Friday, September 14, 2012

डेटिङका ती दिन

शर्मिला मल्ल, अभिनेत्री

सानैदेखि चुलबुले थिएँ । सायद म ११ वर्षमै तरुनी भएँ कि के हो ? एघार वर्षकै उमेरमा बिहेका लागि मलाई माग्न आउनेको ताँती नै लाग्थ्यो घरमा । बुबा त भन्नुहुन्थ्यो, 'तँ धेरै राम्री भएइकीले तँलाई
माग्न आएका ।'
म पद्मकन्या स्कुलमा पढ्थेँ । मलाई हेर्नैका लागि कति केटा आउँथे । गेटबाट चियाएर मात्रै भए पनि फर्किन्थे । म त्यसवेला १२ वर्षकी हुँदी हुँ । एउटा केटा थियो, नाम त बिर्सिएँ, जो मलाई खुब पछ्याउँथ्यो । 'सुन न...' भनेरै हैरान पाथ्र्यो । म भने वास्ता गर्दिनथेँ । एकदिन त उसले मेरो सलमा एउटा चिठी राखिदियो । त्यो 'लभ लेटर' थियो । मैले एक झापड हानिदिएँ । त्यसपछि उसले मलाई कहिल्यै पिछा गरेन ।
त्यसवेला रेडियो नेपालमा एउटा रूपक बज्थ्यो 'अँध्यारो उज्यालो' । त्यस कार्यक्रमका सञ्चालक कृष्ण मल्ल थिए । म उनकी प्रशंसक नै थिएँ । त्यो आवाजबाटै उनलाई मन पराउन थालेँ । मनमा तस्बिर सजिन्थ्यो, 'कस्ता होलान् ती ?'
र, एकदिन उनलाई भेट्न म रेडियो पुगेँ । मलाई पनि रूपक गर्न रहर थियो । त्यसवेला मल्लजीले मलाई हेर्दै 'मान्छे त राम्रै हो, खुट्टाचाहिँ छोटो रहेछ' भन्नुभो । मलाई त साह्रै चित्त दुख्यो । र, मनमा उनीप्रति घृणा उत्पन्न भयो । तर, म भित्रैदेखि उनीप्रति आकषिर्त थिएँ । अर्कोपटकको भेटमा त्यसो भनेकोमा उनले मसँग माफी मागे । र, मैले पनि उनीसँग रेडियो रूपकमा अभिनय थालेँ ।

र, म प्रेममा फसेँ

प्रेम आकर्षण हो कि श्रद्धा, मलाई थाहा थिएन । म उनलाई श्रद्धा गर्थें र आकषिर्त पनि थिएँ । सानै उमेरमा सायद म प्रेममा फसेँ । भेट्दा के भयो मेरो बोली फुटेन । किन यसो हुन्छ ? म यसैको खोजीमा थिएँ । प्रेम स्पर्श पनि हो र अनुभूति पनि । मलाई भित्रभित्रै उनी मनपर्न थालिसकेका थिए । रूपकलगत्तै कृष्ण मल्ल र मैले वासुदेव फिल्ममा सँगै काम थाल्यौँ । त्यसपछि हाम्रो टुसाउनै लागेको प्रेमले बिस्तारै फक्रिने र फुल्ने मौका पायो । त्यसपछि त हाम्रो भेट पनि बाक्लै हुन थाल्यो । सुटिङमा कुनैवेला मलाई अँगालोमा बाँध्नुपर्ने वा किस खानुपर्ने भयो भने निर्देशकले 'कट' भनिसक्दा पनि उनी मलाई निकैबेरसम्म अँगालोमा कसिरहन्थे । म त्यसवेला लाजले रातै हुन्थेँ । मुटु पनि जोडले धड्किएको हुन्थ्यो । यसरी हामी दुवैजनाले एकअर्कालाई माया गर्न थाल्यौँ ।

नर्बिर्सने त्यो रातो गुलाब

अब हामी दुईजना मात्रै निकैबेरसम्म एकान्तमा सँगै बस्न थाल्यौँ । उनी मलाई रातो गुलाब दिन्थे । एक-अर्काका आँखा हेरेर हामी मायाको गहिरो सागरमा डबुल्की माथ्यौर्ं । माया त शान्त तलाउ रहेछ । त्यहाँ कहिलेकाहीँ ढुंगा फाल्दा छप्ल्याक्क गर्छ । नत्र अरू वेला शान्त रहन्छ । हामी पुतलीसडकको कुनै चिया होटेलमा बसेर पनि माया साट्थ्यौँ । एक-अर्कामा स्पर्श गथ्यौर्ं । त्यसो गर्दा मलाई भित्रैबाट सिरिङ्ग हुन्थ्यो । म तातो हुन्थेँ । त्यसपछि त म घरबाटै पनि भागेर आउन थालेँ । उनलाई भेट्न स्कुलको 'ड्रेस'मा आए पनि ब्यागमा अर्को लुगा ल्याएको हुन्थेँ । हामी घुम्न कतै जाँदा भने त्यो
लुगा लगाउँथेँ ।

डेटिङका ती दिन

हाम्रो डेटिङ स्पट सार्वजनिक स्थल नै थिए, होटेल, पार्क वा सिनेमा-घर । भीडभाडमा पनि हामी शान्ति खोज्थ्यौँ । बुबा र दाइका आँखा छलेर उनलाई भेट्न आएकी मलाई उनीसँगै चौबीसै घन्टा बसौँजस्तो लाग्थ्यो ।
हामी त्यसवेला गोदाबरी, वसन्तपुरतिर गएर घन्टौँ बस्थ्यौँ । ट्रलिबसको पछाडि सिटमा हाम्रो माया खुम्चिन्थ्यो । म त साह्रै निर्दोष थिएँ । केही जान्दिनथेँ । उनी त परिपक्व थिए । मलाई धेरै कुरा सम्झाउँथे, बुझाउँथे ।
एक दिन म र आमा कुमारी हलमा फिल्म हेर्न गयौँ । फिल्म हेर्दै थियौँ । मल्लजी पनि रहेछन् । तर, उनी त अर्कै केटीसँग पो । त्यही पनि एक-अर्काका हात समाइरहेका । र, हातले एक-अर्कालाई चलाइरहेका । मलाई साह्र्रै रिस उठ्यो । लाज पनि लाग्यो । दुईजना खुबै मस्किरहेका थिए । त्यसपछि कैयौँ दिनसम्म म उनीसँग बोलिनँ । पछि उनले 'तिमीलाई जलाउन त्यसो गरेको भनेर' स्पष्टीकरण दिए र मैले चित्त बुझाएँ । त्यो मैले कहिल्यै बिर्सन नसक्ने दिन हो ।
डेटिङकै वेला हो, हामी पुतलीसडकको एउटा होटेलमा चिया पिइरहेका थियौँ । उनले 'सरु ! तिमी मसँग बिहे गर्छौ ?' भनेर सोधे । मैले 'साँच्चै हामी बिहे गरिहाल्ने हो त ?' भनेँ । त्यसै दिन हामी गुह्येश्वरी मन्दिर गयौँ । र, उनले मेरो सिउँदोमा सिन्दुर हालिदिए । त्यो दिन फेब्रुअरी १३ थियो । त्यसवेला म १५ वर्षकी मात्र थिएँ । बिहेको साक्षी कोही थिएनन् । मात्र ढुंगाको ज्यान भएका भगवान् थिए । त्यस दिन मन्दिरपछाडि उनले मलाई धेरैबेर अँगालोमा बाँधेका थिए । र, म पनि मजासँग त्यो अँगालोमा निदाएकी थिएँ । हामीले बिहे गर्दा 'वासुदेव' फिल्मको सुटिङ आधा मात्रै भएको थियो ।


गिफ्टमा डल्लेखुर्सानी र घ्यू

डेटिङका ती दिनमा हामीबीच गिफ्टहरू आदान-प्रदान हुन्थे । किस त सामान्य भइहाल्यो । त्यसवेला मैले उनलाई केही कार्ड, पफ्र्युम दिएकी थिएँ । उनी मलाई औँठी, कार्ड, फूल र सोपिसहरू दिन्थे ।
एक दिन उनले मलाई डल्लेखुर्सानी र घ्यू गिफ्ट दिए । मलाई त धेरै खुसी लाग्यो । किनभने, मलाई ती दुवै कुरा खुब मन पथ्र्यो । उनले सधैँ मलाई 'स्टेज गरिरहनुपर्छ' भनेर फकाइरहे । त्यसपछिका दिनमा हामी दुईजनाले 'बादल', 'लगनगाँठो', 'गोठालो', विजय-पराजय', 'चिनो'लगायत १५ फिल्म खेल्यौँ ।
हामी नाटक देखाउन काठमाडौंबाहिर जाँदा होटेलको एउटै कोठामा तीन रात बितायौँ । तर, अचम्म त्यसवेला हामीबीच शारीरिक सम्बन्ध भएन । उनले कर गरे पनि मैले मानिनँ । 
त्यसपछि केही महिना हाम्रो भेट हुन पाएन । त्यसवेला हामीबीच चिठी आदानप्रदान हुन्थे । उनी 'पि्रय सरु ! तिमीलाई नदेख्दा दिउँसै रात पर्छ' भन्दै चिठी सुरु गर्थे र अन्त्यमा उही तिम्रो कृष्ण भन्थे । म त त्यस्ता शब्द जान्दिनथेँ । सामान्य र छोटो चिठी लेख्थेँ । ती चिठी मैले सुरक्षित राखेकी थिएँ । पछि हामी घर सर्दा कता हराए कुन्नि ?
हामीले सुटुक्क बिहे गरेको घरमा थाहा थिएन । मलाई घरबाट टाढा जान सहज अनुमति थिएन । हामी नाटकका लागि पाल्पा जानुपर्ने भयो । घरबाट बुबाले पठाउनुभएन । मल्लजीले जिम्मा लिनुभयो र हामी पाल्पा गयौँ । उता पाल्पा पुगेपछि मल्लजीले घरमा बुबालाई फोन गरेर 'हामीले बिहे गरिसक्यौँ, अब पीर गर्नुपर्दैन, ऊ मेरो जिम्मा भई' भने ।
हामी त्यसपछि पाल्पाको श्रीनगर डाँडामा बसेर घन्टौँ हराएका थियौँ, त्यो पनि फिल्मी पोजमा । म उनको छातीमा ढल्किएकी थिएँ । र, उनले मलाई किस खाएका थिए ।

जीवन उकाली-ओराली

मेरो छोरो जन्मेपछि मात्र मैले थाहा पाएँ, मल्लजीका मबाहेक तीनवटी श्रीमती रहेछन् र छोराहरू पनि । म त चौथो पो रहेछु । उनी कहिले मसँग रात बिताउँथे त कहिले अर्कीसँग । अर्की श्रीमतीसँग रात बिताएर बिहान मसँग आएका उनी 'तिमी कत्ति निर्दोष छ्यौ' भन्थे । म पनि खुसी हुन्थेँ । मलाई त्यसवेलासम्म उनका अरू श्रीमती छन् भन्ने थाहै थिएन ।
त्यसवेला जिन्दगीमा मलाई ठूलो झट्का लाग्यो । म त अग्लो रूखबाट तल भुइँमा पछारिएजस्तो भएँ । मैले त्यसवेला 'अब मर्छु' भनेर पनि निर्णय लिएँ । तनावमा एक रात मैले २० वटा स्लिपिङ ट्याब्लेट खाएर सुतेँ । तर, कहाँ मर्न सकिने रहेछ र ? उनले मेरो जिन्दगीमाथि ठूलो घात गरे । धेरै दिनसम्म म रोइरहेँ । हाम्रो झगडाले ठूलो रूप लिन थाल्यो । उनी 'म तिमीलाई छोड्दिनँ' भनेर सम्झाउँथे । त्यसपछिका केही वर्ष म साह्रै तनावमा रहेँ । जिन्दगी त यस्तै रहेछ भन्ने भयो । खुसी र प्रेमका ती सुखद दिन कतै टाढा हराएजस्तो भए । ती फर्केर फेरि आउँदैनन् जस्तो लाग्यो । जिन्दगीप्रति धिक्कार्दै दिनहरू बित्दै गए ।
पछि उनका तीनैवटी श्रीमती अरू नै श्रीमान् खोजेर आ-आफ्नो बाटो लागे । फेरि मेरो खुसी फर्कियो । म जुरेलीजस्तै फुरुङ्ग हुन थालेँ ।
केही पछि मल्लजीको जिन्दगीमा फेरि अर्की केटी आई । उनीहरूको अफेयर्स रहेछ । पछि मेरी भाउजूले देख्नुभएछ । मैले त्यस केटीलाई घरमा ल्याएर सबै कुरा सोधेँ । मल्लजीले आफूलाई साडी, गिफ्ट किनिदिएको उनले सुनाइन् । मेरो धेरै चित्त दुख्यो ।
अब म मल्लजीको जिन्दगीबाट टाढा जाने विचार गरेँ । मैले सबै सामान 'प्याक' गरेँ । राति उनी आएपछि म निकैबेर रोएँ । झगडा पनि भयो । त्यसपछि उनले मसँग माफी मागे । 'अब कोही केटीसँग कहिल्यै हिँड्दिनँ' भन्ने कसम खाए । फेरि उनलाई माफ गरिदिएँ । 
मल्लजीको र मेरो दैनिकजसो झगडा पथ्र्यो । म अगाडि जे भेटिन्छ त्यसैले उनलाई प्रहार गथर्ंे । तर, हामीबीच गहिरो माया थियो र त्यो टुटेन । मायामा कहिलेकाहीँ झगडा पर्छ र ठुस्काठुस्की पनि हुन्छ । तर, साँचो माया कहिल्यै छुट्दो रहेनछ । हाम्रो माया डेटिङका दिनका भन्दा अहिले निकै परिपक्व छ । पहिले-पहिले उनी मसँग निकै रिसाउँथे । तर, अहिले
खासै रिसाउँदैनन् ।
from Naya Patrika

No comments:

Post a Comment