Monday, September 17, 2012

आधा लडाकु मात्रै परीक्षामा

सरोजराज अधिकारी  काठमाडौ, आश्विन २ - समायोजन रोजेर बसेका कुल पूर्वलडाकुमध्ये १ हजार ५ सय ४४ मात्र लिखित परीक्षामा सहभागी भएका छन् । यीमध्ये ८६ लडाकुले अधिकृतका लागि लिखित परीक्षा दिएका छन् ।
माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिका संयोजक बालानन्द शर्माका अनुसार अधिकृतका लागि चितवन र अन्य दर्जाका लागि विभिन्न शिविरमा सोमबार सम्पन्न लिखित परीक्षामा ६८ जना अनुपस्थित रहे । 'अब समायोजित हुनेको संख्या बढीमा १ हजार ५ सय ४४ हुनेछ । अनुपस्थित कोही पनि लिखित परीक्षामा सहभागी हुन पाउने छैनन्,' शर्माले भने ।  
विभिन्न शिविरमा समायोजन रोजेर बसेका ३ हजार १ सय २३ मध्ये भर्ना, छनोट प्रक्रियाका
क्रममा ६८ जना अनुपस्थित रहेको शर्माले जनाए । बाँकी १ हजार ५ सय ११ जना स्वैच्छिक अवकाश रोजी चेक लिएर बाहिरिएका छन् । दुई जनाको निधन भइसकेकाले मृतकका परिवारलाई अवकाश हुँदा पाउने रकमबापतको चेक दिइएको शर्माले जनाए ।

संख्यामा निकै लामो विवादपछि २०६८ कात्तिक १५ मा प्रमुख दलहरूबीच समायोजनलगायत विषयमा सातबुँदे सहमति भएको थियो । त्यसमा बढीमा ६ हजार ५ सय लडाकुलाई सेनामा 'राष्ट्रिय विकास तथा सुरक्षा' महानिर्देशनालय बनाएर समायोजन गर्ने सहमति बनेको थियो । ६ हजार ५ सय लडाकुलाई ३५ प्रतिशत मानी त्यत्तिकै प्रतिशत सेना र बाँकी ३० प्रतिशत प्रहरी र सशस्त्र प्रहरीबाट मिसाएर कुल १८ हजार ५ सय ७२ जनशक्तिसहितको महानिर्देशनालय गठन गर्ने सातबुँदेमा उल्लेख छ । तर समायोजनमा जाने लडाकुको संख्या निकै कम हुने भएपछि महानिर्देशनालय गठनमा अन्योल सिर्जना भएको छ ।
अनुपस्थितमध्ये अधिकांश पूर्वलडाकुका कमान्डर छन् । अनुपस्थित हुनेमा सचिवालय सदस्यसमेत रहेका चौथो डिभिजनका पूर्वकमान्डर तेजबहादुर ओली, पूर्वडिभिजन कमान्डरहरूमा दोस्रोका सुकबहादुर रोका, तेस्रोका धनबहादुर मास्की, छैटौंका महेन्द्रबहादुर शाही, सातौंका सन्तु दराईलगायत छन् । यी सबै एमाओवादी महाधिवेशन आयोजक समिति सदस्य छन् ।
कतिपय बिरामी, सुत्केरी अवस्थामा रहेको र अन्य विविध कारणले अनुपस्थित रहे । अनुपस्थित पूर्वलडाकुले स्वैच्छिक अवकाश रोज्न पाउने छन् । एमाओवादी महाधिवेशन आयोजक समिति सदस्यसमेत रहेका पहिलो डिभिजनका पूर्वकमान्डर यामबहादुर अधिकारीले भने समायोजनका लागि भर्ना, छनोट प्रक्रियामा सहभागी भएका छन् । उनले लिखित परीक्षासमेत दिएका छन् । एमाओवादीले केन्द्रीय राजनीतिमा रहेका लडाकुलाई समायोजनमा नलैजाने बताएको थियो ।  
लिखित परीक्षामा सहभागी हुने अन्य उच्च कमान्डरमा चौथोका पूर्वडिभिजन भाइस कमान्डर वासुदेव घिमिरे र तत्कालीन हेडक्वार्टरमा कार्यरत वीरेन्द्र बुढा छन् । एमाओवादी स्रोतका अनुसार अधिकारी, घिमिरे र बुढालाई मेजरभन्दा माथिका पद दिनेमा सहमति भइसकेको छ । एमाओवादी दाबीअनुसार अधिकारीलाई कर्णेल
-महासेनानी), घिमिरे र बुढालाई लेफटिनेन्ट कर्णेल -प्रमुख सेनानी) दिने सम्बन्धमा दलहरूबीच सहमति भएको छ ।
नेपाली सेनाको प्रचलित मापदण्डअनुसार भने समायोजित हुने लडाकुले बढीमा मेजर -सेनानी) सम्मको पद पाउन सक्छन् । सेनाले समायोजन सम्बन्धमा सरकारलाई बुझाएको प्रस्तावमा पनि बढीमा मेजरसम्म दिन सकिने उल्लेख छ ।
लिखित परीक्षामा समावेश अधिकृतभन्दा तल्लो तहका १ हजार ४ सय ७६ पूर्वलडाकुको नतिजा बुधबार प्रकाशित गरिने छ । त्यसपछि लिखित परीक्षा उत्तीर्ण गर्नेको स्वास्थ्य परीक्षण गरिने छ । रोल्पाका लडाकुको दाङमा र अन्यको सम्बन्धित शिविरमै स्वास्थ्य परीक्षण गरिने शर्माले जानकारी दिए । त्यसका लागि सेनासमेत सम्मिलित लोकसेवा आयोगको कार्यवाहक अध्यक्ष कयोदेवी यमी नेतृत्वको भर्ना, छनोट समितिले आवश्यक उपकरण सम्बन्धित शिविरमा पुर्‍याइसकेको छ ।
स्वास्थ्य परीक्षणको नतिजा भने भदौ ७ गते मात्रै आउने छ । लिखित र स्वास्थ्य परीक्षण उत्तीर्ण गर्ने लडाकुहरू तालिमका लागि सेनाले तोकेका सम्बन्धित केन्द्रमा जानेछन् । अनुत्तीर्णलाई भने दर्जाअनुसार स्वैच्छिक अवकाशबापत पाउने रकम बराबरको चेक दिएर बिदा गरिने
छ । तालिमका क्रममा कोही भागे वा सकेनन् भने सैनिक ऐनअनुसार कारबाही हुनेछ । उनीहरूले अवकाशबापतको रकम पनि पाउने छैनन् ।
अधिकृत दर्जाको लिखित परीक्षाको नतिजा भने भदौ ६ गते प्रकाशित हुनेछ । त्यसपछि उनीहरूको व्यापक स्वास्थ्य परीक्षण हुनेछ । त्यससँगै गुणमापन परीक्षा लिइने छ । यी सबै कार्य पूरा गरी अधिकृत छनोटको अन्तिम नतिजा भदौ २१ गते प्रकाशित गरिने छ । सबै परीक्षामा उत्तीर्ण लडाकुलाई यसअघि पाउँदै आएको रासन र भत्ता सुविधासहित ४५ दिनका लागि बिदामा पठाइने छ ।
यसबीच भर्ना, छनोटमा उत्तीर्ण पूर्वलडाकुको समायोजनका लागि सेनामा कस्तो संरचना कुन विधिबाट गठन गर्ने भनी टुंगो लगाइने छ । विशेष समितिले यसअघि नै गरेको निर्णयअनुसार त्यसपछि मात्र भर्ना, छनोट उत्तीर्ण लडाकुको तालिम सुरु हुनेछ । अवकाशमा गएकालाई हाल दिइएको चेकको भुक्तानी दसंैपछि कात्तिक १५ देखि मसान्तसम्म हुनेछ ।
from Kantipur

No comments:

Post a Comment