Friday, August 10, 2012

माओवादी समितिमा नातागोताको जालो

नेत्र पन्थी/नयाँ पत्रिका
काठमाडौं, २४ साउन
केन्द्रीय समिति भंग गरेर माओवादीले गठन गरेको महाधिवेशन आयोजक समितिमा नातेदारहरूको जालो छ । दश जोडी त श्रीमान्-श्रीमती नै छन् । अन्य नातेदारहरूको संख्या पनि धेरै नै छ ।
यसअघिको माओवादी केन्द्रीय समितिमा पनि केही जोडी दम्पती सदस्य थिए । उनीहरू स्वतः महाधिवेशन आयोजक समिति सदस्य भएका छन् ।
माओवादीको २ देखि ६ साउनसम्म काठमाडौंमा चलेको सातौँ विस्तारित बैठकले एक सय पाँच सदस्यीय केन्द्रीय समिति भंग गर्दै त्यसलाई महाधिवेशन आयोजक समितिका रूपमा विस्तार गरेको थियो । पछि आयोजक समितिको बैठकले दुई सय ५१ जनाको समिति बनाउने निर्णय गरेको थियो । २० जना पछि थप्ने गरी हाल भने दुई सय ३१ सदस्यीय समिति छ ।
आयोजक समितिमा सबैभन्दा धेरै सदस्य रुकुमबाट १५ जना छन् । दोस्रो स्थानमा चितवनबाट १४ जना सदस्य भएका छन् । यसबाहेक तेस्रो स्थानमा रोल्पाबाट १० र चौथो स्थानमा गोरखाबाट नौजना आयोजक समितिमा परेका छन् । पाँचौँ स्थानमा अर्घाखाँची र काठमाडौंबाट आठ-आठजना समिति सदस्य छन् ।
म्ााओवादीले पछिल्लोपटक आयोजक समिति सदस्य थपमा वरिष्ठता, निरन्तरताका साथै महिला, दलित, जनजाति र मुस्लिम समुदायबाट समेत सदस्य थप गरेको थियो । माओवादी प्रवक्ता अग्नि सापकोटाले कसैको नातेदारबाट नभई पार्टीमा पुर्‍याएको योगदान र पार्टीनीतिअनुसार महाधिवेशन आयोजक समिति सदस्य मनोनयन भएको बताए ।

दश जोडी समितिमा

दुई सय ३१ सदस्यीय माओवादी महाधिवेशन आयोजक समितिमा दश जोडी दम्पती छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुन अनन्तका श्रीमान्-श्रीमती समितिमा सदस्य छन् । लीलामणि पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल, विश्वनाथ साह, वाइसिएल संयोजक गणेशमान पुन, शक्ति बस्नेतका दम्पती नै आयोजक समितिमा छन् ।
यसबाहेक शक्ति बस्नेत र उनकी पत्नी सत्या पहाडी, तेजबहादुर वली र उनकी पत्नी जुनकुमारी रोका, विश्वनाथ शाह र उनकी पत्नी सीता पोखरेल, देवेन्द्र पराजुली र उनकी पत्नी कल्पना धमला, डिआर पौडेल र उनकी पत्नी गंगा बेल्वासे महाधिवेशन आयोजक समितिमा छन् । यसअघि नेकपा-माओवादी गठनपूर्व माओवादीमा धेरै दम्पती केन्द्रीय समितिमा थिए ।

...यस्तो पनि

महाधिवेशन आयोजक समितिमा दश जोडी मात्र होइन, दुई जोडी पूर्वपति-पत्नी पनि छन् । विश्वभक्त दुलाल र अन्जना विसंखे तथा टेकेन्द्र भट्ट र रेणु चन्द पूर्वपति-पत्नी हुन् । दुलाल र विसंखे विस्तारपूर्व नै माओवादी केन्द्रीय सदस्य थिए । भट्ट र चन्द दुवै अहिले महाधिवेशन आयोजक समितिमा चयन भएका हुन् । भट्ट र चन्द दुवै पूर्वसभासद् पनि हुन् ।
नातेदारमा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सम्धी टिबी पाठकदेखि पोष्टबहादुर बोगटीका ज्वाइँ निर्मल आचार्यसम्म आयोजक समिति सदस्यमा परेका छन् । यसबाहेक अग्नि सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा, हितबहादुर तामाङ र उनका सम्धी धामा लामा, हरिबोल गजुरेलका सम्धी झक्कुप्रसाद सुवेदी, राजकुमार शर्माका भाइ वसन्त शर्मा, रामकुमारकै बहिनी नारायणी शर्मा, जनार्दन शर्माका ज्वाइँ ओम शर्मा र गंगा कार्कीकी साली देवी खड्का पनि आयोजक समितिमा छन् ।

आठ जिल्लाबाट एकजना पनि परेनन्

विस्तार गरेर दुई सय ३१ सदस्यीय बनाइएको महाधिवेशन आयोजक समितिमा आठ जिल्लाको प्रतिनिधित्व नै हुन सकेन । तेह्रथुम, रसुवा मकवानपुर, मुस्ताङ, मुगु, डोटी, बाजुरा र दार्चुलाबाट समितिमा सदस्य परेका छैनन् । दैलेखबाट एकजना मात्र सदस्य छन् । २० सदस्य पछि थप्ने गरी खाली राखिएकाले थप सदस्य ती जिल्लाबाट आउन सक्ने अनुमान गरिएको छ ।

१६ जिल्लाबाट पाँच र त्योभन्दा बढी, १७ जिल्लाबाट एक-एकजना

माओवादी महाधिवेशन आयोजक समितिमा १६ जिल्लाबाट पाँच वा त्योभन्दा बढी सदस्य परेका छन् । त्यसैगरी १७ जिल्लाबाट एक-एकजना प्रतिनिधि समेटिएका छन् ।
रुकुमबाट १५, चितवनबाट १४, रोल्पाबाट १०, सिन्धुलीबाट नौ, अर्घाखाँची र काठमाडौंबाट आठ-आठ, सिरहा र बाग्लुङबाट सात-सात, दाङ, धादिङ र महोत्तरीबाट ६-६ जना, काभ्रे, सिन्धुपाल्चोक, झापा र दोलखाबाट पाँच-पाँचजना आयोजक समितिमा परेका छन् । एक-एकजना सदस्य आउने जिल्लामा भक्तपुर, पाल्पा, स्याङ्जा, धनकुटा, इलाम, सुनसरी, पाँचथर, संखुवासभा, सुनसरी, उदयपुर, भोजपुर, पर्सा, जुम्ला, हुम्ला, बैतडी, कैलाली र मनाङ छन् ।

No comments:

Post a Comment