Sunday, August 19, 2012

बिग्रे माओवादीका घरबार

नेत्र पन्थी/नयाँ पत्रिका
काठमाडौं, २ भदौ • माओवादी स्थायी समिति सदस्य तथा मन्त्री रहेकै वेला टोपबहादुर रायमाझी र उनकी पत्नी सीमाबीच पनि सम्बन्धविच्छेद भयो । सीमाले अर्को केटासँग आफ्नो विवाह भएको भन्दै सम्पत्तिका लागि अदालतमा मुद्दा नै हालिन् । उनीहरूबीच ०५४ मा दिल्लीमा विवाह भएको थियो ।

• माओवादी नेता जनार्दन शर्मा प्रभाकरको रोहवरमा बिहे गरेका पूर्वसभासद् टेकेन्द्र भट्ट र रेणु चन्दको सम्बन्ध कायम राख्न नेता लेखराज भट्टले धेरै नै प्रयास गरे । बिहेताका रेणु डोटी र टेकेन्द्र कञ्चनपुरको जिल्ला इन्चार्ज थिए । मदिरा खाएर महिलासँग सम्बन्ध राखेको रेणुको र परिवारसँग राम्रो व्यवहार नगरेको टेकेन्द्रको आरोप थियो । सम्बन्धविच्छेदपछि भट्टले ५ माघ ०६८ मा विवाह गरे । भारतको हरिद्वारमा गएर भट्टले सुन्दरपुर गाविस, कञ्चनपुरकी दिव्येश्वरी भट्टसँग विवाह गरे । संविधानसभा प्रत्यक्ष निर्वाचनमा चुनिएका चार जोडीमध्ये रेणु र टेकेन्द्र पनि एक थियो । रेणु बैतडी-२ बाट र टेकेन्द्र कञ्चनपुर-३ बाट सभासद्मा विजयी भएका थिए ।

• अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले उर्मिला अधिकारीसँग विवाह गरेका थिए, जनयुद्धकालमै उर्मिलालाई हत्या भयो । उर्मिलाको सम्झनामा न्यौपानेले ँतिमी अमर भयौ, मेरो मुटु चुँडियो’ भन्ने पुस्तक नै लेखे । पछि न्यौपानेले विद्यार्थी संगठनमा काम गर्ने आस्था घिमिरेसँग विवाह गरे । अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यसमेत रहेकी घिमिरेसँग न्यौपानेले ९ मंसिर ०६८ मा काठमाडौं जिल्ला अदालतमा गएर सम्बन्धविच्छेद गरे ।

• सभासद् गुणाखर बस्याल पनि विवादमा तानिए । काठमाडौंमा लज सञ्चालन गरेकी कमला तामाङ नाम गरेकी महिलासँगको सम्बन्धमा विवादमा आएपछि सभासद् बस्याल जेठ ०६८ देखि नै बेपत्ता भए । पछि ती महिला पनि बस्यालसँग रिसाएकी छिन् र अहिले बस्यालको विरोध गर्दै हिँडेकी छिन् । सभासद् रहेकै वेला हिँडेका बस्यालको खोजी गर्न भन्दै उनकी पत्नी खिमा बस्यालले प्रहरी र माओवादीलाई आग्रहसमेत गरेकी थिइन् । तर, अहिलेसम्म उनको अत्तोपत्तो छैन । विवादमा तानिएपछि बस्यालले १ असोज ०६८ मा सभासद् पदबाट राजीनामा गरेका थिए । औपचारिक रूपमा बस्यालले पहिली पत्नीसँग सम्बन्धविच्छेद भने गरेका छैनन् ।

• पूर्व माओवादी नेता रवीन्द्र श्रेष्ठ -संविधानसभाको चुनावताका एमाले भई माधवकुमार नेपाल नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्रीसमेत भएका) सुपेक्षा सिलवाल नामकी युवती लिएर २५ माघ ०६७ देखि बेपत्ता भएका छन् । एमालेनिकट विद्यार्थी संगठनमा काम गर्दै गरेकी धादिङकी सिलवाललाई लिएर बेपत्ता भएका रवीन्द्रले पत्नी लक्ष्मीसँग औपचारिक सम्बन्धविच्छेद गरेका छैनन् । लक्ष्मीले बहुविवाहको आरोपमा रवीन्द्रमाथि मुद्दा नै हालेकी छिन् । रवीन्द्र न अदालतमा आएका छन् न लक्ष्मीको सम्पर्कमा । रवीन्द्र र लक्ष्मीको विवाह ०४९ मा भएको थियो ।

• माओवादी महाधिवेशन आयोजक समिति सदस्य तथा पूर्वसभासद् हेमराज भण्डारी र पूर्व अन्तरिम विधायक सरस्वती महराबीच ०५८ को अन्तिमतिर विवाह भयो । अध्यक्ष प्रचण्डलगायतका नेताहरूको उपस्थितिमा उनीहरूबीच भएको विवाह लामो समय टिकेन । विवाह भएको दोस्रो दिनदेखि नै अलग भए र सम्बन्धविच्छेद गरे । शान्तिप्रक्रियामा आएपछि भण्डारीले गैरराजनीतिक युवतीसितसँग दोस्रो विवाह गरे ।
• दोलखाका माओवादी नेता विशाल खड्का र माओवादी नेता धुव्र पराजुलीकी छोरी जानुका पराजुलीबीच पार्टीकै योजनामा ०६३ मंसिर १० गते विवाह भयो । विवाह भएको एक वर्ष नबित्दै उक्त वैवाहिक सम्बन्ध तिक्ततामा परिणत भयो । जानुकाले आफू अन्यायमा परेको भन्दै एमाओवादी पार्टीको ताम्सालिङ राज्य कार्यालय र केन्द्रीय कार्यालयमा पनि निवेदन दिएकी छिन् । विशालसँग सम्बन्धविच्छेद गर्न चाहेको तर आफूले न्याय पाउनुपर्ने जानुकाको तर्क छ । यस्तै-यस्तै खटपटमा यो दम्पतीको दैनिकी चलेको छ । दुवै अलगअलग बसेका छन् । यो जोडी कुनै बिन्दुमा गएर सम्बन्धविच्छेद गर्ने देखिन्छ ।
• गुल्मी विशुंकखर्क वालिवाङकी सुमित्रा सापकोटाले जात नमिलेको भन्दै गाउँले तथा परिवारले विरोध गर्दा पनि १७ वर्षको उमेरमै टंक क्षेत्रीसँग अन्तरजातीय विवाह गरिन् । उनीहरूबीचको सम्बन्ध दीर्घकालीन हुन सकेन । संविधानसभा निर्वाचनको समयमा प्रचारमा लागिरहँदा टंकले सुमित्रालाई पारपाचुकेको दबाब दिए । पछि टंकले शिक्षकिा सावित्रा थापासँग विवाह गरे । सुमित्रा गुल्मी पार्टी सचिवालय सदस्य हुन् । सुमित्रा एक्लो जिन्दगी बिताइरहेकी छिन् ।
• २ कात्तिक ०५९ मा रुकुम सिम्लेका लोकेन्द्र जिसी र तत्कालीन सेक्सन कमान्डर खिमा डाँगीबीच जनवादी शैलीमा विवाह भयो । ३ कात्तिक ०६२ मा तत्कालीन राज्यपक्षका सुरक्षाकर्मीको लखेटाइबाट उनी घाइते भइन् । जिसीले क्रमशः डाँगीलाई अपहेलना गर्दै गए । डाँगीले पहिला विवाह नगरे आत्महत्या गर्छु भन्थे, पछि छोडपत्र नगरे आत्मदाह गर्ने चेतावनी दिन थाले । जिसीले बोक्सीको आरोप पनि लगाए । अन्ततः उनीहरूबीच माओवादी नेताहरू हेमन्तप्रकाश वली, सन्तोष बुढामगरलगायतको रोहवरमा सम्बन्धविच्छेद भयो ०६५ माघ १८ मा । लगत्तै जिसीले सीमा घर्तीमगरसँग अर्को विवाह गरिहाले ।
• चन्द्र ढकाल -भोजपुरका पुराना माओवादी कार्यकर्ता) र लक्ष्मी मुडभरी -हाल नेकपा-माओवादीकी नेतृ तथ पूर्व अन्तरिम विधायक­­) बीच जनयुद्धकालमा विवाह भयो । जनयुद्धकालमा लक्ष्मी जेल परिन् । लक्ष्मी जेल परेकै वेला चन्द्र यौनकाण्डमा मुछिए । वार्ताकालमा लक्ष्मी ०५९ तिर छुटिन् । लक्ष्मी छुटेपछि उनीहरू केही समय सँगै बसे । पछि लक्ष्मीले तत्कालीन माओवादी केन्द्रीय नेता तथा हाल नकेपा-माओवादीका केन्द्रीय सदस्य दिनेश शर्मासँग विवाह गरिन् । दिनेशकी पहिली पत्नी कमला शर्मा -यानप्रसाद गौतम आलोककी बहिनी) जनयुद्धकालदेखि बेपत्ता छिन् । लक्ष्मीले दोस्रो विवाह गरेपछि विरक्तिएका ढकाल विकासानन्दको मनोक्रान्तितिर लागे ।
• कपिलवस्तुकी विमला विकले जनयुद्धकालमै माओवादी सेनाका सदस्यसँग विवाह गरिन् । ब्राह्मण परिवारका जाजरकोटका उनका श्रीमान् अर्की केटी लिएर बेपत्ता भए । विमला अहिले एक्लै छिन् । यो अन्तरजातीय विवाह पनि शान्तिप्रक्रियापछि समस्यामा पर्‍यो ।
• कुमका नैनसिंह वली र लक्ष्मी पुनको ०५९ तिर विवाह भएको थियो । उनीहरूको वैवाहिक सम्बन्ध युद्धकालभर राम्रै रह्यो । शान्तिप्रक्रियापछि उनीहरूको सम्बन्धमा क्रमशः खटपट देखापर्न थाल्यो । पार्टीमा सम्बन्ध तोड्ने विषयमा पार्टीभित्र निवेदन नै पर्‍यो ।

छोराछोरीमा पनि समस्या

• गत २२ असारदेखि प्रचण्डपुत्र प्रकाश अचानक बेपत्ता भए । तीन दिनपछि मात्र थाहा भयो उनी विद्यार्थी नेतृ सरस्वती क्याम्पसकी स्ववियु सभापति बिना मगरसँग हिँडेका रहेछन् । उनीहरू दुवै विवाहित थिए । अहिले उनीहरू देशबाहिर -सम्भवतः भारतमा) छन् । प्रकाशले पत्नी सिर्जना त्रिपाठी र बिनाले पति शंकर अधिकारीसँग औपचारिक रूपमा सम्बन्धविच्छेद गरेका छैनन् । तर पनि प्रकाश र बिना अहिले पति-पत्नीको सम्बन्धमा लुकेर बसेका छन् । कुनै नाटकीय घटना भएन भने एउटा अवस्थामा प्रकाशले सिर्जनासँग र बिनाले शंकरसँग सम्बन्धविच्छेद गर्नेछन् ।
• नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलका छोरा सञ्जीव र सुनिता पोखरेलबीच ४ माघ ०६३ मा सामाजिक परम्पराअनुसार विवाह भएको थियो । सञ्जीवले ६ असार ०६६ मा सपनासँग विवाह गरे । पछि २ वैशाख ०६८ मा सुनिताले छोडपत्रमा सही गरिन् । सुनिताले आफूले दाइजो नल्याएका कारण यस्तो भोग्नुपरेको बताएकी छिन् भने सञ्जीव र उनको परिवारले सुनितामाथि नै प्रश्न उठाएका थिए ।
• जनयुद्धकालमै प्रचण्डपुत्र प्रकाश र पोष्टबहादुर बोगटीपुत्री प्रभाबीच १२ फागुन ०६२ विवाह भयो । दाम्पत्यजीवनले निरन्तरता पाउन सकेन उनीहरूको । अन्ततः प्रकाश र प्रभाबीच समझदारीमै सम्बन्धविच्छेद भयो २२ जेठ ०६४ मा । प्रभासँग सम्बन्धविच्छेद गरेपछि प्रकाशले कास्कीमा गएर सिर्जना त्रिपाठीसँग विवाह गरे ।
• माओवादी अध्यक्ष प्रचण्डकी कान्छी छोरी गंगाको दोस्रो विवाह भयो ०८६ माघ १८ मा । गंगाको विराटनगरनिवासी मनोज आचार्यसँग विवाह भयो । १५ वर्षपछि कान्छी छोरी गंगाको दोस्रो विवाह गरिदियो प्रचण्ड परिवारले । जनयुद्धकालमै सिक्किमका नारायण प्रधानसँग पहिलो विवाह गरेकी गंगाको सम्बन्धविच्छेद ०६७ माघमा नै भएको थियो ।

फेरिँदै गएको नेपालीको जीवनशैलीमा सम्बन्धविच्छेद पनि बढ्दै छन् । अझ १० वर्ष युद्ध लडेर आएको माओवादीभित्र पनि सम्बन्धविच्छेद राजनीतिक मुद्दा बन्न थालेको छ । अरू दलका नेता-कार्यकर्ताभन्दा माओवादी नेता-कार्यकर्तामा यो समस्या चर्को छ ।
युद्धकालमा गरिएका अन्तरजातीय विवाहहरूमध्ये करिब २० प्रतिशतमा समस्या देखिएको छ । प्रेम, विवाह, यौन र सम्बन्धविच्छेदसम्बन्धी 'जनवादी' मान्यता स्थापना गर्न खोजेको माओवादीभित्रै समस्या बढ्दै छन् । बल्लबल्ल बनाएका सामान्य मान्यता पनि अहिले एकपछि अर्को गरी भत्कँदै छन् । कैयौँ नेता/कार्यकर्ता यौनकाण्डमा फसेका छन् त कैयौँका वैवाहिक सम्बन्ध तोडिएका छन् ।
एउटै उद्देश्यका साथ समाज परिवर्तनका लागि हिँड्दा भएका प्रेमविवाहमा पार्टी शान्तिप्रक्रियामा आएपछि खटपट देखिँदै छ । कुनै विवाद पार्टीको पहलमा मिलेका छन् त कतिपय विवाद अदालतसम्म पुगेका छन् । माओवादी महिला संगठनमा गत वर्षसम्म पारिवारिक समस्यासँग जोडिएका सात/आठ सय उजुरी थिए ।
माओवादी नेता राम कार्कीले चिनियाँ कम्युनिस्ट पार्टीले त्यहाँ सत्ता कब्जा गरेपछि गाउँका आदर्श जोडीहरूको सम्बन्ध टुटेको स्मरण गर्दै भने, 'संस्कृतिको विविध पक्षमा ध्यान दिन नसक्दा यस्ता समस्या आउँछन् ।'
माओवादी युद्धकालमा प्रेम, विवाह र यौनमा एकनिष्ठताको प्रयोग गथ्र्यो । पार्टी नीति-नियमविपरीत प्रेम, विवाह वा यौनसम्बन्ध भए त्यसलाई माओवादीले कारबाहीसमेत गर्दथ्यो । 'हिजो पार्टीमा आउनेबित्तिकै विवाह पनि हुँदैनथ्यो, उमेर पनि केटाको २२ र केटीको २० अनिवार्य थियो, तर आज त्यस्तो छैन, आज त त्यो एकनिष्ठता गौण बन्न गएजस्तो देखिन्छ, पार्टीमा प्रवेश गर्नेबित्तिकै विवाह हुन्छ,' नेकपा-माओवादीका नेता नारायणप्रसाद शर्मा भन्छन्, 'हिजो जुन जगमा अन्तरजातीय विवाह भएका थिए, आज कहीँ न कहीँ समस्या देखापरेको छ ।'
सम्बन्धविच्छेद दर्दनाक, खतरनाक र पीडादायक त हुन्छ नै, यसले ज्यानै लिने खतरा पनि हुन्छ । मानसिक र शारीरिक यातनाले कैयौँ महिलाले आत्महत्यासमेत गर्छन् त कसैले मानसिक सन्तुलत गुमाएको पाइन्छ । नेकपा मालेका तर्फबाट सभासद् रहेकी शारदा नेपालीले आफूलाई 'पागलपे्रमी' नै बताएकी थिइन् । मदिरा पिएर लठ्ठ भएकी उनले नेपालगन्जमा सडकमै आएर आफू श्रीमान्बाट असुरक्षित रहेको बताएकी थिइन् ।

कहाँबाट सुरु भयो समस्या ?

पार्टी शान्तिप्रक्रियामा आएपछि माओवादी नेताहरू गाउँको सट्टा सहरमा केन्दि्रत भए । उनीहरू युद्धकालको जस्तो कठोर अनुशासनबाट मुक्त भए । पार्टीकामको बहानामा घरपरिवारलाई ध्यान नदिने, घरको सबै समस्या श्रीमतीको टाउकोमा छोड्ने र क्रान्तिका ठूला कुरा मात्र गर्ने समस्या पुरुषहरूमा देखापरेको पीडित महिलाहरूको भनाइ छ ।
माओवादीमा सम्बन्धविच्छेद बढ्दै जानुमा भूमिगत राजनीति र खुला राजनीतिमा देखापरेको बुझाइ र सैद्धान्तिक पक्ष रहेको नेताहरूको तर्क छ । अधिकारका लागि लडेका राजनीतिज्ञका घरमा पनि महिलामाथिको उत्पीडन कायम रहनु गम्भीर भएको महिला नेतृहरू बताउँछन् ।
जनयुद्धबाट मूलधारको राजनीतिमा आएका माओवादी नेता तथा कार्यकर्ताले युद्धकालमा भन्दा भिन्दै परिवेशको सामना गरे र त्यसको प्रभाव उनीहरूको परिवारमा पनि देखापर्‍यो । 'आर्थिक, सामाजिक परिवेश भिन्न भयो, युद्धकालको बुझाइ र शान्तिप्रक्रियापछिको वास्तविकता फरक पर्न गयो । सम्भवतः प्रेम, विवाह, यौन, सम्बन्धविच्छेद र परिवारसम्बन्धी माओवादीभित्र देखापरेको समस्या यसैको उपज हो,' नेकपा-माओवादीका एक केन्द्रीय सदस्यको बुझाइ छ ।
माओवादी महिला नेता तथा कार्यकर्ता श्रीमान्ले एकतर्फी रूपमा गरेको सम्बन्धविच्छेदविरुद्ध लड्न पार्टी नेताहरूको ढोकाढोका चहार्न पुगेका छन् । कानुनी लडाइँका लागि प्रमाणको खोजीमा छन् । उनीहरूले जनयुद्धको वेला पार्टीको स्वीकृतिअनुसार जनवादी विवाह गरेका थिए ।
युद्धकालमा भएका जनवादी विवाह नेपालको कानुनअनुसार दर्ता नै भएका छैनन् । त्यसको प्रत्यक्ष असर महिलामा परेको छ । यस्तो अवस्थामा कानुनी लडाइँ लड्न अप्ठ्यारो हुने अधिवक्ता अञ्जिता खनालको बुझाइ छ ।
युद्धकालमा गरिएका कैयौँ जनवादी विवाह दर्ता गरिएका थिएनन् । त्यसकारण ती विवाहले कानुनी मान्यता पाएनन् । त्यस्ता बिहे नेपालको कानुनअनुसार अवैध ठहरिने भए । तर, माओवादी नेतृ हिसिला यमी यसको जिम्मा पार्टीले लिनुपर्ने बताउँछिन् । 'यसको जिम्मा हाम्रो पार्टीले लिनुपर्छ । युद्धकालमा जोडिएका सम्बन्धहरू बिगि्रएपछि पीडितले अभिभावक पार्टीलाई नै मान्नुपर्ने हुन्छ,' यमी भन्छिन् ।
यी समस्याहरू महिला संघमा पनि दर्ता हुन आएका छन् । यहाँ दर्ता भएका मुद्दाहरू केही समाधान भएका पनि छन् । 'यी समस्याहरूमा सबैभन्दा बढी ध्यान महिला संघले नै दिनुपर्छ,' यमी भन्छिन् ।
एकीकृत माओवादी विभाजनपछि नेकपा-माओवादीतिर लागेका पूर्वसभासद् एवं दलित मोर्चाका अध्यक्ष तिलक परियार जनयुद्धकालमा भएका अन्तरजातीय विवाहमा २० प्रतिशतजति समस्या आएको बताउँछन् । 'जनयुद्धकालमा पार्टी र तत्कालीन जनसत्ताले अन्तरजातीय विवाहको संरक्षण गरेको भए पनि शान्तिप्रक्रियापछि पुरानो राज्यसत्ता र पार्टीले यसमा चासो थोरै दिएको कारण समस्या आएको हो,' उनले भने, 'एक कोणमा भन्ने हो भने सांस्कृतिक प्रतिगमन हुन थाल्यो, पार्टीभित्रको विचलनले पनि यसमा समस्या पार्‍यो ।'


पार्टीमा मुद्दा बन्दै

माओवादीभित्र बढ्दो सम्बन्धविच्छेद अहिले पार्टीभित्र बहसको विषय बन्न थालेको छ । गत २ देखि ६ साउनसम्म काठमाडौंमा चलेको सातौँ विस्तारित बैठकमा बोल्ने महिलाहरूले भने चर्को स्वरमा बहुविवाहको मुद्दा उठाएका थिए । शिविरमा बसेका कमान्डरदेखि सभासद्सम्मका परिवारमा समस्या देखेपछि महिलाले यो मुद्दालाई जोडले उठाएका थिए ।
उनीहरूले बहुविवाहको प्रथा बढेको भन्दै तत्काल रोक्नसमेत माग गरेका छन् । उनीहरूले दोषीमाथि कारबाही गर्नसमेत माग गरेका थिए । महिलाले बहुविवाह गर्नेहरू नेताहरूबाट संरक्षित भएको भन्दै यस्तो समस्याको हलका लागि बहुविवाह गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका थिए । पार्टी नेतृत्वले यस विषयमा छानबिन हुने र दोषीमाथि कारबाही गर्ने आश्वासन दिएको छ ।
विस्तारित बैठकमा महिलाले पाटीभित्र अहिले 'गर्लप|mेन्ड' बनाउने परम्परा बढेको भन्दै यसले कम्युनिस्ट पार्टीको चरित्रमा ह्रास आएको पनि बताए । महिला नेतृहरू सपना नहर्की, देवी खड्का, धर्मशिला चापागाइर्ंलगायतले यस्तो मुद्दा उठाएका थिए । महिला नेतृहरूले गम्भीरताका साथ यो मुद्दा उठाएपछि नेतृत्वले पनि समस्याको हल खोज्ने बताएको छ ।

देवी खड्का, पूर्वसभासद्

हिजो भिन्दै परिवेश थियो । रूप, जात, आर्थिक, सामाजिक, पारिवारिक आधारहरू सामान्य थिए । मुख्य कुरा सिद्धान्त, विचार र लक्ष्य थियो । यतिसम्मकी भावनासमेत गौण थियो । विचार, मूल्य र मान्यता अन्तिम थियो । त्यही आधारमा विवाह भए । शान्तिप्रक्रियामा आएपछि व्यक्ति त फेरिएर आएको थियो तर समाज पूर्णरूपमा फेरिएको थिएन । विचार र मूल्य प्रधान होइन रहेछन्, जात, समाज, संस्कृति, रूप मुख्य रहेछन् भन्ने कुरा उठ्न थाले । विचार र व्यवहारमा तालमेल मिल्न छाड्यो ।
दृृढ मानिस तानिएनन् । सैद्धान्तिक आत्मा कमजोर भएको समाजसँग लड्न नसक्नेहरू हिजोका मूल्य छाड्न तयार भए । परिवारमा समस्या देखापर्न थाल्यो । अन्तरजातीय विवाहमा समस्या छ । मानिस रूपान्तरण भए पनि समाजले स्विकार्न मानेन । सामाजिक बन्धन तथा परिवेशले तिमी यहाँ पुग्ने वेला भएको छैन भन्नेतिर लागे मानिसहरू । वैवाहिक सवालमा पार्टीको स्पष्ट धारणा छ । प्रेम नियमकानुनले बस्दैन ।
प्रेम आपसी भावनाको कुरा हो, यो कानुनले रोक्ने कुरा भएन । पार्टीले प्रेम नै बसाल्न त नसक्ला तर, अन्यायमा परेका महिलालाई न्याय दिन पहल गर्न सक्छ । यसका लागि पार्टीले सचेत गराउनुपर्छ । अनुशासनको दायरा बढाउनुपर्छ । व्यक्तिले आत्मगत रूपमा सोच्ने एउटा कुरा हो । पार्टीले सदस्यलाई सैद्धान्तिक आधारमा चल्न लगाउने कुरा नै उपचार हो । पार्टी प्रशिक्षण कमजोर भएको छ, यसलाई बढाएर जानुपर्छ । कम्युनिस्ट आदर्श सिकाउनुपर्छ ।
fromNaya Patrika

No comments:

Post a Comment