Sunday, September 23, 2012

गेसपेपर पढिरहेका कांग्रेस नेताहरू

कृष्णज्वाला देवकोटा

भावी प्रधानमन्त्री को बन्ने भन्ने कांग्रेसको किचलोबारे सहरमा एउटा ठट्टा छ । ठट्टा भन्छ, तीन शीर्षले एक-अर्काको भाषा बुझ्दैनन् । शेरबहादुर देउवाले बोलेको सुशील कोइराला बुझ्दैनन्, सुशीलले बोलेको शेरबहादुरले । अनि, यी दुवैले बोलेको रामचन्द्र पौडेलले बुझ्दैनन् र रामचन्द्रको यी दुईले । भाषामै समस्या भएपछि संवाद कसरी हुन्छ र संवाद नै नभएपछि सहमति कसरी बन्छ ?
मोहभंग हुँदै गएको समाजमा वास्तविकताभन्दा ठट्टा बलिया हुन्छन् । नेपाल त्यसै पनि दिग्भ्रमित देश हो । माओवादीलाई भोट हाल्छ, साइबाबाको पूर्णकदको फोटोबाट कहिले विभूति र्झछ भनेर प्रतीक्षा गर्छ, हरेक वर्ष नबिराई अमेरिकाको डिभी चिट्ठा भर्छ । साइबाबा, माओवादी वा डिभीमध्ये भविष्यचाहिँ के हो भन्नेमा नेपाल अझै 'अध्ययन-अनुसन्धान'मै छ । दलहरू गोलचक्करमा फसे भनेर चित्त दुखाउनु बेकार छ । नेपाल जस्तो छ, नेता त्यस्तै छन् ।
पुरानो पार्टी भएर पनि होला, कांग्रेसका नेताचाहिँ विशेष सावित भएका छन् । पाउँदैनपाउने प्रधानमन्त्रीका लागि कांग्रेसका तीन शीर्ष नेता जीवनमरणको लडाइँमा छन् र अरूमध्ये यो झगडाका बीचमा प्रधानमन्त्रीको कुर्सी आफ्नै आँगनमा पो झरीहाल्छ कि भन्ने छिर्केदाउमा छन् । सहमतिमा खाका तयार गरी संविधानसभा पुनस्र्थापनबाट नयाँ संविधान घोषणा गर्ने विकल्प समाप्त गरेकै दिन कांग्रेसले सरकारको नेतृत्व पाउने ढोका पनि बन्द भइसकेको छ । तर, मिडियादेखि चियापसल भने कांग्रेसका भावी प्रधानमन्त्री पत्ता लगाउन कठिन प्रयासमा छन् ।
वास्तविकता के हो भने कांग्रेसले अब प्रधानमन्त्री पद पाउने सम्भावना कमजोर होइन, समाप्त भएको छ । सत्तारुढ गठबन्धनले चाँदीको किस्तीमा हालेर कांग्रेसलाई प्रधानमन्त्री देला भन्ने भ्रम कांग्रेसका कुनै पनि नेताले नपाले हुन्छ । तर्क यसरी पनि भइरहेको छ, अहिलेको तरल अवस्थामा राष्ट्रपति र प्रधानमन्त्री दुवै एउटै पार्टीबाट हुने हो भने त्यो वास्तविक सत्ताकब्जामा पनि परिणत हुन सक्छ, किनकि त्यसलाई नियन्त्रण गर्ने कुनै निकाय रहन्न । राजनीति मूलबाटो छाडेर खोलातिर पसेका वेला यस्तो तर्कर्लाई आधारहीन कसैले भन्न सक्दैन ।
यसबीचका बहुपक्षीय र दुईपक्षीय संवाद परिणाममुखी भएनन् । उल्टो तिनले सहमतिका सम्भावनालाई समाप्त पारे र राजनीतिलाई फेरि १५ जेठमा फर्काइदिए । दलहरूसँग थोरै पनि सुझबुझ र राष्ट्रप्रतिको दायित्वबोध हुन्थ्यो भने तिनीहरूले भावी संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन गम्भीर गृहकार्य गर्नुपथ्र्यो । संविधानसभा पुनस्र्थापना गरेर राष्ट्रलाई संविधान दिनुपथ्र्यो । संघीयता र शासकीय स्वरूपसँग जोडिएका प्रश्नको हल खोज्न पथ्र्यो । तर, नेताहरू उत्तर खोज्ने जटिल बाटोभन्दा प्रश्नसँग भाग्ने सरल बाटो रोज्न सहमत भए ।
चुनाव नै गरियो भने पनि दलहरूले फेरि पनि संघीयता र शासकीय स्वरूपसँग जोडिएका प्रश्नको उत्तर खोज्नैपर्छ । चुनावमा यिनै राजनीतिक शक्ति फर्किने हुन्, कुनै नयाँ शक्तिको उदय हुने होइन । सहमति अहिलेकै राजनीतिक शक्तिबीच आवश्यक पर्ने हो । राष्ट्रका प्रश्नलाई चुनावको तन्नामुनि लुकाएर दलहरूले सरल हल खोजेका छन् जुन बेइमानी हो ।
अब राजनीतिक घटनाक्रमको प्रस्ट भविष्यवाणी गर्न सकिन्छ । अबका राजनीतिक संवादको केन्द्रीय प्रश्न चुनावी सरकारको गठन हुनेछ । त्यो सरकारको नेतृत्वमा ठूलो दलका नाताले माओवादीले आफ्नो दाबेदारी पेस गर्नेछ र कांग्रेस-एमालेले त्यसलाई अस्वीकार गर्नेछन् । कांग्रेसको दाबीलाई सत्तारुढ गठबन्धनले अस्वीकार गर्नेछ । यही झमेलोमा मुलुक अरू केही महिना फस्नेछ । तर, कांग्रेसका शीर्ष नेताहरू काल्पनिक बालुवाटारका लागि वास्तविक मल्लयुद्ध गरिरहेका छन् ।
व्यवहारले देखाउँछ, कांग्रेसका शीर्ष नेताहरूले राजनीतिको किताब नै पढ्न छाडेका छन् र गेसपेपरले काम चलाइरहेका छन् । संघीयताको मुद्दामा कांग्रेससँग कुनै किताब थिएन, गेसपेपर मात्रै थियो । शासकीय स्वरूपमा पनि कांग्रेसले गेसपेपरबाटै काम चलाइरहेको थियो । राष्ट्रका हरेक ज्वलन्त प्रश्नमा कांग्रेस नेताहरू गेसपेपर पढिरहेका छन् र 'गेस' गरिरहेका छन् । जब राष्ट्रका प्रश्न गेसपेपरबाट बाहिरबाट आउँछन्, कांग्रेसका नेताहरू गतिरोधमा फस्छन् र आफ्नो गतिरोधलाई राष्ट्रको गतिरोधमा परिणत गरिदिन्छन् ।
संविधानसभा विघटन भइसक्यो, पुनस्र्थापनाको विकल्पलाई दलहरूले सहमतिमै खारेज गरिसके, तर कांग्रेसका नेता अझै २ जेठमा भएको पाँचबुँदे सहमतिको सरकार परिवर्तनको बुँदामा मात्र अडिइरहेका छन् । तिनलाई सरकारको नेतृत्व प्राप्त हुन्छ भन्नेमा पक्का विश्वास छ । कुनै नयाँ राजनीतिक सहमतिविना बाबुराम भट्टराईले सिंहदरबारलाई सानेपामा ल्याएर बुझाउलान् भन्ने भ्रम तिनलाई किन छ, तिनले कहिल्यै आफैँलाई सोधेका छैनन् । गेसपेपरको दुःख यही हो ।
कांग्रेस नेताहरूले अब गेसपेपर र गेसबाट मुक्त भएर किताबको खोजी गर्नुपर्छ । अहिलेलाई सिंहदरबार र सानेपा निकै टाढा छन् । सुशील, शेरबहादुर र रामचन्द्रले योबीचमा त्यस्तो किताब लेख्न सक्छन् ।

No comments:

Post a Comment