![]() |
Prime Minister Dr Baburam Bhattarai |
![]() |
Rekha Thapa |
भिजन भएको नेता भए पनि प्रधानमन्त्री बनेपछि भने उहाँले जनताले आशा गरेअनुरूपको काम गर्न सक्नुभएको छैन । अर्थमन्त्री बन्दा उहाँले जति सकारात्मक काम गर्नुभएको थियो, प्रधानमन्त्री बनेपछि भने उहाँ कताकता हराइरहनुभएको छ । उहाँलाई कसैले अल्झाएजस्तो लाग्छ ।
१० वर्षसम्म जनयुद्ध लडेर सत्तामा पुगेको भए पनि माओवादीमा अझ पनि युद्धको धङधङी देख्छु म । त्यसैले डा. भट्टराईसँग डेटिङ जानुपर्यो भने म शान्तिका दूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी जान्छु । किनभने, हामी नेपालीलाई शान्ति चाहिएको छ । लुम्बिनीमा डेटिङ गर्यो भने उहाँको मनमा शान्तिको सञ्चार हुन्थ्यो कि !
म प्रधानमन्त्रीलाई चिल्लो गाडी या जहाजमा होइन, पब्लिक बसमा 'डेटिङ स्पट' सम्म जान अनुरोध गर्थंे । ताकि उहाँलाई पनि थाहा होस्, पब्लिक बसमा यात्रा गर्दा कति सास्ती खेप्नुपर्छ, हाम्रा बाटाघाटा कस्ता छन्, कत्तिको जाम हुन्छ, राजमार्गका होटेलमा कतिसम्म मनपरी छ, सबै कुरा उहाँले देख्नुका साथै महसुस गर्न पाउनुहुन्थ्यो ।
'डेटिङ स्पट' पुगेपछि हाम्रा प्रधानमन्त्रीले वरिपरिको वातावरण बुझ्न पाँच मिनेट लगाउनुहुन्थ्यो होला । त्यसपछि सुरु हुन्थ्यो उहाँ र मेरो 'डेट' । म सुरुमै उहाँलाई आफ्नो विगत 'रिमाइन्ड' गराउँथेँ । मान्छेलाई कुनै कुरामा ऊर्जा दिलाउनु छ भने उसको विगत याद दिलाइदिनुपर्छ । त्यसले त्यो व्यक्तिलाई बोल्ड डिसिजन गर्ने ऊर्जा दिन्छ । त्यसकारण म प्रधानमन्त्रीलाई उहाँको विगत स्मरण गराइदिन्थँे । गोर्खामा बितेको उहाँको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, उहाँको अध्ययन, संघर्ष, राजनीति प्रवेश, जनयुद्ध, जनतासमक्ष गरेका बाचा, क्रान्तिको सफलता र उपलब्धिबारे याद दिलाउँथेँ ।
प्रधानमन्त्री बन्नुअघिका योजना, जनतालाई देखाएका सपना र प्रधानमन्त्री बनेपछिको यथार्थ उहाँले सरर स्मरण गर्नुहुन्थ्यो । अनि उहाँ आफूले आफैँलाई तौलनुहुन्थ्यो कि बाचा कति पूरा भए ? उहाँले सोच्नुहुन्थ्यो, मेरो दायित्व के हो ? म कति सफल भएँ, मैले के गरिरहेको छु र अब के गर्नुपर्छ ?
मध्यमवर्गीय परिवारको उहाँले जीवनमा आफ्नो लक्ष्य हासिल गर्न जति संघर्ष गर्नुभएको छ, त्यो आमनेपाली युवाका लागि प्रेरणादायी छ । उहाँ जसरी सामान्यबाट उठेर मुलुकको प्रधानमन्त्री बन्न सफल हुनुभयो, त्यसरी नै उहाँले साँच्चै नै चाहनुभयो भने मुलुकमा आमूल परिवर्तन ल्याउन सक्नुहुन्छ । भनेजस्तो सहज छैन होला, तर असम्भव त छैन नि ? जसरी युद्धकालमा उहाँ नेपाललाई स्विट्जरल्यान्ड बनाउँछौँ भन्नुहुन्थ्यो, अहिले गर्न नसकिने कारण के छ ? उहाँ मुलुकको सर्वाेच्च कार्यकारी पदमा हुनुहुन्छ । उहाँ दिलदेखि लाग्नुभयो भने यी सब कुरा सम्भव छन् । उहाँलाई म सोध्थेँ, तपाइर्ं हिन्दी फिल्म नायकको अनिल कपुर किन बन्न सक्नुहुन्न ?
प्रक्रिया लामो होला तर हरेक कुराको परिवर्तन एक सेकेन्डमै हुन्छ । राम्रो काम गर्न पाँचै वर्ष प्रधानमन्त्री बनिरहनुपर्दैन । नायकको अनिल कपुरले जस्तो चौबीसै घन्टामा मुलुकमा आमूल परिवर्तन गर्न सकिन्छ । म उहाँलाई यो कुरा फेरि सोध्थेँ । मेरो कुरा सुनेर उहाँ पक्कै पनि गम्भीर हुनुहुन्थ्यो होला । मेरा कुरा सुनेर उहाँले मलाई राजनीति जनतालाई फकाउन भनेजस्तो सजिलो हुँदैन भनेर कन्भिन्स गर्न खोज्नुहुन्थ्यो होला । म फेरि नायककै कुरा गर्थें । त्यसपछि उहाँले बोल्ड डिसिजन लिनुहुन्थ्यो होला- अमरिस पुरीले जस्तो ल, तपाईंलाई त्यही नायक फिल्मको अनिल कपुरलाई जस्तो एक दिनका लागि प्रधानमन्त्री बनाइदिन्छु । तपाईंले एक दिनमा मुलुकमा परिवर्तन गरेर देखाइदिनुस् न त । म उहाँको प्रस्ताव सहर्ष स्वीकार गर्ने थिएँ । एक दिनमै नायक फिल्ममा देखाएझैँ देशमा आमूल परिवर्तन गर्ने थिएँ ।
देश र राजनीतिका बारे चिन्तन गरेर एक दिनका लागि प्रधानमन्त्री बन्ने अवसर पाएपछि म एकछिन उहाँसँग प्रेमका कुरा गर्ने थिएँ । मलाई मान्छेहरू लभगुरु भन्छन्, मैले पाठकका प्रेमसम्बन्धी समस्याको समाधान पनि गर्ने गरेकी छु । तर, केही समययता म आफँै समस्यामा छु । म प्रधानमन्त्रीज्यूलाई तपाइर्ंले हिसिला म्यामसँग कसरी प्रेम गर्नुभएको थियो ? भनेर सोध्ने थिएँ । मैले उहाँलाई हिम्मतिलो प्रेमीका रूपमा पनि बुझेकी छु । किनभने, उहाँले त्यो जमानामा अन्तरजातीय प्रेमविवाह गर्नुभएको थियो । उहाँले आफ्नो प्रेमलाई सफल पार्न केके उपाय अपनाउनुभएको थियो, ती सबै कुरा बुझ्न खोज्थँे ।
उहाँ हत्तपत्त हाँसेको देखिँदैन । प्रेमसम्बन्धी मेरो जिज्ञासाले उहाँ मुस्कुराउनुहुन्थ्यो होला, सायद । केही न केही त पक्कै बताउनुहुन्थ्यो । उहाँले दिएका 'लभ टिप्स्' म पनि प्रयोग गर्थें । प्रेमपीडामा परेका पाठकलाई पनि काम लाग्थ्यो ।
लुम्बिनीमा 'डेटिङ' सकेपछि म उहाँलाई नाइट बसमा काठमाडौं फर्काैं भन्थेँ, ताकि उहाँलाई रात्रि बसमा यात्रुले कस्ता समस्या भोग्नुपर्छ भन्ने कुराको एकपटक फेरि अनुभूति होस् । किनभने मलाई मात्र होइन, कुनै वेला उहाँले पनि रात्रि बसमा यात्रा गर्नुहुन्थ्यो । त्यतिवेला आफूले भोगेका दुःख आमनेपालीका दुःख हुन् भन्ने कुराको हेक्का उहाँलाई हुने थियो र समस्या समाधानका लागि तुरुन्त पहल गर्नुहुन्थ्यो ।
काठमाडौं आएर छुट्टनिे वेलामा डेटिङमा मैले भनेका कुराप्रति उहाँ कत्तिको गम्भीर हुनुुहुन्छ भनेर विचार गर्ने थिएँ । त्यत्रो भाँती भन्दा पनि उहाँ 'अब त केही बोल्ड डिसिजन लिनैपर्छ' भन्नेमा पुग्नुभएन भने मसँग अर्को विकल्प छ । म उहाँलाई मेरो नयाँ फिल्म हमेसाको नायकको रूपमा अभिनय गर्ने अफर गर्थंे । देशको नायक बनेर जनताका दुःखपीडा निर्मूल गर्न सक्नुहुन्न भने फिल्मको नायक बनेर जनतालाई अढाई घन्टा मनोरञ्जन दिन त सक्नुहुन्छ नि ! मैले कल्पना त गरेँ, तर यो दिन चाहिँ कहिले आउला ?
No comments:
Post a Comment