा माओवादीले खोला होइन, आफ्नै रगतको भेल तरेर पूरा गरेको हो । पेरिसडाँडाका जगमा ढुंगा होइन, बलिदानका अनन्त कीर्तिमान छन् । 'अपरेसन किलो सेरा टु' ताका प्रहरीले सिंगै गाउँ जलाएको खाराको खरानी अझै उडिसकेको छैन । कुख्यात भैरवनाथ गण र अन्यत्रबाट बेपत्ता पारिएका कार्यकर्ता भेटिएका छैनन् न तिनका अभिभावकका आँखा ओभाइसकेका छन् । मुलुकका चारै हजार गाविसमा माओवादीका रगतका टाटा अझै छन् । थुप्रै कार्यकर्ताका शरीरबाट अहिले पनि गोलीका छर्रा निकाल्न बाँकी छ । दैनिकजसो सहिदगाथाका एकपछि अर्का प्रकाशनको विमोचन हुने पेरिसडाँडा नै यदुवंशी लडाइँको केन्द्र किन बनिरहेको छ ? 
मोहनविक्रम सिंहले नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा नराम्रो प्रवृत्ति बसाले । माक्र्स, एङ्गेल्स, लेनिन र माओका उक्तिहरूको मालामा उनेपछि निजी कुन्ठाहरूसमेत 'सिद्धान्त' हुन्छन् भन्ने प्रवृत्तिका उनी पितृपुरुष हुन् । फिलिपिन्सको माक्र्सवादी न्यु पिपल्स आर्मी चवालीस वर्षदेखि लडिरहेको छ । भारतमै माओवादीहरूले बन्दुक उठाएको चार दशक हुन लाग्यो । कोलम्बियाको माक्र्सवादी हिंसाले पनि चार दशक नाघिसक्यो । रचनात्मक हुन नसक्दा तिनले न क्रान्तिलाई विस्तार गर्न सके, न यसको दिशा पहिल्याउन । मोहनविक्रमले सधैँ क्रान्तिको गफ दिए तर कहिल्यै क्रान्ति गरेनन् । यसैले उनलाई क्रान्त्िाको नयाँ भाष्यको आवश्यकता नै परेन । तर, माओवादीले त नेपाली क्रान्तिको भाष्य लेख्नु छ । यति विभाजित र विखण्डित पार्टीले यो ऐतिहासिक कार्यभार कसरी पूरा गर्न सक्छ ?
न एकता न विभाजनको अहिलेको अवस्थाले माओवादीलाई स्वतः विघटनतिर लैजानेछ । र, विभाजनपछि यो पार्टी केवल टुक्राटुक्रा हुनेछैन बरु ११ सेप्टेम्बर, २००१ मा अमेरिकाका जुम्ल्याहा टावरझैँ एकैपटक खरानी हुनेछ । माओवादीको नियति केही नेताहरूको निजी नियति हुन्थ्यो भने तिनलाई राजनीतिको खालमा जुवा खेल्ने छुट हुन सक्थ्यो तर दुर्भाग्यवश माओवादीको नियति यतिखेर मुलुक र मुलुकबासीको नियतिसँग जोडिएको छ । अहिले आआफ्ना घाउ कन्याइरहेका नेताहरूलाई हेक्का हुनैपर्छ, उनीहरू भोलि जनता र इतिहासको अदालतमा खडा हुनुपर्नेछ । सहिदको अदालतमा, जनसेनाको अदालतमा, अंगभंगको अदालतमा, बेपत्ता परिवारको अदालतमा, समर्थक र शुभेच्छुकको अदालतमा । 
माओवादी अहिले एकसाथ चारवटा स्टेसन टिपिरहेको रेडियोजस्तो भएको छ । रथ अघि र घोडा पछि हुन थालेपछि राजनीतिमा निकै ठूलो नैतिक प्रश्न खडा हुन्छ, जुन अहिले माओवादीमा देखिएको छ । अन्तरविरोधहरू अतिशत्रुतापूर्ण भएका छन् । एकातिर कोटवाडादेखि चिहानडाँडा र दोरम्बादेखि भैरवनाथ गणसम्मका कथा छन्, अर्कातिर शान्तिप्रक्रियालाई दिशा दिनैपर्ने बाध्यता । प्रचण्ड अहिले दोहोरो घेराबन्दीमा छन् । एकातिर केहीलाई शान्तिप्रति प्रचण्डको नियतमाथि शंका छ । अनि केहीलाई क्रान्तिप्रति उनको नियतमाथि शंका छ । शान्त्िा र क्रान्तिको दोहोरो झन्डा बोकेको कमान्डरका जटिलता र बेचैनी अहिले उनमा प्रस्ट देखिन्छ । यो एउटा व्यक्तिको होइन, क्रान्तिको बेचैनी हो । माओवादीले निकै छिटो यो बेचैनीको हल खोज्नु छ । 
संविधानसभाको सबैभन्दा ठूलो दलको प्रतिनिधि न राष्ट्रपति छ, न उपराष्ट्रपति, न प्रधानमन्त्री, न सभामुख, न संवैधानिक समितिको प्रमुख । फेरि पनि संविधानसभाको सफलता वा असफलतालाई माओवादीको सफलता वा असफलतासँगै दाँजिनेछ । यतिवेला माओवादीको आन्तरिक कलहले माओवादीमात्रै होइन, देशकै राजनीति प्रभावित भएको छ । शान्तिप्रक्रिया र संविधान निर्माण अझै पनि दोबाटोमै छन् र माओवादी आन्तरिक र बाहिरी घेराबन्दीमा । संविधानसभाको सबैभन्दा ठूलो दल र शान्तिप्रक्रियाको एउटा पक्ष रहेको माओवादीका गुटहरूमा भने यो घेराबन्दीको खासै चिन्ता देखिन्न, बरु आन्तरिक संघर्ष नै प्रधानजस्तो देखिन थालेको छ । 
क्रान्तिले सधैँ सेवकहरूको सेवा गर्दैन । इरानको सोभियतसमर्थक कम्युनिस्ट पार्टी तुदेहलाई लागेको थियो- सन् १९७९ को इरानको इस्लामिक क्रान्ति यसकै हो । आरम्भमा त्यो क्रान्ति वामपन्थी नारामा लडिएको थियो । सुरुमा त्यसको नारा थियो- 'नुन, कार र आजादी' अर्थात् रोटी, काम र स्वतन्त्रता । तुदेह त्यो क्रान्तिलाई सहयोग र समर्थन गर्ने इरानको एकमात्र राजनीतिक दल थियो । खुमेनीको इस्लामिक क्रान्तिलाई सोभियत अनुहार दिने पनि तुदेह नै थियो र उसलाई निकै पछिसम्म 'क्रान्ति आफ्नो हो' भन्ने भ्रम थियो । तर, दुई वर्ष नबित्दै खुमेनी तुदेहमाथि खनिए र इरानमा साम्यवादीहरू धराशयी भए । माओवादी विभाजित भयो भने त्यो अर्को तुदेह हुनेछ ।
पेरिसडाँडा खतरामा छ । लोकतान्त्रिक उपलब्धि खतरामा छन् । जनयुद्ध र जनआन्दोलनका नारा खतरामा छन् । तर, माओवादीका नेताहरू कोही क्रान्तिका नाममा, कोही शान्तिका नाममा यी खतराका सहयोगी भएका छन् । यो इतिहासको बिडम्बना हो कि माओवादीको, क्रान्तिको बिडम्बना हो कि शान्तिको ? केवल इतिहासले मात्र जवाफ दिन सक्छ ।
krishna@nayapatrika.com

No comments:

Post a Comment