Sunday, August 5, 2012

१४ माघमा माओवादी महाधिवेशन

नेत्र पन्थी/नयाँ पत्रिका
काठमाडौं, २० साउन
एकीकृत माओवादीको महाधिवेशन १४ माघमा हुने भएको छ । महाधिवेशन आयोजक समितिको शनिबार बसेको बैठकले मिति तय गरेको हो । बैठकले नेताहरूको कार्यविभाजनमा फेरबदलसमेत गरेको छ ।
आयोजक समितिको बैठकले महाधिवेशन अगाडि गाउँ, जिल्ला र राज्यस्तरका अधिवेशन गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनका लागि १६ असोजदेखि १ कात्तिकसम्म गाउँ, १ कात्तिकदेखि १५ मंसिरसम्म जिल्ला र १६ मंसिरदेखि पुस मसान्तसम्ममा राज्य तहका अधिवेशन गर्ने निर्णय भएको माओवादी नेता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकले पार्टी नेताहरूको पूर्ववत जिम्मेवारीमा हेरफेर गरे पनि सबैलाई जिम्मेवारी तोकिएको छैन । बाँकी नेताहरूको कार्यविभाजन भने बिस्तारै तोकिने बताइएको छ । यसअघि गत २ देखि ६ साउनसम्म काठमाडौंमा चलेको माओवादीको सातौँ विस्तारित बैठकले तत्कालीन केन्द्रीय समिति भंग गर्दै त्यसलाई महाधिवेशन आयोजक समिति बनाएको थियो । त्यसलगत्तै महाधिवेशन आयोजक समिति विस्तार गरेर एक सय ७५ सदस्यीय पुर्‍याउने निर्णय गरिएको थियो । समिति विस्तार गरेर एक सय ७५ पुर्‍याइएपछि धेरै वरिष्ठ नेता छुटेको भन्दै विरोध आएको थियो । त्यसलगत्तै बिहीबार बसेको बैठकले आयोजक समिति दुई सय ५१ बनाउने निर्णय गरेको थियो । २० सदस्य भने पछि थप्ने गरी खाली रााखिएको छ ।


महाधिवेशनमा के हुन्छ ?

महाधिवेशन नहुँदा माओवादीभित्रका केही जटिल मुद्दाको छिनोफानो हुन सकेको छैन । विभिन्न पार्टीसँग भएको एकतापछि माओवादीभित्र गम्भीर खालका सांगठनिक समस्या देखापरेका छन्, जसलाई टुंग्याउने विधि महाधिवेशन मात्र हुनसक्छ भनिएको छ ।
पार्टी एकताका वेला थाती रहेका प्रचण्डपथ र माओवाद/माओ विचारधारा महाधिवेशनबाट टुंगोमा पुर्‍याउने भनिएको थियो । ०६५ पुस २८ मा पार्टी एकीकरणका क्रममा पार्टीको पथप्रदर्शक सिद्धान्त माओवाद वा माओविचारधारा तथा माओवादीले ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा विकास गरेको प्रचण्डपथ अब राख्ने वा नराख्ने भन्ने विषय महाधिवेशनबाट निर्णय गर्ने भनिएको थियो । किरण पक्षले नयाँ पार्टी बनाउँदा प्रचण्डपथ र विचारधारा हटाएको छ ।
भाइचारा संगठनसँगको सम्बन्ध, बहुपदीय प्रणालीको आवश्यकता तथा २१औँ शताब्दीको जनसेनाको स्वरूपजस्ता विषय पनि माओवादी महाधिवेशनका एजेन्डा हुनेछन् । बहुपदीय प्रणालीमा जाने निर्णयसँगै यसको आवश्यकताबारे महाधिवेशनमा छलफल गर्ने निर्णय पनि थियो ।
पछिल्लो विस्तारित बैठकले पनि महाधिवेशनबारे केही सैद्धान्तिक निर्णय गरेको छ । २१औँ शताब्दीको वर्तमान सन्दर्भमा नेपाली क्रान्तिको रणनीतिको कुरा गर्दा सर्वहारावादी क्रान्तिकारीहरूले दुईवटा प्रश्नको स्पष्ट जवाफ दिन सक्नुपर्दछ । ती हुन्- पहिलो ः संघीय गणतन्त्रलगायतका वर्तमान राजनीतिक परिवर्तनलाई कसरी बुझ्ने ? महाधिवेशनमा बहसको विषय बनाउने निर्णय छ । त्यसैगरी परिवर्तनहरू नयाँ संविधानमा संस्थागत हुँदा क्रान्तिको रणनीतिमा के-कस्तो प्रभाव पर्दछ र क्रान्तिको भावी दिशा के हुने ? पनि महाधिवेशनको बहसको विषय हो । यसबाहेक संविधानसभाबाट संघीय गणतन्त्रलगायतका परिवर्तनका मुद्दा संस्थागत भएमा त्यसबाट जनवादी क्रान्तिकै कार्यभारहरूको आंशिक परिपूर्ति हुने र क्रान्तिको बाँकी कार्यभार प्राप्त गर्न पार्टीसामु नयाँ रणनीतिका साथ अगाडि बढ्ने ऐतिहासिक आवश्यकता खडा हुन आउँछ । यस विषयमा अहिले नै विस्तृत चर्चा गरेर निष्कर्षमा पुग्न विषयवस्तुको गम्भीरता र विधि-प्रक्रियाका दृष्टिले पनि सम्भव छैन । तर, निकट भविष्यमा नै पार्टीले यसको जवाफ दिनैपर्ने भएकाले छिट्टै राष्ट्रिय महाधिवेशनको आयोजना गरी व्यापक जनवादको अभ्याससहित एउटा निष्कर्षमा पुग्नै पर्दछ । विस्तारित बैठकले महाधिवेशनबाट अपेक्षा गरेको छ ।

नेताहरूको कार्यविभाजन

प्रचण्ड- केन्द्रीय कार्यालय र समग्र पार्टी
डा. बाबुराम भट्टराई- सरकार, केन्द्रीय कार्यालय
नारायणकाजी श्रेष्ठ प्रकाश- सरकार, केन्द्रीय कार्यालय
पोष्टबहादुर बोगटी- सरकार र केन्द्रीय कार्यालय
नरबहादुर कर्मचार्य- संस्थापक
अमिक शेरचन- संयुक्त मोर्चा र  सम्पत्ति छानबिन आयोग
कृष्णबहादुर महरा- संगठन विभाग तथा विशेष ब्युरो
टोपबहादुर रायमाझी- सरकार, खेलकुद, उद्योग
वर्षमान पुन- कानुन र सरकार
दीनानाथ शर्मा- बुद्धिजीवी र सरकार
गिरिराजमणि पोखरेल- पूर्वाञ्चल ब्युरो
लीलामणि पोखरेल- पश्चिमाञ्चल
हरिबोल गजुरेल- मधेस ब्युरो
शक्ति बस्नेत- सुदूरपश्चिम ब्युरो
अग्निप्रसाद सापकोटा- प्रवक्ता तथा प्रचार ब्युरो, शिक्षा विभाग
जनार्दन शर्मा- जातीय/क्षेत्रीय मोर्चा र जनवर्गीय संगठन
देवेन्द्र पौडेल- नेवाः
हिसिला यमी- महिला विभाग
चन्द्रप्रसाद खनाल बलदेव- अवध
भीमप्रसाद गौतम- मिथिला
लेखराज भट्ट- सेती-महाकाली
लोकेन्द्र विष्ट- मगरात
ग्ाोपाल किराती- कोचिला
विश्वभक्त दुलाल- ताम्सालिङ
विश्वनाथ साह- भोजपुरा
नवराज सुवेदी- थारुवान
हेमन्तप्रकाश वली- लिम्बुवान
लीलाबहादुर थापा- किरात
डिलाराम आचार्य- तमुवान
गिरिधारीलाल न्यौपाने- भेरी-कणर्ाली
हितराज पाण्डे- केन्द्रीय कार्यालय, अर्थ तथा लेखा आयोग, तथ्यांक
राम कार्की- विदेश
निनु चापागाईं- संस्कृति
सोनाम साथी- स्कुलिङ
नन्दकिशोर पुन पासाङ- युवा र पूर्वपिएलए
from Nayapatrika 

No comments:

Post a Comment