Saturday, September 29, 2012

करिमा बेगमसँग रमाइलो संवाद

करिमा बेगमको अन्तर्वार्ता लिन जाँदै छु भन्दा कतिपय  साथीले हो र भन्दै जिब्रो टोके । कतिपय रमाइलो मानेर हाँसे । आखिर यो देशको मन्त्री भइसकेको महिला, तपाईंको नाम सुनेर कोही डराउँछन्, कोही हाँस्छन् । किन यस्तो इमेज छ तपाईंको ?
हिन्दीमा एउटा भनाइ छ- राम तेरी गंगा मैली हो गई पापीओँके पाप धोतेधोते । समाजमा पुरुषहरू अत्याचारी छन्, तिनीहरूको पाप धुँदाधुँदा हामीजस्ता महिला आफैँ मैला भएका छौँ । पुरुषप्रधान समाजमा कि चुप लागेर बस्नुपर्‍यो, बोल्दा 'चलित्रहीन' भइन्छ । तर, म खुलस्त बोल्छु । काम पनि सीधा गर्छु ।

जसले अन्याय गरेको छ, त्यो मसँग डराउँछ । जसले मेरो काम देखेको छ, त्यो खुसी हुन्छ र हाँस्छ । हाम्रो समाज मात्र होइन राज्य र प्रहरी प्रशासन पनि अन्धो छ । जसको पहुँच छ, त्यसैले अन्याय गर्छ । र, प्रहरी प्रशासन लगाएर पीडितमाथि थप अत्याचार गर्छ । अस्ति भर्खरको कुरा हो, एउटा लोग्ने मान्छेले श्रीमती हुँदाहुँदै अर्की महिला बिहे गर्‍यो । श्रीमती प्रहरी प्रशासनमा न्याय माग्न गएकी थिइन् । तर, उनको श्रीमान्को पहुँच थियो । त्यसैले प्रहरीले पीडित महिलालाई भनिदियो- लोग्ने त ठीक छ, तिमी नै 'चलित्रहीन' हौ । समाजमा अत्याचार गर्नेहरू हामीजस्ता महिलासँग डराउँछन्, जो पीडित छन्, तिनीहरू खुसी हुन्छन् र हाँस्छन् । म विद्रोही स्वभावको मान्छे हुँ, त्यहीअनुसार काम गर्छु ।
तपाईं सांसद् हुनुभयो, मन्त्री हुनुभयो, त्यसैले आफ्नो पावरले विद्रोही देखिनुभयो, योभन्दा अघि त कसैलाई अन्याय भएको छ भनेर तपाईंले समाजमा विद्रोह त गर्नुभएको थिएन ?
म पहिलेदेखि नै यस्तै हो । वीरगन्जमा मेरो छिमेकमा एकजना बदमास 'स्माइकर' टाइपको मान्छे थियो । (स्माइकर शब्द नौलो लाग्योे, पटक-पटक सोधेपछि अनुमान गरियो, उनले सायद 'स्मग्लर' भन्न खोजेकी हुन् ।) उसले आफ्नी श्रीमतीलाई कुटपिट गथ्र्यो । कतिसम्म भने श्रीमती सुत्केरी हुने वेलासम्म उसले वास्ता गरेन । तीन दिनदेखि सुत्केरीलाई व्यथा लागेको थियो, तर हेरचाह गर्ने कोही थिएन । अचानक उनी गम्भीर भएपछि मैले राति १ः०० बजे अस्पताल लगेँ । नारायणी क्षेत्रीय अस्पतालमा पुग्दा त सारा डाक्टर र 'नरस' सुतिसकेका रहेछन् । मैले उनीहरूलाई उठाउन खोजेँ, उठेर एकजनाले बिरामीलाई हेरे पनि । तर, रातिको समय छ भन्दै फेरि सुते । यता, गर्भवतीको ज्यान जान थालिसकेको छ । उता, डाक्टर केही पनि भएको छैनजस्तो गरी सुत्छन् । मैले कुर्सी तानेर लडाइदिएँ । त्यसपछि हंगामा भयो । सारा डाक्टर, 'नरस', कर्मचारी जम्मा भएर मलाई घेरे । म चिच्याइरहेकी थिएँ । उनीहरू भन्दै थिए, 'यो पागल भइसकी, यसलाई यहाँबाट निकाल ।' उनीहरू मलाई समात्न खोज्दै थिए । तर, मैले भनिदिएँ, 'खबरदार Û मेरो जिउमा हात राख्यौ भने तिम्रो हात म काटेर राखिदिन्छु ।' त्यसपछि उनीहरूले छुन त सकेनन्, तर बिरामीको उपचार पनि गरेनन् । म आफैँ बाध्य भएर बिरामीको पेट निचोर्दै बच्चा बाहिर निकालेँ । तर, दुर्भाग्य Û तीन दिनको व्यथाले बच्चा मरिसकेको थियो । मैले यो किन भनिराखेको छु भनेँ दुखिया, गरिबको पक्षमा म पहिलेदेखि नै लड्दै आएकी हुँ ।
त्यतिवेला तपाईं सर्वसाधारण हुनुहुन्थ्यो, तर मन्त्री भएका वेला पर्सामा सिडिओमाथि हातपात गर्नुभयो, कानुन कार्यान्वयन गर्ने दायित्व भएको वेला तपाईंलाई सुहाउने काम थियो त्यो ?

मलाई बोल्न मन थिएन, तर तपाईंले दुर्गाप्रसाद भण्डारीको प्रसंग ल्याउनुभयो । अब बोल्नैपर्ने भयो । म मुस्लिम समुदायको महिला हुँ । सांसद् भएँ, मन्त्री भएँ, तर मेरो आफ्नो संस्कार छ । प्रचण्ड त्यति ठूलो नेता हुनुहुन्छ, बाबुराम प्रधानमन्त्री पनि हुनुहुन्छ । अरू पनि थुप्रै नेता छन् । तर, म अहिले उहाँहरू कसैसँग पनि हात मिलाउदिनँ । सम्मान गरेर उहाँहरूले हात बढाउँदा मैले शिर निहुराएर भन्छु, 'सरी हजुर, हाम्रो समाजमा यो मान्य छैन ।' तर, त्यो दुर्गाप्रसाद भण्डारीले सिडिओ हुँ भन्दैमा मेरो हात समात्यो । त्यसैले मैले प्रतिकार गरेकी हुँ ।
अचानक कार्यक्रममा भेट हुँदा तपाईंसँग उनले हात मिलाउन खोजेका त होइनन्, तपाईं उनकै कार्यालयमा गएर हंगामा गर्दै हातपात गर्नुभएको होइन र ?

हात मिलाउन होइन, ममाथि अपमान गर्न उसले हात अघि बढाएको हो । त्यसैले जवाफ पायो । म मन्त्री त्यसै भएको होइन, जनताले जिताएर भएकी हुँ । मन्त्री भएपछि आफ्नो गृहजिल्लाको सिडिओलाई मैले पटक-पटक फोन गरेँ । तर, उसले कहिल्यै राम्ररी बोलेन । कहिले यता छु भन्छ, कहिले उता छु भनेर टार्छ । मै उता गएको वेला पनि उसले मलाई वास्ता गरेन । जनताका प्रतिनिधिलाई सेवा र सम्मान गर्नु उसको कर्तव्य हो, तर उसले गरेन । त्यसैले म कार्यालयमा गएँ । मन्त्रीको आदेश मान्नुपर्छ भनेर सम्झाउन खोजेँ । तर, उसले भन्यो, 'तपाईंको पावर छ भने मेरो जागिर खानुस्, मलाई सरुवा गरेर देखाउनुस् ।' उसले यसो भनिरहँदा औँला ठड्याइरहेको थियो । मलाई जङ चल्यो, त्यसैले भनिदिएँ, 'ए औँला निचे राख्नुस्, निचे राख्नुस्, नत्र राम्रो हुन्न ।' म उनलाई चेतावनी दिँदै थिएँ, तर उसले उल्टै मेरो हात समात्यो । त्यसपछि मैले सहन सकिनँ, घुमाएर गालामा दिएँ । मैले त्यो झापड कुनै एउटा व्यक्तिलाई दिएको होइन, एउटा अहंकारी पुरुषलाई, अत्याचारी कर्मचारीलाई दिएकी हुँ । त्यसमा मलाई कुनै पछुतो छैन । महिलालाई हेप्ने त्यस्ता पुरुषलाई यस्तै कारबाही गर्नुपर्छ ।
तपाईंले अन्यायविरुद्ध कारबाही गर्नुभएको हो भने त सबैतिरबाट स्याबासी पाउनुपर्ने थियो । तर, आफ्नै प्रधानमन्त्री माधवकुमार नेपालले पनि तपाईंलाई हप्काउनुभयो, जवाफमा तपाईंले के भन्नुभयो ?

हेर्नुस्, दुर्गाप्रसाद भण्डारी पनि पुरुष हो, माधव नेपाल पनि पुरुष हो । घटनालगत्तै प्रधानमन्त्रीले मलाई फोन गरेर हप्काउन खोज्दै हुनुहुन्थ्यो । उहाँको भनाइ थियो, 'सिडिओमाथि किन हात हाल्नुभयो ? ठूलो गल्ती गर्नुभयो, तपाईंले ।' जवाफमा मैले भनिदिएँ, 'प्रधानमन्त्रीज्यू, एउटा सिडिओले मन्त्रीको हात समात्यो, मन्त्रीकै हात समात्नेले सर्वसाधारण महिलालाई के गर्छ ? भोलि जिउ पनि समात्छ र बेडमा पनि लान सक्छ । त्यही अन्याय/अत्याचार सहने हो ? मैले त आज हात मात्रै फर्काएँ, हाम्रो मुस्लिम समुदायमा त त्यस्ता पुरुषको हातै काट्ने प्रथा छ ।' मेरो कुरा सुनेपछि उहाँ चुप लाग्नुभयो । केही बोल्न सक्नुभएन ।
तर, प्रधानमन्त्री बोलेको त सबैले सुने नि, अराजक मन्त्रीलाई कारबाही गर्छु भन्नुभयो नि उहाँले त ?
उहाँले सार्वजनिक रूपमा भन्नुभयो, तर कारबाही गर्न सक्नुभयो ? पुरुष अहंकारीको रूपमा ममाथि कारबाही गर्ने मन हुँदो हो, उहाँलाई । तर, उहाँका बाध्यता थिए । उहाँ प्रधानमन्त्री त्यसै बन्नुभएको होइन । गठबन्धनमा मधेसी दलको हिस्सा थियो । मलाई कारबाही गरेको भए उहाँको कुर्सी नै जाने थियो । त्यसैले कारबाही गर्छु भनेर सार्वजनिक रूपमा भने पनि केही गर्न सक्नुभएन ।
अन्याय कसैले गरेको छ भने मन्त्री आफैँले झापड हानेर कारबाही गर्दै हिँड्दा प्रहरी प्रशासन, कानुन, अदालत किन चाहियो ?

प्रहरी प्रशासन पनि अन्धो छ । होइन भने सुन्तुली (सुन्तली) धामीलाई बलात्कार कसले गर्‍यो ? प्रहरी कार्यालयभित्रै प्रहरी साथीबाटै उनको बलात्कार भयो । त्यो अपराध कुनै सर्वसाधारणले गरेको हो ? जनतालाई सुरक्षा दिने प्रहरी प्रशासनको कार्यालयभित्रै महिलामाथि बलात्कार हुन्छ भने सर्वसाधारण महिलामाथि कति अन्याय होला ? त्यसैले बोल्ने ठाउँमा बोल्नुपर्छ, झापड हान्ने ठाउँमा हान्नुपर्छ । महिला भनेको अन्याय सहन मात्र जन्मिएको होइन, न्याय दिने तागत पनि छ, उनीहरूसँग । महिला भनेको दुर्गा माता हो, चण्डी हो, छठी माता हो, पार्वती हो, उनीहरूलाई पुरुषले पनि पूजा गर्छन् । किनभने उनीहरूसँग तागत थियो ।
तपाईं मुस्लिम महिला, तर सम्पूर्ण हिन्दू देवीहरूको नाम थाहा रहेछ ?
लौ, म त धार्मिक प्रवचन पनि दिन्छु नि ।
प्रवचनको एउटा अंश सुनाउनुस् न त ?
जय जगदीश हरे Û भन्ने त छँदै छ ।
म अर्को पनि भन्छु-
लिया नही जब दिलसे प्रभुका नाम तो कन्ठीमाला झुलानेसे क्या फायदा ?
झुकना हे तो झुको प्रभुके चरन, इन्सानोके पास झुकनेसे क्या फायदा ?
तपाईं त बहुमुखी प्रतिभाको धनी पो हुनुहुँदोरहेछ ?

म त कवाली (मुस्लिम समुदायको दोहोरी) पनि गाउँछु । यति धेरै नजानेको भए वीरगन्जजस्तो ठाउँबाट प्रत्यक्ष निर्वाचनमा जितेर आउन सक्थेँ ? वीरगन्जमा चुनाव जित्ने भनेको फलामको चना 'चिबाउनु'जस्तै हो । चना 'चिबाएर' आएको हो । मान्छेहरू भन्थे, 'शेरहरूका अगाडि बकराको के काम ?' म भन्थेँ, 'सिकार मेरो मुखमा आयो भनेर शेरले आँखा बन्द गरेर मुख बाइराख्छ, छेउबाटै बकरा अगाडि निस्किन्छ ।' हो त्यसैगरी, मैले उनीहरूलाई छक्याइदिएँ । तर, मिडियाले पनि मलाई सहयोग गर्‍यो । म सम्मान गर्न चाहन्छु, किनभने मिडिया भनेको हाम्रो देशको दोस्रो, तेस्रो, चौथो अंग हो ।
अहिलेको मिडिया कस्तो लाग्छ तपाईंलाई ?

मिडियामा नुन-खुर्सानी प्रशस्त छ । तर, सब्जी काँचै छ ।
तपाईंको कुरा सुन्दा चेतना पर्याप्त छ । तर, औपचारिक शिक्षा लिन पाउनुभएनजस्तो छ, कतिसम्म पढ्नुभयो तपाईंले ?

तीन/चार कक्षा पढियो, गाउँमै । अँ त्यसपछि पनि पढेँ । एसएलसी पास गरेँ । एसएलसीचाहिँ इन्डियाबाट गरेँ । तर, इन्डिया पनि त्यस्तै हो नि । अहिले पो राम्रो भो, पहिलेको पढाइ राम्रो थिएन, त्यसैले हाम्रो पढाइ पनि त्यति राम्रो हुन सकेन ।
यति बोल्न सक्ने कसरी हुनुभयो ?

मेरो बुबा मौलाना हुनुहुन्थ्यो । उहाँले तकरिर (धार्मिक प्रवचन) दिनुहुन्थ्यो । वीरगन्ज ९ नम्बर वडामा मेरो माइती हो । १६ नम्बर वडामा मेरो घर हो । मेरा ससुरा सैयद अब्दुल बारीबाबालाई वीरगन्ज र भारतमा समेत नचिन्ने कोही थिएन । उहाँले छोएर दिएको माटो पानीमा मिसाएर खाएपछि जस्तोसुकै बिरामी पनि निको हुन्थ्यो । उहाँ फकिर बनेर पनि हिँड्नुभयो । ३०/३५ वर्षअघि भारतको दरियापुरको जंगलमा आश्रम लिनुभयो । उहाँले ३०/३५ वर्षअगाडि जहाँ साधना लिनुभएको थियो, त्यो धर्तीमा अहिलेसम्म पनि घाँस उम्रन सकेको छैन । उहाँको 'लिंक' सीधै 'गड'सँग हुन्थ्यो । सैयद भनेको मुस्लिमको सबैभन्दा माथिल्लो जात अथवा हिन्दूको बाहुनजस्तै हो । मेरा बुबा र ससुराले आफ्नो धर्म र जातको इज्जत राख्नुभयो, अहिले तपाईंसँग म चर्काचर्का कुरा गरिरहेको छु । मन्त्री/प्रधानमन्त्रीसँग कुरा गर्छु, आमसभामा बोल्छु । तर, कहिल्यै पनि मेरो टाउकोबाट 'चुनर' हटाउँदिनँ । यो उहाँहरूले दिएको शिक्षा हो । उहाँहरू दुवै हुनुहुन्न, तर मसँग उहाँहरूको तागत छ ।
तपाईंका बुबा र ससुरा दुवैजना विद्वान् र वैद्य हुनुहुँदोरहेछ, उहाँहरूले दिएको माटो खाएर पनि बिरामी मान्छे बाँच्दा रहेछन् । तर, उहाँहरू पनि बित्नुभएछ है ?

तपाईंलाई म अर्को 'मुहाबरा' भन्छु । हिन्दीमा भन्छन्- जित्ने ज्यानदार हे, उन सबको मौतका मजा चखना है -ज्यान भएका सबैले मृत्युको मजा चाख्नैपर्छ) । भगवान्हरू त मर्नुपर्‍यो, ऋषिहरू मर्नुपर्‍यो । त्यस्तै, महान् भए पनि मेरा बुबा र ससुराबा पनि मर्नुपर्‍यो । यो संसारमा मर्न नपर्ने दुई चिजलाई मात्रै हो । एउटा धरती, अर्काे आसमान ।
बुबा र ससुरा धर्मकर्ममा हुनुहुन्थ्यो । तपाईंको श्रीमान् पनि सायद राजनीतिमा हुनुहुन्नथ्यो, तपाईं कसरी आउनुभयो ?

हाम्रो बुबाहरू १२ भाइ हुनुहुन्थ्यो । उहाँहरूको तीनजना दिदीबहिनी हुनुहुन्थ्यो । अहिले पनि मेरो एकजना काकाको १६ जना छोराछोरी छन् । ती १६ जनाका बालबच्चा कति होलान् ? अहिले एउटा सिंगै गाउँ नै काकाको मात्रै छ । तर, नेपालमा होइन, भारतमै हो । हाम्रो यति ठूलो परिवारमा म दयालु स्वभावकी थिएँ । सानैमा पनि गरिब, दुखियालाई दया गर्थें । छिमेकमा कोही भोकै हुन्थ्यो र मेरो घरमा रोटी पाक्थ्यो भने मैले लुकाएर दुखियालाई दिन्थेँ । आमाले के लुकाएर लग्दैछस् भन्दा पनि केही होइन भन्दै म दौडेर छिमेकीको घरमा जान्थेँ । कसैलाई केही दुःख पर्दा सहयोग नगरेसम्म मलाई चैन हुँदैनथ्यो । मेरो यो स्वभाव देखेर धेरैले भन्थे- तिमी भोटमा उठ, जित्छौ । तर, म भन्थेँ, 'कहाँ हामीजस्तो मान्छे भोटमा उठेर हुन्छ ?' तर पछि म राजनीतिमा आएँ, चुनाव जितेँ र मन्त्री पनि भएँ ।
तपाईंको श्रीमान् त वैद्य पनि हुनुहुन्नथ्यो, नेता पनि हुनुहुन्नथ्यो नि ?

हो, उहाँ कतै हुनुहुन्नथ्यो । बिजनेस गर्नुहुन्थ्यो । तर, उहाँले सहयोग नगरेको भए म राजनीतिमा यति माथि आउनै सक्दिनथेँ ।
राजनीतिमा सफल भएर तपाईं मन्त्री हुनुभयो, त्यहीवेला श्रीमान् बिरामी हुनुभयो र मृत्यु पनि भयो होइन ?

हो, उहाँ बिरामी हुनुभयो र उपचारका क्रममा मृत्यु भयो ।
अन्तिम घडीमा श्रीमान्सँग तपाईंको भेट भएन है ?

भेट भएन । (केही छिन सन्नाटा)
अब राजनीतिकै कुरा गरौँ, मधेस आन्दोलन एउटा आँधीको रूपमा आयो । नत्र, तपाईं र अरू धेरै व्यक्ति यति छिटो नेता बन्न पाउँदैनथे कि ?

म मधेस आन्दोलनपछि नेता बनेकी होइन । आन्दोलन त ०६३ सालमा भयो । म ०६१ सालमै फोरममा लागेकी हुँ । आन्दोलन सफल भयो । मधेसका जनताले हामीलाई विश्वास गरे । त्यसैले हामी नेता भयौँ, मन्त्री भयौँ ।
मधेसी नेताहरू छिटै उदाउँछन् र भ्रष्टाचारी भनेर छिटै बदनाम हुन्छन्, किन होला ?

बिरालोले घिउ खायो भने के हुन्छ ? पच्दैन । (लामो हाँसो) । पहाडियाहरूले त वर्षौंदेखि खाँदै आएका छन्, उनीहरूलाई पचाउने बानी लागेको छ । अब मधेसीहरूले भर्खर खान थालेका छन्, उनीहरूले पचाउन सक्दैनन् । उल्टी गर्छन् । कोहीकोहीले उल्टी गरेनन् भने डकार्छन्, पेट फुलेको देखिन्छ । मधेसीहरू सत्तामा नयाँ भएका हुनाले उनीहरूले खाँदाबित्तिकै ग्यास्टि्रक हुन्छ, पहाडियाहरूलाई खाने बानी परेकोले आनन्दसँग पचाउँछन् । कसैले थाहै पाउँदैनन् ।
इतिहासमा सबैभन्दा ठूलो मन्त्रिपरिषद् बन्यो, तपाईंकै पार्टी फोरम लोकतान्त्रिक पनि सहभागी भएर ४९ जनाको मन्त्रिपरिषद् बन्दा तपाईं मन्त्री बन्नुभएन, किन होला ?

म हिन्दीमा भन्छु है । एउटा भनाइ छ ः
ओ इन्सान क्या इन्सान है, जिसमे त्याग नहीं ?
ओ समन्दर क्या समन्दर है, जिसमे पानी नहीं ?
ओ दिल क्या दिल है, जिसमे धड्कन नहीं ?
और ओ आँख क्या आँख है, जिसमे दृष्टि नहीं ?
म त्याग गर्न जानेको 'इन्सान' हुँ । ४९ जना मन्त्री हुँदा के सबै मभन्दा जान्ने/बुझ्ने थिए र ? कतिलाई बोल्न आउँदैनथ्यो, कतिलाई हिँड्न आउँदैनथ्यो, तैपनि मन्त्री भए । तर, म भइनँ । मलाई त्यसमा दुःख छैन । मैले त्याग गरेँ, खुसी छु ।
तर, पार्टीमा भेद्भाव भयो भनेर वेलावेलामा असन्तुष्टि देखाउनुहुन्छ नि, होइन र ?

त्यो ओपेन्दर (उपेन्द्र) यादव अध्यक्ष हुँदा हामीले असन्तुष्टि जनाएकै हो । वीरगन्जमा त्यसलाई कालोझन्डा हेराएकै हो । किनभने, हामी हैकमवादविरुद्ध लडेका हौँ । देशमा राजाको हैकम सकियो, ओपेन्दरको हैकम सहने कुरै हुन्न । त्यसैले पार्टी फुट्यो, अहिले फोरम लोकतान्त्रिकमा छौँ, हामी । हाम्रो पार्टीको अध्यक्ष विजय गच्छदारले राम्रो हेरविचार गर्नुभएको छ । अरू जोसुकै जस्ता हुन्, हाम्रो अध्यक्ष धेरै राम्रो नेता हुनुहुन्छ ।
तपाईं त विजय गच्छदारसँग पनि असन्तुष्ट भएर शरत्सिंह भण्डारीको पार्टीमा लाग्न थाल्नुभएको थियो, पछि कुरा के मिलेन ?

म त्यता लाग्दै लागिनँ । उहाँले मेरो बदनाम गराउन 'करिमा पनि मसँग छ' भनेर प्रचार गराउनुभयो । तर, म बदनाम भइनँ । उहाँको पार्टीमा लागिनँ ।
मधेसी दल यति धेरै भए, जति धेरै दल भए उति मधेसका समस्या ओझेलमा परे, अब फेरि चुनाव जित्छुजस्तो लाग्छ, तपाईंलाई ?

चुनाव भनेको जुवा हो -तास फिटेजस्तै हात पिट्दै) । जुवामा जित्दाजित्दै पनि हारिन्छ, हार्दाहार्दै पनि जितिन्छ । जो जिता वही सिकन्दर ।
अन्तिममा केही भन्नुहुन्छ ?

अन्तर्वार्ता लामो भयो, अर्काेपटक आउनुस्, कविता सुनाउँछु ।
उमेश चौहान from Nayapatrika

No comments:

Post a Comment