Friday, September 14, 2012

अस्ताए चे ग्वेभारालाई भेटेका एक्ला नेपाली

पीडीएफ मुद्रण इमेल
लटपुलटमय राजनीतिक इतिहासका साक्षी बनेका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको बुधबार निधन भयो । केही महिनाअघि मात्रै गणतन्त्र संस्थागत भएको देख्ने धोको भएको आशय व्यत्तल गरेका सिंहले अब त्यो देख्न पाएनन् । जुन चाहना राखेका थिए ।
गणतन्त्रवादी नेता भनेर चिनिने सिंहको विषयमा कमैलाई जानकारी भएको अर्को पहिचान के हो भने विश्व कम्युनिस्ट आन्दोलनका अगुवा चे ग्वेभारासँग उनले भेटेका थिए । वर्मास्थित एक गोप्य स्थानमा जम्मा पाँच मिनेटको संवादको अनुभव उनीसँग थियो ।
चे ग्वेभारालाई भेट्ने एक मात्र नेपाली थिए, रामराजाप्रसाद सिंह । बर्माको एक गोप्य स्थानमा चे ग्वेभारासित भएको भेटपछि आफूमा गणतन्त्रप्रति थप ऊर्जा थपिएको नेता सिंहले नै खुलासा गरेका थिए ।
गणतन्त्र स्थापनाको आन्दोलनमा नौ वर्षकै कलिलो उमेरमा नेता सिंह आफ्नो भाइ लक्ष्मणप्रसाद सिंह र बुबा जयमंगल सिंहसँगै जेल परेका थिए । जेलजीवनपश्चात्को भारत बसाइ, भारतका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन, भारतकै बसाइका क्रममा इन्दिरा गान्धीसँगको भेट, क्रान्तिकारी क्लाराको सहयोगमा चे ग्वेभारासँगको भेट अविस्मरणीय रहेको नेता सिंहले बताएका थिए ।
उनले भनेका थिए, 'चे ग्वेभारासँग भएको पाँच मिनेटको छोटो तर पहिलो भेटमै मैले उनलाई आफ्नो आदर्शका रूपमा मान्न थालेँ,' अन्तर्वार्ताका क्रममा नेता सिंहले भनेका थिए, 'तर दुर्भाग्य त्यो मेरो उहाँसँगको पहिलो र अन्तिम भेट भयो, चाहेर पनि फेरि भेट्न पाइन्न ।'
आफ्नो परिवार, छोरा-छोरी, श्रीमती, गाउँघर, सम्पत्ति सबैथोक त्यागेर जीवनभर नै गणतन्त्रका लागि संघर्ष गर्ने यी गणतन्त्रवादी नेतामा कहिल्यै पनि 'कुर्सिमोह' र 'पदलोलुपता' थिएन । तत्कालीन राजा महेन्द्र स्वयं यिनलाई प्रधानमन्त्रीको कुर्सी दिन तयार भएका थिए । तर, प्रधानमन्त्री बन्न आएको प्रस्तावसमेत नेता सिंहले लत्याइदिएका थिए । 'म बिकाउ होइन,' सिंहले उतिवेलै निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि यिनै तीन शब्द राजा महेन्द्रलाई जवाफ दिएका थिए ।
संसदीय व्यवस्थाको घोरविरोधी थिए नेता सिंह । 'बेलायती साम्राज्यवादको नीतिमा स्थापित छ संसदीय व्यवस्था, अहिले पनि नेपालको विकासका लागि अमेरिकी मोडेलको लोकतान्त्रिक गणतन्त्र अर्थात् राष्ट्रपतीय प्रणालीमा मेरो विश्वास छ,' नेता सिंहले भनेका थिए, 'संसदीय व्यवस्था र प्रधानमन्त्रीवाला सिद्धान्तमा देश गइराख्यो भने नेपालको विकास कहिले पनि सम्भव हुनेवाला छैन ।'
तराई-मधेसको नाममा राजनीतिक मुद्दा उठाएर छिट्टै लोकपि्रयताको चरमोत्कर्षमा पुग्न सकिने यस देशमा उनले कहिले पनि एउटा मधेसी भएर, तराईवासीको छोरा भएर राजनीतिक संघर्षलाई अगाडि बढाएनन् । किनभने, उनमा खोक्रो राष्ट्रवाद थिएन । नेपालीको राष्ट्रिय स्वाधीनता,  स्वाभिमान, अधिकार र गणतन्त्र स्थापनाका लागि उनले आफ्नो सर्वस्व नै दाउमा लगाइदिए ।


अन्तिम इच्छा- गणतन्त्र संस्थागत

सिंहको अन्तिम इच्छा थियो, 'लामो समयको विभिन्न आन्दोलनपछि स्थापना भएको गणतन्त्र संस्थागत हुनु ।' तर, वर्तमान राजनीतिक उतारचढावले सिंहको अन्तिम इच्छा अपुरै रहन पुग्यो ।
पटक-पटक अन्तर्वार्ताका क्रममा नेता सिंहले आफ्नो अन्तिम इच्छा नेपालमा गणतन्त्र संस्थागत भएको हेर्नुरहेको भन्ने छुटाउँदैनथे । १५ जेठ २०६९ मा मुलुकभरि हर्षोल्लासका साथ गणतन्त्र दिवस मनाइरहँदा संविधानसभाले यसवर्ष भने मुलुकमा गणतन्त्र संस्थागत भएको घोषणा हुने आश थियो सिंहलाई । तर, सिंहको त्यो आशलाई राजनीतिक दलहरूले पूरा गर्न सकेनन् ।
पछिल्लो पटक १६ जेठ २०६९ मा राजविराजस्थित उनकै निवासमा अन्तर्वार्ता लिइरहँदा नेता सिंह ज्यादै चिन्तित देखिएका थिए । त्यतिवेला पनि सिंहले भनेका थिए, 'स्थापना भएको गणतन्त्रलाई जुनसुकै हालतमा संस्थागत गरी यो राष्ट्रलाई अझ मजबुत बनाउनुपर्छ, पटक-पटक चुकेका राजनीतिक दलका नेताहरूमा अझै जिम्मेवारी बढ्नुपर्छ, नत्र समाप्त भएको राजतन्त्र फेरि सलबलाउने खतरा भन्ने टरेको छैन ।'
अन्तर्वार्ताका क्रममा सिंहले संविधानसभाबाट मुलुकलाई संघीयतासहितको नयाँ संविधान प्राप्त हुनेमा आफू विश्वस्त भए पनि त्यो विश्वासलाई राजनीतिक दलहरूले चकनाचुर बनाइदिएको गुनासो गरेका थिए । 'संविधानसभा संविधान जारी नगरी अवसान भयो,' गणतन्त्रवादी नेता सिंहले भनेका थिए, 'मुलुकले नयाँ संविधान नपाएकाले मेरो मन रोएको छ, मेरो अन्तिम इच्छा मुलुकमा गणतन्त्र संस्थागत भएको हेर्ने थियो, त्यो पनि पूरा नहोला जस्तो छ ।'
राजनीतिक शक्तिहरूले देखाएको नैराश्यतापूर्ण व्यवहारले मुलुकमा संविधानसभाबाट निकट भविष्यमा पनि संविधान आउन नसक्ने नेता सिंहले ठोकुवा गरेका थिए । 'विवादित विषयलाई निष्कर्षमा ल्याई नयाँ संविधान जारी गर्न संवैधानिक आयोग एक मात्र विकल्प छ,' सिंहले भनेका थिए, 'हाम्रो मुलुकको परिवेशमा संसदीय प्रणाली बारम्बार फेल भइसकेकाले अबको समयमा प्रत्यक्ष राष्ट्रपति निर्वाचित गर्नुपर्छ र राष्ट्रपतिले संवैधानिक आयोग गठन गरेर मुलुकलाई नयाँ संविधान दिएर निकास दिनुपर्छ ।'


सिंहको निधनले बजार बन्द

पुख्र्यौली घर सप्तरीको कोइलाडी गाविस रहेका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह मुलुकको पहिलो राष्ट्रपतिको निर्वाचनमा पराजित भएपछि राजविराजस्थित आफ्नै निवासमा रहँदै आएका थिए । बुधबार बिहान नेता सिंहको निधनको खबरले सिंग्ाो सप्तरी नै शोकमा डुब्यो । साथै, बुधबार बिहान राजविराजका बजार, पसलसमेत स्वतस्फूर्त रूपमा बन्द भए ।
राजविराज र कोइलाडीस्थित सिंहको दुवै निवासमा बुधबार बिहानैदेखि सर्वसाधारण, आफन्तजन, राजनीतिक दल तथा पत्रकारको भीड लागेको थियो ।
रामनारायण विश्वास/सप्तरी from Naya Patrika

No comments:

Post a Comment