Sunday, September 23, 2012

पूर्वडिभिजन कमान्डर सहित ७५ उत्तीर्ण

काठमाडौ, आश्विन ६ -
समायोजनका लागि चालू पूर्वलडाकुहरूको परीक्षाअन्तर्गत अधिकृत तहको लिखित परीक्षामा पूर्वडिभिजन कमान्डर यामबहादुर अधिकारीसहित ७५ जना उत्तीर्ण भएका छन् । लिखित परीक्षा ८५ जनाले दिएका थिए । लिखित परीक्षा उत्तीर्ण हुनेमा पूर्वसहायक डिभिजन कमान्डरहरू वासुदेव घिमिरे, पदमबहादुर तामाङ र वीरेन्द्र बुढा पनि छन् । अधिकारीलाई समायोजनमा पूर्वलडाकुहरूको नेतृत्व गर्दै कर्णेल तहको नियुक्ति दिने समझदारी बनिसकेको छ ।

अधिकृत तहको अन्तिम नतिजा यही असोज २१ प्रकाशित गर्ने औपचारिक तालिकामा उल्लेख भए पनि दोस्रो हप्ताभित्रैमा नतिजा निकाल्ने तयारी भइरहेको उच्चस्रोतले जनाएको छ । यसैगरी अधिकृतमुनिका तहका परीक्षाअन्तर्गत शनिबार प्रकाशित स्वास्थ्य परीक्षण नतिजामा १ हजार ४ सय २ जना पूर्वलडाकु उत्तीर्ण भएका छन् । स्वास्थ्य परीक्षणमा ४२ जना अनुत्तीर्ण भएका छन् । अधिकृतमुनिकाको अन्तिम नतिजा आइतबार साँझ प्रकाशित हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सैनिक स्रोतका अनुसार लडाकु शिविरका हतियार व्यवस्थापन प्रक्रिया सोमबार सुरु हुनेछ । लडाकुका ७ मुख्य शिविरका १४ कन्टेनरमा गरी करिब ३ हजार २ सय हतियार छन् । माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको गत भदौ ११ को बैठकले समायोजन प्रक्रिया थालिएसँगै शिविरका सबै हतियार नेपाली सेनाको पूर्णस्वामित्वमा ल्याउने निर्णय गरेको थियो ।
from kantipur 

No comments:

Post a Comment