Tuesday, July 17, 2012

म त एक्लिएँ -शंकर अधिकारी

--




प्तीन बर्षअघि बिबाह गरेका श्रीमानलाई छाडेर बिना प्रचण्डपुत्र प्रकाश दाहाल साग भागेपछि प्रचण्डपरिवार त टेन्सनमा छ नै त्योभन्दा टेन्सनमा छन विनापति शंकर अधिकारी । नेकपा-माओवादीका कार्यकर्ता अधिकारीले सौर्य दैनिकsf चिरञ्जीवी पौडेलसित बिना भाग्दाका क्षण खुलाएका छन् । 
शंकरकै भाषामा

प्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो । प्रचण्डको छोराका रूपमा उनको रवाफबारे सुनेको थिएँ । त्यही व्यक्तिले मेरो जीवनको सबैभन्दा अमूल्य चिज खोस्ला भन्ने के अनुमान थियो र !
अहिले ३१ वर्षको भएँ । करिब १५ वर्षदेखि राजनीतिमा छु । ०५४ सालमा माओवादीको होलटाइमर भएँ । त्यसयता मेरो जीवनको ठूलो हिस्सा राजनीतिक क्रियाकलापमै व्यस्त रहेर बित्यो । जनयुद्धकालमा आठ वर्ष लामो जेल जीवन पनि बिताएँ । पार्टी फुटेपछि नेकपा–माओवादीतिर लागियो । अहिले यस पार्टीको जातीय मोर्चाहरूको जिल्ला समिति सेक्रेटरीका रूपमा कार्यरत छु ।
बीनाजी चार वर्षअघि मेरो जीवनमा आउनुभयो । हामीबीच ख्यालख्यालमै प्रेम बसेको थियो । मैले साथीहरूमार्फत उहाँलाई चिनेको हुँ । उहाँ मेरो साथीहरूको साथी हुनुहुन्थ्यो । बीनाजी पनि माओवादीकै विद्यार्थी संगठनमा आबद्ध भएकाले आन्दोलनका क्रममा तथा पार्टीका विभिन्न कार्यक्रममा हाम्रो बारम्बार भेट हुन्थ्यो । दुई/चार भेटसम्म त सामान्य साथीको व्यवहार भयो । तर, विस्तारै आत्मीयता बढेको महसुस गर्न थालेँ । मनमा प्रेमको बिरुवा हुर्किएर झांगिन थाल्यो । मैले उहाँलाई नै जीवनसाथी बनाउने निधो गरेँ । एउटै प्रोफेसनमा भएकाले हाम्रो वैवाहिक सम्बन्ध जम्ला भन्ने आशा थियो । आखिर मैले उहाँलाई प्रेमप्रस्ताव पठाएँ साथीहरूमार्फत । उहाँले तत्कालै स्विकार्नुभएन । केही समय माग्नुभयो । तर, आखिरमा गल्नुभयो र एस भन्नुभयो । बिहेचाहिँ अलि ढिला गर्ने उहाँको सर्त थियो ।
करिब एक वर्ष प्रेम चल्यो । प्रेमलाई अघि बढाउन त्यति गाह्रो थिएन । पार्टी कामकै सिलसिलामा भेट भइरहन्थ्यो । कहिलेकाहीँ आपसी सहमतिमा अन्यत्रै पनि भेटिन्थ्यो । फोनमा लगातार गफ हुन्थ्यो । भावी जीवनका कल्पना हुन्थे । अन्तत: ०६६ भदौमा हाम्रो बिहे भयो । बिहेपछिको तीन वर्ष ऊर्जाशील थियो भन्छु म । मलाई राजनीतिमा अघि बढाउन उहाँको ठूलो सहयोग रह्यो । उहाँप्रति गुनासो राख्नुपर्ने ठाउँ खासै थिएन । उहाँको चरित्रप्रति शंका गर्नुपर्ने अवस्था पनि कहिल्यै आएन । दुवैजना राजनीतिक कार्यकर्ता भएकाले घर–व्यवहार मिलेर चलाउँथ्यौँ । उहाँ श्रीमतीभन्दा बढी दौंतरीजस्तो लाग्थ्यो । घरधन्दामा मात्रै सीमित भएर बस्न नसक्ने तथा जुनसुकै काम गर्न हिम्मत गर्ने उहाँको स्वभाव मलाई मन पथ्र्यो । हाम्रा बालबच्चा थिएनन् । देशमा राजनीतिक स्थिरता आएपछि मात्र बच्चा पाउने सोच थियो, हामी दुवैको । यसरी जीवन चल्दै थियो ।
केही महिनाअघि मात्र उहाँले सगरमाथा चढ्ने कुरा गर्नुभयो । मलाई सुरुमा अलिक डर लाग्यो । तर, उहाँको साहस र अठोटसित विश्वस्त भएकाले मैले कुनै नाइँनास्ती गरिनँ । सगरमाथा चढेर फर्केपछि जनआस्था पत्रिकाले उहाँको र प्रकाशको विषयमा समाचार लेख्यो । यस्तो समाचार आउँदै छ भन्ने मलाई एक साताअगाडि नै थाहा थियो । त्यही पत्रिकामा काम गर्ने कसैले मलाई देखाएको थियो समाचारको प्रतिलिपि । तर, मलाई त्यसमा कत्ति पनि विश्वास थिएन । यस विषयमा मैले पार्टीका नेताहरूसित पनि कुरा गरेँ । उहाँहरूले तँलाई यसमा कति विश्वास छ भनेर सोध्नुभयो । मैले कत्ति पनि छैन भनेँ । त्यसो भए वास्तै नगर भन्नुभयो ।
जेठ २९ गते हो क्यारे † त्यो समाचार छापियो । त्यतिबेला म पार्टीको राष्ट्रिय भेलाको तयारीमा व्यस्त थिएँ । बीनाजी धनगढीमा हुनुहुन्थ्यो । उहाँले समाचार पढ्नुभएछ । मलाई त्यही दिन फोन गर्नुभयो । ‘जनआस्थाले यस्तो–यस्तो लेखेछ’ भनेर मलाई सुनाउनुभो । उहाँले समाचार पूरै काल्पनिक हो भन्दै आफू काठमाडौं आइहाल्ने कुरा गर्नुभयो । मलाई उहाँको विश्वास थियो । काठमाडौं आउन टिकट मिलाइदिएँ । आएपछि पुन: यो विषयमा छलफल भयो । उहाँले आºनो संगठनमा पनि कुरा राख्नुभयो । त्यसपछि पत्रिकाविरुद्ध मुद्दा लड्ने कुरा गर्नुभो । मैले सहमति जनाएँ । त्यतिन्जेल मलाई पत्रिकाले लेखेको कुरा साँचो होला भन्ने एक प्रतिशत पनि विश्वास थिएन ।
तर, विस्तारै बीनाजीको हाउभाउ र व्यवहारमा परिवर्तन आउन थालेको महसुस गरेँ । मसित अलि दूरी बढाउन खोज्नुभएको आभाष हुन थाल्यो । कहिलेकाहीँ ‘प्रकाशले रक्सी खाएर फोन गरेको गर्‍यै छ’ भन्नुहुन्थ्यो । मैले त्यसलाई सिरियसली लिएको थिइनँ । अलि बढी नै असहज लाग्न थालेपछि एक रात मैले उहाँलाई हात समातेर सोधेँ, ‘किन अचेल अलि फरक हुनुभएको छ ?’ उहाँ त्यस्तो केही नभएको भनेर टार्नुभयो । मैले धेरै जोड गरिनँ । पार्टी अलग भएपछि म वैद्यतिर लागेको थिएँ भने उहाँ संस्थापनपट्टि हुनुहुन्थ्यो । यही भएर पनि दूरी बढेको हुन सक्छ भन्ने लाग्यो ।
असार २१ गते हामी सँगै सुतेका थियौँ । मेरो नेवा: राज्यसमितिको बैठक भएकाले बिहानै उठेर हिँडेँ, उहाँ घरमै हुनुहुन्थ्यो । दिउँसो एकचोटि फोन गरेको थिएँ तर उहाँको फोन स्विच अफ थियो । घर फर्किंदा फेरि फोन गरेँ तर लागेन । घर पुगेपछि थाहा भयो, बहिनीलाई मेसेज छाडेर हिँड्नुभएको रहेछ । प्रोग्राममा जान लागेको, भोलि वा पर्सि मात्रै फर्किन्छु भन्ने खबर उहाँले बहिनीलाई दिनुभएको रहेछ । बहिनीले मलाई सुनाइन् । मैले सामान्य रूपमै लिएँ । भोलिपल्ट बिहान काठमाडौं मलमा पार्टीको कार्यक्रम थियो, त्यसैमा व्यस्त भएँ । दिउँसो विरोध र्‍यालीमा सहभागी भएँ । दिउँसो ३ बजेतिर उहाँलाई फोन गर्ने प्रयास गरेँ, घन्टी गयो तर फोन उठेन । बरु एकछिनपछि उहाँको एसएमएस आयो । ‘कार्यक्रममा छु, भोलि बिहान फर्किन्छु’ भनेर लेख्नुभएको थियो । तर, भोलिपल्ट आउनुभएन । न त फोन नै उठ्यो ।
पर्सिपल्ट अचानक आइडी लक गरेको नम्बरबाट मेरो मोबाइलमा फोन आयो । उठाएँ । बीनाजीको रहेछ । ‘म इन्डियामा छु,’ उहाँले एकदम सहज रूपमा भन्नुभयो, ‘प्रकाशसित हिँडँे । म हाम्रो सम्बन्धमा इमानदार रहन सकिनँ कामरेड †’ के सुन्नुपर्‍यो ! कल्पनामा पनि नचिताएको कुरा । म त स्तब्ध भएँ । अलि सम्हालिएर भनँे, ‘किन यस्तो निर्णय लिनुभयो । तपाईंहरू दुवैजनाको पछाडि परिवार छ, पार्टी छ, राजनीतिक हाइट छ । बरु घर आएर डिसिजन लिँदा राम्रो हुन्छ ।’
मैले धेरै बोल्न सकिनँ । त्यति पनि किन बोलेछु भन्ने लाग्यो । मुस्किलले ३ मिनेट कुरा भयो होला । मलाई भाउन्न भयो । सपना हो कि विपनाजस्तो । के गर्ने के नगर्ने । त्यसदिन कसैसित यो कुरा गरिनँ । मेरो मिल्ने साथी देवराज गुरुङ मसितै हुनुहुन्थ्यो । उहाँलाई पनि केही भनिनँ । बिहेपछि हामी बीनाको परिवारसँगै बस्ने गथ्र्यौं । कोठामा बीनाको ममी र बहिनीहरू हुनुुहुन्छ । बीनाको बुबाले हल्ला सुन्नुभएको रहेछ । उहाँले ममीलाई फोन गर्नुभएको रहेछ । ममीले मलाई सोध्नुभयो । मैले फोन आएको कुरा भनिनँ । भोलिपल्ट बिहान हिमाल शर्मा आउनुभयो कोठामा । मैले उहाँलाई फोन आएको कुरा बताएँ । उहाँले संगठनले कारबाही गर्ने कुरा गर्नुभयो ।
बीनाजीले भारतबाट उहाँकी दिदीलाई फोन गर्नुभएको रहेछ । ‘नेपाल आउन लागेका थियौँ, तर यहाँ पार्टीबाट निलम्बनमा परेकाले वातावरण बिग्रियो, त्यसैले अहिले आउँदैनौँ,’ भन्नुभएछ । यस घटनाबाट बीनाको परिवारका पनि सबैजना दुखित हुनुहुन्छ । तर, केही भन्नुहुन्न । मलाई अहिले उहाँहरूसित बस्न पनि अप्ठ्यारो भएको छ । राति साथीभाइहरूकहाँ गएर सुत्ने गरेको छु । दिउँसो एकचोटि कोठामा जान्छु । अहिले आºना लागि कोठाको खोजीमा छु । दिनहुँ कोठा खोज्न हिँडिरहेको छु ।
निश्चितै रूपमा अहिले मलाई एक्लिएको महसुस भइरहेको छ । मनस्थिति खल्बलिएको छ । जीवनसाथीले छाडेर हिँड्दा एक्लो महसुस हुनु स्वाभाविक नै हो । सुर्खेतको घरबाट बुबा–ममीले फोन गरेर दुई/चार दिनका लागि घर आइज फ्रेस हुन भन्नुहुन्छ । तर, फुर्सद मिलिरहेको छैन । मेरो विषयमा पार्टीमा पनि छलफल भएको छ । मैले यो पीडा भुल्ने एक मात्र उपाय भनेको पार्टीभित्र आफूलाई अझै व्यस्त राख्नु मात्रै हो । नेताहरूलाई पनि मैले यही कुरा भन्ने गरेको छु । आखिर जे–जसरी पनि जीवन त चलाउनै छ ।
from Saurya daily newspaper 

1 comment:

  1. that's great Jasle aphno khayal garch tesko khayal garnu ramro jasle gardaina teslai bal matlab dinu hunna dinu bhaneko tension boknu ho .

    ReplyDelete