Wednesday, June 1, 2011

पारसका समाचारले हिमानीको मन चर्किन्छ

 
भुवन शर्मा 
नयाँ पत्रिका/ काठमाडौं, १७ जेठ
पूर्वयुवराज्ञी हिमानी शाहले नयाँ पत्रिकालाई जीवनकै पहिलो अन्तर्वार्ता दिएकी छन् । अन्तर्वार्तामा उनले श्रीमान् पारसबारे मिडियामा नकारात्मक समाचार आउँदा दुःख लाग्ने गरेको बताएकी छन् । मिडियाले सत्यतथ्य नबुझी समाचार बनाउने गरेको उनको आरोप छ । 

उनले श्रीमान्ले मदिरा सेवन गर्न छाडे हुन्थ्यो भन्ने चाहना पनि खुलस्त पारेकी छन् । 'हरेक नेपाली र हिन्दू नारीले आफ्नो श्रीमान्ले मदिरा नखाओस् भन्ने चाहन्छन्, म पनि त्यही चाहन्छु,' उनको भनाइ छ । 
पुल्चोकस्थित हिमानी ट्रस्टको कार्यालयमा अन्तर्वार्ता दिँदा उनी आत्मविश्वासपूर्वक बोलिन् र वेलावेलामा यो पनि भनिन्, 'मनमा लागेको कुरा ढुक्कसँग सोध्नुहोस् ।' उनीसँग ट्रस्टका सचिव पावना शाह र सदस्य पनि थिए । हरेक प्रश्नको उत्तर उनले ती सदस्यहरूलाई हेरेर दिने गर्थिन् । ट्रस्टका कर्मचारीले भने राजनीतिक विषयमा प्रश्न नगर्न आग्रह गर्दै थिए । 
तैपनि हिमानीसँग केही राजनीतिक प्रश्न पनि सोध्ने कोसिस नयाँ पत्रिकाकर्मीको थियो । तर, उनले राजनीतिसँग सम्बन्धित सबै प्रश्नमा कूटनीतिक जवाफ दिइन् । 'नेपाली जनताको चाहनाअनुसार राजनीति अघि बढेको छैन । आमनेपाली जनता यसमा दुःखी छन् । म पनि त्यसरी नै दुःखी छु,' सामयिक राजनीतिप्रति उनको टिप्पणी थियो । 
राजनीतिमा आफू सक्रिय नहुने निश्चय भए पनि सर्वसाधारण नेपालीजस्तै राजनीतिमा चासो भने भएको उनको भनाइ छ । फेरि युवराज्ञी भइएला भन्ने लागेको छ भन्ने प्रश्नको जवाफमा हिमानीले ससुरा ज्ञानेन्द्रकै शैलीमा भनिन्, 'यो त जनताले गर्ने फैसला हो । जनताले दिने फैसला हामीले मान्नुपर्छ ।' 
मंगलबार दिउँसो झन्डै एक घन्टा लामो अन्तर्वार्ताका क्रममा हिमानी कुनै प्रश्नमा छोटो बोलिन्, कुनै प्रश्नमा केही लामो । तर, सबै प्रश्नमा उनी हाँसीहाँसी बोलिन् ।
अन्तर्वार्ता
जनचाहनाअनुसार राजनीति अघि बढेन
तपाईं हिमानी ट्रस्टमार्फत समाजसेवामा लाग्नुभएको छ, मान्छेहरूले राजनीति गर्ने बाटो खोज्नुभयो भन्छन्, खासमा के हो ?
जनताबीच जान एनजिओ स्थापना गर्नुपर्दैन । म सधैँ जनताको साथमा जान्छु । र, सधैँ रहिरहेको छु पनि । पहिले पनि म जनताको साथमै थिएँ । जनतामा जान कसैलाई माध्यम बनाइराख्नु पर्दैन । म जहाँ जाने गरेकी छु, स्थानीय जनताबाट माया सद्भाव पाउने गरेकी छु । नेपाली दाजुभाइ दिदीबहिनीले मलाई हृदयदेखि नै स्वागत र माया देखाउने गर्नुभएको छ । फेरि सामाजिक सेवा क्षेत्रमा मेरो रुचि भएकाले हिमानी ट्रस्टको स्थापना गरेकी हुँ । मेरो सानो प्रयासले देश र जनताका लागि केही सेवा गर्न सकियोस् भनेर म यो क्षेत्रमा आएकी हुँ । मेरो परिवारिक पृष्ठभूमि पनि समाजसेवा क्षेत्रमा संलग्न भएकाले यो क्षेत्रमा आउन मलाई प्रेरणा मिलेको हो ।
तर, तपाईंले हिमानी ट्रस्ट खोलेर दोलखामा कार्यक्रम गरिरहनुभएको छ, यो समाजसेवा होइन, राजनीति हो भनेर दोलखाबाटै विरोध भएको छ नि ?
त्यस्तो होइन, यदि म राजनीति गर्ने भएको भए पार्टी नै खोल्ने थिएँ । किन ट्रस्ट खोल्थेँ र ? मैले त समाजसेवा गर्ने भनेर नै ट्रस्टको स्थापना गरेकी हुँ । म विशुद्ध समाजसेवा गर्न चाहन्छु । र, मैले त्यसको विरोध भएको पनि पाएकी छैन । दोलखाका स्थानीय जनताले मलाई स्वागत र माया नै गरिरहनुभएको छ ।
राजनीतिमा तपाईंको रुचि छ कि छैन त ?
आमनेपालीलाई राजनीतिप्रति जसरी चासो र रुचि छ, त्यसरी नै मलाई पनि यसमा चासो छ । आमनेपालीसरह नै म पनि नेपाली राजनीतिप्रति अनभिज्ञ त छैन, तर राजनीतिमा जाने मेरो कुनै सोचाइ छैन ।
अहिलेको राजनीति तपाईंलाई कस्तो लाग्छ ? 
नेपाली जनताको चाहनाअनुसार राजनीति अघि बढेको छैन । आमनेपाली जनता यसमा दुःखी छन् । म पनि त्यसरी नै दुःखी छु ।
अनि पूर्वयुवराज्ञी भएर जनताबीच जाँदा कस्तो अनुभव हुँदोरहेछ ?
म पहिले पनि स्थानीय जनताकोमा गएकी हुँ । स्थानीय दाजुभाइ दिदीबहिनीलाई प्रत्यक्ष्य रूपमा भेट्दा मलाई निकै खुसी लाग्छ । त्यतिखेर मलाई स्थानीय जनताकै छोरीबुहारी हुँ जस्तो महसुस हुन्छ ।
युवराज्ञी भनेर सम्बोधन सुनिरहेकाले अहिले पूर्वयुवराज्ञी भन्दा दुःख लाग्दैन ?
यसमा मलाई सरोकार छैन ।
कुनै वेला फेरि युवराज्ञी होइन्छ जस्तो लाग्दैन तपाईंलाई ?
यो जनताको चाहनाको कुरा हो । नेपाली जनताले जे चाहन्छन्, त्यही हुनुपर्छ । मलाई लाग्छ, यो विषय नेपाली जनतालाई छाडिदिनुपर्छ र नेपाली जनतालाई निर्णय गर्न दिनुपर्छ । यो विषयमा निर्णय गर्न जनतामा जानुपर्छ । हामीले जनताको निर्णय मान्नुपर्छ ।
अरू देशमा पनि राजपरिवार र राजनीतिक परिवारका सदस्यहरू ट्रस्ट खोलेर सामाजिक काममा सक्रिय भएको देखिन्छ । तपाईंले पनि उनीहरूको अनुशरण गर्नुभएको हो कि ? 
मेरो व्यक्तिगत रुचि र समाजप्रतिको कतव्र्यले म यो क्षेत्रमा आएकी हुँ । यसमा अरू कारण केही होइन ।

यो काम गर्नुपर्छ है भनेर तपाईंलाई सल्लाह चाहिँ कसले दियो ? 
कसैको सल्लाह र प्रेरणामा भन्दा पनि सामाजिक परिवेश र नेपाली जनताको प्रेरणाबाट म यो क्षेत्रमा आएकी हुँ ।
यो विषयमा तपाईंलाई आ-आफ्ना ससुरा र पतिले के भन्नुहुन्छ ? 
उहाँहरूबाट सहयोग पाइरहेकी छु । उहाँहरूको सहयोग र प्रेरणाबाट नै म यो क्षेत्रमा आएकी हुँ । हो, उहाँहरूको चाहना पनि त्यही थियो ।
तर, ट्रस्टमा किन पूर्वराजपरिवारका सदस्यहरू मात्र छन् ?
परिवारका सदस्यहरूको समजासेवाप्रतिको चाहनाले अहिले उनीहरू संलग्न भएका हुन् । तर, परिवारबाहिरबाट पनि यहाँ -ट्रस्टमा) हुनुहन्छ । हामीले सदस्यता बढाउँदै छौँ ।
तर, तपाईंले दोलखा नै किन रोज्नुभयो ? 
काँही न काँहीबाट कार्यक्रम त सुरु गर्नै पर्ने थियो । म व्यक्तिगत काममा दोलखा गएको वेला त्यहाँका स्थानीय दाजुभाइ र दिदीबहिनीले मलाई जसरी माया देखाउनुभयो र आफ्ना समस्या जसरी राख्नुभयो । त्यसपछि मलाई यहीँबाट नै कार्यक्रम सुरु गरौँजस्तो लाग्यो । अहिले हामी दोलखाको नाम्दु गाविसलाई नमुना गाविस बनाउँदै छौँ । त्यहाँबाट अनुभव लिएर हामी अरू जिल्ल्ाामा जान्छौँ । शिक्षा, स्वास्थ्य, युवा र विकास निर्माणका कार्यक्रमहरू विस्तार गर्दै जाने हाम्रो नीति छ । प्रत्येक महिना एउटा एउटा नयाँ कार्यक्रम थप्दै जाने हाम्रो योजना छ ।
तपाईंले कोषमा लगानी गर्नुभएको पैसा व्यक्तिगत हो कि कतैबाट आएको सहयोग ?
अहिले ५० लाख रुपैयाँ छ । अहिलेसम्म हामी कार्यसमितिका सदस्यहरूले व्यक्तिगत रूपमा जुटाएको रकम हो । तर, सहयोग आउने क्रम जारी छ । हिमानी ट्रस्टमा सहयोग आइरहेको छ । यसमा सहयोग गर्न खासगरी दाताहरू र केही आइएनजिओहरूले चासो देखाउनुभएको छ । काम गर्दै जाँदा हामीलाई सहयोग त चाहिन्छ नै । 
कार्यक्रमका लागि तपाईं पटक-पटक दोलखा पुग्नुभयो, तर के जनताको घरघरमा जानुभएको छ, उकालो ओरालो हिँडेर जनताको सुख दुःख बुझ्नुभएको छ ?
सुख दुःख बुझ्न नै मैले ट्रस्ट खोलेकी हुँ । म अहिलेसम्म मोटरबाटोसम्म मात्र गएकी छु, तर दुर्गम जिल्लाहरूमा पैदल यात्रा गरेर स्थानीय जनताको पीडा दुःख र स्थिति प्रत्यक्ष्य रूपमा बुझ्ने मेरो ठूलो चाहना छ । खासगरी कणर्ाली अञ्चलको दुर्गम जिल्लाहरूमा हिँडेर पुग्ने मेरो चाहना छ ।
ट्रस्टबाट तपाईंले के पाउनुभयो र के दिनुभयो ?
समाजसेवा गर्ने र जनताको सुख दुःखलाई नजिकबाट नियाल्ने अवसर मैले हिमानी ट्रस्टबाट पाएकी छु । यसैगरी समाजसेवा क्षेत्रमा केही गर्ने हौसला पनि मैले पाएकी छु । जहाँसम्म मैले के दिएँ भन्ने कुरा हो, यसको मूल्यांकन त नेपाली जनताले नै गर्नेछन् ।
ट्रस्टका अहिलेसम्मको खास काम के-के हो ?
तामाकोसीमा तारजाली वितरण गरिएको छ, दोलखाको भुस्ती निमाविमा भवन निर्माण, शौचालय निर्माण र पटक-पटक गरिएका स्वास्थ्य शिविरहरू यसको अहिलेसम्मका कामहरू हुन् । स्वास्थ्य शिविरलाई अध्यावधिक गर्न हामीले एम्बुलेन्स, औषधि र शवबाहनका सेवा पनि पुर्‍याउँदै छौँ । यसैगरी हामीले दोलखाको नाम्दु गाविसलाई नमुना गाविस बनाउँदै छौँ । अब अरू जिल्लामा कार्यक्रम सुरु गर्दै छौँ ।
ट्रस्टमा सहयोगका लागि कसैसँग अनरोध गर्नुभएको छ ?
हो, सहयोगका लागि आग्रह गरेका छौँ । थोपाथोपा मिलेर समुद्र बन्ने नै हो ।
तर, एनजिओमा दिइएको सहयोगमा भ्रष्ट्राचार हुन्छ भनिन्छ नि ?
हामीसँग त्यस्तो हुँदै हुँदैन । हामी एकदमै पारदर्शी छौँ । दाताहरूले दिएको सहयोग कस-कसमा कति-कति खर्च भयो भनेर हामीले पारदर्शी ढंगले दाताहरूलाई जानकारी गराउने गर्छौं । 
सरकारले सहयोग गरे, तपाईं सहयोग लिन तयार हुनुहन्छ ?
राष्ट्रले सहयोग गरे, हामी सहयोग लिन्छौँ । किनभने हामीले देश र जनताकै लागि काम गर्ने हो ।
फेरि व्यक्तिगत जीवनमै फर्कौं, तपाईंको श्रीमान् पूर्वयुवराज पारस वेलावेलामा विवादमा आइरहनुहुन्छ । यसरी विवादमा आउँदा तपाईंलाई कस्तो लाग्छ ?
उहाँको विषयमा विवाद कसरी आए भन्ने पनि हो । ती विवाद वास्तवमै सही भएको भए स्वभाविकै हुने थियो, तर कहिलेकाँही ती विवाद यथार्थभन्दा बाहिर गएर आउने गर्छन् । सत्यतथ्य नबुझेर मिडियामा समाचार आउँदा मलाई दुःख लाग्छ । त्यसकारण सत्यतथ्य बुझेरमात्र समाचार आउने गरेको भए हुन्थ्यो जस्तो मलाई लाग्छ ।
पारिवारिक जीवनमा तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 
म पूर्ण रूपमा सन्तुष्ट छु ।
तपाईंको श्रीमान्ले मदिरा नखाए हुन्थ्यो भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन ?
हरेक नेपाली र हिन्दू नारीले आफ्नो श्रीमान्ले मदिरा नखाओस् भन्ने नै चाहन्छन् । त्यसरी नै म पनि मेरो श्रीमान्ले मदिरा नखाइदिए हुँदो हो भन्न्ने नै चाहन्छु ।
मदिरा नखान सल्लाह पनि दिइरहनुहुन्छ होला नि ?
यो त निजी कुरा भयो ।
राजसंस्था ढल्दा तपाईंलाई दुःख लागेको थियो ?
यो त नेपाली जनताको कुरा हो । भइसकेको कुरा भयो । नेपाली जनताले जे चाहन्छन्, त्यही हुनुपर्छ भन्ने मेरो भनाइ हो ।
विदेश गएर उतै बस्न मन लाग्दैन ?
विदेशमा बस्ने कुनै सोचाइ बनाएकी छैन ।
तपाईं निकै राम्री हुनुहुन्छ नि ?
खोई, मलाई त त्यस्तो लाग्दैन । आमनेपालीसरह नै छु ।
फेसनेबल पनि हुनुहुन्छ नि ?
त्यस्तो होइन । आफूलाई जे मन पर्छ, जे सजिलो हुन्छ । त्यही लुगा लगाउने गर्छु ।
तपाईंलाई धर्मकर्ममा रुचि छ कि छैन ?
धर्ममा मलाई रुचि छ । धार्मिक कार्यक्रममा सहभागी हुन मन लाग्छ ।
मन्दिर पनि जानुहुन्छ ?
मन्दिर जाने गर्छु । खासमा शिव मन्दिरमा जाने गर्छु । पशुपतिनाथ मन्दिरमा जान्छु ।

1 comment: